Sunday, April 23, 2017

नेपाली रसबाट पन्छिँदै बनारस - गणेश राई

नेपालबाट विद्या आर्जन गर्न काशी जाने घटेसँगै बनारसवासी नेपालीभाषीसँग सम्पर्क टुट्दै गएको छ ।






वैशाख ९, २०७४- कमिलाले भुइँ उधिन्दा उही माटोमात्रै निकालेको देखिन्छ । त्योभित्र ढुंगा पनि हुन्छ भनेझैं छ– बनारस । नेपाली भाषा साहित्यको इतिवृत्तान्त उधिन्दा उही बनारसको नाम पहिलो पत्रमै भेटिन्छ । पत्रपत्रमा शोभायमान गुलाफको फूलझैं सुनौलो पत्र नै हो, बनारस । र हो, नेपाली राजनीतिक चिन्तक र लेखकहरूको प्रबद्र्धन केन्द्र । अनि नेपाली साहित्य उन्नयन र कृति प्रकाशन केन्द्र पनि । 

बनारसबाट विसं १९४३ मा ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका छापियो, जुन नेपाली भाषा, साहित्य र पत्रिकारिताका निम्ति पहिलो पत्रिका थियो । पत्रिकाको प्रकाशन युवाकवि मोतीराम भट्टले गरेका थिए । यो प्रकाशन इतिहास तन्किदै आज १ सय ३० वर्ष पुगेको छ । तन्किदै जानेछ । नेपालबाट प्रकाशित पहिलो पत्रिका ‘सुधासागर’ हो, जुन १९५५ सालमा छापिएको थियो । इतिहासप्रति गर्वमात्र गरिरहने तर नेपाली भाषा साहित्य सिर्जनाचाहिँ फिटिक्कै नहुने हो भने कुमालकोटीको न्यायसरह हुने नै भयो । जुन बनारसमा भइरहेको छ । भारतीय नेपाली भने पनि हिन्दीमै समर्पित हुनुपर्ने स्थिति छ । 

बनारसको अरु नाम काशी र वाराणसी हो । भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रबद्र्धन थलो हो । काशी भूमिमा शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रबद्र्धनको मुख्य केन्द्र हो । पुण्य कमाउने काशी पनि यही हो । शिक्षादीक्षा, व्यापार र पुण्य कमाउन तीर्थका निम्ति बनारस पुगेर स्थायी बसोबास गरेका नेपालीको संख्या पर्याप्त छ । नेपालका राजा–महाराजादेखि सर्वसाधारणसम्मको बनारसमा बसोबास थियो र छ अझै । बनारस ‘मिनी नेपाल’जस्तै छ । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ । ‘मानवीय स्वतन्त्रताको पहिलो स्वर बनारसबाट निस्किएको हो,’ एक कार्यक्रमका निम्ति बनारस पुगेका सांस्कृतिक विश्लेषक निनु चापागाईं भन्छन्, ‘नेपाली जनमानसलाई समृद्धितर्फ डोर्‍याउने काम बनारस भूमिले गरेको छ ।’

नेपाली पत्रकारिता साहित्यिक पत्रिकाको माध्यमबाट अघि बढेको हो । नेपाल साहित्यिक पत्रकार संघले बनारसमा हालैमात्र स्रष्टा सम्मान र बनारसको योगदानको चर्चा गराएको छ । साहित्यकार डीआर पोखरेलले ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहास उधिनेका थिए । उनले ‘गोरखा भारत जीवन’पछि बनारसबाट ४५ वटा नेपाली भाषाका साहित्यिक पत्रिका प्रकाशनमा आएको उल्लेख गरेका छन् । ती पत्रिकामा उपन्यास तरङ्गिणी (१९५९), सुक्तिसुधा (१९६१), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१), गोर्खाली (१९७२), जन्मभूमि (१९७९), उदय (१९९३) थिए । 

‘उदय’पछि प्रकाशित सर्वहितैषी पत्रिका, युगवाणी, छात्र, छात्रदूत, छात्रवाणी, ज्योति, सन्देश (२०१४), नौलो पाइला, मुनो, दीपक, उजेली, छात्रपथ, सन्देश (२०१८), छात्रप्रभा, कल्याणी, आमा, सुमुन, विश्वशिखा, नयाँ पाइलो, नेपाली साहित्य सम्पर्क समिति थिए । त्यसैगरी बिहानीपख, विश्व सन्देश, रवि, कोशीको लहर (२०२३), कोशीको सुषमा, वाणी साधना, अक्षर, संवेग, एकता, ज्ञानज्योति, अयन, प्रवास गुञ्जन, कोशी लहर (२०३४), वैदिक सुधा (२०३४) नाममा पत्रिका प्रकाशनमा थिए । बीएचयुका विद्यार्थीले ‘अयन’ पत्रिका प्रकाशन गरेका थिए भने बीएचयु, सम्पूर्णान्द विश्वविद्यालय र महात्मा गान्धी काशी विद्यापीठमा अध्ययनरत नेपाली विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघ इकाइले वार्षिक रूपमा ‘एकता’ पत्रिका प्रकाशन गर्दै आएका छन् । यो पत्रिका २०३९ सालदेखि प्रकाशनमा छ । 

आधुनिक हिन्दी साहित्यका जन्मदाता भारतेन्दु हरिश्चन्द्र (विसं १९०७–१९४१) को बासस्थान वाराणसीको चौखम्भा हो । चौखम्भामै भारतेन्दुका छिमेकी बन्न पुगेका काशीबहादुर श्रेष्ठ (विसं १९६८–२०४६) ले प्रकाशन गरेको ‘उदय’ साहित्यिक पत्रिकामात्र आजसम्म छापिँदै आएको छ । प्रकाशन आरम्भलाई लिने हो भने यो पत्रिका ८० वर्ष पुगेको छ । काशीबहादुरको निधनपछि उनका छोरा दुर्गाप्रसाद श्रेष्ठले ३० वर्षदेखि प्रकाशन निरन्तरता दिएका छन् । हालसम्म बनारसबाटै प्रकाशन भइरहेको ‘उदय’ साहित्यिक पत्रिका २०७३ सालसम्ममा १६३ अंक प्रकाशित छ । उमेरले ७८ वर्ष टेकिसकेका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ ‘उदय’ पत्रिकाको आयु दीर्घ बन्नेमा संशय प्रकट गर्छन् । 

भारतको उत्तर प्रदेशमा रहेको बनारसमा नेपाली भाषाको अध्ययन, शोध र अनुसन्धान गराउने केही शिक्षालय छन्– काशी हिन्दु विश्वविद्यालय (बीएचयु) र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय (एसएसयु) । कार्यपत्रमा छुटेका दुई पत्रिका छन्– ‘समयाङ्कन’ र ‘यात्री’ । बनारसबाट सन् १९९८ पारसप्रकाश नेपालको सम्पादनमा ‘यात्री’ साहित्यिक पत्रिका प्रकाशित भएको थियो । सम्पादक नेपालका अनुसार उक्त पत्रिका ३ अंक प्रकाशन भयो । 

त्यसैगरी काशी हिन्दु विश्वविद्यालयको भारतीय भाषा विभाग कला संकायबाट ‘समयाङ्कन’ अनुसन्धानात्मक पत्रिका (जर्नल) प्रकाशनमा छ । विभाग प्रमुख प्राध्यापक डा. सञ्जय राई (बान्तवा) बाट प्राप्त ‘समयाङ्कन’ वर्ष २१, अंक ७ (अभिदेशित अनुसन्धानात्मिका अगस्त), २०१६ प्राप्त छ । यसको सम्पादकीयमा भनिएको छ– ‘तत्कालीन प्राध्यापकद्वय प्रो. घनश्याम नेपाल अनि प्रो. कुमारबहादुर जोशीको सक्रिय एवं विद्वत् सम्पादन अन्तर्गत छापिएको ‘समयाङ्कन’ सन् १९९५ देखि सन् १९९७ सम्म जम्मा ६ वटा अंक प्रकाशित भइसकेको छ । आफ्नो इतिहास जति पुरानो हो, वर्तमानले त्यसमा उत्तिकै गौरवबोध र गर्व राख्न सक्छ । जसको इतिहास समृद्ध छ, उसको सम्मान धेरै हुन्छ । भाषा र साहित्यको विकास र अनुसन्धानको दिशामा ‘समयाङ्कन’ले एक्काइस वर्षअघि राखेको कोशेढुंगोबाट यहाँसम्मको यात्रा गर्दा भारतीय भाषा विभागले के कति कार्य गर्न सक्यो भन्ने कुरोको प्रतिफलन यसको पुन: प्रकाशनद्वारा प्रकट हुन गइरहेको छ ।’

वरुणा र असी दुई नदीको बीचमा रहेकाले यस सहरको नाम वाराणसी रहेको भन्ने कथन छ । पुरानो नाम काशी हो । यहाँ गंगा उत्तरतर्फ बगेकी छन् । यही नदीको वाराणसी खण्डमा ८० घाट छन् । बनारसलाई रोम सहरभन्दा पुरानो मानिन्छ । जतिबेला बनारस नेपालीका निम्ति पुग्नैपर्ने केन्द्रका रूपमा थियो, उतिबेला त्यहाँ बसेका नेपालीले नेपालीकै निम्ति ‘नेपाली धर्मशाला’ बनाइदिएका छन् । सन् १९३७/३८ तिर पण्डित जगन्नाथ गुरागाईंले ‘श्री विद्याधर्म प्रचारिणी नेपाली समिति, वाराणसी’ स्थापना गरिदिए । समितिका वर्तमान कार्यसमितिमा ‘उदय’ पत्रिकाका सम्पादक साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ र उनका भाइ विजयकुमार श्रेष्ठ सचिव (मन्त्री) छन् । ‘कार्यसमितिका हामी सबै बुढ्यौली पुस्ताका छौं,’ समस्या सुनाउँदै समितिका सचिव श्रेष्ठले भने, ‘शारीरिक रूपमा अशक्त बन्दैछौं । नयाँ पुस्तालाई क्रियाशील तुल्याउन मुस्किल परेको छ । हुर्केका छोराछोरी, नातिनातिना रोजगारीका निम्ति बनारस बाहिर जान्छन् ।’ नेपाली पाहुनाको आगमन घटेपछि र स्थानीय नेपालीभाषी रोजगारीका निम्ति अन्यत्र जाने क्रम बढेपछि धर्मशाला हेर्ने मान्छेमात्र होइन, नेपाली भाषा बोल्नेको अभाव हुँदै गएको छ । नेपाली संस्कृत महाविद्यालय भए पनि विद्यार्थी घट्दो छ । बनारस क्षेत्रमा एक हजारभन्दा बढी नेपालीको घर संख्या रहेको अनुमान छ । ‘म कुनै बेला चार सय घरमा जजमानी गर्थें, अहिले दस घरमात्र छन्,’ बनारसमा रहेका आचार्य देवनायक न्यौपानेले सुनाए । 

विद्याधर्म प्रचारिणी समिति अन्तर्गत एउटा पुरस्कार पनि छ– ‘मदन स्मारक व्याख्यानमाला’ (मदन स्मारक सम्मान) । यो पुरस्कार भारतमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति प्रबद्र्धनमा योगदान दिएका स्रष्टामध्ये वार्षिक एक जनालाई प्रदान गरिन्छ । ‘विद्या हराए काशी जानु’ भन्ने उखानै छ । नेपालबाट विद्या आर्जन गर्न काशी जाने घटेसँगै बनारसवासी नेपालीभाषीको सम्पर्क टुट्दै गएको छ । त्यहाँको राष्ट्रभाषा हिन्दीमा हरपल व्यवहार हुने गर्छ । त्यसैले पनि नेपाली भाषा लेखन, प्रकाशन घट्नु स्वाभाविक हो । भारत सरकारले नेपालबाट प्रकाशित पत्रपत्रिका व्यापारिक दृष्टिले प्रतिबन्ध लगाएको छ । बनारस–नेपाल आऊ–जाऊ गर्ने स्रष्टा खासै छैनन् । त्यसैले पनि नेपाल साहित्यिक पत्रकार संघले बनारसमै नेपाली साहित्य सेवामा समर्पित ‘उदय’का सम्पादक साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई बनारसमै पुगेर सम्मान प्रदान गरेको छ । बनारसका घाटहरूमा धर्म कमाउने नेपाली पर्याप्त छन् । केवल खाँचो छ, नेपाली भाषामा साहित्य सिर्जना गर्ने र यी पुरस्कारको हकदार नवीन पुस्ता । जसले बनारस र नेपाली भाषाको रस अनन्तसम्म सिंचन गरिरहुन् । 


प्रकाशित: वैशाख ९, २०७४
http://kantipur.ekantipur.com बाट साभार