Sunday, April 30, 2017

असीवर्षे ‘उदय’ - गणेश राई


वैशाख १७, २०७४- भारतको बनारसमा ८० वर्ष जेठो पत्रिका ‘उदय’ अचेल नियमित प्रकाशन भइरहेको छ । नेपाली साहित्यिक पत्रिका हो यो । नेपाली साहित्यले विश्वभरि फन्को मारिसकेको छ भने यो स्तम्भ जहाँको तहीं छ । मात्रै मियो फेरिएको छ— पहिलेका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९८९) र अहिलेका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ । व्यक्तिगत साइनोले यी सम्पादक बाबु अनि छोरा हुन् । समर्पण र योगदानका हिसाबले दुवै साहित्यकार अर्थात् नेपाली वाङ्मयसेवी । नेपाली साहित्यको उन्नयन केन्द्र मानिने बनारसबाट १९९३ मा प्रकाशन सुरु ‘उदय’ २०७३ सम्ममा १६३ अंक प्रकाशित छ ।

सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार दुर्गाप्रसाद सानै उमेरमा आफ्ना बाबु काशीबहादुर र आमा सुवर्णकुमारी श्रेष्ठका साथ बनारसको चौखम्भा पुगेर स्थायी बसोबास गरे । काशीबहादुरले ३१ वर्षसम्म ‘उदय’ साहित्यिक पत्रिका प्रकाशन गरे । उनको निधनपछि छोरा दुर्गाप्रसादले ३० वर्षदेखि प्रकाशन निरन्तरता दिएका छन् । दुर्गाप्रसादको नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष स्ट्रिट’, ‘बागमती साक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश–देशान्तर’ यात्रा संस्मरण कृति प्रकाशित छन् । हिन्दी भाषामा उनका ‘सत्तारे मौसी’ कथासंग्रह, मराठी भाषामा ‘आठव मेघ’ कथासंग्रह प्रकाशित छन् । उनै दुर्गाप्रसादको योगदानको कदर गर्दै नेपाल साहित्यिक पत्रकार संघले वाराणसीमै पुगेर गत फागुन पहिलो साता सम्मान प्रदान गरेको छ । उनै दुर्गाप्रसादले कोसेलीसित आफ्नो अनुभव यसरी बाँडे : 

‘उदय मभन्दा जेठो’ 
बनारसमा नेपाली भाषा साहित्यको माहोल पहिलेजस्तो छैन । धेरै अघिसम्म थुपै्र नेपाली विद्यार्थी बनारस पढ्न आउँथे । बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोषराज रेग्मी, चूडामणि रेग्मी, चूडामणि बन्धुलगायतले यहीँ पढेका हुन् । त्यो बेला काशी नेपाली साहित्यको प्रादुर्भाव केन्द्र हो । मोतीराम भट्ट यही टोल (चौखम्भा) मा बस्थे । यो चौखम्भा टोल बडा चर्चित छ । आधुनिक हिन्दीका जन्मदाता भारतेन्दु हरिश्चन्द्रको घर यहीं छ । यो टोलको प्रभाव हो कि सहरको प्रभाव– पूरै बनारस साहित्य, धर्म, संस्कृतिको केन्द्र हो । परापूर्व कालदेखि नेपालीहरू यहाँ धर्म गर्न आउँछन् । पृथ्वीनारायण शाहले यहाँ आएर हतियार किनेर लगे भन्ने इतिहास छ । रणबहादुर शाहले यहाँ निर्वासित भएर ललिताघाटमा मन्दिर बनाएर बसे । अहिले पनि छ, त्यो पशुपतिनाथ मन्दिर । पशुपतिनाथकै रेप्लिका हो । 

त्यो बेला नेपाली छात्र संघहरू एक दुईवटा थिए । अहिले संस्कृत छात्र संघ मात्रै छ । पहिला विद्यार्थीहरू बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूबाटबाट प्रेरणा पाउँथे र उनीहरूमा भएको प्रतिभा निस्कन्थ्यो । अहिले त यहाँ प्रेरणा पाएर पनि प्रतिभा निस्किने ठाउँ छैन । पत्रपत्रिका निस्किँदैन । आजकल पत्रिका छपाउन एकातर्फ अर्थ अभाव छ, अर्कोतर्फ रचना पनि पाइँदैन । म मात्रै ‘उदय’ पत्रिका निकाल्छु । यो पत्रिका नेपाल र भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनमा बसोबास क्षेत्रमा नेपालीको प्रतिभा उजागर गर्ने स्रोत भएको छ । 

‘उदय’ मभन्दा जेठो हो । म जन्मेको १९९५ सालमा हो । ‘उदय’ बुवाले निकाल्न थाल्नुभएको १९९३ हो । बुवाले ३० वर्षसम्म निकाल्नुभयो, निरन्तर । त्यसपछि छपाउन सक्नुभएन, पछि बिरामी पर्नुभयो । उहाँको देहावसान पनि भयो । ‘उदय’ बन्द भयो । बीस वर्ष जति बन्द भयो । नेपाल र भारतका साहित्यकारहरूले फेरि प्रकाशन हुनुपर्छ भने । कमलमणि दीक्षितले प्रोत्साहन दिएर फेरि मैले तीस वर्षअगाडि प्रकाशनलाई निरन्तरता दिएँ । बुवाले ८३ अंक निकाल्नुभयो । ८४ बाट मैले सुरु गरें । अहिले १ सय ६३ अंक पुगिसकेको छ । झन्डै झन्डै बुवाको बराबर आउन लागेको छु । अनेक समस्याहरू छन् । तर सहयोगीहरूले ठाउँ–ठाउँबाट मद्दत गरिरहेका छन् । मैले १५०औं अंकमा लेख रचना पनि पाइँदैन र अर्थ अभाव पनि छ भनेर लेख प्रकाशन गरें । कमलमणिजीले उदय बन्द नगर्नोस् भनेर पैसा पठाइदिनुभयो । 
बनारसमा अचेल नियमित छापिने पत्रिका ‘उदय’ मात्रै हो । अरु नेपाली पत्रपत्रिका छापिँदैन ।

नेपालीहरूको संस्कृत छात्र संघ छ, त्यसले वार्षिक पत्रिका निकाल्छ । पहिले यहाँ ‘युगवाणी’ थियो । विश्व नेपाली संघ भन्ने संस्था थियो । अहिले यहाँ नेपालीहरू कम हुँदै गएका छन् । पहिले नेपालमा सुविधा नभएकाले यहाँ आउँथे । अब सबै सुविधा त्यही उपलब्ध छ । छापाखाना, मुद्रण, वितरण, व्यापार सबै सुविधा भयो । त्यसैले यहाँ चाख लिंदैनन् । 

नेपालमा छापिएका कुनै पनि पत्रपत्रिका, पुस्तक बनारस आउँदैन । मलाई ‘उदय’ पत्रिका काठमाडौंबाटै छाप्नोस् भनिएको थियो । के समस्या छ भने नेपालबाट भारतमा पत्रपत्रिका पठाउन बडा गाह्रो छ । डाकबाट पठाउन साह्रै महँगो छ । व्यापारिक हिसाबले आउँदैन । भारतबाट चाहिं जति पनि जान सक्छ । नेपालबाट भारत ल्याउन परमिट (अनुमति) लिनुपर्छ । परमिट हत्तपत्त पाउँदैन । 

सन् २०१० मा देवकोटा शताब्दी मनाउँदाखेरी दार्जिलिङ, असमबाट गएका साहित्यकारहरूलाई नेपालमा किताब उपहार दिइयो । दुई–तीन बाकस भरियो । बोकेर लान गाह्रो भयो । अनि उनीहरूले बोर्डरमा पुगेपछि त्यहीं छोड्नुपर्‍यो । लग्न दिएन । नेपालबाट पुस्तक, पत्रपत्रिका ल्याउन गाह्रो छ । यता (भारत) बाट लैजान सजिलो छ । यो समस्या धेरै पहिलेदेखिको हो । 

मेरो यहाँ अर्को गतिविधि पनि छ । नेपाल–भारत साहित्य सेमिनारहरू गराउने गरेको छु । बीपी कोइराला फाउन्डेसन नेपाल र दिल्लीमा छ । उनीहरूले मलाई जिम्मा दिन्छन् । मैले २००३ मा बनारसमा नेपाल–भारत लेखक सम्मेलन गराएको थिएँ । ८० जना साहित्यकारहरू आउनुभएको थियो । त्यसपछि २००९ मा देहरादूनमा नेपाल–भारत कवि सम्मेलन गराएँ । 

१९९९ मा सिलिगुडीमा फाउन्डेसनले नेपाल–भारत लेखक सम्मेलन गरेको थियो । दुवै देशका दुई सय लेखक सहभागी थिए । त्यही बेला नेपालबाट पुस्तक र पत्रपत्रिका ल्याउन हुने समस्याबारे कुरो उठेको थियो । दुवै देशका राजदूतले ‘आफ्नो सरकारसमक्ष उठाउँछौं’ भनेर प्रतिबद्धता जनाएका थिए । दुई–दुई वर्षमा सम्मेलन हुन्छ । एकपटक नेपालमा, एकपटक भारतमा । जतिपटक सम्मेलन हुन्छ, उतिपटक समस्याको उठान हुन्छ । तर अहिलेसम्म सम्बोधन भएको छैन ।

साहित्यिक पत्रिकाको क्षेत्र एकदम विशाल भएको छ । साहित्यिक सामग्रीमै चित्त बुझाउनुपर्ने अवस्था रहेन । राजनीतिदेखि अनेकन पत्रपत्रिका छन् । तर साहित्यिक पत्रकारिता मुख्यत: मानिसको दिमागी खुराक प्रदान गर्छ । त्यो अरूले गर्न सक्दैन । यो काम मेरो मात्रै होइन, अग्रजहरू र समकालीनहरूको प्रेरणाबाट निरन्त रहन्छ । चालीस वर्षअगाडि मेरो बुवा काशीबहादुर श्रेष्ठलाई काठमाडौंमा साहित्यिक पत्रकार संघले सम्मान गरेको थियो । आज म बनारसमै साहित्यिक पत्रकार संघबाट सम्मानित हुने अवसर पाएको छु । आगतमा बनारसबाट नेपाली भाषा, साहित्य, संस्कृति प्रवद्र्धन गर्ने पुस्ताको अभाव खट्किँदै गएको छ । तर पनि नेपाली भाषा अब झाँगिइसकेको ठानेको छु ।

http://kantipur.ekantipur.com बाट साभार 



Sunday, April 23, 2017

नेपाली रसबाट पन्छिँदै बनारस - गणेश राई

नेपालबाट विद्या आर्जन गर्न काशी जाने घटेसँगै बनारसवासी नेपालीभाषीसँग सम्पर्क टुट्दै गएको छ ।






वैशाख ९, २०७४- कमिलाले भुइँ उधिन्दा उही माटोमात्रै निकालेको देखिन्छ । त्योभित्र ढुंगा पनि हुन्छ भनेझैं छ– बनारस । नेपाली भाषा साहित्यको इतिवृत्तान्त उधिन्दा उही बनारसको नाम पहिलो पत्रमै भेटिन्छ । पत्रपत्रमा शोभायमान गुलाफको फूलझैं सुनौलो पत्र नै हो, बनारस । र हो, नेपाली राजनीतिक चिन्तक र लेखकहरूको प्रबद्र्धन केन्द्र । अनि नेपाली साहित्य उन्नयन र कृति प्रकाशन केन्द्र पनि । 

बनारसबाट विसं १९४३ मा ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका छापियो, जुन नेपाली भाषा, साहित्य र पत्रिकारिताका निम्ति पहिलो पत्रिका थियो । पत्रिकाको प्रकाशन युवाकवि मोतीराम भट्टले गरेका थिए । यो प्रकाशन इतिहास तन्किदै आज १ सय ३० वर्ष पुगेको छ । तन्किदै जानेछ । नेपालबाट प्रकाशित पहिलो पत्रिका ‘सुधासागर’ हो, जुन १९५५ सालमा छापिएको थियो । इतिहासप्रति गर्वमात्र गरिरहने तर नेपाली भाषा साहित्य सिर्जनाचाहिँ फिटिक्कै नहुने हो भने कुमालकोटीको न्यायसरह हुने नै भयो । जुन बनारसमा भइरहेको छ । भारतीय नेपाली भने पनि हिन्दीमै समर्पित हुनुपर्ने स्थिति छ । 

बनारसको अरु नाम काशी र वाराणसी हो । भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रबद्र्धन थलो हो । काशी भूमिमा शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रबद्र्धनको मुख्य केन्द्र हो । पुण्य कमाउने काशी पनि यही हो । शिक्षादीक्षा, व्यापार र पुण्य कमाउन तीर्थका निम्ति बनारस पुगेर स्थायी बसोबास गरेका नेपालीको संख्या पर्याप्त छ । नेपालका राजा–महाराजादेखि सर्वसाधारणसम्मको बनारसमा बसोबास थियो र छ अझै । बनारस ‘मिनी नेपाल’जस्तै छ । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ । ‘मानवीय स्वतन्त्रताको पहिलो स्वर बनारसबाट निस्किएको हो,’ एक कार्यक्रमका निम्ति बनारस पुगेका सांस्कृतिक विश्लेषक निनु चापागाईं भन्छन्, ‘नेपाली जनमानसलाई समृद्धितर्फ डोर्‍याउने काम बनारस भूमिले गरेको छ ।’

नेपाली पत्रकारिता साहित्यिक पत्रिकाको माध्यमबाट अघि बढेको हो । नेपाल साहित्यिक पत्रकार संघले बनारसमा हालैमात्र स्रष्टा सम्मान र बनारसको योगदानको चर्चा गराएको छ । साहित्यकार डीआर पोखरेलले ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहास उधिनेका थिए । उनले ‘गोरखा भारत जीवन’पछि बनारसबाट ४५ वटा नेपाली भाषाका साहित्यिक पत्रिका प्रकाशनमा आएको उल्लेख गरेका छन् । ती पत्रिकामा उपन्यास तरङ्गिणी (१९५९), सुक्तिसुधा (१९६१), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१), गोर्खाली (१९७२), जन्मभूमि (१९७९), उदय (१९९३) थिए । 

‘उदय’पछि प्रकाशित सर्वहितैषी पत्रिका, युगवाणी, छात्र, छात्रदूत, छात्रवाणी, ज्योति, सन्देश (२०१४), नौलो पाइला, मुनो, दीपक, उजेली, छात्रपथ, सन्देश (२०१८), छात्रप्रभा, कल्याणी, आमा, सुमुन, विश्वशिखा, नयाँ पाइलो, नेपाली साहित्य सम्पर्क समिति थिए । त्यसैगरी बिहानीपख, विश्व सन्देश, रवि, कोशीको लहर (२०२३), कोशीको सुषमा, वाणी साधना, अक्षर, संवेग, एकता, ज्ञानज्योति, अयन, प्रवास गुञ्जन, कोशी लहर (२०३४), वैदिक सुधा (२०३४) नाममा पत्रिका प्रकाशनमा थिए । बीएचयुका विद्यार्थीले ‘अयन’ पत्रिका प्रकाशन गरेका थिए भने बीएचयु, सम्पूर्णान्द विश्वविद्यालय र महात्मा गान्धी काशी विद्यापीठमा अध्ययनरत नेपाली विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघ इकाइले वार्षिक रूपमा ‘एकता’ पत्रिका प्रकाशन गर्दै आएका छन् । यो पत्रिका २०३९ सालदेखि प्रकाशनमा छ । 

आधुनिक हिन्दी साहित्यका जन्मदाता भारतेन्दु हरिश्चन्द्र (विसं १९०७–१९४१) को बासस्थान वाराणसीको चौखम्भा हो । चौखम्भामै भारतेन्दुका छिमेकी बन्न पुगेका काशीबहादुर श्रेष्ठ (विसं १९६८–२०४६) ले प्रकाशन गरेको ‘उदय’ साहित्यिक पत्रिकामात्र आजसम्म छापिँदै आएको छ । प्रकाशन आरम्भलाई लिने हो भने यो पत्रिका ८० वर्ष पुगेको छ । काशीबहादुरको निधनपछि उनका छोरा दुर्गाप्रसाद श्रेष्ठले ३० वर्षदेखि प्रकाशन निरन्तरता दिएका छन् । हालसम्म बनारसबाटै प्रकाशन भइरहेको ‘उदय’ साहित्यिक पत्रिका २०७३ सालसम्ममा १६३ अंक प्रकाशित छ । उमेरले ७८ वर्ष टेकिसकेका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ ‘उदय’ पत्रिकाको आयु दीर्घ बन्नेमा संशय प्रकट गर्छन् । 

भारतको उत्तर प्रदेशमा रहेको बनारसमा नेपाली भाषाको अध्ययन, शोध र अनुसन्धान गराउने केही शिक्षालय छन्– काशी हिन्दु विश्वविद्यालय (बीएचयु) र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय (एसएसयु) । कार्यपत्रमा छुटेका दुई पत्रिका छन्– ‘समयाङ्कन’ र ‘यात्री’ । बनारसबाट सन् १९९८ पारसप्रकाश नेपालको सम्पादनमा ‘यात्री’ साहित्यिक पत्रिका प्रकाशित भएको थियो । सम्पादक नेपालका अनुसार उक्त पत्रिका ३ अंक प्रकाशन भयो । 

त्यसैगरी काशी हिन्दु विश्वविद्यालयको भारतीय भाषा विभाग कला संकायबाट ‘समयाङ्कन’ अनुसन्धानात्मक पत्रिका (जर्नल) प्रकाशनमा छ । विभाग प्रमुख प्राध्यापक डा. सञ्जय राई (बान्तवा) बाट प्राप्त ‘समयाङ्कन’ वर्ष २१, अंक ७ (अभिदेशित अनुसन्धानात्मिका अगस्त), २०१६ प्राप्त छ । यसको सम्पादकीयमा भनिएको छ– ‘तत्कालीन प्राध्यापकद्वय प्रो. घनश्याम नेपाल अनि प्रो. कुमारबहादुर जोशीको सक्रिय एवं विद्वत् सम्पादन अन्तर्गत छापिएको ‘समयाङ्कन’ सन् १९९५ देखि सन् १९९७ सम्म जम्मा ६ वटा अंक प्रकाशित भइसकेको छ । आफ्नो इतिहास जति पुरानो हो, वर्तमानले त्यसमा उत्तिकै गौरवबोध र गर्व राख्न सक्छ । जसको इतिहास समृद्ध छ, उसको सम्मान धेरै हुन्छ । भाषा र साहित्यको विकास र अनुसन्धानको दिशामा ‘समयाङ्कन’ले एक्काइस वर्षअघि राखेको कोशेढुंगोबाट यहाँसम्मको यात्रा गर्दा भारतीय भाषा विभागले के कति कार्य गर्न सक्यो भन्ने कुरोको प्रतिफलन यसको पुन: प्रकाशनद्वारा प्रकट हुन गइरहेको छ ।’

वरुणा र असी दुई नदीको बीचमा रहेकाले यस सहरको नाम वाराणसी रहेको भन्ने कथन छ । पुरानो नाम काशी हो । यहाँ गंगा उत्तरतर्फ बगेकी छन् । यही नदीको वाराणसी खण्डमा ८० घाट छन् । बनारसलाई रोम सहरभन्दा पुरानो मानिन्छ । जतिबेला बनारस नेपालीका निम्ति पुग्नैपर्ने केन्द्रका रूपमा थियो, उतिबेला त्यहाँ बसेका नेपालीले नेपालीकै निम्ति ‘नेपाली धर्मशाला’ बनाइदिएका छन् । सन् १९३७/३८ तिर पण्डित जगन्नाथ गुरागाईंले ‘श्री विद्याधर्म प्रचारिणी नेपाली समिति, वाराणसी’ स्थापना गरिदिए । समितिका वर्तमान कार्यसमितिमा ‘उदय’ पत्रिकाका सम्पादक साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ र उनका भाइ विजयकुमार श्रेष्ठ सचिव (मन्त्री) छन् । ‘कार्यसमितिका हामी सबै बुढ्यौली पुस्ताका छौं,’ समस्या सुनाउँदै समितिका सचिव श्रेष्ठले भने, ‘शारीरिक रूपमा अशक्त बन्दैछौं । नयाँ पुस्तालाई क्रियाशील तुल्याउन मुस्किल परेको छ । हुर्केका छोराछोरी, नातिनातिना रोजगारीका निम्ति बनारस बाहिर जान्छन् ।’ नेपाली पाहुनाको आगमन घटेपछि र स्थानीय नेपालीभाषी रोजगारीका निम्ति अन्यत्र जाने क्रम बढेपछि धर्मशाला हेर्ने मान्छेमात्र होइन, नेपाली भाषा बोल्नेको अभाव हुँदै गएको छ । नेपाली संस्कृत महाविद्यालय भए पनि विद्यार्थी घट्दो छ । बनारस क्षेत्रमा एक हजारभन्दा बढी नेपालीको घर संख्या रहेको अनुमान छ । ‘म कुनै बेला चार सय घरमा जजमानी गर्थें, अहिले दस घरमात्र छन्,’ बनारसमा रहेका आचार्य देवनायक न्यौपानेले सुनाए । 

विद्याधर्म प्रचारिणी समिति अन्तर्गत एउटा पुरस्कार पनि छ– ‘मदन स्मारक व्याख्यानमाला’ (मदन स्मारक सम्मान) । यो पुरस्कार भारतमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति प्रबद्र्धनमा योगदान दिएका स्रष्टामध्ये वार्षिक एक जनालाई प्रदान गरिन्छ । ‘विद्या हराए काशी जानु’ भन्ने उखानै छ । नेपालबाट विद्या आर्जन गर्न काशी जाने घटेसँगै बनारसवासी नेपालीभाषीको सम्पर्क टुट्दै गएको छ । त्यहाँको राष्ट्रभाषा हिन्दीमा हरपल व्यवहार हुने गर्छ । त्यसैले पनि नेपाली भाषा लेखन, प्रकाशन घट्नु स्वाभाविक हो । भारत सरकारले नेपालबाट प्रकाशित पत्रपत्रिका व्यापारिक दृष्टिले प्रतिबन्ध लगाएको छ । बनारस–नेपाल आऊ–जाऊ गर्ने स्रष्टा खासै छैनन् । त्यसैले पनि नेपाल साहित्यिक पत्रकार संघले बनारसमै नेपाली साहित्य सेवामा समर्पित ‘उदय’का सम्पादक साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई बनारसमै पुगेर सम्मान प्रदान गरेको छ । बनारसका घाटहरूमा धर्म कमाउने नेपाली पर्याप्त छन् । केवल खाँचो छ, नेपाली भाषामा साहित्य सिर्जना गर्ने र यी पुरस्कारको हकदार नवीन पुस्ता । जसले बनारस र नेपाली भाषाको रस अनन्तसम्म सिंचन गरिरहुन् । 


प्रकाशित: वैशाख ९, २०७४
http://kantipur.ekantipur.com बाट साभार 

Monday, April 10, 2017

दुर्घटनाको त्रासदीमा रुमल्लिँदै – रामप्रसाद पन्त

नियात्रा

हामी चार बजेअघि नै उठिसक्ने र साढे चारसम्म तल ओर्लने निर्णय गरेर सुतेका थियौँ — हिजो राती । 
भनेअनुसार नै हामी साढे चार बजे एनसीडिसी भवनको भुइँतलामा ओर्लिइसकेका थियौँ । तर पुष्प राजवंशीको निद कडा परेछ, ताल्चा लागेको कँैचीगेट हामीले जति घण्टी बजाउँदा पनि र उसको नाम लिएर जति कराउँदा पनि पन्ध्र मिनेट थुनिइरह्यौँ भित्रै । अखिल नेपाल साहित्यिक पत्रकार संघ झापा शाखाका कोषाध्यक्ष देवीचन्द्र यात्री बाहिरबाट मोटरसाइकलमा आएर खोलिदिएपछि मात्र निस्कियौँ बाहिर । 
चालक अजय रन्जितले माइक्रो स्टार्ट गरिसकेका थिए । देवीचन्द्रजीको बिदाइपछि हामी माइक्रोमा बस्यौँ र हिँडिहाल्यौँ । रोचक घिमिरे, डा. तुलसी भट्टराई, मोहन दुवाल, लक्ष्मी उप्रेती, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, नरेश श्रेष्ठ, ठाकुर शर्मा, भारती श्रेष्ठ, विष्णु भण्डारी र म नेपाल साहित्यिक पत्रकार संघ र झापा शाखाको आयोजनामा भद्रपुरमा सम्पन्न सम्मान एवं कार्यपत्र प्रस्तुत समारोहमा भाग लिएर काठमाडौँ फर्कँदै थियौँ — २०६९ सालको असार १४ गते । फर्कँदा डा. भट्टराईको सट्टा शेषराज सिवाकोटी हुनुहुन्थ्यो हामीसित । 
विर्तामोड निस्केर पश्चिम मोडिएपछि माइक्रोको गतिमा तीव्रता आयो । झापातिर जाँदा सिट अघि पछि परे पनि यसबेला म मातृका पोखरेलसँग छु र मैले झ्यालतर्फको सिट कब्जा गरेको छु । यस सिटले विशेष अर्थ राख्छ मेरा लागि । पूर्वतर्फको भूगोल धेरै पढ्नुभएको रहेछ पोखरेलले । त्यसैले मलाई उहाँसँगैको सिट फाइदाजनक भएको छ । 
परिचय दिँदै हुनुहुन्छ उहाँले, ठाउँठाउँको । 
मिरिन खोला माथिको पुलमा गुड्दै गर्दा पोखरेलले उत्तरतिर सङ्केत गर्नुभयो— ‘यहीँ माथि पर्छ सुखानीको जङ्गल, जुन जङ्गलले स्वतन्त्रता सङ्ग्राममा मारिने सहिदहरुको सम्झना गराउँछ ।’ 
तर उज्यालो ओर्लिसकेको थिएन बिहानको, त्यसैले देखिएन स्पष्ट ।
त्यसपछि आयो— सुरुङ्गा बजार र अनि आयो— नेपालकै सबैभन्दा लामो ७०० मिटर कन्काइ पुल । यी सबै अँध्यारोमै पछाडि परे । 
माइखोला नजिकिँदै गर्दा पोखरेलले देखाउनुभयो— दक्षिणतिरको अस्पष्ट भूभाग र भन्नुभयो— ‘उ .... त्यहाँनिर थियो— झापाको पुरानो बजार ।’ 
बल्ल आइपुगेछ झिलमिले । जसको नाम मैले धेरैपटक लिएको थिएँ— त्यहाँ जाने सोचाइ राखेर । तर कीचकवध जान पनि धौ धौ परिरहेका बेला झिलमिलेको औचित्य विहीन देखेर मैले झिलमिलेको नामै उच्चारण गर्न छाडिदिएको थिएँ । अर्थात् त्यहाँबाट उत्तर लागेपछि छ÷सात किलोमिटरभित्र सतासीधाम पुग्न सकिन्थ्यो । 
कुरा गर्दागर्दै आइपुगेछ दमक बजार । म सोच्दै थिएँ, झापाका मुख्य बजार यिनै हुन् क्यारे — चन्द्रगढी, भद्रपुर, सुरुङ्गा र दमक । 
दमक नाघेको केही समयपछि आयो पथरी । पोखरेलले विमला तुम्खेलको नाम लिनुभयो— ‘उनको घर यहीँ हो ।’ 
उषा फक्रिँदै थियो, धरती उज्यालिँदै थियो । बाटो छेउको जङ्गलमा प्रसस्त उमे्रका देखिए सालिकहरु । नरेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो— ‘सालिकको साम्राज्य ।’ उहाँको सङ्केत थियो— आफ्नो रचना । अर्थात् कवितासङ्ग्रह— सालिकको साम्राज्य । जुन किताब निकै चर्चामा थियो एकताका । 
चारकोसे झाडीकै छेउछाउ छौँ हामी । तर अहिले स्वरुप बदलिएको छ— जङ्गलको । पोखरेलको भनाइ छ — ‘सामुदायिकले बाँचेको छ वन, नत्र उहिल्यै सकिन्थ्यो ।’ 
बेलबारी आइपुगेको छ टुप्लुक्क । मलाई थाहा थिएन, त्यस भूमिले थुप्रै सुवेदी साहित्यकारहरु जन्माएको रहेछ — अभि सुवेदी, पुरुषोत्तम सुवेदी, पुण्य सुवेदी, गीता सुवेदी र अन्य सुवेदीहरु ।
आइपुगेछ विराट चोक । विराटनगर गइँदो रहेछ त्यहाँबाट । मेरो सोचाइ थियो — विराटनगर इटहरीबाट मात्र गइन्छ होला ! तर होइन रहेछ, विराटचोकबाट भित्रिने बाटो त अझ पुरानो रे ! 
‘दुलारी’ लेखिएका बोर्डहरु देखिन थाले पसल अगाडि । त्यस नामले स्मृति दिलायो— कृष्ण बाउसे र अनिल पौडेलको । उनीहरुको जन्मथलो हो दुलारी । 
लगत्तै आयो बूढी गङ्गा । त्यस नदीले छुट्याउँदो रहेछ मोरङ र सुनसरीलाई । इटहरी चोक आयो— उत्तर धरान र दक्षिण विराटनगरको चौबाटो । उपेन्द्र पागलको नाम लिनुभयो पोखरेलले — ‘यहीँ नजिकै पर्छ पागलको घर ।’ 
अलिकति पश्चिम लाग्नेबित्तिकै आयो — चतरानगर, अर्थात् झुम्का । त्यहाँबाट नहरैनहर उत्तर लागेपछि बराहक्षेत्र पुगिन्छ भन्ने थाहा पाएको छु मैले । तर पुग्ने सौभाग्य मिलेको छैन । 
इटहरी नाघेर ओकाहा पुग्दा मातृकाजीले एउटा बडो सान्दर्भिक कुरा सुनाउनुभयो । त्यहाँबाट करिब १५ किलोमिटर उत्तर ‘रामधुनी’ नामको पौराणिक स्थल छ रे ! जहाँ हजारौँ वर्षदेखि अटुट रुपमा धुनी बलिरहेको छ रे ! वनवासको बेला रामले बाली छाडेको धुनी रे त्यो ! 
हामी प्राचीनतामा विश्वास गर्ने मान्छे, प्रचलित मिथकहरुलाई पनि आंशिक रुपमा स्वीकार्ने संस्कारमा बाँचेका मान्छे ! यस रामधुनीको प्राचीनतालाई पनि हामीले स्वीकारेका छौँ । तर मलाई थाहा थिएन, रामधुनीको अस्तित्वका बारेमा । यदि यसै हो भने त्यस क्षेत्रको विकास हुनुप¥यो । धार्मिक एवं पर्यटकीय दृष्टिले पनि त्यो ठाउँ उपयुक्त हुन सक्छ । रामधुनीजस्तै विकासको पर्खाइमा रहेका अनेकौँ ठाउँहरुको चर्चा भयो हामीमाझ । 
धुइँपत्ताल गुडिरहेको गाडी एक्कासी घ्याच्च रोकिँदा झस्कियौँ हामी । अगाडि हेरेको त बाटै छैन । झन्डै खसेका खोलामा । बाढीले पुल बगाएको हुँदा नयाँ पुल बन्ने क्रममा रहेछ । डाइभर्सन नदेखेर माइक्रो कुदेछ सीधै । अजय (ड्राइभर) ले ब्याक ग¥यो र डाइभर्सनतिर हाल्यो । एउटा सम्भाव्य दुर्घटनाबाट जोगियौँ हामी । 
इटहरी आइसके छ । चियाको तलतल लाग्यो हामी सबैलाई । बिहानको सात बज्यो, चिया खाने बेला पनि त भयो । बाटै मुनिको एउटा पसलमा विनादूधको चिया र निम्की विस्कुट खायौँ हामी । नरेन्द्रजीले बायाँ हातमा लिनुभएको चियाको गिलासलाई सङ्केत गर्दै मातृकाजीले व्यङ्ग्य गर्नुभयो — ‘बिहानको चिया दाहिने हातमा लिइन्छ, बेलुकाको चिया बायाँमा । तपाईंको गिलास बिहानको कि बेलुकाको ?’ 
हाँसो भयो हामीमाझ । 
चिया खाएपछि यात्राको क्रम पुनः अगाडि बढ्यो । 
कोशी नजिक हुँदै रहेछौँ क्यारे !, ०६५ सालमा कोशीको बाढी पसेर गाउँका गाउँ डुबाएको सङ्केत देखिन थाल्यो— कतै बालुवा कतै बगर । 
‘यतैबाट जान सकिन्छ कोशीटप्पु’— भन्दै हुनुहुन्थ्यो मातृकाजी । 
२०४६ सालमा सरकारी कामको सिलसिलामा सरकारी गाडी प्रयोग गरेर इनरुवा पुगेको बेला कोशीटप्पु जाने प्रयास गरेको थिएँ । अलिकति भित्र छिरेको पनि थिएँ तर बाटोको रुपरेखा पहिचान गर्न सकिनँ र फर्केँ । सोच्दैछु— कोशीटप्पु जाने र चराको राजधानी हेर्ने मौका कहिले मिल्ला ! 
भान्टाबारी आइपुगेछ  अर्थात् कोशीको पूर्वी किनार । 
देखिइहाल्यो कोशी ब्यारेज । नेपालको अमूल्य सम्पत्ति । तर प्रयोगमा आएको छ हामीलाई भन्दा बढी भारतलाई । दुःखद् कथा छन् कोशीका पनि ।
हामी ब्यारेजमाथि गुड्न थाल्यौँ । ५२ ढोका भएको लामो कोशी ब्यारेजलाई नाघ्दै र  पश्चिमी किनारमा कोशीको सुरक्षार्थ बसेकी कङ्काली माईलाई नमन गर्दै माइक्रो अकन्टक कुद्यो पश्चिम । 
अब हामी सप्तरीको भूमिमा प्रवेश गरेका छौँ र बरमझियाको पेडा सम्झिरहेका छौँ । पूर्व जाँदा हामीले एउटा पेँडा पसलेलाई वचनबद्ध गराएका थियौँ — ‘पर्सी हाम्रा लागि १० किलो पेडा (खुवासमेत) तयार गरी राखिदिनू  ।’ 
पसल अघि माइक्रो रोकिनेबित्तिकै हँसिलो अनुहारमा देखियो पेडापसले ।
अस्ति भनेकै मूल्यमा तपाईंहरुका लागि पेडा प्रतिकिलो पाँच सय । चिनी नहालेको र डल्ला नबनाएको खुवा साढे पाँच सय । 
झनै गुलियो नहालेको खुवाको ५० रुपैयाँ बढी ? 
प्रश्न गर्नेहरुलाई पसलेको जवाफ थियो — ‘असली खुवामा सस्तो चिनी नमिसाएको कारण । तपाईं लैजानुस्, चिनी हाल्नुस् या त्यसै खानुस् तपाईंको इच्छा ।’ 
कुरा त मनासिवै हो, चित्त बुझ्यो हामीलाई । स्वेच्छाको कुरा थियो त्यहाँ । आ–आफ्नो गोजीबाट पैसा निकाल्यौँ इच्छा लागेको किन्यौँ र इच्छा लागेको खायौँ । बाँकी झोलामा । 
यात्रा बढ्यो अगाडि ।
‘बरमझिएको पेडामात्र प्रसिद्ध, जग्गा प्रसिद्ध छैन यहाँको’ — मातृकाजीले प्रश्न गर्न बाध्य पार्नुभयो मलाई । 
किन ?
‘यहाँ बस्तीको घनत्व छैन, सुरक्षाको दृष्टिले पनि कमजोर छ यहाँको जनजीवन र त्यति उर्वर पनि छैन यहाँको जमिन । त्यसैले होला, अलिकति भित्रपट्टि त पाँच÷छ हजार बीघा पनि पाइन्छ भन्छन् घुमन्तेहरु ।’ 
उहाँले उत्तरतर्फको घना जङ्गल देखाउनुभयो र भन्नुभयो — ‘यस जमिनको भन्दा त्यस जङ्गलको महत्व ठूलो छ ।’ 
कुरा हुँदै थियो, हामी कन्चनपुरलाई पछाडी पार्दै रुपनी बजार पुगिसके छौँ हामी । जहाँबाट दक्षिण लाग्ने हो भने दशै किलोमिटरमा राजविराज पुगिन्छ । कुनै बेला म राजविराज पुगेको छु र छिन्नमस्ता भगवतीको दर्शन गरेको छु । 
हामी कतै रोकिएका छैनौँ र रोकिने पक्षमा पनि छैनौँ । 
अब हाम्रा अगाडि आएको छ— मोहनी खोला र त्यो नाघ्नेबित्तिकै आएको छ— सिराहाको लाहान बजार । 
पहिलेजस्तो थिएन अहिलेको लाहान । अशोक वृक्ष र कलमी रुखहरुले सजिएको लाहान बजार राम्रो लाग्यो मलाई । तर मध्यमार्गमा ठडिएको सिद्धिचरण श्रेष्ठको सालिक ढालिएछ र तराई आन्दोलनमा मारिनेहरुको संयुक्त मूर्ति राखिएछ । सहिदहरुको मूर्ति राख्नु राम्रो कुरा हो तर भएको मूर्ति ढालेर अरुको राख्नु नराम्रो कुरा । यस्तो संस्कृतिले भोलि त्यो मूर्ति पनि ढल्न सक्छ र अर्काे मूर्ति स्थापित हुन सक्छ । यस्तो प्रवृत्ति दोहोरिनु हुन्न भन्यो मेरो अन्तरआत्माले । 
धनगढी आयो त्यसपछि र मातृकाजीले नाम लिनुभयो — प्रदीप गिरी र ईश्वर पोखरेलको । उनीहरु यसै भूमिका उत्पादन हुन् । 
गोलबजार नाघेर मिर्चैया पुगेपछि माइक्रोमा समस्या देखियो । 
के भयो ? 
बकेट फेर्नुपर्ने भयो । 
ब्रेकआयलसँग सम्बन्धित बकेट सानो तर जहाँतहाँ नपाइने चिज रहेछ । त्यसै भएर चालकले बुद्धि पु¥याएरै लिएर गएको रहेछ । 
कति समय लाग्छ ? 
आधा घण्टा लाग्ला ! 
खुल्ला आकाशबाट ओर्लेको सूर्यको तापले पृथ्वी तताउँदै थियो । फुटपाथमा रुखहरु थिएनन् । हामी सियाल खोज्दै एउटा पसलमा पुग्यौँ । चिसो किन्यौँ र खायौँ । पसलमालिक रहेछन्— नागेश्वर शाह । राजनीतिमा चासो राख्दा रहेछन् । 
सोधिहाले उनले — ‘तपाईंहरु कुन पार्टीको ?’ 
मैले भनेँ— ‘हामी त नेपाल पार्टी । अखण्ड नेपाल हाम्रो नारा हो । हिमाल पहाड तराई, एकै घरका दाजुभाइ हाम्रो पहिचान हो । कस्तो लाग्यो हाम्रो पार्टीको विचार ?’ 
उनी अकमकिए, सायद मेरो कुरा स्पष्ट बुझेनन् । 
मैले सोधेँ— ‘तपाईं त फोरम होला ?’ 
‘होइन, म त माओवादी । बाबुराम भट्टराई मलाई मन पर्छ’ — उनले भने । 
तबसम्म गाडीको समस्या सुल्झिसकेको थियो । टायर खोलेर हेर्दा बे्रकआयल बदली गरेमात्र पुग्ने देखिएछ । बकेट नबदले पनि हुने भएछ । 
माइक्रो चढेर सय मिटर अगाडि बढ्नेबित्तिकै भेटियो— ओखलढुङ्गा जाने १०४ किलोमिटर मोटरमार्गको प्रस्थान बिन्दु । 
माइक्रो बनाउँदा जति ढिलो भयो, सो भयो । अब सानोतिनो कारणले गाडी नरोक्ने मतैक्यता प्रकट गरेर बढ्यौँ अगाडि । 
‘बन्दिपुरमा गुड्दैछौँ’ भन्नुभयो मातृकाजीले । रामप्रसाद दाहालको सम्झना भयो तत्काल मलाई । 
भोजपुरमा जन्मेका दाहाल सिराहा झर्नुभयो र बन्दीपुरमा बस्न थाल्नुभयो । उहाँले धेरैचोटि सुनाउनुभएको थियो मलाई बन्दीपुरको नाम । 
कमला नदी किनारको एउटा सुन्दर गेटमा नजर प¥यो मेरो । गेटमाथि लेखिएको थियो —‘फूलकुमारी महतो विद्यालय ।’ 
मैले जिज्ञासा राख्नुअघि मातृकाजीले भन्नुभयो— ‘उपेन्द्र महतोले जग्गा किनेर आफ्नी आमाको नाममा बनाइदिएको विद्यालय । ठूलो लगानी छ उनको यस विद्यालयमा । प्रशस्त सुविधासम्पन्न छ यो विद्यालय ।’ खुशी लाग्यो — एउटा नेपालीको छोराले विदेशमा समेत नाम कमाएको छ र विदेशबाट पैसा ल्याएर एनआरएनको नामबाट नेपालमा लगानी गरेको छ । 
कमला पार गर्नेबित्तिकै लाग्यो धनुषा र देखियो गोदार गाउँ । ‘गोदार’ भन्नेबित्तिकै गोदारे बन्धुको सम्झना भयो मलाई, अर्थात् नारायण गोदारे । कविता लेख्नुहुन्थ्यो र गर्जेर कविता पाठ गर्नुहुन्थ्यो तर अहिले उहाँ विभिन्न रोगको आक्रमणमा पर्नुभएको छ । र, घरबाट बाहिर निस्कन सक्नुभएको छैन । 
हामी धनुषाकै भूमिका गुड्दै थियौँ, मातृकाजीले भन्नुभयो — ‘जुन ठाउँको नामबाट जिल्लाको नाम धनुषा भयो, त्यो ठाउँ यहाँबाट दक्षिणमा पर्दछ । त्यहाँ आदिकालदेखि राखिएको विशाल शिवधनुष आद्यावधि स्थापित छ । तर त्यो पौराणिक ठाउँको परिचय दिने कुनै योजना अगाडि सारिएको छैन । रामधुनीजस्तै छ धनुषाधामको अवस्था पनि ।’ 
कुरैकुरामा हामी पुगेछौँ ढल्केबार । जहाँबाट हामी जनकपुरधाम प्रवेश गर्छाैँ । त्यही प्रवेश मार्ग बीचको गोलघुम्तीमा जब हामी घुम्दै थियौँ, एउटा मोटरसाइकललाई माइक्रोले छोइहाल्यो । तर दुर्घटना भएन । हामी सोच्दै थियौँ— अब यस मोटरसाइकलवालाले के बबाल गर्ने हो ? तर ऊ चुपचाप धनुषाधामतिर लाग्यो । 
माइक्रो चालक अजयले भन्यो— गल्ती उसैको थियो, त्यसैले रोकेन । नत्र ...... । 
हामीले भन्यौँ — ‘गल्तीको कुरा होइन, सोझो रहेछ भन न । गल्ती होस् कि नहोस् ठूलाले सानालाई छोएपछि सजाय ठूलाले नै भोग्नुपर्छ । यस्तै नियम छ सवारी साधनको । बालअधिकार मात्र बनेको छ, बालकर्तव्य छैन हाम्रो कानुनमा ।
कङ्गोको  दृश्य आयो झलक्क । कङ्गोमा मोटरसाइकल चलाउने कालेहरु युएनका मोटरहरु आएको देखे भने त्यतैतिर जोत्छन् रे मोटरसाइकल । छोइहाल्यो र सानोतिनो नोक्सानी भयो भने थुप्रै पैसा असुल्छन् रे !
जे होस् एउटा अर्काे खड्कोबाट जोगियौँ हामी । 
तराईको भूमिमा गुड्दै गर्दा उत्तरबाट दक्षिणतिर बग्ने खोला त कमै देखिन्थे, बढी भेटिन्थे— सुष्क खहरेहरु । विचार गर्थेँ— कति धेरै उर्वर जमिनलाई बगरमा परिणत गरेका छन् यी खहरे खोलाहरुले ! यी स्वच्छन्द खोलाहरुलाई सीमित घेरामा राख्नसक्ने क्षमता छैन हामीमा । 
धनुषा नाघेर महोत्तरी प्रवेश गर्दैगर्दा सहिद ऋषि देवकोटाका कुरा भए, उमा देवकोटाका कुरा भए, दुर्गा सुवेदीका कुरा पनि उठे, भद्रकुमारी घले र टीकाजङ थापाबीचका कुराहरु पनि भए । अर्थात् उनीहरुले के दिए, के लिए र के गर्नु नगर्नु गरे । 
जलेश्वर प्रवेश गर्ने चौबाटोमा आएपछि रोचक दाइले भन्नुभयो — ‘हाम्रो मौजा यहाँबाट तीन÷चार किलोमिटर दक्षिणमा पर्छ ।’ 
त्यहाँबाट पश्चिम लागेपछि मातृकाजीले हाम्रो सहमति लिनुभयो र फोन गर्नुभयो एक ठाउँमा— ‘हामी बाह्र जना आउँदै छौँ, चियामात्र खान्छौँ हामीले त्यहाँ, धेरैबेर बस्ने समय छैन ।’ 
मातृकाजीकै फोनले मोड्यो माइक्रो बर्दिबासबाट सिन्धुली माडीतिर । त्यसमार्गको कथा सम्झेर पीडा हुन्छ मलाई बेलाबखत । २०१५ सालमा रेखाङ्कन भएको बर्दिबास–धुलीखेल मार्ग अहिलेसम्म खुल्न सकेको छैन । कति दूरदर्शी सोच थियो— वीपी कोइरालाको । १६० किलोमिटर मात्र दूरी भएको त्यो मार्ग त्यसैबेला बनेको भए हाम्रो राष्ट्रिय खर्च कति जोगिँदो हो ! काठमाडौँबाट पूर्व जाने यात्रुहरुको समय पनि कति बचत हुँदो हो ! 
करिब डेढ किलोमिटर कालोपत्रे बाटोमा गुडेर आधा किलोमिटर जति दाहिनेतिर छिरेपछि आउँदो रहेछ — आधारशिला ।
आधारशिलाको आइडिया नया लाग्यो मलाई । थोरै आम्दानी भएका द्वन्द्वकालका लडाकु वा द्वन्द्व पीडितहरुका लागि सामूहिक रुपमा काम गरेर सामूहिक रुपमा बस्ने खाने नयाँ तरिका थियो त्यो । 
हाल पन्ध्र परिवारको संयुक्त बसोबास रहेछ त्यहाँ । परिवर्तन प्रालिको नाममा दर्ता भएको एक विघा 
जमिन ओगटेर स्थापना भएको त्यो आधारशिला नामक संस्थाका अध्यक्ष रहेछन् गिरिराजमणि पोखरेल । हामी त्यहाँ पुग्दा पोखरेल उपस्थित थिएनन् । हाल कार्यबहाक अध्यक्षको रुपमा दिपबहादुर योन्जन रहेछन् । 
दोहोरो परिचय भयो हाम्रो । 
हामीलाई स्वागत गर्नेमा दीपबहादुर योञ्जन, ध्रुब कार्की, सुमन देवकोटा र शिव फुयाँल लगायतका सदस्यहरु थिए । आशा गिरीले चिया ल्याइन् । हामीले चिया खाँदै दीपबहादुर योञ्जनका कुरा सुन्यौँ । आधारशिलाको योजना राम्रो रहेछ । सहकारी, स्वास्थ्य, पशुपालन, पाठशाला, अध्ययन केन्द्र, पुस्तकालय र पत्रिका समेत सञ्चालन गर्ने प्रक्रियामा रहेछ — आधारशिला । 
विशेष प्रविधिबाट निर्मित रुचि मसला उद्योग पनि सञ्चालनमा रहेछ — त्यस परिसरभित्र । पुस्तकालय भवन पनि तयार हुँदै रहेछ त्यसै परिसरभित्र । तर खेतीका लागि उपयुक्त जमिन रहेनछ त्यहाँ । दुई÷तीन फिट गइराहइमा पुगेपछि ढुङ्गैढुङ्गा भेटिन्छ रे ! सयौँ फिट गहिराइमा गए पनि पानी भेटिन्न रे ! सर्पका लागि चाहिँ प्रसिद्ध ठाउँ रे त्यो ! सायद जमिनमुनि ढुङ्ग्यान भएकै कारण सर्पलाई बस्न सजिलो भएको हुन सक्छ ! 
चिया खाने र फर्किहाल्ने भनेर गएका हामी भुलेछौँ एक घण्टाभन्दा बढी । ठीक बाह्र बजे निस्कियौँ हामी त्यहाँबाट । 
हामीले बर्दिबासबाट पुनः बाटो सोझ्यायौँ । जति ढीलो भए पनि हेटौँडा पुगेरै भात खाने योजना छ हाम्रो । 
महोत्तरी नाघेर सर्लाहीको लालबन्दी पुगेपछि मातृकाजीले त्यहाँको विशेषता बताउनुभयो — ‘नेपालमा सर्वाधिक गोलभेँडा फल्ने ठाउँ हो लालबन्दी । सिजनमा यहाँ दुई रुपैयाँ किलोसम्म गोलभेँडा पाइन्छ ।’ 
अलिकति अगाडि बढेपछि बायाँपट्टि देखियो ठूलै बागवानी । सरकारी लगानीमा सञ्चालित बागबानी रहेछ त्यो । 
त्यसपछि देखियो नवलपुर बजार । त्यहीँबाट एउटा बाटो दक्षिण लाग्दो रहेछ — मलङ्गवा । मातृकाजीबाट मैले नवलपुरका दुई वटा विशेषता सुनेँ — एउटा राम्रो अर्काे नराम्रो । नेपाली काँगे्रसका इमानदार तथा तपस्वी नेता रामहरि जोशीको क्षेत्र रे नवलपुर ! अर्काे नराम्रो कुरा किन लिपिबद्ध गरिरहुँ खै ? 
हरिवन आउन लागेको सङ्केत दिनुभयो— मातृकाजीले । र, नाम लिनुभयो — ध्रुबहरि अधिकारी, दिनेशहरि अधिकारी र कार्तिकेय घिमिरेको । रोचक दाइले थप्नुभयो — ‘गुणराज काफ्लेको मौजा पनि यतै पर्छ ।’ 
मेरा आँखा उखुको जङ्गलमा पर्दै थिए । अहो ! कति धेरै उखुघारी । यतिविधि उखु मैले तराईका अन्य ठाउँमा देखेको थिइनँ । ‘इन्दुशङ्कर चिनी उद्योग छ नि त यहाँ’ — मातृकाजीको कुरा सुनेर म झल्यास्स भएँ । हो त हरिवनस्थित चिनी उद्योगको नाम मैले धेरैचोटि घोकेकै हो । 
कर्मैया बजार आयो त्यसपछि । कर्मैया सर्लाहीमा पर्छ भन्नेकुरा मलाई किन कण्ठस्थ थियो भने त्यस क्षेत्रका साहित्यकार लीलाराज दहालले ‘दायित्व’मा छपाउनका लागि रचनाहरु पठाइरहनुहुन्छ । ती रचनाहरु केही छापिएका छन्, धेरै फाइलमा नत्थी गरिएका छन् । 
बाग्मती भेटियो बाटैमा । काठमाडौँको त्यो फोहर कालोमैलो बाग्मतीको पानी यहाँ निर्मल देखिएको छ । पानीको धर्मै त्यस्तै हो क्यारे ! लामो यात्रा तय गरिसकेपछि पानी स्वच्छ र निर्मल मात्र होइन, किटाणुरहित पनि हुन्छ रे ! 
बागग्तीको नघाइसँगै हामीले सर्लाहीलाई पनि छाड्यौँ र रौतहटमा प्रवेश ग¥यौँ । फास्टट्र्याकको निशानी देखियो दायाँतर्फ । रुखहरु कटानी भइसकेको तर डोजर चलाइनसकिएको  अवस्थामा थियो फास्टट्«याक । जतिसक्दो चाँडो चार लेनको बाटो तयार भयो भने हामी ८४ किलोमिटर मात्र बाटोमा गुडेर राजधानी छिर्न सक्ने छौँ र बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि धेरैभन्दा धेरै पर्यटकलाई नेपाल प्रवेश गराउन सक्नेछौँ । 
गाडी तीव्र गतिमा नै गुडिरहेको छ । चार बजेसम्म हेटौँडा पुगिन्छ कि भन्ने अनुमान छ हाम्रो । अगाडि आउँदै गरेको पुलको मुखमा लेखिएको देखियो — धन्सार पुल । 
त्यस पुलको नाम लिनेबित्तिकै मैले सम्झेँ— कवि तुलसी दिवसलाई । ०६२÷६३ को कुरा हो क्यारे ! नव विवाहित दुलाहादुलही समेत बसेको पिकअप गाडी त्यसै खोलाको भेलमा परेको थियो । र, दिवसका दुई बहिनी एक ज्वाइँ एक दिदी र एक भाइ गरी जम्मा पाँच जनालाई त्यस खोलाले निलेको थियो । 
तर अहिले नयाँ पुल बनेको छ र हामी त्यसैमाथि गुड्दै छौँ । पुलको पश्चिमी मुखमा पुग्नै लाग्दा तीव्र गतिमा पूर्वतर्फ हानिएका दुईवटा बस तँछाडमछाडको अवस्थामा बाटो ढाकेर आउँदै गरेका देखिए । पछिल्लो बसले अघिल्लो बसलाई उछिनेर धुइँपत्ताल उड्यो । तर साइड दिएर पछि परेको बसले गति कम गर्दागर्दै पनि हाम्रो माइक्रोसँग जुधुँलाजस्तो गरी आइपुग्यो नजिकै । हाम्रो चालकले पनि रोक्न सकेन । बायाँतर्फबाट छिराउने ठाउँ नभएपछि र अन्ततः जुध्ने अवस्थामा पुगिसकेपछि हाम्रो चालकले हत्त न पत्त मोडेर रङ साइडबाट दाहिनेतिर छिरायो । 
‘के गरेको यस्तो ?’ मेरो भयपूर्ण आवाज निस्क्यो अचानक । 
चालकले कुनै उत्तर नदिएर अलि परै पु¥याएर साइड लगायो । हामी सबै ओर्लियौँ । सबैका अनुहार त्रसित र भयभित देखिए । तर डरलाग्दो दुर्घटनाबाट बाँच्न सकेकोमा हामीले आफैँलाई भाग्यमानी ठान्यौँ ।
कारण सोध्यौँ— चालकसित ।
ऊ स्तब्ध र त्रसित मुद्रमा देखियो । सपनाबाट ब्युँझेजस्तो, छाँगाबाट खसेजस्तो, अन्यमनस्क, चेतनाशून्य । झट्ट बोल्न पनि सकेन ऊ । सुस्त बोली निस्क्यो उसको — ‘ब्रेक फेल भयो ।’ 
अब पो हाम्रो सातोपुत्लो उड्यो । आपसमा कुराकानी ग¥यौँ — ठूलो भाग्यले बाच्यौँ हामी । भगवान्ले हात थापिदिए हामीलाई । 
त्यसपछि त मैले÷हामीले चालकलाई शतशत धन्यवाद दियौँ ।
पथलैया पुग्न अझ ३१ किलोमिटर देखाउँदै छ— बाटो छेउको कंक्रिट स्तम्भले ।
यस निर्जन वनमा अब के गर्ने ? 
सल्लाह भयो — ‘गाडी बिस्तारै छेउ लगाएर लैजाने र निजगढमा बनाउने ।’
भयो त्यसै ।
तर्कना गरेँ मनमनै मैले — ‘यो खोला त साहित्यकारलाई तर्साउनकै लागि रचना भएको रै’छ कि क्या हो ?’ 
निजगढ पुग्दा दिउँसोको दुई बज्यो । 
पौने घण्टा लाग्यो ब्रेक बनाउन । 
अब हामी अगुल्टाले हानेका कुकुर जस्ता भयौँ । चालक पनि डरायो, पहिलेजस्तो कुदाउन सकेन । 
हामी बिस्तारै बकाहा नदी पार गर्दै थियौँ, मातृकाजीले तीन÷चार किलोमिटर उत्तरको जङ्गल देखाउनुभयो र भन्नुभयो— रामबहादुर बंजनको तपस्थल त्यही हो ।
पथलैया नाघेर चुरे चढ्दै थियौँ, ट्रक पल्टेका देखिए दुई÷तीन ठाउँ । चुरिया माइको दायाँ पनि बायाँ पनि । 
मैले मनमनै सोचेँ— दिन आएपछि भगवान्ले पनि बचाउन सक्दा रहेनछन् । नत्र माताको दायाँबायाँ यो हविगत किन हुन्थ्यो ट्रकको ? 
पाँच बग्नै लाग्दा पुगियो हेटौँडा । 
माइक्रोमा अर्काे समस्या आएको कुरा सुनायो चालकले । व्रेक आयलको तारले काम गरेन, राम्रोसँग तेल सप्लाइ भएन । 
खाना खाउन्जेल बनाइसक्ने परिकल्पना गरेर अरु सबैलाई होटल अन्नापूर्णामा छाडी दुवालजी र चालक माइक्रो लिएर गए वर्कसपमा । 
तर समान छैन वर्कसपमा । बजारमा पाउन सक्ने÷नसक्ने दुवै सम्भावना छ । 
ड्राइभर सामान खोज्न गयो बजारतिर । हामी खाना खाएर पुग्यौँ बसपार्कमा । तर घण्टा बित्यो, डेढघण्टा बित्यो, ड्राइभर फर्केन । हामीले शङ्का उपशङ्का गर्न थाल्यौँ— ‘ड्राइभरले कतै भट्टीमा पसेर पिउन थाल्यो कि क्या हो ? एक जनाले छोड्न नहुने थियो । नत्र हेटौँडाजस्तो ठाउँमा मोटरका सामान किन पाइँदैनथ्यो !’ 
साढे छ मा ड्राइभर आयो— सामान लिएर सकुशल । बिचरोमाथि अनावश्यक शङ्का गरेछौँ हामीले । तर दुर्भाग्य ! उसले ल्याएको सामान माइक्रोमा फिट भएन । सामान अब काठमाडौँबाटै ल्याउनुपर्ने भयो । 
अँध्यारो भइसक्यो । हामी प¥यौँ जिल्लाराम ।
त्यो रात हेटौँडामै बस्ने निधो ग¥यौँ हामीले ? तर त्यसबेला कहाँ बस्ने ? वा कसको साथ लाग्ने ? एक जना हो र, दर्जन मानिस ! होटल पाइन्छ कि पाइँदैन ! पाइयो भने पनि बजेटले धान्छ कि धान्दैन ? बीचमा बस्ने योजना भए पो बोकिन्थ्यो पैसा बढी !
रोचक दाइले फोन गर्नुभयो, दुवालजीले फोन गर्नुभयो, मातृकाजीले फोन गर्नुभयो— हेटौँडाका साहित्यकारहरुलाई । 
आइपुगे साहित्यकारहरु— केशव तौजले, निमेष निखिल, गणेश पौडेल र श्याम बानियाँहरु । काठमाडौँमा रहेका आरसी रिजालले समेत सहयोग गर्न अपिल गरे— हेटौँडाका साहित्यकारलाई ।
एबोकाडो र सीमा होटल प्याक भइसकेछन् । लिडो होटलमा बस्ने व्यवस्था भयो हाम्रो । 
बस्ने व्यवस्थाले मात्र पुगेन, भोलि बिहानै काठमाडौँ जाने सुमो माइक्रो सेवा पनि रिजर्भ हुनुप¥यो हामीलाई । 
बनेपाबाट हेटौँडा झरे पनि साहित्य सेवा र विशेष गरी व्यापारिक क्षेत्रमा राम्रै नाम र विश्वास कमाएका रहेछन्— केशव तौजलेले । उनको स्वभाव हक्की तर सहयोगी भावनाको रहेछ । उनले हाम्रै अगाडि कुनै सुमो व्यवसायीलाई फोन गरे— अरुलाई भन्दा पाँच सय सस्तो सुमो गाडी मिल्यो साढे चार हजारमा । 
हामी होटलको शुल्कका बारेमा पनि स्पष्ट हुन चाह्यौँ किनकि हामी भोलि बिहानै हिँड्नु थियो । 
हेटौँडावासी साहित्यकारहरुले हामीप्रति हृदयतः सद्भाव राखे— ‘तपाईंहरु बिहानै उठेर प्रस्थान गर्नुहोला, होटलको बिलको जिम्मा हामी लिन्छौँ ।’
उनीहरु नेसापस हेटौँडा शाखाका सदस्य भएर पनि होला— यति सहयोग गर्नु आफ्नो कर्तव्य सम्झे उनीहरुले ।
हामीले धन्यवाद दियौँ, गुणग्राहिताका लागि । 
अर्काे दिन बिहानै छ बजे उपस्थित हुन भनेको सुमो गाडी ठीक समयमा आइपुग्यो । गाडी फेरियो, गाडीसँगसँगै ड्राइभर फेरियो— अभय रन्जितको ठाउँमा रविन्द्र लामा । 
बिचरो अभय, साहुप्रति क्रुद्ध हुँदै थियो— ‘बेइमानले थोत्रो गाडी पठाएर दुःख दियो ।’ 
हुन पनि दुःख पाउनुसम्म पायो, हिम्मतै गरेर हामी सबैको ज्यान जोगायो । अहिले हेटौँडामा त्यही थोत्रो माइक्रो कुरेर बसेको छ । कहिले काठमाडौँबाट सामान पुग्छ र बनाएर ल्याउँछ !
आजको ‘हाम्रो सुमोसेवा’ ए वन नै रहेछ । महिना दिन अघिदेखि मात्र चल्न थालेका १३ सुमो गाडी मध्ये एक । अरु त पुराना कति हो कति सुमो गाडीहरु ! सिजनमा दैनिक पाँच सयसम्म चल्छन् रे बल्खुदेखि हेटौँडा । 
सुमो गाडीको रुप र रविन्द्रको चलाइ दुवै सुन्दर लाग्यो मलाई । 
मलाई पाइलट बाबाले नेपाली बाबासँग दीक्षा लिएको ठाउँ त्रिखण्डी हेर्ने मन थियो । त्यो त्यसै मार्गमा पर्छ भन्ने थाहा भए पनि कहाँनेर पर्छ थाहा थिएन । त्यो देखाइदिने जिम्मा पनि मातृकाजीले लिनुभयो । मैले देखेँ— हामी गुडिरहेको बाटोको पारिपट्टि कुलेखानी खोलाको पल्लो तीरमा अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर । 
हामी भैँसेसम्म आयौँ र त्रिभुवन राजपथ छाडेर कुलेखानी खोलैखोला लाग्यौँ— भीमफेदीतिर । 
यो बाटो मेरो लागि नौलो थियो । यसले मेरो जीवनयात्रामा अलग्गै छाप छोड्न सक्थ्यो । त्यस बाटोका घुम्तीघुम्तीमा मैले स्मृतिबीज छर्न थाले । बाटो पिच गरिएको छ तर साँघुरो छ । ठाउँठाउँमा पिच उप्केर खाल्डा परेको छ, बाटो संरक्षण विहीन छ । 
निबुवाटार पुगेका छँौँ हामी । 
मातृकाजीको बेग्लै अनुभव रहेछ यस ठाउँका बारेमा — ‘कुलेखानी जलविद्युत उत्पादन गर्ने क्रममा कामदारका रुपमा लामो समय बस्नेहरु धेरैले यस ठाउँलाई ससुराली गाउँको रुपमा परिणत गरे ।’ 
कुरो हास्यमिश्रित भए पनि यथार्थताको नजिक भएको बुझेँ मैले । 
खोला किनारमा बसेका छिटफुुट बस्तीहरुलाई पछाडि पार्दै हामी पुग्यौँ भीमफेदी । भीमफेदी हेर्ने मेरो इच्छा पूरा भयो । इतिहास पढ्यो, भीमफेदी । बूढापाकाको कुरा सुन्यो, भीमफेदी । राजनीति गर्नेको बकवास सुन्यो, भीमफेदी । साँच्चै नै एउटा इतिहास बोकेको थियो भीमफेदीले । भीमफेदीका ऐतिहासिक घरहरु त गाडीबाट ओर्लेरै हेर्ने विचार थियो मलाई । तर मेरा कारणले अरुलाई बाधा पार्न त भएन नि !
हामी भीमफेदीबाट उकालो उक्लिन थाल्यौँ ठाडै न ठाडो । अहा ! क्या राम्रो दृश्य भीमफेदीको ! 
जसले जेसुकै भने पनि मैले एकपटक गाडी रोक्न लगाएँ र भीमफेदीको सुन्दर तस्विर क्यामेराभित्र हालेँ । फोटोपत्रकार नरेश श्रेष्ठले मलाई सुटुक्क भन्नुभयो— ‘वास्तवमा नियात्राकार र फोटोग्राफर अलग्गै हिँड्नुपर्दाे रहेछ गाडीमा ।’ 
कुरा मनासिव थियो नरेशजीको ।
उकालो चढ्दाचढ्दै बाटैमा भेटियो चिसापानी गढी । 
‘पहिले पैदलमार्ग छँदाको चेकपोष्ट । पासपोर्ट पनि जाँच हुन्थ्यो यहाँ’— एकपटक त्यही बाटो पैदल भीमफेदी ओर्लेका रोचक घिमिरेले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्थ्यो । उहाँलाई सम्झना रहेछ— केटी मान्छेले हेर्न नहुने वटुक भैरव छन् यहाँ, बडा हाकिम बस्ने घर पनि छ अहिलेसम्म यहाँ । 
म प्रत्यक्ष देख्दै थिएँ— अवशेषको रुपमा त्यहाँ दुई÷चारवटा घरहरु ठडिएकै देखिन्थे । 
त्यहाँबाट पनि हामी उकालो लाग्यौँ । 
चालक रविन्द्र लामा भन्दै थियो— ‘अब चिया खाने ठाउँमा पुग्नै लाग्यौँ ।’ भन्दा नभन्दै एकैछिनमा उसले देउराली पु¥याएर गाडी अड्यायो । 
अहा कति चिसो ! यस मार्गको यो सबैभन्दा अग्लो ठाउँ रे ! मैले झोलाबाट ज्याकेट निकालेर लगाएँ । हिलटप होटल एण्ड लजमा चिया चमेना खायौँ हामीले । 
सोधेँ, होटलनी बहिनीलाई । नाम रहेछ— लक्ष्मी श्रेष्ठ । र, पुस्तौँ भएछ काठमाडौँबाट आएर बसेको । चिया खाएपछि हामी ओर्लन थाल्यौँ सिमखोलातिर । 
सिमखोलामा पानी धेरै थिएन । त्यो पानी बग्दै गएर अलिकति अगाडि बाग्मतीमा मिसिन्छ  भन्दै हुनुहुनथ्यो— रोचक दाइ । 
हामी दुई डाँडाबीचबाट खोच परेर बग्दै गरेको त्यस खोलाको पश्चिमी पाखो हुँदै पुग्यौँ खानीखेत । त्यसपछि देखियो कुलेखानीको ड्याम । 
हामी हेटौँडाबाट आउँदै गर्दा निर्माण हुँदै गरेको तेस्रो कुलेखानी जलविद्युतको स्रोत पनि भट्यौँ र क्रमशः दोस्रो र पहिलो जलविद्युतको उत्पादन केन्द्र पनि । अहिले विद्युत उत्पादनका लागि जम्मा गरेको जलकुण्डको बाह्य रुप हेर्दैछौँ । 
कुलेखानी जलविद्युतको स्रोत भनेकै डाँडाखोल्साबाट बग्दै गरेका पानीका स्रोतहरुलाई थुनेर जम्मा गरिएको पानी त रहेछ । यदि यसरी नथुनिएको भए यता बग्ने पानी बाग्मतीमा मिसिन्थ्यो, उता बग्ने पानी राप्तीमा । 
हाम्रा अगाडि देखियो ससानो टेकर बजार । र, त्यसपछि आयो— सिस्नेरी । मैले सिस्नेरीका बारेमा यसअघि धेरै सुनेको थिएँ । निर्माेही व्यासको पुर्खाैली थलो सिस्नेरी । उहाँले सिस्नेरीको बारेमा लेख्नुभएको लामो संस्मरण पनि पढेको छु मैले । त्यसै लेखले मेरो मन तानेको थियो र जाउँजाउँ लागेको थियो सिस्नेरी । तर सिस्नेरी पुग्ने मौका मिलेको थिएन । आज देख्न पाएँ, सिस्नेरी । 
तर मैले पढेको र कल्पना गरेको भन्दा फरक पाएँ सिस्नेरी । मैले पढेका अक्षरहरु भूगोलमा भन्दा भोगाइ र भावनामा केन्द्रित थिए । सिस्नेरी बजार खोलाको किनारमा बसेको छ र सिस्नेरी गाउँले पहाडको पाखो ढाकेको छ भन्ने मैले भेउ पाएको थिइनँ । 
अहिले म त्यही बजारलाई छाडेर सिस्नेरी गाउँको डाँडोतिर उक्लँदै छु । घुम्तीघुम्ती हुँदै उक्लँदै गर्दा देखिएका चौतर्फी पहाडी दृश्यले मोहित हुन्छु म । तर हेटौँडादेखि सिस्नेरीसम्मको बाटोको अवस्था देखेर म के निर्णयमा पुग्दैछु भने हालकै बाटोलाई चौडा गरेरमात्र राजमार्गको रुपमा परिणत गर्न सकिँदो रहेनछ । 
त्यसैबेला देखिन्छ — ‘रामचन्द्र भञ्ज्याङ’ लेखिएको बोर्ड । त्यस भञ्ज्याङले भूगोलको एउटा महत्वपूर्ण भागलाई छुट्याउँदो रहेछ । त्यस भञ्ज्याङबाट हामीले देउरालीसम्म देखिने कुलेखानीको पूरै पाखोलाई किताबको पानाजस्तै गरी पल्टाएर दक्षिणकालीसम्मको भूगोल पढ्न थाल्दा रहेछौँ । 
अब हामी तल धेरै तल बग्दै गरेको बाग्मतीमाथिको पखेरोबाट अगाडि बढ्दै छौँ । फास्टट्र्याक देखिँदै छ कतै । 
दक्षिणकालीभन्दा आठ किलोमिटर परबाट प्रवेश गर्दा रहेछौँ हामी काठमाडौँ । नास्पातीका बोट देखिन थाले बाटाघाटा । छैमलेको सङ्केत हो भन्ने बुझेँ मैले । 
हुन पनि छैमले नास्पातीका लागि नेपाल प्रसिद्ध नै हो क्यारे ! भनिन्छ — कम्तीमा २० वटा बोट नभएको किसान छैमलेमा छैन रे ! 
अब भने हामी छैमले नाघेर दक्षिणकाली र दक्षिणकाली नाघेर चोभार सिमेन्ट कम्पनीको दुर्दशा हेर्दै कीर्तिपुरको डाँडोमा कुद्दै थियौँ । क्यासेट घन्किरहेको थियो— 
झापा झ¥यौ कि मेची त¥यौ कि ! 
मेरो माया सहरतिर बसाइ स¥यौ कि ! 
तर मेरो मन भन्दै थियो— होइन, म त मृत्युलाई जित्दै झापाबाट माया लगाउन काठमाडौँ आइपुगेको छु । 
यस्तै तरङ्गमा तरङ्गीत हुँदै थिएँ, सुमो गाडीले ७८ किलोमिटर बाटो गुडेर बल्खु पुगेछ— साढे नौ बजे । जम्माजम्मी साढे तीन घण्टा लागेछ हामीलाई कान्तीपथको यात्रा गर्न । साथीहरु आ–आफ्नो बाटो लागे । तर ठाकुर शर्मा, रोचक दाइ र मलाई भने झापा जाँदाजस्तै घर घरमा पु¥याउन पनि शर्मापुत्र भाष्कर र दीपकले सहयोग गरे । 

000

यो संस्मरण लेख्दैगर्दा अहिले म सम्झन्छु घटना–दैनिकीहरु — 

झापा जाँदाको दिन बिहानै सुनेको सीता एयरको विमान दुर्घटना र १९ जनाको मृत्यु भएको समाचार । दोस्रो दिन नेपाली काँग्रेसका सभापति निरपराध रोगी बूढा सुशिल कोइरालामाथि सार्वजनिक समारोहमा भएको हमला । तेस्रो दिन इलामको हर्कटेमा पहिरोले पुरिएका पाँचवटा सवारी साधन र तिनमा सवार चौध जना (बेपत्ता सहित)को मृत्युको खबर । चौथो दिन पोखरा विमानस्थलबाट उडेका बुद्ध एयर र यति एयरका विमानमा चरा ठोक्किदा पनि दुर्घटना हुनबाट बचेका घटनाहरु । 
र, घोरिन्छु एक छिन — धन्सार खोला पुलको पश्चिमी मुखमा हुन हुनबाट जोगिएको माइक्रो बस दुर्घटना र पोखरा विमानस्थलबाट उड्दै गरेका बुद्ध एयर र यति एयरका विमानहरुमा चरा ठोक्किएर पनि जोगिएका कथाहरु उस्तै उस्तै थिए । अर्थात् चालकको सावधानी र साहसका कारण दुर्घटना हुनबाट जोगिएका थिए ती बस र विमानहरु । नत्र मनहरा खोला किनारको विभत्स दृश्य देखेजस्तै धन्सार खोला किनारको दृश्य पनि देख्थे— हामीले होइन अरु कसैले । 
यी घटना र सम्भाव्य दुर्घटनाहरुले मलाई के सोच्न बाध्य बनाएको छ भने — सवारी नियम विपरीत हुने एकाध दुर्घटना बाहेक बाँकी दुर्घटना रोक्नै नसकिने दुर्घटना हुँदा रहेछन् । कतै कतै भने अपवादको रुपमा सचेत र साहसी चालकले दुर्घटनालाई पनि जित्दो रहेछ । 

कीचकवधको कचकच – रामप्रसाद पन्त

नियात्रा

हिजो झापा प्रवेश गरेदेखि नै मैले कीचकबधको कुरा उठाएको थिएँ । कसैले मेरो बोलीमा सही थाप्नुभएको थियो, कसैले मिलेसम्म जाउँला भनेर मेरो बोलीलाई सम्मान मात्र गर्नुभएको थियो । तर मेरो प्रस्तावलाई पूर्ण समर्थन गरेर ‘जानैपर्छ’ भन्ने मानिस भेटेको थिइनँ । 
भद्रपुरको क्याम्पसरोडमा अवस्थित नेपाल सामुदायिक विकास केन्द्र (आइसीडिसी) को भुइँतलामा बेलुकाको खाना खाएर सुत्नका लागि तलामा उक्लँदै गर्दा मैले आफ्नो प्रस्ताव फेरि दोहो¥याएको थिएँ— ‘भोलि ११ बजेमात्र कार्यक्रमको उद्घाटन हुन्छ, हामी बिहानै उठेर आठैबजे चिया नास्ता गरी हिँड्यौँ भने जाबो सत्र किलोमिटर बाटो पुगेर आइहालिन्छ दश बजेसम्म । अनि खाना आइवरी पुगिहाल्छौँ कार्यक्रमस्थलमा ११ बजे । त्यसकारण भोलि आठ बजेभित्र तल ओर्लिहालौँ । 
अर्काे दिन अर्थात् २०६९ सालको असोज १३ गते बिहानै उठेर नित्यकर्म सकी मेरा रुमपार्टनर ठाकुर शर्मा र म त्यस सामुदायिक भवनको बाहिर निस्कियौँ, टहलियौँ तर हामीसँगै गएका साथीहरुमध्ये कोही उठेको वा बाहिर निस्केको सङ्केत मिलेन । 
कोठामा पुग्दा हाम्रा अर्का रुमपार्टनर नरेन्द्रबहादुर श्रेष्ठ उठेर शरीर तन्काउँदै हुनुहुन्थ्यो । त्यसैबेला किस्तीमा चियाका कप राखेर हल्ला गर्दै आइपुग्यो एउटा मानिस । भन्दै थियो— ‘आयो आयो आयो ललितपुर भक्तपुर एक्सप्रेस आयो । उठ्नुस् उठ्नुस् तातो तातो चिया खानुस् ।’
उसको कुरा सुनेर मलाई रमाइलो लाग्यो । चियाको कप निकालेर सुप्की लिँदै भनेँ— ‘तिम्रो नाम के हो ?’
उसले भन्यो— ‘पुष्प राजवंशी ।’
हेरेँ — साँच्चै फूलजस्तै फक्रेको थियो राजवंशीको अनुहार । हँसिलो रहेछ केटो । 
कोही उठेकै छैनन् । कोही उठेर टहलिँदैछन् बाहिर चउरमा । कोही चिया खाँदै छन् परको छाप्रोमा । 
रोचक दाइले भन्नुभयो— ‘जाऔँ त्यहीँ अलि पर मेरा एकजना आफन्त छन्, भेटौँ, त्यहीँ चिया खाऔँ र बेर नगरेर फर्काैँ ।’
ठीकै छ, अरु उठेर तयार नहुँदासम्म त फर्किहालिन्छ नि !
तर म भन्दै थिएँ— ‘कीचकवध जान त ढीला गर्न हुन्न नि ! आठ बजेसम्म फर्किसक्नुपर्छ । 
‘ठीकै छ, अरु उठेर तयार हुँदासम्म त आइहालिन्छ नि !’ — रोचक दाइले विश्वास दिलाउनुभयो ।
हामीसँग ठाकुर शर्मा र नरेश श्रेष्ठ पनि थपिनुभयो । दशै मिनेटमा पुग्यौँ सम्बन्धित ठाउँमा । 
रोचक दाइकी जेठी सासूका छोरा किशोर चापागाईंको घर रहेछ त्यो । फलफूलका बोटले सुसज्जित घर, सफा शान्त र सुन्दर लाग्यो मलाई । कुरा गर्दै जाँदा किशोरले नाम लिए — दिलिप चापागाईंको । टाठा टाठा भए मेरा कान । सोद्धा थाहा भयो— मेरा साथी दिलिप उनका काका पर्दारहेछन् । 
एकैछिन भन्दाभन्दै आधा घण्टा बित्यो त्यहीँ । 
मेरो मन आत्तियो — अरु सबै तयार भएर हाम्रो बाटो हेर्दै होलान्, जाऔँ अब । 
हामी पुग्यौँ सामुदायिक विकास केन्द्रमा । आठ बज्नै लागेको थियो, तर न त ड्राइभर थियो, न त कीचकवध जाने अरु नै कोही तयारी अवस्थामा थिए । त्यसै बेला नरेन्द्रबहादुर श्रेष्ठले कुरा उठाउनुभयो— मेची आमाको । ‘मेरो ससुरालीको नातो छ मेची आमासँग । उहाँ त बितिहाल्नुभयो गतसाल, तर उहाँका छोरा नाति घरमै छन् । म आउँछु भनेको छु । अगाडि गएर एकछिन कुरा गर्दै गर्छु । कीचकवध जाने बाटो त्यही हो । गेटमा गाडी अड्याएर हर्न दिनुहोला म निस्किहाल्छु ।’
मेचीआमाको कुराले मलाई पनि तान्यो । म पनि उनको पछि लागेँ । सङ्गमचोकमा रहेछ मेचीआमाको घर । 
ताप्लेजुङमा जन्मेकी एउटी अनपढ केटी दीलकुमारी श्रेष्ठको संखुवासुभा चैनपुरका केटासँग विवाह भयो । पछि उनीहरु झापा झरेर भद्रपुरमा बस्न थाले । समाजसेवाको भावना भएकी दीलकुमारीले महिला हक हित र सामाजिक उत्थानका क्षेत्रमा मेची अञ्चलमै महत्वपूर्ण काम गरिन् र मेची आमाको उपाधिले चर्चित भइन् । उनी राजाको आँखामा पनि परिन् र राजसभा स्थायी समितिकी सदस्य पनि भइन् । 
अहिले उहाँका छोरा विश्वनाथ र नाति मनोज घरमै रहेछन् । जस्ती आमाका त्यस्तै समाजसेवी छोरानातिहरु । हामीलाई भात खाएरै जाने तीव्र दवाव आयो । तर हामी चिया बाहेक अरु खान तयार भएनौँ ।  किनभने गाडी आयो भने हामी चढिहाल्नुपथ्र्याे । हाम्रो लागि भात भान्साको तयारी सामुदायिक केन्द्रमा नै भइसकेको थियो ।
कहिले गाडी आउला र कीचकवध जाउँला भनी प्रतीक्षा गरिबसेका हामीलाई अकस्मात् फोन आयो— ‘गाडी तेल हाल्न गएको छ, तपाईंहरु यतै आउनुस् ।’
हामी पुग्दा सामुदायिक केन्द्रमा गाडी देखिएन । सोद्धा थाहा भयो—साथीहरु चूडामणि रेग्मीको घरमा छन् रे !
आठ बजिसकेको छ, घाम चर्किसकेको छ, गाडी चढेर कीचकवध जानुपर्ने बेलामा चूडामणि रेग्मीको घर ? यो के तरिका हो ? रेग्मीजीको घर त हामी बेलुका पनि जान सकिन्थ्यो ! 
मेरो मन भुटभुटियो— मानिसले समयको सदुपयोग किन गर्न जान्दैनन् ?
हामी पुग्दा साथीहरु रेग्मीजीको घरमा मोइ तन्काएर बसिरहेका थिए । फोटो खिच्न र गफगर्नमा मस्त थिए । पचासौँ वर्ष साहित्यिक पत्रकारिताको इतिहास बोकेका रेग्मीजीका कुराको टुङ्गो छोटो समयमा कहाँ लाग्न सक्छ र ? उहाँको पुरानो घर, छोराका पौरखले बनेको नयाँ घर, पुस्तकालय, पत्रपत्रिका र जुहीका कथाहरु कहाँ एकछिनमा सकिन्छन् र ?
घडी हेर्दाहेर्दै नौ बजिसक्यो । 
मेरो मन दुख्न थाल्यो, पेट पोल्न थाल्यो । तर कोही पनि एक शब्द उच्चारण गर्दैनन्, उठ्ने नाम पनि लिँदैनन् ? मानिसले समयको महत्व किन बुझ्दैन ? मौकाको फाइदा लिन किन जान्दैन ? मौका बारम्बार आइरहँदैन भन्ने कुरा किन आत्मसात् गर्दैन ?
नौ अङ्कको सुई क्रमशः उकालो लाग्दै गएपछि मेरा आशाका तन्तुहरु खुकुला हुन थाले । जति ढिला हुँदै गयो, त्यति शिथिलता र नैराश्यता बढ्दै गयो । 
सवा नौ भइसकेपछि साथीहरु उठे । भात खाने समय छ दश बजे । समर्थन कतैबाट आउँदैन भन्ने जान्दाजान्दै पनि दबाब पार्नका लागि कुरा उठाएँ — ‘हाम्रो योजना तुहियो कि जीवितै छ ?हामी गएर आउन भ्याउँछौँ कि भ्याउँदैनौँ कीचकवध ?’
‘अहँ ....भ्याइँदैन’ — मलाई साथ दिने एक जना पनि देखिएन । 
‘सकियो भने बरु बेलुका जाउँला’ — मातृकाजीले सम्भावना देखाउनुभयो । 
उहाँको भनाइलाई समर्थन गर्नुभयो — रोचक दाइ र मोहन दुवालले पनि । 
वास्तवमा विशेष जिम्मेवार व्यक्ति भनेका यिनै तीन जना हुन् यस यात्राका । यिनीहरुले चाहेमा जसो भन्यो त्यसै हुन्छ । यतिमात्र होइन, चाहेमा एक दिन बढ्न पनि सक्छ र हामी कीचकवध मात्र होइन, केचनाकलम, अर्जुनधारा र सतासीधाम जहाँ पनि पुग्न सक्छौँ भन्ने लाग्दै थियो मलाई । 
बिहानको योजना बतासिएपछि बेलुकाको सम्भाव्य योजना कति साकार हुने हो ? शङ्काले घोरिँदै थिएँ र सोच्दै थिएँ— मेची यात्रा त यसअघि पनि गरेकै हो, त्यसभन्दा भिन्न अनुभूति यस यात्राले गराएको पनि छ, तथापि कुनै ऐतिहासिक स्थलको अवलोकन गर्न पाए, त्यसबारे केही बुझ्ने र लेख्ने मौका मिल्थ्यो भन्ने मेरो अन्तर चाहना थियो । 
तर अहिले भने ममनभित्र उब्जेका यी तरङ्गहरुलाई मनमै राखेर ‘महाजनो येन गतः स पन्था’मा विश्वास गर्दै मान्यजन र बहुजनको पछि लाग्न बाध्य हुन्छु र सामुदायिक विकास केन्द्रकै भवनमा गएर खाना खाइवरी कार्यक्रम स्थलमा पुग्छु । 
११ बजे सुरु हुने भनिएको कार्यक्रमको माइक बाह्र बजेमात्र खोले— कृष्ण सुवेदी ‘निराकार’ले । बर्मा गए पनि कर्म सँगै भनेजस्तै आखिर नेपालीकै समय त हो, काठमाडौँबाट झापा गए पनि उस्तै ।
नेपाली साहित्यिक पत्रकार संघ झापा शाखाको आयोजना तथा केन्द्रीय अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सुरु भएको त्यस कार्यक्रममा प्रमुख अतिथि छानिए — चूडामणि रेग्मी र विशिष्ट अतिथिको रुपमा मञ्चमा बसे — गणेशबहादुर प्रसाईं । तर विशेष अतिथिको रुपमा बोलाइएका प्रजिअ. नरेन्द्रराज शर्मा र एलडिओ जीवनप्रकाश सिटौला देखिएनन् । सम्मानित अतिथिको रुपमा — डा. तुलसी भट्टराई, कुन्ता शर्मा, शेषराज शिवाकोटी र तेराख पनि मञ्चमा उक्ले । 
पूर्वाञ्चलमा नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकास नामक दुईवटा कार्यपत्र प्रस्तुत गर्नका लागि मञ्चमा बोलाइए— चूडामणि वाशिष्ठ र दधिराम सुवेदी । ती कार्यपत्रमाथि टिप्पणी गर्नका लागि बोलाइए — गोपाल भण्डारी र पुण्य खरेल ।
स्वागत गरे— झापा शाखाका अध्यक्ष विजय खरेलले र सम्मानित व्यक्तित्वका बारेमा परिचय दिए— मोहन दुवालले । 
जब सम्मान गर्ने बेला भयो, त्यसबेला एउटा रोचक दृश्य के देखियो भने सम्मानित हुने व्यक्तित्वहरुलाई लगाइदिने माला छैन झापामा । अर्थात् माला उन्ने खालको फूल फुलेको छैन झापामा । पचहत्तर जिल्लामध्ये सबैभन्दा बढी अन्न फल्ने जिल्ला झापा भनी गर्व गर्नेहरुले फूल फुलाउन किन नसकेका ? फूलको सट्टा फूलका गुच्छा र एक एकवटा ढाकाका गलबन्दीले स्वागत गरियो चारै जनालाई । अनि पालैपालो बोले चारै जना । पहिलो चरणको कार्यक्रम सकियो । 
दोस्रो चरणको कार्यक्रम चलाउने जिम्मा थियो — मातृका पोखरेलको । त्यसैकारण मैले उहाँलाई भनेको थिएँ— ‘हामीले जति चाँडो कार्यक्रम सक्छौँ, त्यति नै चाँडो हामी कीचकवध जान सक्छौँ । कार्यक्रमलाई लम्ब्याउने वा छोट्याउने ठूलो भूमिका हुन्छ— सञ्चालकको । अतः तपाईंले चार बजेसम्म सम्पन्न गरिसक्ने सोचाइमा जानुहोला ।’
वास्तवमा कार्यपत्र हात लाग्ने भएपछि सुनिरहनुको खासै औचित्य रहँदैन स्रोतालाई । तथापि कार्यक्रमको गरिमा घटाइदिनु पनि त भएन भनेर बसिरह्यौँ संस्थाका सदस्यहरु । तर धरान र विराटनगर जाने साहित्यकारहरु यातायातको समस्याले कार्यक्रम नसकिँदै हिँडे । 
‘झापाली साहित्यको इतिहास लामो छ, साहित्यमा झापा अग्रणी छ, झापाको साहित्यिक पत्रकारिताले लामो फड्को मारिसकेको छ’ भनेर कार्यपत्र कुर्लियो बेस्सरी ।तर समय लम्बिएपछि हल एकाएक खाली हँुदै थियो । लगातार चार घण्टाको कार्यक्रममा थकित पनि भइसकेका थियौँ हामीहरु । यसबाहेक मलाई छटपटी थियो— कीचकवधको । 
मातृकाजी पनि सकेसम्म कार्यक्रमलाई संक्षेपीकरण गर्ने प्रयासमा हुनुहुन्थ्यो । यति हुँदाहुँदै पनि समापन हुँदा बज्यो साढे चार ।
अब माइक्रो चढौँ र कुदिहालौँ भनेको त आधा पनि देखिँदैनन् साथीहरु । भारती श्रेष्ठलाई टाउको दुख्यो भनेर मोहन दुवाल समेत लजतिर जानुभएछ । लक्ष्मी उप्रेती, नरेन्द्रबहादुर श्रेष्ठ, हरि भण्डारी र ड्राइभर समेत बजारतिर घुम्दै छन् रे ! ए बाबा ! कीचकवध जाने भनिसकेपछि त सतर्क भएर बस्नुपर्छ नि ! के मैलेमात्र हेर्नुपरेको हो कीचकवध ? अरुको पनि चासोको विषय हुनुपर्ने होइन र कीचकवध ? कीचकवधको बारेमा कचकच गर्दा हैरान भएँ म । 
फोन सम्पर्क भयो । एकछिन समय लगाएर भए पनि आए साथीहरु । बाटोमा निस्केर प्रतीक्षा गर्ने भए दुवालदम्पतिले । 
जाने त भइयो, तर कीचकवध देखेको मानिस छैन कोही पनि । बाटो देखाउने मानिस भेट्टाउन गाह्रो भयो हामीलाई । अरु कोही नपाएपछि कृष्ण सुवेदीलाई अनुरोध ग¥यौँ हामीले । बिचरा सुवेदी ! एक जना आफन्त मरेका कारण केही पनि नखाएर भोकभोकै बसेका थिए । बेलुका उनीलाई निवासमा पु¥याउने सर्तमा हामी हिँड्यौँ कीचकवध । 
अब भने अलिकति ढुक्क भयो मेरो मन । पूरै ढुक्क हुन किन सकेको थिइनँ भने ‘बाटो कच्ची छ र अप्ठ्यारो पनि छ’ भन्दै थिए कृष्ण सुवेदी । 
हामी चन्द्रगढीस्थित जिविस परिसरबाट निस्क्यौँँ भद्रपुरतिर । 
म यसबेला अगाडिको सिटमा बसेको छु र मार्गदर्शक सुवेदीलाई साथमा राखेको छु । 
हामी भानुचोक पुगेछौँ ।
भानुचोकसँगै बायाँपट्टि रहेछ साहित्यिक पत्रकार भवानी घिमिरेको घर । रुखहरुको अन्तरकुन्तरबाट देखियो — भवानी दाइको पुरानो घर । 
भानुभक्तको सालिक स्थापना गर्ने काममा भवानी दाइको महत्वपूर्ण भूमिका रहेछ । हुन पनि त प¥यो, जसको नामबाट पत्रिका चल्यो सयौँ अङ्कसम्म र जुन पत्रिकाको नामबाट भवानीको नाम पनि जोडियो र पर्यायवाची बन्यो नाम— भानु र भवानी । मैले त एउटा लेखै लेखेँ— भानु कि भवानी ?
हो, वास्तवमा हामीले अग्रजहरुको सम्झना गर्न सिक्यौँ भने आफैँ सम्मानित हुन्छौँ । चन्द्रगढीका साहित्यिक पत्रकार चुडामणि रेग्मीलाई द्वारै अगाडि बसेर संरक्षण गरिरहेका रहेछन्— लेखनाथ बाले र भवानी घिमिरेको ढोकै अगाडि बसेर रखवारी गरिरहेका रहेछन् — भानुभक्त जिज्यूहजुरबाले । 
सहरको हिसाबले दुईवटा सहर — चन्द्रगढी र झापा । किलोमिटरको हिसाबले करिब दुई किलोमिटर मात्र । 
हामी सीधा दक्षिण लागेका छौँ र झापाचोक पुगेकाछौँ । पिचबाटो पछि सरिसकेको छ, कच्ची र धुलेबाटोले स्वागत गर्दैछ । 
कृष्ण सुवेदीले नाम लिँदैछन्— डा. ऋषिकेश उपाध्याय, हीरा आकाश र राधिका रायको । उनीहरुका घर यतै कतै पर्छन् रे ! 
अब त हामीले नगरपालिकालाई पनि पछि छाडेर महेशपुर गाविसमा प्रवेश ग¥यौँ रे ! यसै क्षेत्रसँग साइनो राख्छन् रे ! नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले । 
‘आधा भयो ?’ ‘भएको छैन ।’— साथीहरुको प्रश्नको जवाफ दिँदैछन् सुुवेदी । 
बाटो कच्चीमात्र नभइकन खाल्डाखुल्डी पनि परेको छ ।ज्यादै सुस्त गतिमा अगाडि बढेको छ माइक्रो । 
‘यो भन्दा बढी कुद्न सक्तैन ?’ ‘सक्तैन, गाडीले भुइँ छुन्छ, ह्वील पावर छैन’ भनेर हाम्रो प्रश्नको जवाफ दिँदैछ चालक । 
‘बाटो यस्तै हो कि ! अगाडि राम्रो छ ?’ — जिज्ञासा राख्दैछन् साथीहरु ।
‘यो सीधा बाटो छाडेर कीचकवधतिर मोडिँदा अझ साँघुरो र अप्ठ्यारो बाटो आउनसक्छ’ — त्रास थपिदिन्छन् सुवेदी । 
‘त्यसो भए त फर्काैँहोला कसो !’ — मोहन दुवाल प्रस्ताव राख्छन् । 
म कोट्याउँछु सुवेदीलाई अरुले नदेख्ने गरेर ।
मेरो कुरा बुझ्छन् उनी । 
‘अब कति छ आउन ?’— फेरि प्रश्न आउँछ पछिल्तिरबाट ।
‘ऊ..... अगाडि आइहाल्यो देउनियापुल, त्यहाँबाट आधा ।’— सुवेदी जवाफ दिन्छन् ।
‘भो भइगो फर्काैँ ! फर्के कसो होला !’ — फेरि अरुको समर्थन लिन खोज्छ्न् दुवाल । 
मिश्रित प्रतिक्रिया आउँछ समूहबाट । तर ज्वरो आए पनि कीचकवध हेर्ने इच्छा भएर हो कि बोल्ने जाँगर नभएर हो चुपचाप छिन्— लक्ष्मी । गन्ड्याङगुन्डुङ बाटोमा गाडीबाट धोका पाइने पो हो कि भन्ने डर छ दुवाललाई । गाडीका जिम्मेवार व्यक्ति भएकाले उनी फर्कन चाहन्छन् । त्यसै भएर उनले सुवेदीको समर्थन लिँदैछन्— ‘सुवेदीजी ! फर्काैँ क्यारे होइन र ?’
‘बनारसको पेडा खाए पनि पछुतो, नखाए पनि पछुतो’ — जवाफ दिन्छन् कृष्ण सुवेदी । 
म फेरि कोट्याउँछु सवेदीलाई ।
उनले मेरो मनोभावना बुझ्छन् र हौसला थप्छन् — ‘आधा बाटो काटिसकियो, झन् राम्रो बाटो आउँदैछ, अब फर्कनु उचित हुँदैन ।’
‘आजको तेल खर्च पन्तजीको नाममा राख्नुप¥यो कि क्या हो !’— दुवालजी मेरो मन चोर्न खोज्छन् ।
‘भइहाल्छ नि !’— म समर्थन गर्छु । 
मनमनै भन्छु— मेरै विशेष जोडमा मेरै कारणले अरुले पनि कीचकवध देख्न पाउँछन् र त्यसको श्रेय म पाउँछु भने यस खुशियालीमा तेल खर्च मेरो जिम्मामा आए पनि म सहर्ष स्वीकार्न तयार छु । 
तर म गाडी नबिग्रियोस् र कतै नफसोस् भन्ने पुकारा गर्दैछु— भगवान्सँग । यस्तो कुनै दुर्घटना भइदियो भने त्यसको अपजस आउँछ ममाथि । 
सुवेदी फोन गर्दैछन्— विरही अधिकारीलाई । विशेष अर्थ छ सुवेदीले अधिकारीलाई फोन गर्नुमा । सुवेदीलाई धेरै कुरा थाहा छैन कीचकवधको पौराणिक महत्वका बारेमा । तर कीचकवध नजिकै सगरमाथा टोलमा बस्ने अधिकारीले कीचकवधका बारेमा धेरै कुरा बुझेका छन् र संस्कृतिसम्बन्धी नै अध्यापन गर्दैछन् । 
सीधै दक्षिण गएका हामी मोडिएर पूर्व लाग्छौँ । त्यहीँनेर उभिएका देखिन्छन्— विरही अधिकारी । अब हामीलाई गाइड गर्न थाल्छन् उनी । 
उनी भन्छन् — ‘यो पृथ्वीनगर गाविस । यहाँबाट सीधा दक्षिण गयो भने केचनाकलम पुगिन्छ । यतै हो केपी ओलीको गाउँ पनि ।’
पृथ्वीनगरको कुराले मलाई सम्झना हुन्छ २३ वर्ष अघिको घटना । 
सरकारी कामको सिलसिलामा म धरान गएको बेला तालुक मन्त्रालयको अफिसरको नाताले मलाई आवास कम्पनी झापाका साथीहरुले आफ्नो अफिसमा लगेर स्वागत गरेका थिए । स्मरण योग्य बनेको थियो एकरातको बसाईँ । 
त्यसबेला मलाई केचनाकलम वा कीचकवधको सम्झना भएन । यतिमात्र थाहा थियो कि मलाई अँध्यारोको समयमा म भद्रपुरबाट सीधा दक्षिण गएको थिएँ सरकारी गाडीमा पृथ्वीनगर र एक रात बसेर अर्काे दिन बिहानै फर्केको थिएँ । त्यसकारण मलाई पृथ्वीनगर बाहेक अरु कुरा केही थाहा छैन — त्यो आवास कम्पनी कहाँ थियो ?
मलाई जिज्ञासा हुन्छ पृथ्वीनगर र आवास कम्पनीबारे र सोध्छु विरहीलाई । 
उनी भन्छन् सीधै दक्षिण । 
म छक्क पर्छु उनको कुरा सुनेर । यस अर्थमा कि त्यस बेला बाटोको जुन अवस्था थियो, अहिले पनि उस्तै छ । पिच हुनुको के कुरा, उल्टै खाल्डाखुल्डी परेर बाटोको झन् दुरावस्था भएको छ । ठाउँसँग नाउँ जोडिएको छ— ओली र सिटौलाको । के गर्छन् राजनीति खै नेताहरु ! किन दिन्छन् कुन्नि भोट जनता पनि ? तर कीचकवधतिर जाने बाटो पछाडिभन्दा राम्रो देखेर प्रशन्नताबोध भएको छ मलाई । सुवेदीको भनाइ गलत निस्किरहेको छ त्यहाँ । यति सजिलो बाटोलाई झन् अप्ठ्यारो हुन सक्ने सम्भवना देखाएर हामीलाई तर्साउँदै थिए उनी  । तर बिचरा सुवेदी ! कति वर्षअघि आएका थिए कुन्नि ! 
हामी कीचकवध प्रवेशद्वारबाट छिरेर झन्डै पाँच सय मिटर अघि बढ्यौँ होला किचक मारिएको ठाउँमा पुग्न । तराईको समथल भूभागमा कुनै मानिस लमतन्न सुतेजस्तो गरी अलिकति चुलिएर बसेको भूभाग देखेर अनौठो लाग्दै थियो मलाई । विरहीले त्यहाँको अर्को विशेषता बताउँदै थिएँ— ‘तराईमा अन्यत्र पानीको एउटै सतह हुन्छ, यस्ता थुम्का परेका ठाउँमा खनेर पानी आउँदैन, सतह भेटिँदैन । तर यहाँ अलिकति खन्दासाथपानी आउँछ ।’
विरहीको कुरा सुन्दै हामी पुग्यौँ देउनिया नदीको किनारमा । पछाडि त्यही खोलाको पुल तरेर आइयो, फेरि आयो त्यही खोला ! अर्थात् घुमेर बगेको रहेछ त्यो खोला । 
रुखपातहरुले शोभायमान देखियो ऐतहासिक कीचकवध । जहाँ एकातिर एउटा देवीको मन्दिर छ, मानिस बस्ने एउटा सानो कुटी छ र अर्काेतर्फ खुल्ला ठाउँमा एउटा पेटीमाथि भीमसेनले कीचकलाई मार्दै गरेको खण्डित ढलौट मूर्ति छ ।
फुरफुर गर्दै यता र उता नाचेर फोटो खिच्न व्यस्त छन् — नरेश । 
पाण्डव वनबास भएको बेला विराट राजाको दरबार (विराटनगर)मा बस्दा राजाकै साला कीचकले द्रौपदीमाथि हातपात गरेपछि क्रुद्ध भएका भीमसेनले कीचकलाई लखेट्दै ल्याएर यसै ठाउँमा वध गरेका रे ! 
तर त्यो ऐतिहासिक थलोलाई घेरेर, सजाएर, आकर्षक बनाएर पर्यटक तान्ने सोचाइ गरिएको छैन । संरक्षक विहीन छ, परित्यक्त छ, पूरै क्षेत्र । विरही भन्दैछन्— ‘वर्षेनी बजेट आउँछ, उत्खनन पनि हुन्छ, निस्केका धातुका भाँडावर्तन र अन्य पुरातात्विक सामग्रीहरु गाउँलेको घरघरमा पुग्छन् । सङ्ग्राहलय स्थापना गरेर राख्ने व्यवस्था समेत छैन ।’
‘लामो समयसम्म यस क्षेत्रको संरक्षण गरेर बसेका भरत सर्वजित विश्वकर्माको मृत्यु भएपछि त यहाँको अवस्था झनै दयनीय भएको छ र बनेका संरचना पनि जीर्णशीर्ण हुँदै गएका छन् । ऊ त्यहाँ देउनीया किनारमा बनाइएको छ । विश्वकर्माको सालिक । र, त्यहीँ नजिकै बनाइएको छ भीमसेन पोखरी ।’
विरहीले अर्जुनधाराको कुरा पनि उठाए— ‘गाईले पानी खान पाएनन् भनेर वाण हानी पानी निकालिएको भन्ने विश्वास गरिएको त्यस अर्जुनधाराको हालत पनि त्यस्तै छ । एकातिर अर्जुनले बाण ताकिरहेको र अर्काेतिर बाण प्रहार गरिएको ठाउँबाट निस्केको पानी गाईले खाइरहेको मूर्ति बाहेक अरु संरक्षण केही पनि छैन ।’
म कोचिलाको कुरा उठाउँछु— ‘कोचिलाको अर्थ के हो ?’
विरही भन्छन्— ‘पहिले कोच राजाको राज्य थियो—कोसीदेखि आसामसम्म । अनि भन्न थालियोध— यस क्षेत्रलाई कोचिला ।’
उनले चोर औँलो तेस्र्याए पूर्वतिर — ‘उ.... त्यो मेचीनदी । अलिकति माथि पर्छ मेची पुल । तर अहिले यहाँ तलबाट पनि अर्काे पक्की पुल बन्दैछ । यो निर्माणाधीन पुल पनि मेची पुल जत्तिकै लामो (५६० मिटर) हुन्छ । मेची पुलले भारतको पूर्वी बङ्गाललाई जोडेजस्तै यस पुलले गलगरिया (विहार)लाई जोड्छ । गलगलिया पुल बनेपछि भारतबाट आउने पर्यटकहरुको संख्या यस क्षेत्रमा बढ्न सक्छ, तर यसै अवस्थामा पर्यटक आउलान् भनेर सोच्नु दिवास्वप्न मात्र हुन्छ ।’
हो, वास्तवमा हामीले माल पाएका छौँ, चाल पाएका छैनौँ । विदेशीहरुले कति मिथक कुराहरुलाई जोडेर, प्रचारबाजी गरेर, ठाउँको विकास गरेर, पर्यटक बढाएर कति अर्थाेपार्जन गरिसके । हामी भने भएका तथ्यपरक कुराहरुलाई पनि सार्वजनिक गर्न नसकेर पछि परेको परै छौँ । प्रकृतिले हामीलाई अनमोल रत्न दियो तर हामीले त्यो रत्न कुँदेर प्रयोगमा ल्याउन सकेनौँ । अर्थात् गहना बनाएर आफू सिँगारिन सकेनौँ । 
कीचकवधको दुर्दशा देखेर हराउँछु म त कल्पनालोकमा । साथीहरु फर्केर परै पुगिसकेछन् । माइक्रो बस पनि उनीहरुलाई पछ्याउँदै परै पुगिसकेछ । 
विरहीले विरहका अरु गीत पनि गाउँछन् कि ! म त्यो गीत सुन्नबाट वञ्चित पो हुन्छु कि ! भन्दै दगुरेर मिसिएँ त्यसै भीडमा । 
‘कीचकवध कोचिला द्वार’बाट हामी माइक्रो चढ्यौँ र अँध्यारो भइसक्दा पुग्यौँ भद्रपुर । 
कीचकवधको कचकच सकियो । 
मैले दुई वटा खुशी अनुभूत गरेँ — 
पहिलो, कीचकवधबाट म वध हुनुपरेन । 
दोस्रो, माइक्रोले आफ्नो शक्ति गुमाएन । 

सुत्केरी होटलको सेल, दामनको मूला र वरमझियाको पेडा - रामप्रसाद पन्त

नियात्रा

यात्रा गर्छु भन्दैमा गरिने र लेख्छु भन्दैमा लेखिने विषयवस्तु होइन रहेछ । फेरि यात्रा स्थानविशेषसँग भन्दा विषयवस्तुसँग प्रभावित हुँदो रहेछ । यसो नभइदिँदो हो त यस पटकको यात्राअनुरोधलाई मैले स्वीकार गर्ने पनि थिइनँ र भूगोलको त्यस बिन्दुभित्र म प्रवेश गर्ने नै थिइनँ । यसर्थ कि झापा मेरो लागि नौलो थिएन । 
सोचेँ, संस्था मेरो हो । संस्थाभित्रको मुख्य नायक मेरो आदर्श पात्र हो । यात्राको उद्देश्य अरुभन्दा बेग्लै हो । काम बेग्लै हो र संस्थाको असल उद्देश्यलाई सफल पार्नु मेरो कर्तव्य पनि हो । 
मस्तिष्कले बोध ग¥यो अविलम्ब । 
दिन थियो — २०६९ सालको असोज १२ गते । समुपस्थित हुने केन्द्रस्थल थियो — राष्ट्रिय सभागृहको मूलद्वार । समय थियो — बिहानको ६ः०० बजे र उद्देश्य थियो— नेपाल साहित्यिक पत्रकार संघको आयोजनामा झापाको भद्रपुरमा सम्पन्न हुने सम्मान एवम् कार्यपत्र प्रस्तुत समारोह ।
यात्राको प्रारम्भस्थलसम्म पुग्न निजी सवारी साधन उपलब्ध भएको थियो — भाष्कर भण्डारी तथा दीपक भण्डारीबाट र उपयोगकर्ता थियौँ — रोचक घिमिरे, ठाकुर शर्मा र म ।
हामी सम्बन्धित स्थानमा पुग्दा मोहन दुवालदम्पती माइक्रोबस सहित उपस्थित भइसक्नुभएको थियो र मातृका पोखरेल र विष्णु भण्डारीले पनि हामीलाई उछिनिसक्नु भएको थियो । प्रतीक्षित व्यक्तिहरु— डा. तुलसी भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ र फोटो पत्रकार नरेश श्रेष्ठ पनि धेरै बेर नगरेर आइपुग्नुभयो । 
आउँदाआउँदै नरेन्द्रजीले एउटा अत्यन्त दर्दनाक खबर सुनाउनुभयो — ‘एकैछिन अगाडि धावन मार्गबाट उड्दाउड्दै एउटा विमान दुर्घटना भएर मनोहरा किनारमा बलिरहेको छ रे ! मानिस कति मरे, थाहा छैन ।’ 
सात बजेको समाचार सुन्न एकछिन कुर्नुप¥यो हामीले । 
समाचार त माइक्रोबसमा गुड्दागुड्दै पनि सुन्न सकिन्थ्यो, तर समयमाथि सम्मान जनाउन सक्नुभएन लक्ष्मी उप्रेतीले र दुर्दान्त समाचार सुन्यौँ हामीले त्यहीँ बसेर । उडेको चारै मिनेटमा चरामा ठोक्किएर असन्तुलित भई आगो लाग्दै खसेको सीता एयरको विमानमा छटपटाउँदा छटपटाउँदै सात जना नेपाली, सात जना वेलायती र पाँच जना जर्मनीले जीवन विसर्जन गरे रे ! 
सुनेर मर्माहत भयौँ हामी । 
यात्राको आरम्भमै कति नराम्रो समाचार सुन्नुप¥यो हामीले ! 
प्रतीक्षा लक्ष्मीकै थियो । 
हो, प्रतीक्षा लक्ष्मीकै गर्छन् सबैले, हामी पनि त्यही गर्दै थियौँ । 
नरेश श्रेष्ठले संस्मरण दिलाउनुभयो इलामको, नाम उच्चारण गर्नुभयो गीता कार्कीको र प्रश्न गर्नुभयो — ‘जहाँ पनि प्रतीक्षा गराउनेमा महिला नै अघि पर्छन्, के कारण हो ?’ 
त्यसैबेला मोवाइल सम्पर्क गर्नुभएछ — रोचक दाइले । जाममा पर्नुभएको छ रे लक्ष्मीजी ! 
‘लौ उदय भयो लक्ष्मीजीको !’ — सर्वप्रथम देख्नुभएछ दुवालजीले ।
नरेन्द्रबहादुर श्रेष्ठले भन्न बाँकी राख्नुभएन — ‘बल्ल प्रमुख अतिथि आइपुग्नुभयो ।’
हो, हाम्रो संस्कृति विकृत बन्दै गएको छ — प्रमुख अतिथि भएपछि ढिलै आउनुपर्ने ! र अन्य अतिथिलाई घण्टौँ कुराउनुपर्ने ! 
आउँदाआउँदै लक्ष्मीजीले कारण बताउनुभयो— ‘शनिबारको दिन यस्तै हुन्छ भन्या ! माइक्रो अरु दिनजस्तो छिटो छिटो पाइँदैन ।’ 
मातृकाजीले सच्याउनुभयो — ‘आज शनिबार कहाँ हो र ? आज त शुक्रबार ।’ 
हाँसो भयो बेस्सरी ।
नरेशजीले सुटुक्क भन्नुभयो मसँग र उदाहरण दिनुभयो— बाबा बस्नेतको । उनी जाममा परिछन् रे एक पटक चाबेलमा, अनि बबरमहलको बाटो आइन् रे प्रज्ञा भवन ! 
ढाँटेको कुरो कहाँ मिल्छ र ! कतै न कतैबाट खुस्किहाल्छ नि ! 
अब भने हामीले विलम्ब गरेनौँ । पहिले सम्मान ग¥यौँ महिलाको र त्यसपछि सम्मान ग¥यौँ उमेरको । 
लक्ष्मी उप्रेती र दुवालपत्नी भारती श्रेष्ठ बसे चालससँगै अगाडिको सिटमा । साठी वर्षमाथिका रोचक घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ र डा. तुलसी भट्टराई बसे दोस्रो सिटमा र साठीकै हाराहारीका मोहन दुवाल सहित मातृका पोखरेल, विष्णु भण्डारी, ठाकुर शर्मा, नरेन्द्र श्रेष्ठ र म बस्यौँ पछिल्तिरका दुईवटा सिटहरुमा । चार लाइन सिटमा चालक सहित तीनतीन जनाको दरले बस्यौँ हामी । ठिक्क भयो सिट । 
छ बजे आइसक्ने र सवा छसम्म हिँडिसक्ने योजना बनाएका हामीहरु ठिक एक घण्टा ढिलो गरी हिँड्यौँ सवा सात बजे । 
त्रिपुरेश्वर पुगेपछि कुरा उठ्यो — कुन बाटो जाने ? दक्षिणकालीको बाटो हेटौँडा निस्कन सम्भव छ कि छैन ? 
सम्भव नहुने टिप्पणी आयो धेरैबाट । 
जाम छल्न माइक्रो लाग्यो बल्खु हुँदै कलङ्कीतिर । बल्खुमा पार्किङ गरिएका हेटौँडा चल्ने गाडीहरु सबै टाटा सुमो नै भएकाले माइक्रो जाँदो रहेनछ भन्ने निक्र्याैल ग¥यौँ हामीले । 
नागढुङ्गा पुग्दा आठ बज्यो, नौबिसे पुग्दा नौ । 
‘त्रिभुवन राजपथ हुँदै गए कसो होला ?’—  रोचक दाइको यस प्रश्नप्रति ठाडै विरोध गर्नुभयो — डा. भट्टराईले । 
त्यसैबेला कुरा उठाउनुभयो विष्णु भण्डारीले — नौबिसेमा मिठो सेलरोटी खान पाइन्छ भनेर । 
केही सेलप्रेमीहरुले जिब्रो मिठ्याए— ‘त्यसै हो भने चिया चमेना यहीँ खाइदिउँ न !’ 
हुन पनि हो, चियानास्ता गर्न धार्के नै पुग्नुपर्ने के छ र ? पहिले त खाजा खानका लागि नौबिसे र खानीखोला नै प्रसिद्ध थिए । पछि खुल्ला ठाउँको आवश्यकता प¥यो र नारायणघाटको बदला रामनगर चम्केजस्तै चम्क्यो धार्के र जुँगे खोला ।
कमिशन खाने सम्झौता गरेका चालकहरुले जुन होटल अगाडि लगेर अड्याइदियो त्यहीँ खाने त हो प्यासेन्जरले ।
तर आज भने हामीलाई त्यो बाध्यता थिएन । हामीले जहाँ चाह्यो त्यहीँ माइक्रो अड्याउन सक्थ्यौँ र रुचि अनुसार खानेकुरा खान सक्थ्यौँ । यसै मानसिकतालाई मूर्तरुप दिन हामीले गाडी अड्यायौँ पृथ्वी राजमार्ग सोझ्याएर । अनि पस्यौँ— जोशी भोजनालय लेखिएको एउटा सेल पसलमा र अर्डर ग¥यौँ सेल, चना र चिया । 
हसक्क हस्को आयो— ज्वानोको ।
यसो आँखा घुमाएर हेर्दा होटलको एक कुनामा देखियो — टेबुलमाथि सुतिरहेको एउटा नवजात शिशु ।
लौ वा, सुत्केरी होटलमा पो सेल खान आइपुगिएछ ! 
उहिले भए पो सुत्केरो परेको घरमा खान नहुने, सुत्केरीलाई छुन नहुने ! अहिलेको जमानामा केको सुत्केरो, केको छोइछिटो ! फेरि खानेकुरा टेबुलमा आइसकेपछि नखाएर भो र ! 
खायौँ, ज्वानोको बास्ना लिँदै खानेकुरा र पानी किन्यौँ चार÷पाँच बोतल । 
हामी विलम्ब नगरेर माइक्रोमा चढ्यौँ र बढ्यौँ अगाडि । गाडीले गति लियो पहिलेभन्दा बढी । 
डा. भट्टराईले भन्नुभयो— ‘अब एकैचोटि हेटौँडाको लोकप्रिय होटल । समय कम छ, हामीले ६१२ किलोमिटर गुड्नुछ ।’
तर मातृकाजीको मत रह्यो — ‘त्रिशूलीको किनारमा बाटोको कुनामा बसेर हाम्रो प्रतीक्षा गरिरहेका दिदीबहिनीहरुलाई पनि भेट्नु पर्ला कि ! उनीहरुले फिँजाइराखेका काँक्रा अम्बा र केराको स्वाद पनि लिनुपर्ला कि !’ 
कुरो मनासिव थियो । सामान्य चियानास्ताको भरमा हेटौँडा पुग्न त गाह्रै पर्ला — हामी मोटर चढ्नेलाई भन्दा चालकलाई । 
गाडी रिजर्भ गरेर हिँड्नेहरुको ध्यान प्रायः चालकमा पर्दाे रहेनछ । गाडीभित्र चानुमानु बस्नेहरु त भोकै रहे पनि, डल्लिएरै भए पनि पुग्छन् ठाउँमा, तर चालकलाई त्यसो गरेर भयो र ? 
यस्तै अनुभूति भइसकेको थियो मलाई यसअघिको यात्रामा । मैले त्यही सोचेँ र त्यही सम्झेँ— स्वर्गद्वारीदेखि बेनीसम्मको यात्रा । बडो डरलाग्दो भएको थियो त्यो यात्रा ड्राइभर निदाएर । 
माइक्रो तीव्रगामी बनेको थियो । बाटोमा गाडीहरु पनि पातला देखिँदै थिए । सोच्दै थियौँ हामी— पूर्व वा पश्चिमबाट आउने रात्रीबसहरु लाइन लागेर आउनुपर्ने हो ! लामो दूरीका दिवासेवाहरु पनि अगाडि पछाडि देखिनुपर्ने  हो ! के भयो खै देखिँदैनन् त ? 
यस्तै जिज्ञासा र आशङ्कामा हामी पुगिसकेछौँ गल्छी ।
यस यात्राका वाचाल वक्ता देखिनुभएको छ— डा. भट्टराई ।
गल्छीको गल्छेडोमा छिर्नेबित्तिकै उहाँले गल्छी बन्नुको कथा सुनाउन थाल्नुभयो—
‘सरदार फौद सिंह जागिरे थिए— जङ्गबहादुरको दरबारमा र उनको जागिरले निरन्तरता पायो जगतजंगको पालासम्म । तर जंगबहादुरका सन्तानको सत्ता पतन भयो र फौद सिंहको जागिर पनि सँगसँगै गयो । उनी रणोद्विपको शरणमा पुगे । 
रणोद्विपले सोधे— ‘के गर्छस् त फौदे अब तैँले ?’
फौदसिंहले बिन्ती गरे — ‘नदीमाथि आवाद गरिखान पाउँ सरकार !’ 
नदीमाथि आवाद ?
शङ्का लाग्दालाग्दै पनि हुकुम दिए रणोद्विपले — ‘गरी खा ।’
त्यसपछि गल्छीको आसपासमै घर भएका फौद सिंहले नौबिसेतिरबाट बग्दै गएको महेश खोलालाई त्रिशूलीको दोभान भन्दा दुई किलोमिटर वरैबाट पहाड काटेर त्रिशूलीमा मिसाइदिए । हालको दुई किलोमिटर गल्छी, खोलाबाट जमिनमा परिणत भयो र त्यो सबै भूभाग फौद सिंहको अधीनमा आयो । वि.सं. १९३८ सालको कुरा ।’ 
यी रमाइला कुराहरु सुन्दै हामी गल्छीको खोँचमा गुडिरहेका थियौँ । त्यस कथाले विश्राम पाउनेबित्तिकै डा. भट्टराईले दाहिनेतिर औँलो तेस्र्याएर भन्नुभयो — ‘यहाँ एउटा लस्सी केन्द्र छ । विशुद्ध दहीबाट बनेको मीठो लस्सी खान पाइन्छ यहाँ । त्यो मात्र होइन, तीस रुपैयाँमा एक कचौरा कुराउनी पनि खान पाइन्छ ।’ 
कुरा सुनेर जिब्रो रसायो हाम्रो, तर गाडी रोकिएन । 
गल्छी काटेर त्रिशूलीको किनारमा गुड्दै गर्दा कुन्नि कसको मोबाइलमा खबर आयो — चितवन बन्दको । 
गाडीहरु कम गुडेको आशङ्काले मूर्तरुप लिने हो कि भन्ने डर लाग्यो हामीलाई । 
कुरो त स्पष्ट हुनुप¥यो ।
ज्वरो आएर झापा जान नसक्ने भई सुतेका चितवनका साहित्यकार डि.आर. पोखरेललाई पनि थाहा होला चितवन बन्दको कुरा ! 
मातृकाजीले फोन सम्पर्क गर्नुभयो पोखरेलसँग ।
साँच्चिकै बन्द रहेछ चितवन । किरण वैद्य पक्षधरले बन्द गरेको रे ! 
यद्यपि हाम्रो माइक्रो अगाडि नेपाल साहित्यिक पत्रकार संघको तुल टाँगिएको थियो । हामीसँग संस्थाका परिचयपत्रहरु पनि थिए । तथापि हामीले आँट गर्न सकेनौँ अगाडि बढ्न । 
सोच्यौँ— साहित्यलाई कसले टेर्छ ! नेपाल पत्रकार संघ भए पो टेथ्र्याे । पत्रकारको अगाडि साहित्यिक थपिएपछि मानौँ त्यो राजनीतिक आँखाबाट बहिष्कृत भयो । साहित्यले के गर्छ समाजलाई ? अन्तर्मर्म के थाहा सतही विचार भएकालाई ! आन्दोलनकारीलाई ! बन्दकर्तालाई ! 
हामी आदमघाट पुगिसकेछौँ, नौबिसेबाट २८ किलोमिटर अगाडि । ढिलो भइरहेको बेलामा ५६ किलोमिटर अनावश्यक गुड्नुप¥यो हामीले । हामी फर्कियौँ त्रिभुवन राजपथहुँदै जानेगरी पुनः नौबिसेतिर । 
ठाकुर शर्माले भन्नुभयो — ‘नियात्राकारलाई मात्र फाइदा भयो, अरुलाई बेकार ।’ 
हो, नियात्राकारले यस्ता घटना भेटेन भने पाठकलाई कसरी मनोरञ्जन दिन्छ ? 
कुरा उठिरह्यो— सुत्केरी होटलको सेलको ।
घुमायो हामीलाई सुत्केरी होटलको सेलले । 
विवाहोत्सव र विवाह गरिसकेपछि छोरी घर पठाउँदा सेल उपहार दिने मनोवैज्ञानिक कारण यही रे !— सम्बन्ध सेलको जस्तो होस्, छोरी माइतीमा आइरहोस् । 
तर आजको सेलले झुक्यायो हामीलाई  । झापा पुगेपछि मात्र घुमाउनुपर्ने थियो, घुमायो आदमघाटबाटै । धन्न मौकैमा बुद्धि पु¥याइएछ र पो, नत्र चितवनै पुग्नुपथ्र्यो वा चितवनमै अड्नुपथ्र्याे । 
‘एक घण्टा  लक्ष्मीजीका कारण ढिलो भयो, अर्काे घण्टा घुमाइमा । दुई घण्टा ढिला भइसक्यौँ हामी’ — कसैबाट आवाज आयो । 
‘मैले ढिलो गरेकोले नजिकैबाट फर्कन पाइयो, नत्र चितवन पुगेर फर्कनुपथ्र्याे, राम्रै भयो ।’ 
यसबेला भने बुद्धि पु¥याएर जवाफ दिनुभयो लक्ष्मीजीले ।
हाँसो भयो हामीबीच ।
हो, वास्तवमा जे पनि हुन सक्थ्यो । 
डि आर पोखरेलको समीक्षा भयो त्यसैबेला । उहाँलाई थाहा थियो— हामी आज झापा जाँदैछाँै भन्ने । र, यो पनि थाहा थियो— चितवन बन्द छ भन्ने । यस्तो अवस्थामा नेपाल साहित्यिक पत्रकार संघको जिम्मेवार सदस्य भएको नाता र झापा जानका लागि प्रस्तावित व्यक्तित्व समेत भएको नाताले पनि हामीलाई बन्दबारे जानकारी गराउनुपथ्र्याे । 
कुरा हुँदाहुँदै हामी पुनः गल्छी प्रवेश ग¥यौँ ।
‘यसै ढिलो उसै ढिलो, लस्सी केन्द्रमा पसेर एक÷एक गिलास लस्सी सुप्काएरै जाने हो कि !’ — मातृका पोखरेलको यस प्रस्तावलाई म लगायत केही व्यक्तिले समर्थन जनायौँ । बाँकीले मुख नखोले पनि विरोध गर्नुभएन । यसको अर्थ थियो— मौन स्वीकृति ।
तर गाडी अड्याउनकै लागि चालकलाई कसैबाट आदेश भएन । गाडी नरोकिएर अगाडि बढ्यो । 
यही घटना संसदमा घटेको भए विधेयक पारित हुन्थ्यो— ‘कतैबाट हुन्न भन्ने आवाज नसुनिएकोले’ भनेर । तर यहाँ  त उल्टो भयो — ‘अड्याउनै पर्छ’ भन्ने शब्द कतैबाट नआएर ।
हामी नौबिसे फर्केर त्रिभुवन राजपथ हुँदै टिस्टुङतिर उकालो लाग्दा साढे दस बजिसकेको थियो ।
त्यस बाटोसँग अपरिचित व्यक्ति हुनुहुँदो रहेछ विष्णु भण्डारी । राम्रो लाग्यो रे उहाँलाई गाउँमा छितरिएर रहेका ती घरहरु, त्यो हरियाली र फनफनी घुम्दै उकालो लागेको त्रिभुवन राजपथ । 
टिस्टुङ पुगेपछि मैले सम्झेँ— महाकवि देवकोटालाई । उहाँ स्वास्थ्यलाभका लागि केही समय टिस्टुङ आएर बस्नुभएको थियो रे ! 
वास्तवमा स्वस्थ र स्वच्छ हावापानी छ टिस्टुङको । हावापानी जस्तै अन्य भौतिक सुुविधा उपलब्ध भए कसले छाड्थ्यो आफ्नो जन्मथलो ?
हामी टिस्टुङ नाघेर पालुङको खुल्ला बस्तीमा प्रवेश गरिसकेका थियौँ । 
पछिल्लो परिवर्तित राजनीतिमा लागेका र सहिद बनेका केही पालुङबासीको नाम लिँदै हुनुहुन्थ्यो मातृकाजी  । र, भन्दै हुनुहुन्थ्यो— ‘यहाँको जग्गा छोइनसक्नु छ— काठमाडौँको जस्तो ।’ 
डा. भट्टराई थप्दै हुनुहुन्थ्यो— ‘यहाँका जग्गामा चार बाली लाग्छ, राम्रो अनाज फल्छ, अनि त किन नहोस् महँगो जग्गा ?’ 
म मूला सम्झँदै थिएँ— ‘यहाँका मूलै मीठा, अनि कति सस्ता !’ 
मेरो भनाइलाई समर्थन गर्दै हुनुहुन्थ्यो— ठाकुर शर्मा र नरेश श्रेष्ठले । 
मूला खाने माग उठ्दै थियो अरुहरुबाट पनि । बाटोको कुनामा ठाउँठाउँमा थुपारेर राखिएका देखिँदै थिए— मूलाका रासहरु । 
तर ‘गाडी रोक, मूला किनौँ’ भन्ने आँट कसैले गर्न सकिरहेको थिएन र चालकबाट पनि गाडी अड्याउने सङ्केत देखिएको थिएन । यस्तै यस्तैमा मूलाका रासहरु पछि पर्दैै गए, माइक्रो पालुङ छाडेर दामनको जङ्गलमा गुड्न थाल्यो । 
डा. भट्टराईले भन्नुभयो —‘लस्सी पनि गयो, मूला पनि गयो, जे जे आयो त्यो सबै गयो । तर दामनको बोडीको तरकारी छाड्नुहुन्न । एक एक प्लेट स्वादिलो तरकारी हजम गरेपछि हामीलाई हेटौँडा पुग्न गाह्रो पनि पर्दैन ।’ 
दामन बजार पनि नघायो माइक्रोले सुलुत्तै, तर रोकिने सङ्केतै देखिएन । 
चालकले हाम्रो कुरा सुन्दा पनि सुन्दैन, प्रतिप्रश्न पनि गर्दैन र रोक्न खोज्नुको कारण पनि बुझ्न चाहँदैन । अनि ‘रोक’ भन्ने ठाडो आदेश कतैबाट निस्कँदा पनि निस्कँदैन । लस्सी पनि गयो, मुला पनि गयो र बोडीको तरकारी पनि जाने डर भयो ।
किन यस्तो भइरहेछ ? चालकको आसय के हो ? वा रिमोट कहाँ छ चालकको ? अध्ययनको विषय बन्यो हामी माझ ।
त्यस राजपथको अत्युच्च घुम्तीमा घुम्दै गर्दा दुई÷तीनवटा डोकामा सलक्क परेका सेता र सफा मूला देखेपछि पुनः ध्यान आकृष्ट भयो हाम्रो । 
त्यस बेला नामै किटेर मुख खोल्नुभयो मोहन दुवालले आफ्नै मातृभाषामा — ‘ए अजय ! गाडी डिकी डिकी ।’ 
त्यसपछि गाडी रोक्यो चालकले । नाम पनि थाहा भयो त्यसै बेला अजय रञ्जितको । र, यो पनि थाहा भयो — चालकले चलाइरहेको गाडीको ब्रेक कहाँ रहेछ भन्ने ? 
पछि महसुस ग¥यौँ हामीहरुले — यति पनि नबुझ्ने हामी कति उल्लू ? जसले गाडी जिम्मा लिएको छ र जसले यात्राको उद्देश्यलाई सहजता साथ सम्पन्न गर्ने जिम्मेवारी बोध गरेर हिँडेको छ, त्यसको साँचो उसैमा नियन्त्रित नभएर कहाँ हुन्छ त ? 
मातृका पोखरेल यस यात्राका क्यासियर । भाउताउ गरेर उहाँले मूला किन्नुभयो र बाँड्दै जानुभयो । झन्डै दुईवटा मुला परे एकजनाको भागमा । मातृकाजीले मूला किन्दै गर्दा म जङ्गलको आश्रयमा थिएँ । त्यसैले थाहा भएन, उहाँले तौलेर लिनुभयो कि गनेर । जम्माजम्मी सत्तरी रुपैयाँको किन्नुभएछ उहाँले मूला । 
दामनको पानीले धोइसकेका यति सफा मूला पनि फेरि धोइरहनुपर्छ र ? पर्दैन । 
दाँत फुक्लेको मानिस त्यहाँ कोही देखिएन । सिङ्गो मूला टोक्न थाल्यौँ कटाकट । कति मीठा मूला ! अलिअलि त भोकले पनि मिठास थप्यो होला ! मूला खाइसकेपछिको परिणाम खानेका लागि त हितकर नै होला, तर सँगै बसेकाका लागि अप्रिय हुन्छ । तर यहाँ त सबै मूला । मूलाको परिणाम जे होला होला ! खान कसैले बाँकी राखेन । 
जुनसुकै चिजले पनि आफ्नो गुण त देखाउँछ देखाउँछ । गुण देखाउनु उसको धर्म हो भने हामीले खाएको मूलाले पनि आफ्नो धर्म छाड्न भयो  र ? भएन । देखाउन थाल्यो मूलाले आफ्नो असली धर्म । सबै एकै ड्याङका मूला ! कसैले केही बोल्न भएन त्यहाँ ? 
दामनको दक्षिणी भागबाट उँधो लाग्दै गर्दा रोचक दाइले मेरो ध्यान आकृष्ट गर्नुभयो— ‘हेर्नुस् त पन्तजी ! तलतिरको त्यो दृश्य ! बादलका ती भुल्काहरु, सूर्यकिरणको त्यो छिरमिरे वर्षा, हरियो घनाजङ्गल र जङ्गलको बीचमा घर ।’ 
वा ...... साँच्चै सुन्दर थियो त्यो दृश्य । 
रोचक दाइले नामै किटेर मलाई त्यो दृश्य देखाउनुको तात्विक अर्थ थियो । उहाँलाई पूर्ण विश्वास थियो— अरुले आजको यात्रा वर्णन लेख्लान्, नलेख्लान् ! तर रामप्रसाद पन्तले लेख्छ लेख्छ । 
हामीले अघोर बजार र लामीडाँडालाई पछाडि पार्दै भैँसेतिर ओर्लँदै थियौँ । डा. भट्टराईले भन्नुभयो — ‘अब बाह्र घुम्ती आउनै लाग्यो ।’
बाह्र घुम्ती !? मैले त सुनेको थिएँ सात घुम्ती ! कहाँबाट आयो फेरि बाह्र घुम्ती ? उहाँले ठोकुवा गर्नुभयो — ‘होइन, यहाँ बाह्र ओटा घुम्ती नै छन् ।’ 
‘नौ घुम्ती कहाँ छ ? डाक्टरसापलाई थाहा छ ?’ मैले प्रश्न गरेँ । 
उहाँले सजिलै भन्नुपर्ने थियो— आफ्नो जन्मस्थानसँग जोडिएको बाटो, तर अकमकिनुभयो । 
म इलाम जाँदा सुनेको कुरा सुनाएँ— ‘करफोकबाट माइखोला ओर्लँदा गोदकको पाखोमा बनेको नागबेली बाटो ।’ 
हो, उहाँले समर्थन जनाउनुभयो । 
वार्ताको क्रमसँगै हामी घुम्ती घुम्ती ओर्लेर भैँसे पुगेका थियौँ र प्रयोगविहीन अवस्थामा रहेको रोपवे सेवालाई टुलुटुलु हेर्दै अघि बढेका थियौँ । हाम्रा अगाडि कुलेखानी खोला आएको थियो, त्यस खोलामा मिसिदै गरेको सेवार खोला भेटिएको थियो र ‘राप्ती’ नामकरण भएर उँधोतिर बग्दै गरेको देखिएको थियो । 
जताबाट गए पनि हेटौँडा । पृथ्वी राजमार्ग हुँदै गए पनि हेटौँडा, कुलेखानी हुँदै गए पनि हेटौँडा र त्रिभुवन राजपथ हुँदै गए पनि हेटौँडा । अर्थात् पृथ्वी राजमार्ग हुँदै गएको भए पनि लोकप्रिय होटलमै भात खाइन्थ्यो, त्रिभुवन राजपथ हुँदै आए पनि लोकप्रियमा । 
मासु खाने जति मांशाहारी लेखिएको टेबुलमा, मासु नखाने जति शाकाहारी लेखिएको टेबुलमा । 
राम्रै लाग्यो होटलको व्यवस्था । दिनेलाई पनि सजिलो, खानेलाई पनि राम्रो । मीठै रहेछ खानेकुरा पनि । भातमाथि तररर घिउ तर्काएपछि त झनै खास्सा । 
पानी वर्षियो मज्जाले एकछिन । शीतलदेखि गर्मीमा झरेका हामीलाई निकै आनन्दको अनुभूति भयो । 
समय दिनको दुई बजिसकेछ । अबेर गर्नुहुन्न हामीले कत्ति पनि ।
हामी माइक्रोमा चढ्यौँ र गुडिहाल्यौँ पथलैयातिर । 
काठमाडौँबाट पथलैया पुग्दासम्म आ–आफ्नै गन्थनहरु मात्र भए । गीत सुन्न पाइएन एउटा पनि । 
‘छँदै छैन कि क्या हो क्यासेट ?’ प्रश्न ग¥यौँ हामीले ।
अब भने ध्यानाकर्षण भयो— अजय रञ्जितको ।
पथलैयाबाट पूर्व हानिनु र गीत घन्कनु एकैचोटि — 
‘जादू तेरा मुझ मे चल गया,
मेरा मन फिसल गया ......।’
अब चाहिँ माइक्रोको आवाजै फेरियो — घुनुनुनुनुनुनुनु
लालबन्दी पुगेर माइक्रो रोकियो । 
चिया खान बस्यौँ हामी टेबुल वरिपरि घेरा हालेर ।
चियाका गिलासहरु टेबुलमा राखिए — चिनी भएका, नभएका, दूध हालेका, नहालेका ।
अरुको जस्तै चियाको गिलास रोचक घिमिरेको अगाडि पनि राखिएको थियो । अरुले जस्तै उहाँले पनि गिलास उठाएर चियाको चुस्की लिन खोज्दै हुनुहुन्थ्यो, गिलास त तीन टुक्रा । चिया टेबुलभरि छताछुल्ल, छ्याल्लब्याल्ल । धन्न जोगियो लुगाफाटो । 
कसरी यस्तो भयो ? 
अनुमान लगाइयो — गिलास नयाँ होला ! पहिले नयाँ गिलासलाई पानीमा उमाल्नुपर्ने, त्यो बुद्धि पु¥याएन होटलवालाले । 
गल्ती महसुस ग¥यो होटलवालाले पनि । अर्काे गिलास आयो चियाको । हामीले चिया खाइसक्यौँ र बाटो तताइहाल्यौँ । 
अबको विश्राम विन्दु बरमझिया । बाजेको पेडा छाड्नुहुँदैन । 
बाजे अर्थात् सप्तरी बरमझियाका बैद्यनाथ साह । उनको पेडा नेपाल प्रसिद्ध । तर उनको मृत्यु भयो एक वर्षअघि । अब त बूढाको नाममा पसलै पिच्छे — बूढोको पेडा, बाजेको पेडा, बूढोको प्रसिद्ध पेडा, बाजेको विशुद्ध पेडा, बूढो बाजेको ताजा पेडा, असली बाजेको पेडा— कति हो कति पसल, कति हो कति साइनबोर्ड — यसै भन्दै हुनुहुन्थ्यो मातृका पोखरेल ।
सुनेर जिब्रो रसाइसकेको थियो मेरो, सायद हाम्रो ! तर बरमझिया पुग्नुअघि नै माइक्रोको गति घट्दै गयो र कन्चनपुर पुगेर अडियो । 
पश्चिमतिरका धेरै नाम दोहोरिइरहेकोमा रोचक अनुभूति हुँदै थियो मलाई— सर्लाहीको नवलपुर, सिराहाको बन्दीपुर र धनगढी, अनि सप्तरीको कन्चनपुर ।
अकस्मात् गाडी रोकिएकोमा जिज्ञासा भयो हामीहरुलाई । 
सोध्यौँ— ‘के भयो ?’ 
‘गाडीको इन्जिन तात्यो ।’— ड्राइभरले जवाफ दियो । 
‘अब के हुन्छ ?’
‘सेलाउनु पर्छ ।’
‘सेलाउन कति समय लाग्छ ?’ 
‘लाग्छ, कम्तिमा आधाघण्टा ।’
रातको साढे आठ बजिसकेको छ । इन्जिन कहिले सेलाउने हो ? बरमजियाको पेडा कुन बेला खाने हो ? र, भद्रपुर कुन बेला पुग्ने हो ? 
पानी हाल्न पाए अलि चाँडो सेलाउँथ्यो ।
तर कहाँ पाउने यहाँ पानी ?
चालक ओल्र्याे र इन्जिनको कभर खोल्यो । हामी पनि ओर्लियौँ माइक्रोबाट र बस्यौँ बाटोको छेउछाउ टक्राकटुक्रुक । बेन्च पनि रहेछ नजिकै । त्यसैमाथि बस्यौँ अट्नेजति । 
डा. भट्टराईले गोजीबाट रुमाल निकालेर हल्लाउन थाल्नुभयो गाडीको इन्जिन बाहिर । 
रुमालको हल्लाइ इन्जिनले सुन्थ्यो, सुन्दैनथ्यो त्यो बेग्लै कुरा ! मेरो सोचाइमा त्यो स्याम्बुलिक थियो । अर्थात् त्यसको आसय सबैले सक्दो मद्दत गर्नुपर्छ भन्ने थियो । यस्तै बुझेँ मैले । 
त्यसपछि तुलसी अध्ययन अनुसन्धान केन्द्रबाटै बाटोको डिलमुनि सम्भाव्यता अध्ययन भयो— ‘ऊ...... त्यहाँ अँध्यारो अँध्यारो खाल्डो देखिँदै छ, पानी पो छ कि क्याहो !’
मैले मोबाइल निकालेँ, बत्ती बालेँ र खाल्डो नजिकै गएर हेरेँ । साँच्चै नै खाल्डोमा अलकति आकासे पानी जमेको रहेछ । 
खुसी भयौँ हामी ।
लौ बोतल लिएर आउनुप¥यो !
पानी खाएर नफालीकन सिटमुनि राखेका दुई÷तीनवटा प्लाष्टिक बोतल लिएर आएँ मैले । 
कुनै बेला काम लाग्छ भनेर राखिएका बोतलबाट काम लिन पाएकोमा प्रसन्नताबोध भयो मलाई । 
पालैपालो बत्ती देखाउने र बोतलमा पानी भर्ने काम गर्दैरह्यौँ डाक्टरसाव र मैले । पानी लैजाँदै इन्जिनमा हाल्दै गरे— अजयले ।
कुल ११ बोतल हालिसकेपछि इन्जिन सही कन्डिसनमा आएको निक्र्याेल गरियो । 
अब ढिलो गर्ने कामै छैन । हामी अविलम्ब बस्यौँ माइक्रोमा र बढ्यौँ अगाडि । 
आयो, बरमझिया । देखिए, ट्युवलाइटले झिलिमिलि होटलहरु । अरुभन्दा चमकदार र ठूलो पेडा पसल अगाडि पुगेर माइक्रो अडियो । 
पसलको कवल जत्तिकै लामो र ठूलो बोर्डमा लेखिएको थियो — पुरानो बूढोको प्रसिद्ध पेडा पसल । र, बोर्डको बीचमा थियो— शिवजीको कलात्मक आकर्षक तस्विर । 
हामीले पेडा हे¥यौँ, चाख्यौँ र सुध्यौँ पनि । शङ्काको घेरामा प¥यो पेडा । पेडा बासी हो भन्ने निक्र्याेल भयो  हाम्रो । 
‘प्रथमे ग्रासे मक्षिका पातः’ पेडा देखेर रसाएका हाम्रा जिह्वाहरु एकाएक सुके । हामी ‘ढोँगी जोगीले खरानी धेरै घस्छ’ भन्ने उदाहरण दिँदै गयौँ अर्काे पसलमा । त्यो थियो— साईंबाबा पुरानो पेडा भण्डार । 
बरमझियाकै पेडा नखाए पनि पेडा त खाएका रहेछौँ नि हामीले । पेडाको साँच्चै असली स्वाद त्यहाँ भेटियो । हामीले एक किलो पेडा किनेर खाएनौँ मात्र, पर्सि फर्कँदा आठ÷दस किलो पेडा तयार गरिराख्ने बाचा बँधाएर बढ्यौँ अगाडि । 
रातको साढे नौ बजिसकेछ वरमझिया नेटो काट्दा । 
हाम्रो स्वागतार्थ बसेका झापाबासी साहित्यकारहरुले फोनको बिल धेरै चढाइसके । टोलीनायक रोचक घिमिरेले बाध्यता साथ भन्नुभयो — ‘हामी त्यहाँ पुग्दा कम्तीमा बाह्र बज्छ, तसर्थ तपाईंहरु हामीलाई पर्खेर नबस्नुहोस् । हामी बस्ने होटलको नाम र ठाम बताइदिनुहोस् र होटलवालालाई हाम्रो बाध्यता सुनाइदिनुहोस् ।’ 
तिर्खाएको गाडीले पानी खान पाएर पनि होला, अबेर भइसक्यो भनेर पनि होला, एकान्त सुनसान सडक पाएर पनि होला, गाडीको रफ्तार अरु बढ्यो । कोशी किनारमा कङ्कलामाईको मेला भर्ने भक्तजनहरुको भीडले केही क्षण गति अवरुद्ध गरिदिएबाहेक हाम्रो गाडीमाथि अवरोध हाल्ने अरु तत्व कतै भेटिएन । 
हामी बिर्तामोडबाट दक्षिण मोडिएर गरामुनि पुग्दा नेपाल साहित्यिक पत्रकार संघ झापाका सचिव कृष्ण सुवेदी ‘निराकार’ माइक्रोले फ्याँकेको हेडलाइटको उज्यालोमा साकार भए । हामी उनैद्वारा स्वागत गरियौँ र उनकै अगुवाइमा चन्द्रगढी हुँदै भद्रपुर रोडको नेपाल सामुदायिक विकास केन्द्र (एनसिडिसी) को कम्पाउन्डभित्र छि¥यौँ रातको १२ः४५ बजे । हामीलाई खानेपिने र बस्ने सबै व्यवस्था त्यहीँ गरिएको रहेछ । बाँकी कुरा भोलिको लागि थाँती राखेर हामी आ–आफ्नो सयनकक्षमा बाँडियौँ । 
कोठातिर जाँदै गर्दा मैले निराकारजीलाई सोधेँ— ‘लामखुट्टे कत्तिको लाग्छ ?’ 
मैले विशेष चासो राखेर यसर्थ सोधेको थिएँ कि मलाई लामखुट्टे भनेपछि बाघभन्दा पनि बढी डर लाग्छ । लामखुट्टेले टोकेपछि शरीर चिलचिलाउन थाल्छ र फोका उठ्छ । 
निराकारजीले सायद सही नै जवाफ दिनुभएको थियो होला,  तर मलाई भने जोकजस्तो लाग्यो उहाँको भनाइ । भन्दै हुनुहुन्थ्यो — ‘तीन तलामाथि रुम भएकोले लामखुट्टे चढ्न सक्दैन कि ! फेरि बत्ती आउँछ रातभर, पङ्खा चल्छ रातभर । समस्या नहोला !’ 
जे होला होला भनेर ! म ३०३ नम्बर कोठामा गएँ र थाकेको शरीरलाई लमतन्न सुताएँ — रातको साढे एक बजे ।