Wednesday, June 28, 2023

वर्तमानमा साहित्यिक पत्रकारिताको औचित्य - सञ्जय मित्र

 


साहित्य शब्दमा ‘इक’ प्रत्यय लागेर साहित्यिक शब्दको निर्माण भएको हो । यस शब्दको अर्थ हुन्छ– साहित्यसित सम्बन्धित । पत्रकार शब्दमा पहिले ‘इ’ अनि ‘ता’ लागेर पत्रकारिता बनेको हो । यस शब्दले पत्रकारले गर्ने कर्म भन्ने अर्थ दिन्छ । यसरी साहित्यिक पत्रकारिता शब्दले साहित्यको विषयमा गरिने पत्रकारिता भन्ने सोझो अर्थ दिन्छ । यसरी त्यस्तो पत्रकारिता जुन साहित्यको विषयसित सम्बन्धित हुन्छ, त्यसलाई साहित्यिक पत्रकारिता भनिन्छ । साहित्यिक पत्रकारिताको सामान्य अर्थ यही हो ।

आजभोलि पत्रकारिताका अनेक क्षेत्र विस्तार भएका छन् । केही दशकअघिसम्म नेपालमा पत्रकारिता भनेको अखबारीय पत्रकारिता नै बुझिन्थ्यो । रेडियो नेपाल रहेको भएपनि रेडियो नेपालले पत्रकार राखेको हुन्छ भन्ने कुराको ज्ञान सर्वसाधारणसम्म पुगिसकेको थियो । बिस्तारै टेलिभिजनको प्रचलन बढेपछि शहरी समाजले अखबार, रेडियो र टेलिभिजनका पत्रकार भनेर चिन्न थाले । अनि पछिल्लो चरणमा अखबार, रेडियो (एफएम) तथा टेलिभिजनको विकास सँगसँगै अनलाइनको विकास र विस्तार हुन थालेपछि पत्रकार र पत्रकारिता आमनागरिकको पहुँचमा हुन गएको हो । अझै पनि हाम्रो पत्रकारिताको मुख्य प्रवाह शहर केन्द्रित नै देखिन्छ । शहरका सामान्य कुरा समाचार बन्नु तर गाउँका समाचार बन्नका लागि शहरको लागि विशेष कुरो नै हुनुपर्ने वर्तमान मूल प्रवाहको पत्रकारिताको मर्म रहेको छर्लङ्ग छ ।

मूल प्रवाहको पत्रकारितालाई सामान्यतया आमसञ्चार पनि भनिन्छ । आमसञ्चारले रेडियो, टेलिभिजन, अनलाइन तथा अखबार गरी सबै पत्रकारितालाई जनाउँछ । यद्यपि आमनागरिकको लागि पत्रकारिता भनेको अखबारिता हो भन्ने नै धेरै समयसम्म रहिरहनेछ । जबसम्म पत्रकारितालाई नजीकबाट देखिंदैन, भोगिंदैन, तबसम्म वास्तविक पत्रकारितालाई बुझ्न पनि सकिंदैन । उदाहरणको लागि एफएम रेडियोमा मनोरञ्जनात्मक कार्यक्रम चलाउने तथा प्राविधिकको काम गर्नेलाई मिडियाकर्मी वा पत्रकार मान्ने गरेको पनि देखिन्छ भने यस क्षेत्रमा यस्ता अन्य काम गर्नेले पनि आफूलाई पत्रकार भन्ने गरेको पाइन्छ । यद्यपि समाचारको क्षेत्रमा काम गर्ने नै पत्रकार हो र पत्रकारले पत्रकारिता गरेको हुनुपर्छ भन्ने बुझाइ पनि रहेको पाइन्छ ।

यदि आमसञ्चार भनेको सामान्य पत्रकारिता हो भने साहित्यिक पत्रकारिता विशिष्ट पत्रकारिता हो । साहित्यिक पत्रकारितालाई बौद्धिक पत्रकारिता पनि भनिन्छ । यसलाई प्राज्ञिक पत्रकारिता पनि भनिन्छ । यसको अर्थ यो पनि हो कि सामान्य पत्रकारिताभन्दा साहित्यिक पत्रकारिता नैसर्गिकरूपमा विशिष्ट हुन्छ ।

जसरी सामान्य पत्रिका वा अखबार प्रकाशित हुन्छ । त्यसैगरी, साहित्यिक पत्रिका पनि प्रकाशन हुन्छ । साहित्यिक पत्रिकाका लागि काव्य, आख्यान, नाटक, निबन्ध, समालोचना तथा जीवनी आदि विधाका अनेक उपविधासहितका रचना प्राप्त हुन्छन् । निस्सन्देह साहित्यिक पत्रिकामा नियमितरूपमा कुनै निश्चित विषयमा स्तम्भ लेख्ने स्तम्भकार कहलाउँछन् । र अखबारिता गर्नेहरूमध्ये पनि यदि नियमितरूपमा कुनै साहित्यिक स्तम्भ चलाउँछन् भने निस्सन्देह साहित्यकार वा साहित्यिक पत्रकार भन्न सकिन्छ । हो, साहित्यिक पत्रिकाको सम्पादन गर्ने तथा स्तम्भ लेख्ने साहित्यिक पत्रकार हुन् । साहित्यिक पत्रकारले गरेको कर्म साहित्यिक पत्रकारिता हो । साहित्यिक पत्रकारिता सामान्य पत्रकारिताभन्दा विशिष्ट हुन्छ र सामान्य पत्रकारिताका अधिकांश गुणलाई विशिष्ट पत्रकारिताले आफूमा समाहित गरेको हुन्छ । फरक यति हो कि सम्भव भएसम्म विशिष्ट भाषिक प्रयोग गर्ने र भाषालाई कलात्मक बनाउने पक्षमा पनि साहित्यिक पत्रकारिताले विशिष्ट योगदान दिएको हुन्छ भने सामान्य पत्रकारिताले भाषालाई विशिष्ट बनाउनेभन्दा घटना वा विषयवस्तुको प्रवाहलाई विशेष महŒव दिएको हुन्छ । यसै हुनाले पनि कतिपयले साहित्यिक पत्रकारितालाई भाषाको पत्रकारिता वा भाषिक पत्रकारिता पनि भन्छन् ।

हुनत भाषिक पत्रकारिताले पनि बहुआयामिक अर्थ राख्छ । कुनै पनि भाषाको पत्रकारितामा भाषाको सम्पादन पनि भाषिक पत्रकारिता हो । कुनै पनि भूगोलको मूल भाषाको भन्दा फरक वा अल्पसङ्ख्यामा बोलिने भाषाको पत्रकारिता पनि भाषिक पत्रकारिता हो । कुनै पनि भाषालाई स्तरीय बनाउने उद्देश्यको पत्रकारिता भाषिक पत्रकारिता हो भने भाषा सिकाउने उद्देश्यले गरिने पत्रकारिता पनि भाषिक पत्रकारिता नै हो । हो, कुनै पनि समयमा भाषाको स्तरीय रूप साहित्यिक रूपलाई नै मानिन्छ । यस अर्थमा साहित्यिक पत्रकारिता भन्नु भाषिक पत्रकारिता पनि हो ।

साहित्यिक पत्रकारितामा साहित्य क्षेत्रका सबै कुरा आउँछन् । भाषा र साहित्यसित सम्बन्धित समाचार पनि यस पत्रकारिताको अङ्ग नै हो । साथै लोकजीवनमा प्रचलनमा रहेका अभिव्यक्तिलाई पनि साहित्यिक पत्रकारिताले विशिष्टतापूर्वक अङ्गीकार गर्दछ । लोकसाहित्य र लोकवार्तालाई साहित्यिक पत्रकारिताको अङ्गको रूपमा सर्वत्र स्वीकार गरिएको छ । जसरी सामान्य पत्रकारिताले ओझेलमा परेका पक्षलाई, अन्यायमा परेका पक्षलाई र जहाँ आवश्यकता हुन्छ, त्यहाँ पुगेर प्रकाश पारेको हुन्छ । जसरी सामान्य पत्रकारितालाई आवाजविहीनको आवाज भन्ने गरिन्छ, त्यसैगरी साहित्यिक पत्रकारिताले पनि लोप हुन लागेको लोकजीवनका सम्पूर्ण अङ्ग तथा पक्ष र लोकजीवनका अभिव्यक्तिका सम्पूर्ण भाषिक तथा कलात्मक प्रवाहलाई प्रस्तुत गर्दछ । परम्परागत लोककला, लोकसाहित्य र लोकसङ्गीतलाई साहित्यिक पत्रकारिताले प्रकाशित गरिरहेको हुन्छ । यसैले परम्परादेखि एउटा भनाइ प्रचलनमा रहेको छ– जहाँ न पुगे रवि, उहाँ पुगे कवि । भावार्थ जहाँ सामान्य पत्रकारिताको नजर पुग्न सक्दैन, त्यहाँ साहित्यिक पत्रकारिताको नजर पुगेको हुन्छ ।

आजभोलि सामान्य पत्रकारितालाई व्यावसायिक पत्रकारिता पनि भनिन्छ र प्राज्ञिक पत्रकारितालाई सेवामूलक पत्रकारिता मानिन्छ । यद्यपि साहित्यिक पत्रकारिता पनि व्यावसायिक पत्रकारिता हुन सक्छ । साहित्यिक पत्रिकाको पनि मूल्य हुन्छ । यसमा पनि विज्ञापन हुन्छ । बिक्री र वितरण हुन्छ । बजारीकरण हुन्छ । यति हुँदाहुँदै पनि दैनिक खुराक चाहिने जस्तो पत्रकारिता नहुने र सामान्यतया आजको भोलि नै विषयवस्तु पुरानो नहुने भएकोले साहित्यिक पत्रकारिताको बजारीकरण वा यसको विषयको महŒवको बोधीकरण सर्वसाधारणको पहुँचभन्दा माथि हुन्छ । यद्यपि सरोकार नहुने होइन ।

आमसञ्चारमा पनि साहित्यिक पत्रकारिता हुन्छ र हुनुपर्छ । भइरहेको देखिन्छ पनि धेरथोर । आमसञ्चारमा हुने साहित्यिक पत्रकारिता मूल प्रवाहको साहित्यिक पत्रकारिताजस्तो हुन सक्दैन वा भइरहेको पाइँदैन । साहित्यिक पत्रकारितालाई सहयोग गर्ने, साहित्यिक पत्रकारिताप्रति उत्साह वृद्धि गर्ने, साहित्यिक पत्रकारिताको सम्मानलाई वृद्धि गर्ने र साहित्यिक पत्रकारिताको प्रचारप्रसार गर्ने काममा आमसञ्चारको साहित्यिक पत्रकारिताले योगदान दिइरहेको हुन्छ । र आमसञ्चारको साहित्यिक पत्रकारिताको महŒव वास्तवमा प्राज्ञिक पत्रकारिताले नै बुझेको हुन्छ । आमपाठकले केवल उपयोग गरिरहेका हुन्छन् । अझ कतिपय सन्दर्भमा आमसञ्चारमा हुने साहित्यिक पत्रकारिता केवल मनोरञ्जनको रूपमा प्रयोग भएको पनि पाइन्छ । र कतिपय सञ्चारमाध्यममले साहित्यिक पत्रकारितालाई अलग्गै नमानेर सामान्य पत्रकारितासरह नै मानेको पनि पाइएको छ । वास्तवमा प्राज्ञिक पत्रकारिता मनोरञ्जनात्मक पत्रकारिता होइन, हुँदै होइन, र मनोरञ्जनात्मक पत्रकारिता पनि सामान्य पत्रकारिताकै पृथक उपविधा हो ।

आमनागरिकमा चेतनाको विस्तार भइरहेको छ । साक्षरता र शिक्षाको विस्तार भइरहेको छ । एकातिर साक्षर व्यक्तिको सङ्ख्या बढिरहेको छ भने अर्कोतिर उच्च शिक्षा प्राप्त गर्ने मानिसको सङ्ख्या पनि बढिरहेको छ । साथै देशमा शहरीकरण पनि बढेको छ । शहरमा हुने सुविधा गाउँमा विस्तार भइरहेको छ भने शहर आधुनिक सुविधासम्पन्न बन्दै गइरहेको छ । यही परिवेशमा पत्रकारिताको विस्तार भइरहेको छ । पत्रकारिता गर्ने मानिसको सङ्ख्या बढिरहेको, सबै किसिमका सञ्चारगृह तथा प्रकाशन–प्रसारण संस्थामा वृद्धि भइरहेको तथा सञ्चारप्रति जनसाधारणको रुचिमा पनि वृद्धि भइरहेको देखिएको छ । यसै सन्दर्भमा साक्षरको चेतना वृद्धि, भाषाको स्तरमा निरन्तर परिष्कार तथा उच्च शिक्षितलाई मानसिक खुराक प्रदान गर्ने साहित्यिक पत्रकारिता अझ औचित्यपूर्ण रहेको छ ।

दिनदिनै घटिरहेका घटनाको जानकारी दिने मूल प्रवाहको आमसञ्चारले राजनीतिक र यससित सम्बन्धित तात्कालिक परिवेशप्रति आफूलाई केन्द्रित गर्दछ । यसले गर्दा लोकसम्पत्तिहरूको संरक्षण र बौद्धिक चेतना वृद्धि तथा सर्वकालिक महŒवका मानवीय सम्पत्ति सुरक्षामा मूल प्रवाहको आमसञ्चारको ध्यान खासै जान सकेको पाइँदैन । अझ स्पष्ट पारेर भन्नुपर्दा लोप भइरहेका लोकसाहित्य र लोकसंस्कृतिको संरक्षण गर्न, तिनको महŒवबारे प्रकाश पार्न, तिनको अनुसन्धान गर्न साहित्यिक पत्रकारिता आवश्यक छ । लोकगीत, लोककथा, लोकगाथा, लोकनाट्य, लोकनृत्य, लोकवाद्य, लोकचलन, लोकरीति अर्थात् विभिन्न पारिवारिक, जातीय, सामाजिक, सांस्कृतिक उत्सवहरूमा प्रचलित लोकपरम्परालाई भावी सन्ततिका लागि पनि आवश्यक छ भन्ने कुराको बोध गराउन साहित्यिक पत्रकारिता आवश्यक छ ।

कुनै पनि देश कति समृद्ध छ भन्ने कुरालाई आर्थिक कोणबाट विश्लेषण गरिन्छ र जुन देश आर्थिक क्षेत्रमा जति धेरै प्रगति गर्दछ, त्यसले आफूलाई बौद्धिक क्षेत्रमा पनि श्रेष्ठ प्रमाणित गर्ने प्रयास गर्दछ । यही बौद्धिक खुराक नै साहित्य हो । अर्थात् बौद्धिकरूपमा श्रेष्ठ बनाउने खुराक दिने लोकपरम्परागत साहित्य र संस्कृतिका साथै आधुनिक साहित्य पनि समाजको समृद्धिको परिचायक बन्दछ । एकातिर समाजको परम्परागत उत्खनन र अर्कोतिर वर्तमानको जगमा बौद्धिक उच्चताको महल बनाउने काम साहित्यिक पत्रकारिताले नै गर्न सक्छ । जसरी सामान्य अवस्थामा कसैको भाषागत अभिव्यक्ति उसको बौद्धिक वा प्राज्ञिक मापक बन्दछ, त्यसरी नै समाजको सभ्यताको मापक कतिपय सन्दर्भमा साहित्यिक उन्नयन पनि हो । साहित्यिक उन्नयनको भौतिक प्रदर्शन नै साहित्यिक पत्रकारिता हो । यस अर्थमा वर्तमान परिवेशमा साहित्यिक पत्रकारिता औचित्यपूर्ण छ । साहित्यिक पत्रकारिताको महŒव दृश्यभन्दा अप्रत्यक्ष अझ बढी रहेको देखिन्छ । अहिले आधुनिकताले समाजलाई अगाडि धकेलिरहेको परिवेशमा एउटा भव्य भवनको अन्तर्यमा के कस्तो छडको प्रयोग भएको छ र बाह्य कला कस्तो छ ? यी दुई फरक सन्दर्भ हुन् । रङरोगन मात्र आकर्षक र कलात्मक भएर हुन्न, सामग्री पनि बलियो हुनुपर्छ, डिजाइन पनि उपयुक्त हुनुपर्छ, सबैमा आफ्नोपन झल्किनुपर्छ । मौलिक पनि हुनु आवश्यक हुन्छ । यसरी नै सामान्यरूपमा हेर्दा जीवन र समाजमा साहित्य बाह्य कला हुन सक्छ तर अन्तर्यमा गहिरिने हो भने उच्च बौद्धिक वा प्राज्ञिक मेरुदण्ड हो अर्थात् घरको जग हो र जगभित्र पनि छड हो । जग अड्याउने आधार हो । सबै तर्कको मूल तर्क हो बौद्धिकता ।

साहित्यिक पत्रकारितालाई कतिपयले अग्रपत्रकारिता पनि भन्ने गरेका छन् । साहित्यिक पत्रकारिताले जुन बाटो अपनाउँछ, त्यसलाई आमसञ्चारले निकै समयपछि पछ्याएको हुन्छ रे । यसले यो पनि सङ्केत गर्दछ कि समाजलाई दिशानिर्देश गर्ने कलामा साहित्यिक पत्रकारिताले अग्रणी भूमिका निर्वाह गरेको हुन्छ ।

सबै कोण र प्रतिकोणबाट वर्तमान परिवेशमा साहित्यिक पत्रकारिता महŒवपूर्ण छ । यसको विस्तार र विकासमा मुख्यतः बुद्धिजीवीहरूमा पनि उच्च बौद्धिक वर्ग संलग्न हुन्छन् र हुनुपर्छ पनि । आफैंमा औचित्यपूर्ण हुनुको पर्याय रहने साहित्यिक पत्रकारिता यथार्थमा शिक्षितहरूमा पनि शिक्षितहरूको पत्रकारिता हुने भएकोले सभ्य समाजलाई अझ सभ्य बनाउन यो पत्रकारिता औचित्यपूर्ण छ ।

मित्रनगर, गरुडा नगरपालिका–४, रौतहट
(लेखक नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अध्यक्ष हुन् ।)

www.eprateekdaily.com

No comments:

Post a Comment