Thursday, May 3, 2018

पाखो परेको साहित्यिक पत्रकारिता - प्रवीण बानियाँ

समयको यात्रामा उदाउनु र अस्ताउनुलाई स्वभाविक मान्नुपर्दाेरहेछ । कसैलाई ल्याउने र कसैलाई लैजाने पनि समयकै खेल रहेछ । यस्तै समयको खेलमा साहित्यिक पत्रकारिताले पनि ठूलै छलाङ्ग मारिसकेको छ । आजको समय विज्ञान र प्रविधिको संसार बनेको छ, यसलाई सबैले स्वीकार्नैपर्छ । र यहि समयको खेलमा साहित्यलाई पनि प्रविधिले कतै न कतैबाट प्रभाव पारेको सत्य हो । श्रब्य, दृश्य र पाठ्य माध्यमहरुले आफू“लाई होडबाजीमा उतारेका छन् वर्तमानमा । आखिर, यस्तै होडबाजी र प्रविधिको उच्च विकासले वर्तमानको पत्रकारिताको ‘गुरु’ साहित्यिक पत्रकारिता यसैमा च्यापिएर, थिचिएर मूलधारमा नबगी पाखो परेको तीतो सत्य आज हामी सबैका सामु छर्लङ्ग छ । आजको बढ्दो व्यावसायिक पत्रकारिताको विकासक्रम र झागि“दो बजारले साहित्यिक पत्रकारिताको शताब्दीऔंको इतिहासलाई पाखो लगाएको यथार्थलाई जति नै नकार्न खोजे पनि सम्भव छैन । त्यसका लागि ‘व्यावसायिक पत्रकारिता’ र ‘साहित्यिक पत्रकारिता’ बीचको वर्तमान खाडललाई नै बलियो र स्पष्ट प्रमाणका रुपमा पेश गर्न सकिन्छ ।


नेपालमा पत्रकारिता ‘साहित्यिक पत्रकारिता’बाटै थलनी भएको इतिहास छ । नेपाली पृष्ठभूमिमा उभिएको वर्तमानको विकसित पत्रकारिताको पाटोलाई केलाउ“दा ‘साहित्यिक पत्रकारिता’लाई समग्र पत्रकारिताको जगका रुपमा रहेको सत्यलाई स्वीकार गर्नैपर्दछ । वि.सं. १९५८ देखि प्राराम्भ भएको खबरपत्रिका ‘गोरखापत्र’को प्रकाशन शुरु हुनु भन्दा पहिले अर्थात्, वि.सं. १९५५ देखि ‘सुधासागर’को प्रकाशन शुरु भइसकको थियो नेपालमा । त्यसबेला सुधासागरले आफ“ू बा“च्नको लागि र साहित्यिक भोक मेटाउनका लागि धेर–थोर योग्दान पु¥याएको देखिन्छ । त्यसपछि गोरखापत्रले नै सरकारी मुखपत्रका रुपमा भए पनि खबर पत्रिका र साहित्यिक पत्रिका दुवैको भूमिका खेल्दै आएको हो धेरैपछिसम्म । ९० सालभन्दा अगाडिका साहित्यिक पत्रपत्रिकाहरुको ठूलो र लामो योगदान नदेखिए पनि ‘शारदा’को प्रकाशनपछि नेपालको साहित्यिक पत्रकारिताले लामो फड्को मारेको देखिन्छ । यसको अर्थ शारदाको प्रकाशन यात्रा छाटो तर अत्यन्तै महत्वपूर्ण र उल्लेख्य थियो ।


वि.सं: १९९१ देखि नेपालमा साहित्यिक पत्रकारिताको स्पष्ट अध्याय थलानी भएको हो शारदामार्फत । त्यतिबेला शारदा र ‘रुपरेखा’ले आफ“ूलाई जति समयसम्म बचाउ“न सके, त्यतिबेला पाठक, र लेखकहरुको माया र सद्भाव निरन्तर पाइरहे । पूराना चिजहरुको महत्व घट्दै जानु र नया“ चिजहरुको लोकप्रियता बढ्दै जानुलाई अस्वभाविक नमानिए पनि हुन्छ । तात्कालिन राणा शासनकालमा समाचार लेखिनु र छापिनु कठिन काम भएकाले त्यसतर्फ कोही, कसैले उल्लेख्य प्रयास नगरेकाले पनि साहित्यिक पत्रकारिता अगाडि आएको सा“चो हो । त्यतिबेला नेपालमा संस्थागत रुपबाट कुुनै पत्रिका प्रकाशन नभए पनि विदेशमा भने नेपालीहरुले साहित्यिक पत्रिकाको प्रकाशन गर्न थालिसकेका थिए । रुपरेखा नआउञ्जेल साहित्यिक पत्रकारिताको क्षेत्रमा शारदाको नै एकछत्र प्रभुत्व रह्यो । त्यतिबेला ‘प्रगति’, ‘इन्द्रेणी’ लगायतका केहि पत्रिकाहरु पनि साहित्यक पत्रकारिताको फा“टमा देखिए । तिनीहरुले पनि साहित्यिक पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि थोरै नै भए पनि भूमिका खेले र विस्तारै पाखो लागे ।


समयको केही अन्तरालसम्म शारदाले राम्रै आधारशिला तयार पारेको पाइन्छ । पछि शारदाको प्रकाशन बन्द भएपछि रुपरेखाले अर्काे लामो फड्को मारेको हो । त्यसैताको साहित्यिक पत्रकारिता जुन अवस्थाबाट गुज्रिरहेको भएपनि रचनाहरु भने स्तरीय आकृतिमा आउन थाले । एक बेलामा शारदापछि रुपरेखाको बेग्लै प्रभाव रह्यो । असहज अवस्थामा पनि त्यसबेलामा रुपरेखाले राणाहरुको पञ्चायत विरोधी थुप्रै विचार र शिल्पका उत्कृष्ट रचनाहरुलाई प्रकाशन गर्न सफल भयो । त्यसबेलाका नेपालका साहित्यिक हस्ती मानिने मोहन कोइराला, पारिजात, भूपि शेरचन जस्ता प्रखर लेखकहरुको राष्ट्रिय स्तरमा रुपरेखाले नै परिचय स्थापित गराएको हो । त्यस पुस्तापछिका अन्य कवि, लेखकहरुलाई बाहिर निकाल्ने काम पनि रुपरेखाले नै गरेको हो ।


त्यसबेलामा रुपरेखा जुन आकारमा अगाडि आयो, त्यसको जग भने शारदाले नै तयार पारेको चाहीं यथार्थ हो । त्यो कालखण्डमा अन्य पत्रिकाहरु पनि नआएका भने होइनन् । तर, लामो प्रभाव भने रुपरेखाकै रहिरह्यो । अझ महत्वपूर्ण कुरँ त नेपाली साहित्यका सर्वाधिक चर्चित र लोकप्रिय रचनाहरु रुपरेखाले नै छापेको देखिन्छ । २० देखि ४० को दशक बीचका स्थापित र ख्यति कमाउने कवि, लेखकहरु रुपरेखाबाटै जन्मेका हुन् । तात्कालिन समय बिना लगनशीलता, त्याग र कटिवद्धता बिना पत्रिकालाई स्थापित र निरन्तर गराउन असम्भव प्रायः रहेकाले रुपरेखाको अत्यन्तै ठूलो योगदान देखिन्छ । तर, सरकारी स्तरबाट प्रकाशन हुने, भइरहेका पत्रिकाहरुले निजी क्षेत्रबाट प्रकाशन भएका र भइरहेका पत्रिकाहरुलाई उछिनीइरहेको यथार्थ हो । तसर्थ, समयको त्यो कालखण्डमा जे, जति साहित्यिक पत्रकारिताको संस्थागत विकास हुन सक्यो त्ससको सोझो श्र्रेय मूलतः शारदा र रुपरेखालाई जानेमा दुईमत छैन ।


आजको समय सञ्चारको समय बनेको छ । प्रविधीमा भएको उच्च र तीब्र विकासले आज हरेक कुरालाई समय भन्दा अघिल्लतिर धकेल्न खोज्दैछ । उतिबेला शारदा र रुपरेखा जे, जसरी चलेर आफ्नो एउटा इतिहास बनाए, त्यो विश्लेष्ण र हिसाब–किताबकै पाटो बन्ला । तर, यतिबेला सरकारी तहबाट चल्ने पत्रिका र निजी लगानीबाट चल्ने पत्रिकाहरु बीचको दुरी र खाडल चाही“ वहसकै विषय बन्नुपर्छ । आज गोरखापत्र संस्थानले ‘मधुपर्क’ लाई धानेको छ । साझा प्रकाशनले ‘गरिमा’ लाई धानेको छ । प्रज्ञा प्रतिष्ठानले अनियमित रुपमै भएपनि सरकारी बजेटमा केही प्रकाशनहरुलाई निरन्तरता दिइरहेको छ । निजी लगानीबाट चल्ने केही पत्रिकाहरुले जेनतेन धुकधुकी धानेको अवस्था छ । पछिल्लो दशकलाई हेर्ने हो भने देशका कुनाकुनाबाट लघु, हवाइ पत्रिकाहरुको बाढी नै चल्यो । तीमध्ये केहीले साहित्यिक पत्रकारितालाई धेरै–थोरै योग्दान पुर्याए । नियन्त्रण भन्दा बाहिर गएका धेरै पत्रिकाले नेपाली साहित्यको भइरहेको स्तरलाई खस्काए । निजी क्षेत्रका प्रकाशनहरु प्रशस्तै देखिए, देखिदैंछन् । केहिले राम्रै सङ्केत देखाइरहेका छन् । धेरैको भविष्य सुखद् देखिन्न । किन्तु, यो रहरको बाढी हो ।


खास गरी व्यवस्थित नभएकाले नै शारदा र रुपरेखा बन्द हुन पुगेका हुन् । अन्य प्रकाशनहरु मुठ्ठीभर सम्पादकहरुले बोक्न छाडेपछि टुङ्गिएको सत्य हो । यसको मूल कारण भनेकै सरकारी लगानी र निजी क्षेत्रको लगानी बीचको गहिरो खाडलको परिणाम हो । आशातीत रुपमा साहित्यिक पत्रकारिताले प्रगति हा“सिल गर्न नसक्नु र संस्थागत विकासको बाटो समात्न नसक्नुको मूल कारण निजी लगानी र सरकारी लगानी बीचको परिणती नै हो । अर्थात्, निजी क्षेत्रबाट चल्ने खबरपत्रिका र मनोरञ्जनपूर्ण पत्रिकाहरुले पूरै पत्रकारिताको बजार कब्जा गर्न खोजिरहेको यो अवस्थामा साहित्यिक पत्रकारितामा सरकारी लगानी पर्याप्त नहुनु नै हो पंक्तिकारको निचोड हो । त्यसै पनि नेपालको वर्तमान आम पत्रकारिता जगत् आफैंमा समस्याहरुले ग्रस्त छ । अर्कातर्फ, यहा“को पत्रकारिता मर्यादित र अनुशासित हुन सकेको छैन् । राष्ट्रिय पत्रकारिता मूलधार भन्दा बाहिर बगिरहेको छ । सिङ्गो पत्रकारिता क्षेत्र नै आम समस्याहरुले जकडिएको अवस्थामा नीतिगत सुधार र उचित व्यावस्थापनतर्फ राज्यले ध्यान पु¥याउन नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य हो ।


वर्तमानमा मिनेट–मिनेटको समय विभाजित भइरहेको छ । आज साहित्यिक पत्रिकाहरुको धुकधुकी थाम्न पनि ठूलै संघर्ष गर्नुपरेको अवस्था छ । हिजोको सिङ्गै नेपालको पत्रकारिताले आज सर्लक्कै कोल्टे फेरेको छ । साहित्यिक पत्रकारिताले तयार पारेको भूगोलबाट फस्टाएको आजको खबर पत्रकारिता उद्योगकै आकारबाट फस्टाउनुको देन साहित्यिक पत्रकारितालाई जाने कुरामा दुई मत छैन । तर, आज समय परिवर्तन भएको छ । साहित्यिक पत्रकारिता ‘धाराशायी’ बन्दै गइरहेको छ भने व्यावसायिक पत्रकारिता उद्योगकै रुपमा विकसित हु“दै गइरहेको छ । यसो हुनु त राम्रै पक्ष हो । तर, व्यावसायिक पत्रकारिताको तुलनामा साहित्यिक पत्रकारिता उन्नतिको पथमा निस्कन सकेन भन्ने चिन्ता चैं ठूलो हो । नाफामुखी पत्रकारितामा सबैले लागनी गर्छन् तर, साहित्यिक क्षेत्रमा जोकोहीले लागनी गर्न गाह्रो मान्ने गरेको पाइन्छ । तात्कालिन समयमा पाठक मात्रै हुनु पनि ज्यादै महत्वपूर्ण कुरा थियो तर, आज त्यही पाठक पनि हुनुपरेको छ, श्र्रोता पनि हुनुपरेको छ अनि दर्शक पनि । मुस्किल छ समयस“ग तालमेल गर्न । भ्याइ–नभ्याइ छ युगनिर्देश भएर हिड्न । समय अझै बढि कठिन र चुनौतिपूर्ण हु“दै गइरहेको छ ।


यो समयमा रङ्गीन, सस्तो र मनोरञ्जनपूर्ण पत्रकारिताले मिनेट–मिनेटमा साहित्यिक पत्रिकामाथि गतिलो प्रहार गरिरहेको छ । यसका लाागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका अन्य झिल्के र रङ्गीन पत्रिकाहरुले पूरै विज्ञापनको ठूलो हिस्सामाथि प्रभुत्व जमाइरहेका बेला साहित्यिक पत्रिकाहरुमा ‘ओखति’ नै हुन्छ भन्दा पनि विज्ञापन पाउन नसकिने सत्यलाई नै समस्याको एक प्रतिनिधीका रुपमा लिन सकिन्छ । यो नै वर्तमान साहित्यिक पत्रकारिताको दुर्दशाको एउटा टड्कारो उदाहरण हो । आजको साहित्यक पत्रकारिता र उद्योगन्मोख हु“दै गइरहेको पत्रकारिता बीचको दुरी पनि यहि नै हो । मूलतः व्यावसायिक पत्रकारिता र साहित्यिक पत्रकारितामाथि राज्यले हेर्ने दृष्टिकोण र गर्ने सौतेलो व्यावहार आफैंमा खेदजनक छ । फलस्वरुपः साहित्यिक पत्रकारिताको पाटो त्यसै पनि उज्यलो हुन सकेको छैन, यो अझै दुखद् छ । यस बाहेक बाहिर देखिनेगरी आएका नीतिगत त्रुटि र अन्य प्राविधिक त्रुटिहरुलाई पनि राज्यको तहबाटै सुधार्न र व्यवस्थित गर्नेतर्फ उचित कदम चाल्न नसक्नुले राज्यको उपस्थितीमाथि बग्रेल्ती प्रश्न तेस्र्यादिएको छ ।


छापा पत्रकारिताले प्रभुत्व जमाएको वर्तमानको समयमा व्यावसायिक बन्दै गइरहेका क्षेत्रीय र राष्ट्रिय स्तरका पत्रिकाहरुले पनि साहित्यिक खुराकलाई उचित स्थान नदिइरहेको कटु अवस्थालाई अस्वीकार गर्ने चेष्टा नगर्दा हुन्छ कसैले पनि । अन्यथा, नेपाली साहित्यका लागि आफ्नो पत्रिकामा एकै पेज पनि छुट्याउन नसक्नेहरुले नेपालमा साहित्यिक पत्रकारिता फस्टाउन सकेन भन्दै आफ्नो पत्रिकामा चिन्ताको सम्पादकीय लेख्दैमा कुनै टेवा पुग्ने छैन । यो समयमा अब निजी लगानीबाट साहित्यिक पत्रकारितालाई जोगाउन सकिदै“न, यसका लागि सरकारी क्षेत्रबाट बलियो लगानीको शरुवात हुन अति नै आवश्यक छ । व्यक्तिको होस्टेमा सरकारले पनि हैंसे थप्नु वर्तमानको आवश्यकता हो । यसो हुन सकेको अवस्थामा नेपालमा साहित्यिक पत्रकारिताको भूमिलाई अझै बढि फराकिलो र मलिलो बनाउन सकिन्छ । तसर्थ, समयमै यसतर्फ सबैको ध्यान तानिन आवश्यक छ । नेपाली साहित्यिक पत्रकारितामा खड्किरहेको यो अभावलाई टार्ने उचित सम्बोधन वर्तमानको आवश्यकता हो । अन्यथा, साहित्यिक पत्रकारिताको संस्थागत विकासको बाटो अवरुद्ध हुन पुग्नेछ र बा“की रहेको थोरै ‘उज्यालो’ पनि स्वतः सकिएर जानेछ ।

गुमनाम पत्रिका - रमण घिमिरे


नानाथरी नामका बग्रेल्ती साहित्यिक पत्रिका देखिन्छन् फुटपाथका पसलमा । तर, ती पत्रिकाका ग्राहक पर्खने हो भने घन्टौँसम्म पनि कसैले खल्तीबाट दाम झिकेको देखिँदैन । ग्राहक कता हो कता, भुइँबाट उठाएर तिनका पाना पल्टाउने पाठकसमेत विरलै भेटिन्छन् ।
बरू, कुनै सुन्दरीको रंगीन कलेवर भएको म्यागेजिन दोब्बर दाम तिरी काखी च्यापेर हिँडेका थुप्रै दृश्य देखिन्छन् । यस्तो लाग्छ, बजारमा सित्तैँमा पाए पनि साहित्यिक पत्रिकाका पाठक पाउन कठिन छ । आखिर किन विरक्तिए त साहित्यिक पत्रिकासँग पाठक ?
५६ वर्षयता नियमित रूपमा नेपाली साहित्यिक त्रैमासिकको सम्पादनमा लागेका साहित्यकार कमलमणि दीक्षित यसको पहिलो कारण कवि–लेखकहरूकै अभाव ठान्छन् । भन्छन्, “सुरुका दुई अंकमा बालकृष्ण सम र भवानी भिक्षुका एक–एकवटा कविता छापेको थिएँ, पछि माग्दा पनि स्तरीय कविता पाउन सकिनँ र त्यसयता नेपालीमा कविता नछाप्ने नियम बनाएँ ।”
यही प्रवृत्ति दोहोरिएकाले कथा पनि छाप्न छाडेको जिकिर गर्छन् दीक्षित । आजका उपन्यासकारले कथा लेख्न नसकेको उनको अनुभव छ । भन्छन्, “गंगाजीमा बग्दै जान सकिने भएकाले धेरै पौडिनु परेन तर पोखरीमा त आफैँले बाँकटे हान्नुपर्‍यो नि † त्यो क्षमता आजका उपन्यासकारहरूसित छैन ।” 
०१६ सालमा एकैपटक दुई पूर्णांक भनेर प्रकाशित नेपाली आज पनि बालकृष्ण समले ०१५ सालमा बनाइदिएको आवरण डिजाइनमै प्रकाशन भइरहेको छ । नेपाली पत्रिका गोरखापत्रपछिको नियमित सबैभन्दा जेठो पत्रिका भएको दाबी गर्छन् । 
हुन त दीक्षितको पत्रिका पनि आमपाठकसमक्ष पुग्न सकेको छैन । नयाँ पुस्ताका पाठक मात्र नभएर लेखकलाई समेत मदन पुरस्कार गुठीबाट यो पत्रिका निस्किन्छ भन्ने थाहा छैन । उनी वितरण सञ्जाल बनाउन नसकेको स्वीकार्छन्, “केही समय साझा प्रकाशनले यसको वितरण व्यवस्था मिलाइदिएको थियो, पछि त्यो पनि नियमित हुन सकेन ।” 

साझाले वितरणको आश्वासन दिए पनि पछि हात झिकिदिँदा साहित्यिक पत्रिकाको बजार-व्यवस्थापन खलबलिएको बताउँछन् रचना त्रैमासिकका सम्पादक रोचक घिमिरे । नेपाल साहित्यिक पत्रकार संघका सभापतिसमेत रहेका रोचकका अनुसार साझाले रचना, अभिव्यक्तिलगायतका साहित्यिक पत्रिकाहरूको वितरण व्यवस्था गरिदिने सम्झौता गर्‍यो । तर, सारा साहित्यिक पत्रिका गोदाममै थन्काइदियो ।
साहित्य लोकप्रिय भइरहेको छ । साहित्यका पाठकहरू बढेका बढ्यै छन् । तर, साहित्यिक पत्रिकाचाहिँ खुम्चिँदै अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । दीक्षित औँल्याउँछन्, “साहित्यिक पत्रपत्रिका पाठकसमक्ष पुर्‍याउनुपर्ने दायित्व प्रकाशक–सम्पादककै हो । बिक्रेताहरू ठूलो कमिसन खोज्छन् र सम्झौताबमोजिमको बिक्री–मूल्य पनि भुक्तानी गर्दैनन् ।” 
त्यसो त कुनै समयको विख्यात साहित्यिक मासिक रूपरेखा पनि ‘पुससेल’बाटै चलेको थियो । सुरुआती चरणमा त्यसका सम्पादक उत्तम कुँवर घरघर पुगेर पत्रिका बेच्थे । रमेश विकलजस्ता साहित्य सर्जकसमेत लिएर प्रचारमा टोलटोल धाउँथे । दीक्षित इतिहासका पाना पल्टाउँछन्, “बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवर कवि–लेखकहरूलाई भन्थे, हामीले तिम्रा रचना छापिदियौँ, अब तिमीहरू यसलाई बेच्ने काममा हामीलाई सघाओ ।”
०११ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, भवानी भिक्षु आदिलाई सल्लाहकार राखेर नारायणप्रसाद बाँस्कोटाले प्रगति सम्पादन गरे । त्यस पत्रिकालाई बचाउनुपर्छ भनेर महाकवि स्वयंले त्यसको प्रचारमा घरदैलो अभियान चलाएका थिए । दीक्षित स्मरण गर्छन्, “त्यसबेला हामी १०–१५ जना युवा महाकविका पछि लागेर डिल्लीबजारका धेरै घरमा प्रगतिको प्रचार गर्दै हिँडेका थियौँ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानको समकालीन साहित्य त्रैमासिकमा लामो समय कार्यकारी सम्पादकका रूपमा आबद्ध रहेका र पछि साझा प्रकाशनको गरिमा मासिकका प्रधान–सम्पादक भएका अविनाश श्रेष्ठका विचारमा अहिलेको समयलाई रूपरेखा कालसँग तुलना गर्नु उचित हुँदैन । किनभने, त्यसबेला रूपरेखा प्रतिस्पर्धाविहीन र एक्लो पत्रिका थियो । अहिलेका पाठकसामु अनेकौँ विकल्प लाम लागेर उभिएका छन् । ठूलठूला अखबार छन्, सिनेमा, रेडियो, टीभी, विभिन्न सामाजिक सञ्जालहरूले बजार ढपक्कै ढाकेका छन् ।
रूपरेखाले पाठकलाई लेखकसँग जोड्ने सेतुको पनि काम गरेको थियो त्यस बेला । त्यसमा भूपी शेरचन, मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, शंकर लामिछाने, ईश्वरवल्लभ, पारिजात, वैरागी काँइलाका रचना छापिन्थे । त्यसैले हरेक महिनाको पहिलो दिनको प्रतीक्षा हुन्थ्यो पाठकलाई । त्यसबेलाको साहित्यको संवाहक थियो त्यो पत्रिका । तर, अहिलेका पत्रिका त्यस स्तरका छैनन् ।
यति हुँदाहुँदै पनि नयाँ साहित्यकार जन्माउने र स्थापित गराउने अभिभारा साहित्यिक पत्रिकाले मात्र पूरा गर्ने ठान्छन् अविनाश । प्रतिप्रश्न गर्छन्, “साहित्यिक पत्रिकामा पाठकको रुचि नै समेटिँदैन भने उनीहरूले किन पढ्ने यस्ता पत्रिका ? रूपरेखाजस्ता स्तरीय पत्रिका हुने हो भने आज पनि पाठकले खोजीखोजी साहित्यिक पत्रिका पढ्छन् ।”
अविनाशको अनुभवमा लेखक अहिले पनि छन् तर आफ्नो पत्रिकामा के लेखाउने भन्ने सोच, सीप र क्षमता आजका सम्पादकमा छैन । त्यस कोटिका सम्पादक भेट्न धूलो फुकेर सियो खोज्नुभन्दा कठिन छ । उनी समकालीन साहित्य र गरिमाको सम्पादन गर्दा लेखकलाई आफैँ विषय दिएर त्यसमाथि मन्थन गराउँथे र लेखाउँथे । भन्छन्, “सही वैद्यले नाडी छामेको भरमा जसरी मानिसको कुन अंगमा कुन रोग लागेको छ भन्ने पत्ता लगाउँछ र उपचार गर्छ, त्यसरी नै सम्पादकले पनि पाठकको रुचि, समय र चेतनाको नाडी छाम्न सक्नुपर्छ ।” 
उनको अनुभवमा आजका साहित्यिक पत्रिकाका सम्पादकहरू प्रस्तुतिकलामा कमजोर देखिन्छन् । उनको संकेत भद्दा आवरण र अनाकर्षक भित्री पृष्ठ सजावटमा छ । उनी आफूले दिएको विषयमा चित्त बुझ्दो लेख–रचना आउन नसक्दा बारम्बार पुन:लेखन गर्न लगाएको पनि स्मरण गर्छन् । 
मधुपर्क मासिकमा तल्लो तहदेखि प्रधान–सम्पादकसम्मको २५ वर्षे अनुभव सँगालेका लेखक हुन्, श्रीओम श्रेष्ठ ‘रोदन’ । उनी आजका साहित्यिक पत्रिकाहरू छायामा पर्नुको एउटा कारण प्रतिस्पर्धालाई औँल्याउँछन् । भन्छन्, “विभिन्न विद्युतीय र अन्य सञ्चारका माध्यमले गर्दा पहिलाजस्तो पाठकलाई साहित्यिक पत्रिका नै पढिरहनुपर्ने बाध्यता छैन । यसभन्दा पनि खतरनाक कुरा, अहिले त लेखक भनाउँदाहरूले नै साहित्यिक पत्रिका पढ्न छाडिदिए ।” 
उनी नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रव्यापी कविता प्रतियोगितामा मधुपर्क र अन्य साहित्यिक पत्रिकामा प्रकाशित भइसकेका कवितालाई प्रतियोगितामा सामेल गरी पुरस्कृतसमेत गरिएका कैयौँ उदाहरण दिन्छन् । पटकपटक यस्ता प्रवृत्ति दोहोरिएका छन् । श्रीओम भन्छन्, “यसको तात्पर्य कविता महोत्सवमा निर्णायक बनाइएका विद्वान्हरूले समेत साहित्यिक पत्रिका पढ्दा रहेनछन् । लेखक स्वयं पाठक बन्न सकिरहेका छैनन् अनि कसरी साहित्यिक पत्रिका समुन्नत र लोकप्रिय हुन्छ ?”
श्रीओमलाई सम्झना छ, मधुपर्कमा नवोदित कविहरूको स्तम्भ ‘आँकुरा’का लागि कविता दिन आउने अधिकाश व्यक्तिका झोलामा आफैँले निकालेका एक–दुईवटा साहित्यिक पत्रिका पनि हुन्थे र उनलाई उपहार दिन्थे । अहिले पनि यस्तो प्रवृत्तिको जगजगी छ ।

हुन पनि प्रुफ रिडिङ जान्नु नै सम्पादक हुने योग्यता हो भन्ने मानसिकतामा अनगिन्ती साहित्यिक पत्रिका प्रकाशित भइरहेका छन् । यस्ता पत्रपत्रिकामा तिनले आफ्नै सामग्री छाप्छन् र झोलामा राखेर बाँढ्दै हिँड्छन् । यस्ता खालका झोले पत्रिकाले बजारमा आउने केही स्तरीय पत्रिकालाई पनि बदनाम गरिरहेका छन् । श्रीओम थप्छन्, “५० प्रतिशतभन्दा बढी साहित्यिक पत्रिका आफ्नै रचना छाप्ने वा आफ्ना रचनाको समालोचना छाप्ने ध्येयले प्रकाशित भएका छन् ।”
समय अनुसार आकर्षक कलेवर दिन नसक्दा पनि आजका साहित्यिक पत्रिका ओझेलमा परेको स्वीकार्छन् रचनाका सम्पादक घिमिरे । बजारमा छ्यापछ्याप्ती पार्नका लागि ठूलो आर्थिक लगानीको आवश्यकता पर्छ । त्यो यस्ता पत्रिकाको हैसियतभन्दा धेरै परको कुरा हो । 
“अहिले आएर ठूला अखबारले मनग्य पारिश्रमिक दिएर साहित्यलाई प्रशस्त ठाउँ दिन थालेका छन्,” रोचक भन्छन्, “हामी आफूले मागेका रचनालाई मात्र पारिश्रमिक दिन्छौँ, त्यो पनि आफ्नो गच्छे अनुसारको ।”
तथापि, सम्पादकहरू के कुरामा गर्व गर्छन् भने साहित्यिक पत्रिकाले स्थापित गरेका कवि–लेखक नै अहिलेका ब्रोडसिटमा छाउन थालेका हुन् । तिनलाई त्यहाँ पुग्नलाई साहित्यिक पत्रिकाको भर्‍याङ नउक्ली धरै छैन ।

अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा सोख र रुचिका लागि मात्र पत्रिकालाई निरन्तरता दिइरहेका छन् । भन्छन्, “मेरा समकालीनहरू फुर्सदमा तास खेल्छन्, सुरापान गर्छन् । म यी लतहरूबाट बचाएको समय र सम्पत्तिलाई पत्रिकामा लगानी गरिरहेछु ।” 
०२७ सालदेखि निरन्तर प्रकाशन गर्दै आएको अभिव्यक्तिसित प्रौढावस्थामा समय व्यतीत गर्ने सहयात्रीका रूपमा जोडिइरहन चाहन्छन् । भन्छन्, “अब मेरो व्यक्तित्व र परिचयको पर्याय नै यही पत्रिका हुन पुगेको छ ।” 
शर्मा साहित्यिक पत्रिकाका सम्पादकहरू अल्छी हुँदै गइरहेको समेत औँल्याउँछन् । “पुस्तक प्रदर्शनीमा तपाईंका पत्रिका पनि राखिदिनूस् न भन्दा पनि हामी चासो दिँदैनौँ,” उनी भन्छन्, “आ... चार–पाँच प्रति पत्रिकाका लागि के झमेला गरिरहनु भन्ने मानसिकता छ हाम्रो । खासमा प्रचार–प्रसारबाटै विरक्तिएकाले नेपाली साहित्यिक पत्रपत्रिकाले बजार पाउन नसकेका हुन् ।”
प्रकाशित: जेष्ठ २६, २०७३

http://nepal.ekantipur.com बाट साभार 

साहित्यिक पत्रिकामा नयाँ ट्रेन्ड - जिके पोख्रेल


इतिहास दोहोरिँदैन, फेरि लेखिन्छ एउटा छुट्टै अध्यायमा।
 
नेपाली साहित्यिक पत्रकारिताको श्रीगणेश गरेका हुन् युवाकवि मोतीराम भट्टले। वि.सं. १९३९ मा भट्टले आदिकवि आनुभक्तरचित रामायणको ‘बालकाण्ड’ बनारसबाट प्रकाशन गरेर ल्याएपछि यसको आधार स्तम्भ तयार पारेका हुन्।
 
त्यसपछि वि.सं. १९५८ मा ५० वटा हास्य कथाहरुको सङ्कलन प्रकाशित भएको थियो। त्यसमा विभिन्न रचनाकारका कथा सम्पादित थिए। खैर यसले दीर्घकालीन असर छोड्नचाहिँ सकेन, नेपाली साहित्यको २५० वर्षे इतिहासमा।
 
वि.सं. १९७४ मा प्रकाशित श्रृङ्गारप्रधान कविताहरुको सङ्कलनलाई हालसम्मकै सर्वाधिक भयानक विवाद मानिन्छ, साहित्यको प्रकाशन र साहित्यिक पत्रकारिताको इतिहासमा। यसले श्रृङ्गार वृत्तिलाई उत्कर्षमा मात्र पुर्या‍एन, साहित्यलाई प्लेटोको भाषाामा ‘पतीतहरुले मात्र पढ्ने रचना विशेष’मा खुम्च्याइदियो। 
 
त्यसपछि १९९१ मा ऋद्धिबहादुर मल्लको एकल पहलकदमिमा ‘शारदा’ पत्रिकाको सुरुवात भएपछि नेपाली साहित्य र साहित्यिक पत्रकारिताले शिखर चुम्यो। यसर्थ साहित्यक पत्रकारिताको इतिहासमा ‘शारदा’ पत्रिकालाई कोसढुङ्गो मानिन्छ। नभन्दै आजसम्म हामीले स्मरण गरिरहेका लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल ‘शारदा’ले १९९१÷९२ ताका जन्माएका काव्य/साहित्य मनिषिहरु हुन्। बाँकी साहित्यिक मनहरुको चर्चा गर्नै परेन। उपर्युल्लिखित व्यक्तित्वहरुको योगदान सम्झे पर्याप्त हुन्छ। 
 
राणा शाषक र साहित्यकारकाबीच लामो समयसम्म घम्सा–घम्सी चल्यो, त्यसताका। तथापी कलमसेवी लेखकहरु अविचलित रुपमा आफ्नो कर्ममा तल्लीन रहिरहे। 
 
२००४ सालमा साहित्यस्रोत सुरु गरेका थिए हृदयचन्द्रसिंह प्रधानले मार्क्सवादी साहित्यको विकास र प्रवद्र्धनका लागि। २०१३ सालमा इन्द्रेणी सुरु हुन अघिसम्म साहित्यस्रोतले राम्रै कार्य सम्पादन गरेको बुझिन्छ। यसबिचमा कति साहित्यिक पत्रिका उदाए र बिलाए, चर्चा गरिसाध्य छैन। 
 
२०१७ सालमा ‘रुपरेखा’ पत्रिका प्रकाशित हुन थालेपछि नेपाली साहित्यिक पत्रकारितामा फेरि पुनर्जागरण आएको तथ्य नस्वीकारी धरै पाइँदैन। मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल वासु शशि, कालिप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, मदन रेग्मी द्वारिका श्रेष्ठजस्ता प्रतिभा मौलाएको रुपरेखा कालले सुस्ताउन दिएन नेपाली साहित्य र दीर्घजीवी भएको चुनौति पेश गर्यो।
 
त्यसपछि सुरु भएका पत्रपत्रिका केवल निरन्तरतामा सीमित रहे। मधुपर्क, गरिमा, समकालीन साहित्य सरकारी अनुदान र तलब पचाउनमै रमाइरहे। त्यस बीचमा एउटा ठिटो सम्पादक झुल्किए– अविनाश श्रेष्ठ। र, उनले मृतसञ्जिवनी छर्किदिए, समकालीन साहित्य, कविता र गरिमालाई पालै पालो÷अद्यपि उनको योगदान घुर्या‍नमा हराएको सियो जसरी लुकिरहेको छ खिया बोकेर।
 
अचम्म बर्खे भेल जसरी जन्मियो ‘पाण्डुलिपि’ गणतान्त्रिक नेपालको साहित्यिक भारवहन गर्ने अठोट बोकेर। बी. एन. पुस्तक संसार र निबन्धकार/सम्पादक दीपक सापकोटाको संयुक्त प्रयासस्वरुप आएको ‘पाण्डुलिपि’को पहिलो अङ्कको पहिलो प्रिन्ट चामत्कारिक रूपमा पन्ध्रै दिनमा खत्तम भयो र निकाल्नुपर्यो दोस्रो प्रिन्ट।
 
हर्षित छन् प्रकाशक र सम्पादक।
 
चकित छन् पाठक र पत्रिका व्यवसायी।
 
प्रकाशक र सम्पादकको प्रयास तारिफयोग्य छ।
 
माथिका आधादर्जन पत्रिकाको चर्चा श्राद्धमा बिरालो बाँधेजस्तो बाँध्न मात्रे ल्याएको पक्कै होइन। यस ‘पाण्डुलिपि’ पत्रिकाको निरन्तर प्रकाशनमाथि शङ्का व्यक्त गरेका थिए निबन्धकार÷समीक्षक प्रा. अभि सुवेदीले। दोस्रो अङ्कमा यस्तै स्तरीय सामग्री आउन नसक्ने पुर्वानुमान नै गरेका थिए कवि श्यामलले। 
 
शारदा र रुपरेखा आज इतिहास बनिसकेका छन्। मधुपर्क, गरिमा र समकालीन साहित्य सरकारी राजनीति र दया कृपाका पात्रलाई साहित्यकार बनाउने ध्याउन्नमा। के सम्पादक दीपक सापकोटाले यी सबै तिकडम र सोर्सफोर्सबाट बचेर ‘पाण्डुलिपि’को यही गुणस्तर कायम राखिरहन सक्लान? 
 
यही अङ्कको स्तर धान्न त गाह्र्रै पर्ला। लक्ष्मी प्र. देवकोटा, मदनमणि दिक्षित, कुमार नगरकोटी, श्यामल मनु मञ्जिल, अभि सुवेदी, अभय श्रेष्ठ, राबत (जो युग र पुस्ताको साहित्यिक/चिन्तनगत नेतृत्वकर्ता मानिन्छन्) यसै अङ्कभित्र समेटेपछि त्यही स्तरका सर्जक अब कहाँ खोजेर ल्याउँछन् दीपकले? तर लेखकको स्तर मापन र निर्धारण गरेर ‘पाण्डुलिपि’ पत्रिकाको स्तर निर्धारण गर्नु धृष्टता मात्रै होला। आगामी अङ्कका स्तम्भ र समीक्षामा यही लेखन सामथ्र्य आउन सकोस् र नेपाली साहित्यका यी आशावादी पाठक  लाभान्वित भइरहन पाऊन्।
 
लक्ष्मीप्रसाद देवकोटाले २०१४ सालमा रुसको तासकन्दमा दिएको अङ्ग्रेजी भाषणको नेपाली पाठ पत्रपत्रिकाका पाठकलाई सर्वसुलभ मूल्यमा उपलब्ध गराइदिने ‘पाण्डुलिपि’लाई स्याल्युट गर्नैपर्छ। मदनमणि माड्सापको पाश्र्वजीवनको रहस्यमय पाटो यसरी समुद्घाटित गरिदिएर पदम गौतम, रोचक घिमिरे र अशोक सिलवालले पुण्य कमाउनुभा’छ। मनु मञ्जिल र विप्लव ढकालको जुहारी शिष्ट र सभ्य छ। एउटा प्रतिस्पर्धी कविमाथि त्यति नम्र र वफादार भएर प्रस्तुत हुने विप्लव दाइ तपाईंको सहनशीलता त मान्नैपर्छ।
 
चर्चित स्तम्भ ‘नयाँ/नौलो/नवीन’मा राजकुमार बानियाँ र राबतको ‘रक वार्ता’ पढेरै अघाइँदैन। डाक्टरी शैलीमा राबतको जीवन र कविताको अपरेसन गर्ने राजकुमार बानियाँको लेखनकलामा धु्रबचन्द्र गौतम र भैरव अर्यालको असित व्यङ्ग्यको छनक पाइन्छ।
 
डा. शिव रिजालको रंग समीक्षा र बालकृष्ण समको नाट्य÷रंग शिल्प एउटै अङ्कमा सिध्याउँदा भोलि नाटकविधाको स्तर धान्न गाह्रो पर्ला कि?
 
कवि चयनमा पनि बुद्धि पुर्या‍उनु पर्छ नि। स्फुट कवितामा प्रिय कविहरु स्वप्निल स्मृति, विश्व सिग्देल, फूलमान बल, सरिता तिवारी, छम गुरुङ् र केशव सिलवालका कविता एकैपटक प्रकाशित गरेर अर्कोपटक कसका माग्नु?
 
वरिष्ठ समाजशास्त्री सुरेश ढकालको साहित्यको समाजशास्त्र गम्भीर पाठकका लागि विशेष खुराकका रुपमा पस्किएको छ। प्रकाश सायमीले बब् डाय्लनको जीवनी र उपेन्द्र सुब्बाले नस्पाते बूढाको चरित्रचित्रणमा सायद आफ्नो भोगाइ मिसाएका हुन् कि जत्तिकै विश्वसनीयता छ।
 
पहिलो प्रयासमै यति गुणस्तर दिएँ भनेर सम्पादक र प्रकाशक हौसिनुभन्दा आगामी अङ्कमा त्यही स्तर कायम राख्न कस्सिनु वेश। आर्थिक दृष्टिले साहित्यिक पत्रिका प्रकाशन गर्नु भनेको बाघको मुखमा हात हाल्नुजस्तै हो। साहित्यिक पत्रिकाको ‘रिप्रिन्ट’ को इतिहास रक्षा गर्नुपर्ने चुनौतीको हेक्का राख्नुपर्ने देखिन्छ, ‘पाण्डुलिपि’का सम्पादक र प्रकाशकले। साहित्यमा सेवा गर्ने उद्देश्यले सुरु गरेकै हुन् भने नाफा र घाटामा नजोखी पत्रिका र गुणस्तरमा निरन्तरता दिऊन्। 

http://archive.setopati.com बाट साभार 

नेपाली साहित्यिक पत्रकारिताको सङ्क्षिप्त चर्चा - मोहन दुवाल

परिचय :
सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो। यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसक्नु आजको वास्तविकता हो। सिर्जनात्मक र बौद्धिकताकै साङ्गोपाङ्गो रूप मान्न सकिन्छ– साहित्यिक पत्रकारिता। साहित्य समायोजनको महत्वपूर्ण अङ्ग हो– साहित्यिक पत्रकारिता। साहित्यलाई र साहित्यकारहरूलाई परिचय गराउने सशक्त माध्यम हो– साहित्यिक पत्रकारिता। सिर्जनशीलतालाई अगाडि सार्ने अस्त्रकै रूपमा व्याख्या गर्न सकिन्छ– साहित्यिक पत्रकारितालाई। साहित्यलाई देश÷विदेश पुर्याइदिने सशक्त माध्यम पनि हो– साहित्यिक पत्रकारिता। सङ्क्षेपमा भन्न सकिन्छ– साहित्यको परिचयको माध्यम नै हो साहित्यिक पत्रकारिता।
इतिहास  :
नेपालको साहित्यिक पत्रिकाको इतिहास निकै लामो रहेर पनि दयनीय र कष्टप्रद देखिँदो छ। वि.सं. १९४३ मा नै युवाकवि मोतीराम भट्टले बनारसमा रहँदा ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेको देखिन्छ। पछि वि.सं. १९५५ मा नेपालबाट प्रकाशित भएको ‘सुधासागर’ लाई साहित्यिक पत्रकारिताको पहिलो शृङ्खला मान्ने हो भने अहिलेसम्म साहित्यिक पत्रकारिताको आयु ११९ वर्ष पुगिसकेको तथ्य जगजाहेर छ। ११९ वर्षको आयुमा पनि साहित्यिक पत्रकारिताको रूपरङ्ग, स्वभाव अद्यावधिसम्म कहालीलाग्दो तथा अत्यासलाग्दो, तिरस्कृत र अपहेलित पत्रकारिताजस्तो देखिँदो छ। साहित्यलाई समाजमा फिँजाउने प्रमुख माध्यम नै साहित्यिक पत्रकारिता रहेको र वाङ्मयको प्रमुख सचेतक अङ्गकै रूपमा रहेको पत्रकारिता नै साहित्यिक पत्रकारिता भएकोले यसको इतिहासलाई समृद्ध र बलशाली तुल्याइदिने कार्य राज्यको पनि हो तर पुग्दो र भरपर्दो सहयोग अनि बल थपिदिने कार्य भएको पाइँदैन।
संसारको कुनै पनि क्षेत्रमा साहित्यिक पत्रिकाले समाजमा साहित्यकारहरूलाई परिचय गराउने, साहित्यको सुन्दर मुखाकृतिलाई सुन्दर ढङ्गले देखाइदिने कार्य गरेको इतिहास छ। जनचेतना दिने कार्यमा विचारलाई संश्लेषण÷विश्लेषण गरी कलात्मक शैलीमा मान्छेलाई बुझाएर राष्ट्र र समाजलाई रूपान्तरण गर्ने कार्यमा यसको भूमिका सर्वोपरि रहन्छ। त्यसैले भन्न सकिन्छ, नेपालको प्रगति र समाज रूपान्तरणका लागि साहित्यिक पत्रकारिताको भूमिका अग्रिम छ।
यस खालको ऐतिहासिकता नै साहित्यिक पत्रकारिताको इतिहास हो। स्रष्टाहरूलाई राष्ट्र र विदेशमा समेत परिचित गराउने सशक्त माध्यमका रूपमा रहेको साहित्यिक पत्रकारिता ओझेलमा पर्नु भनेको राष्ट्रकै गरिमामय शैली र अनुहारमा धमिलो एवं कालो धर्सो आफैंले आफूलाई कोरिदिनु हो। पत्रकारिताको जग बसालेको गरिमामय इतिहास बोकेको साहित्यिक पत्रिकालाई समाचार पत्रकारिताको छायामा पारेर जुन व्यवहार भइराखेको छ, त्यो राज्यपक्षबाट भइराखेको अनौठो लाग्दो अव्यावहारिक प्रचलन हो भन्न सकिन्छ।
साङ्गोपाङ्गो मुहारहरू ः वि.सं. १९५८ वैशाख २४ गतेदेखि निस्केको ‘गोरखापत्र’ले साहित्यिक सामग्रीहरू पनि प्रकाशन गरेको देखिन्छ। त्यसपछि ‘शारदा’ निस्क्यो। क्रमशः ‘रूपरेखा’, ‘रचना’, ‘रत्नश्री’, ‘भानु’, ‘नेपाली’ले आफ्नो सक्रियता देखाउन थाले। राणाकालीन अवस्थामा १९५८ सालदेखि ‘शारदा’ पत्रिका प्रकाशित भएर साहित्यिक पत्रकारिताको इतिहासमा स्वर्णिम नाम बनाउन सफल छ।
यही ‘शारदा’ पत्रिका नै साहित्यिक पत्रकारिताको इतिहासमा देखिँदो सबभन्दा सुन्दर नाम पनि हो। ‘रूपरेखा’ त्यसपछि उदय भएको साहित्यिक पत्रिका हो। जसको आफ्नो रूपरङ्ग स्तरीय ढङ्गले साहित्यिक पत्रकारिताको इतिहासमा देखाउन सफल छ। वि.सं. २००७ देखि २०१७ सालको अवधिमा ‘इन्दु’, ‘दर्पण’, ‘शक्ति’, ‘रूपरेखा’ आदि साहित्यिक पत्रिका प्रकाशन भएको देखिन्छ। दिगो, स्तरीय र यस युगै हाँकेर देखा परेको पत्रिकाको रूपमा ‘रूपरेखा’ मासिकले आफूलाई देखाइदियो। ‘शारदा’मा ऋद्धिबहादुर मल्लले सुन्दर ढङ्गको साहित्यिक पत्रकारिताको मुखाकृति कोरे भनेजस्तै पछिल्लो कालखण्डमा उत्तम कुँवरले ‘रूपरेखा’ कोरेर सुन्दर काम गरेको देखिन्छ। २०१८–२०२७ सम्ममा ‘बगैँचा’, ‘रचना’, ‘मुकुट’, ‘सिंहनाद’, ‘अरुणोदय बिहान’, ‘रत्नश्री’, ‘भानु’, ‘फूलपाती’, ‘कविता विम्ब’, ‘मधुपर्क’, ‘रमझम’ ‘हिमानी’, ‘सगुन’, ‘पारिजात’, ‘प्रतीक’, ‘प्रभात’, ‘अभिव्यक्ति’, ‘शिलान्यास’, ‘सुस्केरा’, ‘शृङ्खला’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘कलम’ आदि साहित्यिक पत्रपत्रिका निस्के पनि अद्यावधिसम्म ५७ वर्ष भयो ‘रचना’को नियमितता अग्रिम रह्यो।
‘अभिव्यक्ति’ यसपछि निस्केको पत्रिका हो। यसलाई पनि नियमित प्रकाशन गरेर साहित्यिक पत्रकारितामा एउटा नाम बनाउन सम्पादक÷प्रकाशक सफल रहेको देखिन्छ। यसर्थ भन्नुपर्छ– रोचक घिमिरे र नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा आफ्नो नाम बनाउन सफल छन्। संस्थानबाट प्रकाशित पत्रिकाहरूमा ‘मधुपर्क’ले बाजी मारेको छ। ‘गरिमा’ स्तरीय र नियमित छँदाछँदै त्यहीँभित्रको राजनीतिले हो वा केले हो नियमित भएको देखिँदैन। यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानबाट समकालीन साहित्य र कविता निस्कने र बन्द हुने क्रम जारी छ। नेपाल राष्ट्र बैंकबाट ‘मिर्मिरे’, कृषि विकास बैंकबाट ‘समष्टि’, नेपाल विद्युत् कर्पोरेसनबाट ‘ज्योति’ प्रकाशित भएर साहित्यिक पत्रकारितामा टेवा दिने काम भएको छ। अझ भनौं, साहित्यिक पत्रकारिताको इतिहासमा सबैभन्दा बढी पूर्णाङ्क ५०० भन्दा बढी अङ्क प्रकाशन गरेर आफूलाई ‘धन्य’ बनाएका छन्। ‘रत्नश्री’, ‘नेपाली’ले आफ्नो नाम साहित्यिक पत्रकारिताको इतिहासमा कोर्न सफल रहे तापनि पछि बन्द भए। भानुका भवानी घिमिरे दिवंगत भएपछि केही वर्ष स्थगित भएको ‘भानु’ साहित्यिक पत्रिका शिवानी घिमिरेको सक्रियतामा प्रकाशन हुन थालेर नियमित साहित्यिक पत्रिकाको रूपमा बिँडो थामेको छ।
भारतीय–नेपालीहरूले वा भारतमा बसोबास गरेका नेपालीहरूले पनि नेपाली साहित्यिक पत्रपत्रिका निकाले र साहित्यिक पत्रकारिताको विकासमा योगदान पुर्याएको देखिन्छ। भारतको दार्जीलिङ, बनारस, कलकत्ता, खरसाङ, आसाम, शिलाङ, सिक्किमबाट नेपाली साहित्यिक पत्रपत्रिकाहरू प्रशस्त प्रकाशन भएको देखिन्छ। ‘उपन्यास तरङ्गिणी’, ‘सुन्दरी’, ‘माधवी’, ‘चन्द्र’, ‘चन्द्रिका’, ‘आदर्श’, ‘गोर्खासेवक’, ‘गोर्खा’, ‘नेपालपुकार’, ‘गोरखा’, ‘दियालो’, ‘साहित्यसंगम’, ‘जागृति’, ‘उकाला’, ‘छात्र’, ‘छात्रवाणी’, ‘छात्रदूत’, ‘हिमाञ्चल’, ‘सगरमाथा’ आदि नामक थुप्रै साहित्यिक पत्रिकाहरू प्रकाशन भएको देखिन्छ। दार्जीलिङबाट प्रकाशित ‘भारती’ र बनारसबाट प्रकाशित भएको ‘उदय’ साहित्यिक पत्रकारिताको इतिहासमा आफ्नो नाम र धाम बनाउन सफल छन्। ‘उदय’ हालसम्म पनि मासिकका रूपमा प्रकाशित भइरहेका छ।
साहित्यिक पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा हालसम्म प्रकाशित भइरहेका साहित्यिक पत्रिकाहरूमा ‘अन्तर्बोध’, ‘अभिव्यक्ति’, ‘अक्षयअक्षर’, ‘अक्षय ज्ञान’, ‘अक्षरमार्ग’, ‘अक्षलोक’, ‘उदय’, ‘उन्नयन’, ‘कल्पतरू’, ‘कलश’, ‘कालीको सुसेली’, ‘कौशिकी’, ‘गरिमा’, ‘गोलसिमल’, ‘चेतना सन्देश’, ‘जनमत’, ‘जमघट’, ‘तन्नेरी’, ‘दायित्व’, ‘दोभान’, ‘नयाँ सत्मार्ग’, ‘नव प्रज्ञापन’, ‘नारीश्वर’, ‘बगर’, ‘लहरा’, ‘वनिता’, ‘वैजयन्ती’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘शाल्मली’, ‘शिवपुरी सन्देश’, ‘शृङ्खला’, ‘सगुन’, ‘सङ्गम’, ‘अभियान’, ‘सिर्जना’, ‘सुलेख’, ‘हाम्रो पुरुषार्थ’, ‘हाम्रो मझेरी’, ‘हाम्रो मातृभूमि’, ‘हाम्रो सिर्जना’, ‘हिमाली गुराँस’, ‘ज्ञानगुन’ आदि पत्रिकाहरू प्रकाशनमा आइरहेको देखिन्छ। १०० शताङ्क नघाउने पत्रिकाहरूमा ‘अभिव्यक्ति’, ‘उदय’, ‘गरिमा’, ‘जनमत’, ‘दायित्व’, ‘भानु’, ‘मधुपर्क’, ‘रचना’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘ज्ञानगुनका कुराहरू’ आदि छन्।

स्थिति  :
 विज्ञापन नपाउनु, भरपर्दो बिक्री वितरण नहुनु, जति हुनुपर्ने सहयोग राज्यबाट नहुनु आदि समस्या साहित्यिक पत्रकारहरूका आफ्नै समस्या हुन्। ठूलो समस्या आर्थिक समस्या नै हो। लगानीकर्ताहरू यस क्षेत्रमा लगानी गरेर आएको पाइँदैन। आमपाठक साहित्यबाट प्रभावित नभएकै कारणले साहित्यिक पत्रिका किनेर पढ्ने पाठकहरूको कमी हुनु स्वाभाविक नै छ। यसर्थ, साहित्यिक पत्रकारिताको रूप र रङ्ग त्यति प्रभावकारी ढङ्गको देखिँदैन। त्यस्तै निजी क्षेत्रको साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन्। साहित्यिक पत्रिकालाई नियमित तुल्याउन सहज छैन, तर पनि सम्पादक÷प्रकाशकहरूको सेवाभावनाले उत्प्रेरित रहेर साहित्यिक पत्रकारिता गर्नेहरू क्रियाशील छन्। स्रोत, साधन, बौद्धिक, दक्ष जनशक्तिको अभावमा साहित्यिक पत्रकारिता गर्न गाह्रो विषय हो।
सङ्घको गठन  :
 साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापित ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’को स्थापना वि.सं. २०६३ मा भएको हो। यो संस्थालाई नेपालका साहित्यिक पत्रकारहरूको आधिकारिक साझा छाता संस्थाका रूपमा लिइन्छ। यसले साहित्यिक पत्रिकाहरूलाई वर्गीकरणमा पार्ने कार्यदेखि थुप्रै जिल्लामा पुगी साहित्यिक पत्रकारिताको परिचय दिने अभियानमा, साहित्यिक पत्रकारहरूलाई सम्मान गर्ने कार्यमा र साहित्यिक पत्रकारहरूलाई गोलबन्द गर्ने कार्यमा आफ्नो सक्रियता देखाउँदै आएको छ। ठाउँ–ठाउँमा जिल्ला सङ्घहरू स्थापना गर्ने कार्य पनि भएको छ। ‘आलेखन’को प्रकाशनमार्फत मोफसलका साहित्यिक पत्रपत्रिकाको इतिहास प्रकाशन गर्ने कार्यको शुभारम्भ भएको छ।
सरकारको नीति  :
– साहित्यिक पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि सरकारले संरक्षण दिएको त छैन तर केही राहतजस्तो बनाएर वर्गीकरणसम्म गर्ने कार्य भएको छ।
– प्रेस काउन्सिल÷सूचना विभागबाट वितरण हुने सहुलियतहरूमा समाचार पत्रिका र साहित्यिक पत्रिकालाई तुलनात्मकरूपमा भेदभाव भएको स्थिति छ।
– प्रत्येक वर्ष एकजना साहित्यिक पत्रकारलाई ‘साहित्यिक पत्रकारिता पुरस्कार’ गर्ने कार्यक्रममा रू.३० हजारबाट रू.१० हजारमा पुरस्कार राशी झार्ने कार्य देखिँदो छ। – हुलाक सुविधा मासिकलाई बाहेक अरूलाई प्रदान गरेको देखिँदैन।
– सुविधामा दिइनुपर्ने कागजलगायत विज्ञापन, प्रतिनिधित्व साहित्यिक पत्रकारहरूलाई प्रतिष्ठित ढङ्गले समावेश गरेको देखिँदैन।
– सरकारले कुरोमा सबैथोक दिएजस्तो गर्छन् तर ‘न्यून सहुलियत’ पाएर अधमरो स्थितिमा साहित्यिक पत्रिकाहरू निस्किरहेको देखिन्छ।
अन्त्यमा  : 
साहित्यिक पत्रकारिताको महत्व, गरिमा उच्च रहेर पनि राज्यबाट जति सहयोग, वातावरण प्राप्त हुनुपर्ने हो, सो भएजस्तो मात्र देखिँदो छ। तर हुनुपर्ने जति सहज नभएको सबैले महसुस गरेकै विषय हो। साहित्य, कला, संस्कृतिको विकासमा टेवा पुर्याउन साहित्यिक पत्रपत्रिकाको संरक्षण हुनुपर्ने हो, सो हुने वातावरणको खोजीमा र सहयोगको अपेक्षा सबै वाङ्मयसेवीहरूले राख्दै आएका छन्।

(लेखक नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय महासचिव तथा जनमत मासिकका प्रधानसम्पादक हुनुहुन्छ।)

नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता - रोचक घिमिरे

नेपाली पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं.१९५५ मा पं.नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा पाशुपत प्रेस काठमाडौँमा मुद्रित भै निस्केको ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको सबभन्दा जेठो र पहिलो पत्रिका हो । त्यसो त ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका ‘सुधासागर’ भन्दा पहिल्यै नै वि.सं.१९४३ मा बनारसबाट निस्केको मानिन्छ । तर तत्कालीन केही पुस्तकमा त्यसको विज्ञापन देखिनु बाहेक हालसम्म त्यसको मुद्रित प्रति फेला परेको छैन । ‘सुधासागर’ र ‘गोरखा भारत जीवन’ दुवै पत्रिकाको प्रकाशनमा नेपालका अति गौरवशाली साहित्यिक व्यक्तित्व मोतीरामको मुख्य हात रहेको थियो । त्यसैले मोतीराम भट्टलार्ई हामीले नेपालका आदि पत्रकारका रुपमा मान्यता दिन पनि सङ्कोच गर्न हुँदैन । ‘सुधासागर’ निस्केको तीन वर्ष पछि मात्र वि.सं. १९५८ मा काठमाडौँबाट समाचारपत्रको रुपमा ‘गोरखापत्र’ प्रकाशित हुन थालेको हो । यसबाट के छर्लङ्ग हुन्छ भने साहित्यिक पत्रिकाले नै नेपालको जेठो पत्रकारिताको गौरवपूर्ण ठाउँ पाएको छ ।
नेपालमा छापाखानाको सुविधा नभएको हुँदा त्यो बेला पुस्तक पत्रपत्रिका छाप्न भारतको बनारस पुग्नुपर्ने बाध्यता थियो । अध्ययन निम्ति, तीर्थयात्राका निम्ति अथवा काशीवासका निम्ति नेपालीहरु ठूलो सङ्ख्यामा बनारस जाने गर्थे । शिक्षित र साहित्यप्रेमी उत्साही नेपालीहरुको बसोवास बनारसमा प्रशस्त हुने गथ्र्यो । यिनै कारणले पनि त्यो बेलाको बनारस नेपाली पुस्तक पत्रिका प्रकाशन निम्ति निकै सजिलो थलो मानिन्थ्यो ।
बनारसबाट त्यस बखत निस्केका साहित्यिक पत्रिकाहरु सादाशिव शर्माको सम्पादनको ‘उपन्यास तरङ्गिणी’ (वि.सं.१९५९), रसिक शर्माको सम्पादनको ‘सुन्दरी’ (वि.सं.१९६३), राममणि आ.दी.को सम्पादनको ‘माधवी‘ (वि.सं.१९६५), माधव प्रसादको सम्पादनको ‘चन्द्र’ (वि.सं.१९७१), सूर्य विक्रम ज्ञवालीको सम्पादनको ‘जन्मभूमि (वि.सं.१९७९), काशीबहादुर श्रेष्ठको सम्पादनको ‘उदय’ (वि.सं.१९९३), लक्ष्मीप्रसाद देवकोटाको सम्पादनको ‘युगवाणी’ (वि.सं.२००४), इत्यादि हुन् । त्यसैगरी दार्जिलिङ्ग र भारतका अन्य क्षेत्रबाट प्रकाशित पत्रिकाहरुमा पारसमणि प्रधानको सम्पादनको ‘चन्द्रिका’ (वि.सं.१९७४), ‘आदर्श‘ (वि.सं.१९८७), ‘नेपाली साहित्य सम्मेलन पत्रिका’ (वि.सं.१९८९), ‘नेबुला’ (वि.सं.१९९३), ‘खोजी’ (वि.सं.१९९८), ‘गोर्खा संसार’ (वि.सं.१९८३), ‘तरुण गोर्खा’ (वि.सं.१९८९) आदिको पनि बेग्लै महŒव रहेको कुरा नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा अङ्कित छ ।
नेपालभित्र चाहिँ ‘गोरखापत्र’ छापिएको ३२ वर्ष सम्म पनि साहित्यिक अथवा अरु कुनै पनि पत्रिका प्रकाशित भएको देखिंदैन । तीन दशकको त्यस कालखण्डमा भारतबाट प्रकाशित उपर्युक्त साहित्यक पत्रिकाहरुले नै नेपाली पत्रकारिताको दियो उकासेर जीवन्त बनाई राख्ने प्रयत्न गरेका थिए ।
‘गोरखापत्र’ छापिएको ३२ औं वर्षमा काठमाडौँबाट वि.सं. १९९१ मा सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ मासिक पत्रिकाको प्रकाशन आरम्भ भयो । ‘शारदा’ले नेपाली साहित्यका अनेक सशक्त प्रतिभालाई प्रोत्साहित ग¥यो । ‘शारदा’ को छहारी पाएका त्यस्ता प्रतिभाले वाङ्मय क्षेत्रलाई सम्पन्न तुल्याउन कुनै कसर बाँकी राखेनन् । लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण, सिद्धिचरण, भिक्षु जस्ता कालजयी हस्ताक्षरहरुलाई उजिल्याएर अघि बढाउने जस ‘शारदा’ लाई नै जान्छ । सूर्यभक्त जोशीको सम्पादनमा वि.सं. १९९२ मा प्रकाशित ‘उद्योग’, हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा वि.सं २००४ मा प्रकाशित ‘साहित्यस्रोत’, २००६ को शेषराज रेग्मीको ‘पुरुषार्थ’ पत्रिकाहरुको पनि नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ रहेको छ ।
जहानियाँ राणा शासनको अन्त्य भएर २००७ सालमा आएको प्रजातान्त्रिक प्रणाली पछि मुलुकमा साहित्यिक पत्रकारिताले पनि महŒवपूर्ण कोल्टे फे¥यो । साहित्यिक पत्रकारिताको स्वस्थ परम्परालाई सशक्ततापूर्वक अघि बढाउन त्यो बेला केही सक्रिय साहित्यिक व्यक्तित्वहरु जम्जमाएर लागि परे । नारायणप्रसाद बाँस्कोटाले वि.सं. २०१० सालमा ‘प्रगति’ निकाले । ईश्वर बराल र भवानी भिक्षुको सम्पादनमा ‘धरती’ वि.सं. २०१३ मा प्रकाशित भयो । त्यही वर्ष ईश्वर बरालको सम्पादनमा ‘इन्द्रेणी पनि निस्क्यो । वि.सं.२०१६ सालमा श्याम प्रसादको सम्पादनमा प्रकाशित ‘साहित्य’ र त्यसै सालमा कमल दीक्षितको सम्पादनमा प्रकाशित ‘नेपाली’ पत्रिकाको पनि आआफ्नै महŒव रहेको कुरा हामीले स्वीकार्नै पर्दछ ।
‘शारदा’ पत्रिकाको प्रकाशन नेपाली साहित्यिक पत्रकारितामा जसरी एउटा कोशे ढुङ्गा साबित भएको थियो, त्यसैगरी २०१७ सालमा प्रकाशित ‘रुपरेखा’ ले साहित्यिक पत्रकारितामा सबैभन्दा धेरै अङ्क निकालेर अनि अनेक नवोदित प्रतिभालाई प्रोत्साहित गरेर कीर्तिमान कायम ग¥यो । बालमुकुन्द देव पाण्डे र उत्तम कुँवरको सम्पादनमा प्रकाशित ‘रुपरेखा’ ले साहित्यको अत्याधुनिक चिन्तन धारालाई साहसिक रुपमा आफूमा सामाहित ग¥यो । वि.सं. २०१७ सालमा प्रकाशित अन्य साहित्यिक पत्रिकामा के.पी शैलको सम्पादनको ‘इन्दु’ र गोपालप्रसाद रिमालको सम्पादनको ‘दर्पण’ पर्दछन् । वि.सं. २०१८ मा रोचक घिमिरेको सम्पादनमा ‘रचना’ प्रकाशित भयो । २०१८ सालमा नै के.बी नेपालीको सम्पादनमा बिन्दु प्रकाशन, लामडिङ्ग (असम) भारतबाट ‘बिन्दु नेपाली साहित्यिक त्रैमासिक पनि प्रकाशित भयो । यो पत्रिकाले पनि यसै २०६७ सालमा ५० वर्ष पूरा गर्दैछ । २०१९ वि.सं.मा नेपाली साहित्य संस्थानको प्रकाशनमा ‘हिमानी’, पुरुषोत्तम बस्नेतको सम्पादनमा ‘मुकुट’ र वासुदेव त्रिपाठीको सम्पादनमा ‘सिंहनाद’ प्रकाशित भए । ‘बिहान’, ‘रत्नश्री’, अरूणोदय, ‘फूलपाती’, ‘भानु’, जस्ता साहित्यक पत्रिकाहरु वि.सं २०२० सालमा प्रकाशनमा आए । भवानी घिमिरेको सम्पादनको ‘भानु’ विशेषाङ्क परम्परामा आफ्नो प्रभाव र पन छोड्न सफल भयो । मदनदेव शान्तदेव भट्टराईको सम्पादनको ‘रत्नश्री’ ले नारी अङ्क प्रकाशनमा विशेषता कमायो ।
वि.सं.२०२० पछि निस्केका उल्लेख्य साहित्यिक पत्रिकाहरु ‘नयाँ कविता’, ‘कविता’, ‘रमझम’, ‘तुवाँलो’, ‘सौगात’, ‘कल्पना’, पारिजात; ‘मधुपर्क’, ‘बिम्ब’, ‘सञ्चय’, ‘प्रज्ञा’, सुनगाभा’, ‘बान्की’, ‘विदेह’, ‘सङ्कल्प’, ‘सन्दर्भ’, ‘अभिव्यक्ति’ आदि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’, ‘कविता’, गोरखापत्र संस्थानको ‘मधुपर्क’, र नगेन्द्रराज शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ अहिले पनि प्रकाशित भईरहेकै छन् । विगतका विभिन्न कालावधिमा प्रकाशित ‘उत्साह’,‘जुही’, ‘लहर’, ‘साँग्रिला’, ‘झिसमिसे’, श्रीजा, आदिले पनि साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ बनाएका छन् ।
आज प्रकाशनमा आइरहेका साहित्यिक पत्रिकाहरु रचना, अभिव्यक्ति, बगर, उन्नयन, भानु, तन्नेरी, समकालीन नेपाली साहित्य, जनमत, शब्दाङ्कुर, शिवपुरी सन्देश, साथी, नव प्रज्ञापन, सुगन्ध, शब्द संयोजन, प्रलेस, नदी, फित्कौली, जुही, पल्लव, बनिता, वेदना, हाम्रो संस्कृति, कौशिकी, कलश, दायित्व, लिपीपौं, तेस्रो आवाज, नैमकानन (मैथिली भाषा), नवज्योति, गुगुल्डी, जनमत, कालीको सुसेली, जमघट, अक्षलोक, तीखो प्रहार, दोभान, निर्झर, अक्षर, नागार्जुन, दायित्व, रश्मि, कलम, कल्पतरु, अन्तर्वोध, अन्तध्र्वनी, हाम्रो यात्रा, प्रज्ञा, थाय् भु, आँगन, सयपत्री, कविता, गुन्जन, अभिनव, हाम्रो ध्वनि, निर्माण, हाम्रो सिर्जना, दियालो आदि हुन् । संस्थागत रुपमा प्रकाशित नेपाली, मधुपर्क, गरिमा, मुना, समकालीन साहित्य, सयपत्री, समष्टी, मिर्मिरे जस्ता प्रकाशनहरुले पनि आज पर्यन्त प्रकाशित भएर साहित्यिक पत्रकारिताको उल्लेख्य सेवा गरिरहेका छन् । रत्नश्री, नवकविता, सारस्वत, वन्दना, मुकुट, आकाश, गोलार्ध, श्रीजा आदि उल्लेख्य साहित्यिक पत्रिकाहरु हाल प्रकाशित भएका देखिँदैनन् । एक युगकै विश्रान्ति पछि ‘शारदा’ फेरि प्रकाशित हुन थाले पनि थलिएर हाल बन्द भएको छ ।
माथि जति पनि चर्चा गरिए ती प्रायः सामयिक सङ्कलनको रुपमा निस्किए भन्दा बाहेकका पत्रिका हुन् । सामयिक साहित्यिक पत्रिकाको आवरणमा निस्केका पत्रिकाहरुको आफ्नै विशिष्टता र महŒव रहेको छ । नेपालको साहित्यिक पत्रकारिताको इतिहासमा सामयिक सङ्कलनको प्रकाशन एउटा आन्दोलनकै रुपमा भएको थियो । निरङ्कुश पञ्चायती शासनमा जब अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण बन्देज थियो, व्यवस्थाको विरोधमा कतै कुनै गतिविधि सञ्चालन गर्न सकिंदैन थियो । त्यसबेला विरोधी स्वरका विविध सामयिक सङ्कलनहरु निकालेर थुप्रै युवाहरु सत्ताको कोपभाजन भएका थिए । वि.सं.२०२५ सालदेखि २०३० सालसम्म प्रकाशित केही प्रमुख सामयिक साहित्यिक सङ्कलनहरु यी हुन् ः– ‘मन्त्र’ सम्पादक शैलेन्द्र साकार, ‘स्वतन्त्रता’ सम्पादक किशोर झुत्रे र विनोद रिमाल, ‘सिउँडी’ सङ्कलक भुवन कोइराला र पुरुषोत्तम बस्नेत, ‘त्रिफला’ सम्पादक लक्ष्मण किरण, ‘जागरण’ सम्पादक तेज खरेल, ‘विचार’ सम्पादक किशोर नेपाल, ‘प्रतीक’ सम्पादक हरिश बमजन, हरि अधिकारी र ध्रुव सापकोटा, ‘सुस्केरा’ सम्पादक रामचन्द्र भट्टराई, ‘गुनकेशरी’ सम्पादक दीपक जोशी, ‘श्रीनगर’ सम्पादक विनय कसजु, ‘जस्केलो’ सम्पादक बलराम उप्रेती, ‘चित्कार’ सम्पादक खिलध्वज थापा र मोहन घिमिरे, ‘अभिनव’ सम्पादक विनय रावल, ‘रेषा’ सम्पादक अन्जीर प्रधान पीडित आदि ।
नेपाली साहित्यिक पत्रिका र सामयिक साहित्यिक सङ्कलनहरुको उपर्युक्त तत्थ्यात्मक वृत्तान्त पछि तिनको कालक्रमिक प्रवृत्तिगत वैशिष्ट्यको बयान गर्नु आवश्यक छ । सुरूका साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतया कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै बढी लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन रचनाहरु दैविक अथवा लौकिक स्तुतिगान तर्फ समेत केन्द्रित हुने गर्दथे । मूल संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशित गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक पत्रिकाहरुमा रहेको थियो । नेपाली पाठकहरुलाई आफ्नै भाषामा लेखिएका रचनाको पठनीयतातर्फ पे्ररित गर्न र लेखकहरुलाई नेपालीमा लेख्न प्रोत्साहित गर्न ती साहित्यिक पत्रिकाको प्रशस्त योगदान रहेको थियो ।
राणा शासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर कोइराला, महानन्द सापकोटा जस्ता राष्ट्रप्रेमी कविहरुले भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीति विरूद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुको अभावको त्यो बेला साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरुका एकमात्र सशक्त अभिव्यक्तिका माध्यम बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त स्तुत्य रहेको छ ।
वि.सं. २००७ सालदेखि २०१७ सालसम्मको अल्प अवधिको प्रजातान्त्रिक कालमा प्रकाशित विभिन्न साहित्यिक पत्रिकाहरुले विविध विधागत माध्यमबाट नेपाली भाषा र साहित्यलाई गतिशील ऊर्जा दिएका थिए । नेपाली वाङ्मयलाई विश्वजनीन आधुनिकतातर्फ डो¥याउन समेत ती पत्रिकाहरुको प्रशस्त योगदान रहेको तथ्य हामीले बिर्सनु हुँदैन ।
नेपाली साहित्यिक पत्रिकाले सर्वाधिक उर्वर सशक्त र प्रभावोत्पादक भूमिका निर्वाह गरेको समय चाहिँ वि.सं.२०१७ देखि २०३६ साल सम्मलाई मान्नु उपयुक्त हुनेछ । प्रजातन्त्र प्रतिबन्धित रहेको, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेको, जनताका शाश्वत मानवीय अधिकारहरु कुण्ठित रहेको त्यो समयमा प्रकाशित साहित्यिक पत्रिकाहरु र सामयिक साहित्यिक सङ्कलनहरुले मुलुकमा व्याप्त अन्यायको विरुद्ध सशक्ततापूर्वक आफूलाई उभ्याएका थिए । मुलुकको असहनीय बेथितिको प्रतिकारमा जागरणको सन्देश दिन प्रतीकात्मक माध्यमले ती पत्रिकाहरुमा सामग्री प्रकाशन हुन थाले । अनेक प्रयोगधर्मी युवा प्रतिभाहरुले दमन, शोषण र अन्यायको विरोधमा विविध माध्यमबाट चोटिलो प्रहार गरे । मुलुकको वेथिति र विसङ्गतिका यथार्थ चित्रणयुक्त समाचार सन्देशहरु कविता, कथा, नाटक र प्रहसनको आवरणमा साहित्यिक पत्रिका र सामयिक सङ्कलनहरुले जोखिम उठाएर प्रकाशमा ल्याए । यी प्रकाशनले आफूभित्र विद्रोह र विप्लवको ज्वाला नै समाहित गरेका थिए । फलस्वरुप तत्कालीन सत्ताका निमित्त यस्तो कुरा अपराध ठहरियो र पत्रपत्रिका र सङ्कलनहरुमा कडा सेन्सरको व्यवस्था लागू गरियो । पत्रिका र सङ्कलनहरुलाई सेन्सरको मारमा पारेर मुुद्रित सामग्रीहरुमा कालो पोतेर मात्र बाहिर निकाल्ने अनुमति दिइयो । यतिबाट मात्र तत्कालीन सत्ताको चित्त बुझेन र २०३१ सालमा सम्पूर्ण साहित्यिक सङ्कलनहरुमाथि नै प्रतिबन्ध लगाइयो । तर पनि जुन साहित्यिक पत्रिकाहरु दर्ता भएर प्रकाशित भएका थिए ती मध्ये थुप्रैले प्रत्यक्ष परोक्ष रुपले प्रतीकात्मक भाषा छद्म बिम्ब र प्रयोगशील शैलीयुक्त अभिव्यक्तिबाट प्रजातान्त्रिक स्वतन्त्रताको आह्वान गरिनै रहे । वि.सं. २०४६ सालको जनआन्दोलन अघिसम्मका पत्रिकाहरुमा यस्तो प्रवृत्ति टड्कारै देखिन्छ । वर्तमानमा पनि नेपालको साहित्यिक पत्रकारिता आफ्नो कर्तव्य निर्वाहमा अग्रणी नै रहेको छ ।
नेपाली साहित्यिक पत्रकारिता अहिले मुद्रित साहित्यिक पत्रिका प्रकाशनमा मात्र सीमित छैन । सूचना प्रविधिको अपूर्व वैज्ञानिक विकासको फलस्वरुप साहित्यिक पत्रकारिता पनि प्रगतिको तीव्र फड्को मारिरहेको छ । विश्वका अनेक मुलुकमा बसेका साहित्यप्रेमी युवाहरु वेबमा साहित्यिक पत्रिका चलाइरहेका छन् । घरमै बसेर कम्प्युटरको पर्दामा ती साहित्यिक पत्रिका पढ्न पाइन्छ । मुद्रित रुपमा प्रकाशित केही साहित्यिक पत्रिकाहरु पनि अहिले वेबमा भित्रिएका छन् । यस प्रविधिले नेपाली साहित्यिक पत्रकारितामा नौलो र चमत्कारिक आयाम थपिएको छ । विश्वको जुनसुकै कुनामा बसेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संस्कृतिसँग सधैँ नजिकिएर न्यास्रो मेट्ने अवसर वेब साहित्यिक पत्रकारिताले दिएको छ ।
साहित्यिक पत्रिका प्रकाशित गर्नु नै साहित्यिक पत्रकारिता हो भन्ने भ्रम आज पनि साहित्यिक क्षेत्रमा देखिन्छ । वास्तवमा साहित्यिक पत्रकारिता आज त्यस्तो सङ्कुचित घेराबाट मुक्त हुन चाहिरहेको छ । विभिन्न माध्यमहरु मार्फत् साहित्यिक सामग्री प्रस्तुत गरिने कार्यलाई साहित्यिक पत्रकारिताको दर्जा दिन अब हामीले हिच्किचाउनु हुँदैन । कतिपय दैनिक, साप्ताहिक पत्रपत्रिकाहरुमा नियमित साहित्यिक स्तम्भ चलाउने व्यक्तिहरु साहित्यिक पत्रकार हुन् । रेडियो, एफ.एम.का साहित्यिक कार्यक्रम प्रस्तोताहरु साहित्यिक पत्रकार हुन् । टेलिभिजनमा साहित्य विषयका कार्यक्रम चलाउनेहरु साहित्यिक पत्रकार हुन् । इन्टरनेटमा साहित्यिक पत्रिका प्रस्तुत गर्नेहरु साहित्यिक पत्रकार हुन् । यी सबै माध्यमबाट साहित्य निम्ति गरिएका कामहरुको समष्टि नै साहित्यिक पत्रकारिता हो ।
उपर्युक्त कुराहरुलाई आत्मसात् गरेर नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारिताको मापदण्ड निर्धारित गर्दा सबै माध्यमबाट साहित्यिक पत्रकारिता गर्ने व्यक्तिहरुलाई साहित्यिक पत्रकार मानेको छ, र त्यस्ता व्यक्तिहरुलाई सङ्घको सदस्यता दिने प्रावधान बनाइएको छ । यसलाई स्वागतयोग्य मान्नु पर्दछ ।
पत्रकारिता साहित्य हुन सक्दैन अतः साहित्यिकहरु पत्रकार हुन सक्तैनन् अथवा साहित्यिक पत्रकारिता हुन सक्तैन भन्ने धारणा पनि यहाँ देखिन्छ । यसबारे पनि केही चर्चा गर्नु सान्दर्भिक नै ठहरिएला । साहित्यको मूल्य र मान्यता जीवनको मूल्य र मान्यता भन्दा फरक हुन सक्तैन र साहित्यिक अनुभूतिहरु जीवनका अनुभूतिहरु भन्दा बेग्लै हुन पनि सक्तैनन् । जीवन मूल्यहरुसँग पत्रकारिताको पनि सोझो सम्बन्ध रहेको हुन्छ । जीवन मूल्यको जस्तो स्थापना साहित्यमा गरिन्छ त्यसलाई पत्रकारिताले व्यावहारिक आयाम दिएर प्रस्तुत गर्ने गर्दछ । यसरी साहित्य र पत्रकारितामा खास भिन्नता छैन । शैलीको भिन्नता चाहिं छ । साहित्य अलि दिमाग खियाएर चिन्तन मन्थन गरेर लेखिन्छ भने पत्रकारितालाई हतारमा लेखिने साहित्य भन्ने गरिन्छ । प्रत्येक साहित्यकार पत्रकार हुन्छ भन्ने छैन, तर प्रत्येक पत्रकारमा कुनै न कुनै अंशमा साहित्यकारिता अवश्य नै रहेको हुन्छ । अभिव्यक्तिका अनेक शैली मध्ये केही शैली साहित्यकारका निम्ति उपयोगी हुन्छन् त केही शैली पत्रकारका निम्ति । साहित्यकार कुनै विषय लेख्न एक हजार शब्द प्रयोग गर्दछ भने पत्रकार त्यही विषयलाई निकै थोरै शब्दमा लेख्ने सामथ्र्य राख्दछ । पत्रकार आफ्नो शैलीलाई सरल र सरस बनाउछ भने साहित्यकारको शैली अलि दुरूह र बौद्धिक विलासमा रत्तिएको हुन्छ । पत्रकारको निम्ति कुनै पनि विषय अग्राह्य हुदैन तर साहित्यकार कुनै खास विषयमा सीमित रहन्छ । यसरी आपूm आफ्नो वेग्लै अस्तित्व राखे पनि पत्रकारिता र साहित्यको अन्तरङ्ग नाता गाँसिएकै हुन्छ ।
हाम्रै पत्रकारिताको कुरा गर्ने हो भने पनि यहाँका सबैजसो समाचार पत्रपत्रिकाका सम्पादक अथवा सम्बद्ध पत्रकारहरु कुनै न कुनै वेला अथवा अहिले पनि लेखक साहित्यकार वा कवि नै भएका व्यक्तिहरु छन् । साहित्यिक पत्रकार हुन सक्तैनन् भन्ने मान्यता राख्ने पत्रकारले आफ्नै साहित्यिक पृष्ठभूमि बिर्सनु विडम्वना नै मान्नुपर्दछ ।
सूचना पत्रकारिताले समाचार–सामयिक टिप्पणी र तात्कालिक महŒवका सामग्री प्रस्तुत गर्दछ भने साहित्यिक पत्रकारिताले शाश्वत मूल्य महत्ताका लेखरचना, कथा–कविता नाटक–निबन्ध आदि प्रस्तुत गर्दछ । दुवैमा खास भिन्नता यही मात्र हो । अझ सूचना पत्रकारिताले पनि अचेल कविता–कथा, निवन्ध सहितका साहित्यिक सामग्री आ–आफ्ना पत्रिकामा प्रशस्त पस्कने गरेका छन् । यसरी त तिनको र साहित्यिक पत्रकारिताको झन् समानता र निकटता पो देखिन्छ । उपर्युक्त दृष्टान्तहरुलाई केलाउने हो भने साहित्य, पत्रकारिता र साहित्यिक पत्रकारितालाई एक अर्कोका पूरक कै रुपमा हेर्नु उपयुक्त होला ।
साहित्यिक पत्रकारिताले सेवाको यत्रो चरण पार गरेता पनि यसको प्रगति निम्ति भने राज्यले आफ्नो दायित्व पूरा नगरेको कटु अनुभव यस क्षेत्रले गरेको छ । समाचार पत्रकारिता निम्ति जुन लगानी राष्ट्रले गरेको छ, त्यस क्षेत्रको विकास निम्ति जस्तो सहयोग गरिएको छ त्यस अनुपातमा साहित्यिक पत्रकारितालाई गरिएको उपेक्षा भनिसाध्य छैन । प्रेस काउन्सिलले यसलाई पत्रकारिताको एउटा अङ्ग मानेर साहित्यिक पत्रकारलाई प्रेस काउन्सिल सदस्यमा ठाउँ दिन थाले तापनि साहित्यिक पत्रकारितालाई अपहेलित गर्ने त्यहाँको प्रवृत्तिमा अझै सुधार आएको छैन । नेपाली पत्रकारिताको जनक साहित्यिक पत्रकारिता भएर पनि पत्रकारितासँग सम्बन्धित हाम्रा सङ्घ संस्थाहरुमा यस क्षेत्रलाई अछुत झैं ठान्ने प्रवृत्ति पनि यथावत् नै छ । साहित्य र साहित्यिक पत्रकारिताकै धरातलबाट उठेर प्रबुद्ध पत्रकार, चतुर राजनीतिज्ञ, सफल सत्ताधारी भएकाहरुले नै साहित्यिक पत्रकारितालाई हेला गरेको दुर्नियति आज साहित्यिक पत्रकारिताले भोगिरहेको छ । यो क्षेत्र अहिलेसम्म टिकिरहेको छ भने त्यो आफ्नै भरमा मात्र टिकेको छ । निस्वार्थ साहित्य सेवाको भावना लिएर हिडेका केही व्यक्तिहरुको बलबुतामा मात्र साहित्यिक पत्रकारिता बाँच्न बाध्य भएको छ । यो गम्भीर अवस्थाबाट साहित्यिक पत्रकारितालाई उकास्नु प्रत्येक बौद्धिकहरुको कर्तव्य हो । यस सन्दर्भमा नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा हेटौँडामा आयोजित ‘‘वृहत् साहित्यिक पत्रकारिता गोष्ठी, २०६४’’ र ‘‘मोफसलको साहित्यिक पत्रकारिता गोष्ठी, २०६६’’ मा जारी गरिएका घोषणापत्रहरुलाई कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायहरुले गम्भीर पाइला चाल्ने हो भने साहित्यिक पत्रकारिताको भलो हुन्छ ।
निचोडमा के भन्न सकिन्छ भने नेपालको साहित्यिक पत्रकारिताले आफ्नो अतीतदेखि वर्तमानसम्म भाषा, साहित्य, संस्कृति, ज्ञान विज्ञान र कला क्षेत्रको विकासमा आफ्नो उत्तरदायित्व स्वाभाविक रुपले पूरा गरेको छ । त्यतिमात्र नभएर हाम्रो साहित्यिक पत्रकारिताले नेपाल राष्ट्र र नेपाली जातिलाई युगानुकुल प्रखर स्वतन्त्र चेतनातर्फ जागृत गराउन ऐतिहासिक महŒवको अत्यन्त सकारात्मक भूमिका निर्वाह गरेको छ । यसै तथ्यले गर्दा नै हाम्रो साहित्यिक पत्रकारितालाई बौद्धिक समाजले गरिमामय मान्यता र आदर समेत दिएको हो ।