आनन्ददेव भट्ट मेरा आदरणीय साहित्यिक गुरु । प्रगतिशील चेत् साहित्यमा भर्न सिपालु यिनी शिक्षण सेवा र साहित्यिक सिर्जनामा जीवन समर्पण गर्दै आएका स्रष्टा हुन् । २०४४ सालमा प्रकाशित ‘आलोचना र परिचय’ मेरो पुस्तकमा यिनले भूमिकामा लेखेका छन्– “यस पुस्तकका कैयन् पाठकलाई थाहा हुनेछ श्री मोहन दुवाल त श्री ‘शरद बनेपा’ नामक आलोचक हुनुहुँदो रहेछ । जसलाई हामीले २०३० उप्रान्त देखि समय–समयमा पढ्दै आएका थियौँ । अनि कति नौला पाठकलाई यो पनि थाहा हुनेछ : २०३० को दशकमा नै नेपाली साहित्यको इतिहासमा ठाउँ–ठाउँमा बरोबर चर्चामा आई आफ्नो एउटा निश्चित ठाउँ बनाइसकेका साहित्यकारहरूका सम्बन्धमा श्री मोहन दुवालले यति खरो खरी किसिमले आफ्ना समीक्षात्मक मन्तव्य दिइसक्नु भएको रहेछ । हुन पनि साथै यस्ता टिप्पणी, मन्तव्य, समीक्षा, अनुशीलन र आलोचनाले त्यति बेलाको लेखनलाई कतिको प्रभाव पार्यो होला ।”
मलाई यी स्रष्टाहरूसँग ‘उत्साह’ मा बसेर सिर्जनात्मक यात्रामा लाग्न पाउँदा निकै उत्साह थपिएको हो । पाँच जना हामी सम्पादकहरू विविध विधा हेर्ने र सम्पादन गर्ने कार्यमा जुटेका थियौँ । म निबन्ध विधा हेर्ने सम्पादकमा दरिएको मलाई याद छ । २०४२ माघदेखि २०४३ पुससम्म जम्मा १२ अङ्कमा सम्पादक भई साहित्यिक सेवामा लागेको विगत इतिहास मेरा लागि गौरवपूर्ण क्षणहरू हुन् । १ वर्षको सम्पादन कार्यमा ‘उत्साह’ मा छापिएका निबन्धकार र निबन्धमा म्याक्सीम गोर्कीद्वारा लिखित ‘विषयवस्तु’बारेको निबन्ध, इन्द्रप्रसाद रेग्मीको ‘राष्ट्रिय गीतकार बन्ने धुनमा’, मोदनाथ प्रश्रितको ‘विर्ताका रैतीहरू’, लमजुङ अधिकारीको ‘महँगो पुस्तक’, मोहन दुवालको ‘ठुलाबडा भनाउँदाहरूले र म’ छापिएका छन् । यसै गरी अजात शर्माको ‘इज्जत’, रविलाल अधिकारीको ‘प्रतिभा सम्मान’, घनश्याम पौडेलको ‘पोइल जाने बानी’, पोषराज पौडेलको ‘पहिरो र कुहिनो’, ‘शूर वीर पौड्यालको ‘गुरु गणेशजी’, जनकप्रसाद हुमागाईँको ‘समय र जीवन’, रवि किरण निर्जीवको ‘गफसफ’ निबन्धहरू छापिएका छन् । २०४३ पुसको अङ्कमा वर्षभरिका निबन्धहरु बारे कृष्णचन्द्र सिंह प्रधानका ‘उत्साह’ का निबन्ध एक प्रतिक्रिया, शक्ति लम्सालको लेख–निबन्ध सम्बन्धी टिप्पणी र मूल्याङ्कन परिवारको ‘उत्साह: एक सङ्क्षिप्त अध्ययन’ प्रकाशित भएको देखिन्छ ।
१ वर्ष उत्साहको सम्पादक भई प्रगतिशील साहित्यिक यात्रा पथमा लाग्दा–लाग्दै मेरी माता खिलकुमारी दुवालको दुर्दान्तमय घटनाबाट दिवंगत हुँदा ‘उत्साह’ ले २०४३ पुसमा यस खालको समवेदना छापेर मलाई ढाडस दिएको प्रसङ्ग स्मृतिका लागि यहाँ जानकारी दिन खोजेँ । “काभ्रे जिल्लाको बनेपा सहर निवासी श्री मोहन दुवाल प्रगतिवादी साहित्य सेवीहरुका माझमा सुपरिचित हुनुहुन्छ । शिक्षा र समाजसेवाको क्षेत्रमा पनि उहाँलाई जिल्लावासीहरू राम्ररी चिन्दछन् । गत पौष २९ गते २०४३ बिहान ३ बजे उहाँकी आमा श्रीमती खिलकुमारी दुवालको निधन भएको समाचारले उहाँलाई चिन्ने, जान्ने सबै जनता साथै यस ‘उत्साह परिवार’ लाई पनि निकै दुःखी तुल्याएको छ । उहाँले २०४२ मार्ग १५ उप्रान्त साझा सहमतिको आधारमा खडा भएको ‘उत्साह’ को सम्पादक–मण्डल (२०४२–२०४३) मा बसी गर्नुभएको योगदानको सम्झना गर्नु यस अवसरमा विशेष महत्त्व राख्ने कुरा हो । उहाँलाई परेको यस गहिरो शोकका बेलामा ‘उत्साह परिवार’ उहाँप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै आउँदा दिनमा पुनः यस्तै उत्साह र जाँगर लिई देश र जनताको सेवामा समर्पित हुन सक्नुहोस् भनी समवेदना व्यक्त गर्दछ – उत्साह परिवार । ”
मप्रति पोखेका समवेदनाका उद्गार र उत्साहमा गाँसिएका सृजना, श्रमका कथाहरू म सधैँ सम्झिरहन्छु । उत्साहकै सम्पादन क्रममा यी विशिष्ट साहित्यकारहरूसँग बनेपा स्थित मेरो घरमा खाना सँगसँगै खाएको ती क्षणहरू पनि सम्झनामा आइरहन्छ । उत्साहमा संलग्न चार जना आदरयोग्य साहित्यकारहरू आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला, पारिजात र रमेश विकलका साथै अन्य साहित्यिक मित्रहरू इस्माली, शार्दूल भट्टराई र देविका तिमल्सिनासँग उत्साहमा रहेर जुन साहित्यिक माया–प्रेम साट्न पाएँ, ती सुन्दर क्षणहरू मेरा जीवनका लागि अविस्मरणीय रहेका छन् ।
000
https://janamatsahitya.com बाट साभार

No comments:
Post a Comment