Wednesday, October 30, 2024

गुल्मीको साहित्यिक पत्रकारिता र हाम्रो पुरुषार्थ - महेन्द्र थापा




लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये गुल्मी एउटा पहाडी जिल्ला हो । साविक लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये गुल्मी, अर्घाखाँची र पाल्पा ३ पहाडी जिल्ला हुन् । शिक्षा र साहित्यको विकासको दृष्टिले उक्त तीन जिल्लामध्ये गुल्मी पिछडीएको जिल्ला हो । पाल्पाको तानसेन पहिले देखि नै राजनीति, शिक्षा र व्यापारको उन्नत केन्द्र हो । अर्घाखाँची पनि शैक्षिक विकासको दृष्टिले गुल्मी भन्दा केही विकसित जिल्ला हो । अर्घाखाँची सन्धीखर्कको पाणिनी क्याम्पस गुल्मीको रेसुङ्गा क्याम्पस भन्दा कान्छो भए पनि राजनीतिक चेतना, शिक्षा र साहित्यको क्षेत्रमा अर्घाखाँची अग्रणी हो, पहिलेदेखि । खिदिमको हरिहर संस्कृत पाठशालाको अर्घाखाँचीलाई विकसित तुल्याउन ठूलो भुमिका छ । पणेना पनि परापूर्व कालको एउटा शैक्षिक केन्द्र हुनुपर्छ किनकी पाणिनी ऋषीले यहीँ साधना गरेर संस्कृत व्याकरणको रचना गरेको मानिन्छ । गुल्मीमा पहिले देखि रुरु (रिडी) क्षेत्रमा रुरु संस्कृत विद्यापिठ सञ्चालित भएपनि यो झाँगिन भने सकेन । रेसुङ्गामा गुरुकुल संस्कृत पाठशाला सञ्चालनको अभ्यास भए पनि सार्थकता मिलेन । रेसुङ्गामा संस्कृत गुरुकुल सञ्चालनमा योगी नरहरीनाथको विशेष भुमिका छ । यद्यपी सफलता भने मिलेन । गुल्मीमा निकै नाम चलेका पुराना शैक्षिक केन्द्र तम्घासको महेन्द्र माध्यमिक विद्यालय र धुर्कोटको हिमालय माध्यमिक विद्यालय २००७ सालको राजनीतिक परिवर्तनपछि खुलेका संस्था हुन । गुल्मीको रेसुङ्गा क्याम्पस २०३९ सालमा स्थापना भएको हो । यहाँ यो पृष्ठभूमि उल्लेख गर्नुको उद्देश्य गुल्मीको शैक्षिक र साहित्यीक इतिहास उति पुरानो छैन भन्नको लागि हो ।

गुल्मीका पुराना साहित्यकारहरूमा स्वर्गिय डा. टिकाराम पन्थीको नाम अग्र पङ्तिमा आउँछ । संस्कृतका धुरन्धर विद्वान हुनुहुन्थ्यो उहाँ । योगी नरहरीनाथ र उहाँवीच संस्कृतमा कुराकानी हुन्थ्यो भन्छन्, जान्ने सुन्नेहरूले । कविता, इतिहास तथा किम्बदन्ती एवं जनश्रुतिहरू सङ्कलन तथा लेखनमा उहाँको विशेष अभिरुची र योगदान देखिन्छ । केही जनश्रुतिहरू नामक उहाँको कृति लोकमा विशेष प्रसिद्ध छ । जसमा साविक लुम्बिनी अञ्चल क्षेत्रका पौराणीक तथा साँस्कृतिक स्थलहरूबारे जनश्रुतिहरू सङ्कलित तथा प्रकाशित छन् । उहाँका नेपाल, बुद्धस्मरणम्, साँस्कृतिक चिन्तन, अर्वाचिन रेसुङ्गा आदी कृतिहरू पनि प्रसिद्ध छन् । उहाँका धेरै कृतिहरू तम्घासको किरण पुस्तकालयले प्रकाशन र वितरण गरेको छ ।

यिनै डा. टिकाराम पन्थीका अनुयायी एवं बन्धु, प्राज्ञ शशि पन्थीले २०२५ सालमा तम्घासमा किरण पुस्ताकालय स्थापना गरेपछि गुल्मीमा साहित्यिक पत्रकारिताले गति लिएको हो । शशिले आफ्नो घरमा सङ्कलित निजी पुस्तकालयलाई शशिकिरण पुस्तकालयको रूप दिनुभएको थियो । पछि शशि नाम हटाएर किरण पुस्तकालय बनाइयो । तम्घासको केन्द्र जिल्ला प्रशासन कार्यालय एवं लाँकुरी मञ्च अगाडी स्थापित यो पुस्तकालयले सार्वजनिक पुस्तकालयको रूपमा गुल्मी जिल्ला एवं छिमेकी जिल्ला अर्घाखाँचीमा समेत ख्याती आर्जन गरेको छ । गुल्मी र अर्घाखाँचीको यो एउटा मात्र ठूलो सार्वजनिक पुस्तकालय हो । जसले गुल्मी र अर्घाखाँचीमा शैक्षिक र साहित्यीक जागरणमा ठूलो टेवा पु¥याएको छ । शशि योग नरहरीनाथले वि.सं. ४० को दशकमा रेसुङ्गामा स्थापना गरेको गुरुकुल सँस्कृत पाठशालाका कुल सचिव एवं रेसुङ्गा क्याम्पसका पूर्व क्याम्पस प्रमुख पनि हुनुहुन्छ । एक समय रूपन्देही जिल्लामा रहेर पत्रकारिता गर्नुभएका शशि गुल्मीमा पत्रकारिताको जग बसाउने पहिलो पत्रकार पनि हुनुहुन्छ । रूपन्देहीमा बसेर सिकेको पत्रकारितालाई उहाँले निरन्तरता दिनुभयो र २०२९ सालमा किरण पुस्तकालयको प्रकाशनको रूपमा हाम्रो पुरुषार्थ प्रकाशित गर्नुभयो । जसले २०७९ सालमा गौरवमय स्वर्ण वर्षगाँठ सफलतापूर्वक मनाएको छ । त्रैमासिक रूपमा प्रकाशित हुने यो साहित्यीक पत्रिकाले गत २०७९ माघ–चैत अङ्कलाई स्वर्ण वर्ष अङ्कको रूपमा प्रकाशित गरेको छ । ५० वर्षको लामो इतिहासमा यसका ९७ वटा अङ्क प्रकाशित भएका रहेछन् । केही महिनापछि यसको शतबार्षिकी अङ्क प्रकाशित गर्ने तयारी भई रहेको छ । गुल्मीको साहित्यीक पत्रकारिताको क्षेत्रमा यो पहिलो सुव्यवस्थित तरिकाले निरन्तर प्रकाशित पत्रिका हो । मेरो अध्ययन वा जानकारीमा लुम्बिनी प्रदेश क्षेत्र एवं काठमाण्डौं उपत्यका बाहिर साहित्यीक पत्रकारिताको क्षेत्रमा सुव्यवस्थित तरिकाले र निरन्तर प्रकाशित यो भन्दा दोस्रो पत्रिका छैन । अतः काठमाण्डौं उपत्यका बाहिरको साहित्यीक पत्रकारिताको जीवन्त इतिहास र गौरवलायक पत्रिका हो, हाम्रो पुरुषार्थ । यसको सम्पादकमा प्राज्ञ शशि पन्थी र सहसम्पादकमा प्राज्ञ दीन पन्थी हुनुहुन्छ । दुबैजना नेपाली विषयका रेसुङ्गा क्याम्पसका प्राध्यापक एवं नेपाली साहित्यका विज्ञ व्यक्तित्व हुनुहुन्छ । यसको सहायक सम्पादकमा भुवनप्रसाद अर्याल र सहयोगी मण्डलमा गोपाल पन्थी, राधा पन्थी, हिमकला राना र इश्वर विश्वकर्मा हुनुहुन्छ । प्राज्ञ दीन पन्थी कविता, कथा, निबन्ध, व्यङ्ग्य लेखनमा पोख्त मानिनुहुन्छ । नेपालको साहित्यीक क्षेत्रमा सुपरिचित नाम हो, दीन पन्थी ।

स्वर्ण अङ्कमा प्राध्यापक शिव गोपाल रिसालको अन्तर्वातालाई मुख्य प्राथमिकता दिइएको छ । रिसालले अन्तर्वातामा धार्मिक, नैतिक, चारित्रिक, आध्यात्मिक, साँकृतिक पुनर्जागरणको युग आवश्यक भएको कुरामा जोड दिनुभएको छ । अर्को अन्तर्वाता शशिधर पाण्डेको छ । पाण्डेले अहिलेका गीत र भाका दुबै ठाडा र छाडा छन् भन्दै साँस्कृतिक विचलनप्रति खरो टिप्पणी गर्नु भएको छ । कुल एक सय तीस पृष्ठको यो स्वर्ण वर्ष अङ्कमा सातजना व्यक्तित्वका लेख, निवन्ध, समिक्षा, टिप्पणी प्रकाशित छन् । पाँचजना व्यक्तित्वका कथा, लघुकथा, प्रकाशित छन् । अठार व्यक्तित्वका गीत, कविता, गजल, मुक्तक प्रकाशित छन् । एउटा हास्यव्यङ्ग्य र एउटा संस्मरण पनि प्रकाशित छन् । सम्पादकीय, भेटघाट, अनुभव–अनुभूति, पुस्तकालय परिचय, किरण पुस्तकालयको पाटो, नौलो सृष्टिः सानो दृष्टि, यताउताबाट, पाठक प्रतिक्रिया, किरण पुस्तकालयका विशिष्ट सदस्यहरूको परिचय र हाम्रो पुरुषार्थका आजिवन ग्राहकहरू शिर्षकका स्थायी स्तम्भहरू पनि प्रकाशित छन् । यसको मुल्य रु. १००।– राखिएको छ । साजसज्जा राम्रो छ । विज्ञापनको प्रयोग थोरै छ । विज्ञापनको कम प्रयोग वा गुल्मीमा विज्ञापनको श्रोत पनि कमै भएको अवस्थामा यसको निरन्तर प्रकाशन चानचुने काम होइन । सामान्य त्याग र समपर्णबाट यो काम फत्ते भएको छैन । आजिवन सदस्यहरू सङ्कलन वा स्वेच्छिक सहयोगबाट यो काम चलिरहेको छ । स्थायी श्रोतको अभाव छ । सरकारी सहयोग र प्रोत्साहनको पनि कमी छ ।

हाम्रो पुरुषार्थ गुल्मी जिल्लाको मात्र नभई नेपाल राष्ट्रकै साहित्यीक पत्रकारिताको एउटा जीवन्त संस्था हो । यसले नेपाली भाषा साहित्य र सँस्कृतिको संरक्षण र प्रबर्धनमा अतुलनीय योगदान गरेको छ भन्दा अतिशयोक्ति हुने छैन । गुल्मी जस्तो पिछडीएको ठाउँमा रहेर निरन्तर साहित्यको सेवामा तल्लीन हाम्रो पुरुषार्थका सम्पादकद्वय शशी र दीन पन्थी श्रद्धा र प्रेरणाका सुपात्र हुनुहुन्छ । हाम्रो पुरुषार्थ र किरण पुस्तकालय गुल्मी एवं नेपाल राष्ट्रकै शैक्षिक र सभ्यताको विकासमा ठूलो टेवा पु¥याएका संस्था हुन । अतः यि दुबै संस्था अभिनन्दनीय छन् । यि दुबै संस्थाले आगामी दिनमापनि यसैगरी निरन्तरता पाउनुपर्छ । त्यसको लागि शशी र दीन पन्थीले उत्तराधिकारी उत्पादन गर्न जरुरी छ । यि दुबै संस्थाको संरक्षण र थप प्रबद्र्धन एवं पन्थी द्वयको योगदानको कदर गर्न सरकारको तत्काल ध्यानाकर्षण होस् ।

000

No comments:

Post a Comment