१. आरम्भ
मगर भाषामा साहित्यिक पत्रपत्रिका प्रकाशनको परम्परा खासै उत्साहजनक देखिँदैन । एकाध निस्किएका पत्रिकाहरू पनि नियमित हुनसकेका छैनन् । यसकारण मगर भाषामा कलम चलाउने नवोदित प्रतिभाहरूको प्रोत्साहन र संरक्षणको काम गतिलो गरी हुनसकेको छैन भने स्थापित प्रतिभाहरूले पनि आफ्नो सिर्जनाहरूलाई नियमित रूपमा पाठकसमक्ष पुर्याउने अवसर पाइरहेका छैनन् । खासगरी नेपाल मगर सङ्घ, केन्द्र मातहतका विभिन्न जिल्ला समिति र अन्य मगर समुदायसँग सम्बन्धित सङ्घसंस्थाहरूको स्मारिका वा मुखपत्रमा दिइने सीमित स्थानहरूमा मगर स्रष्टाहरूले चित्त बुझाउनुपर्ने विवशता अद्यापि कायम रहेको छ । अझ निस्कने मुखपत्रहरू निकै कम रहेका छन् र ती पनि नियमित छैनन् । यस्तो प्रतिकूल स्थितिमा समेत केही जमर्का भने नभएका चाहिँ होइनन् । यस आलेखमा मगर भाषाका सिर्जनालाई प्रोत्साहन गर्ने गरेका केही साहित्यिक तथा गैरसाहित्यिक पत्रिकाका बारेमा सामान्य चर्चा गरिएको छ ।
२. मगर समुदायले गरेका प्रकाशन: एक सर्वेक्षण
नेपाल लाङ्घाली परिवार तनहुले प्रकाशित गरेको तथा शिवलाल थापा गुरुछान मगरले सम्पादन गरेको मगर भाषाको पहिलो पत्रिका सेचो लामाङ ह्वाई (राम्रो बाटोमा हिँडौ, २०४०) हो । त्यसपछि मगर भाषामा रिनाक पनि प्रकाशित भएको देखिन्छ । त्यसो त नेपाली भाषामा मगर भाषा, इतिहास र संस्कृतिसम्बन्धी सामग्रीहरू समेटेर अन्य पत्रिकाहरू पनि प्रकाशित भएका छन् । नेपाल मगर सङ्घको मुखपत्र लाङ्घाली (२०२८), २०४८ सालपछि काठमाण्डौंबाट लाफा त्रैमासिक, नेपाल मगर विद्यार्थी सङ्घ, त्रि.वि.
इकाई कीर्तिपुरको मुखपत्र रोस, नेपाल मगर विद्यार्थी सङ्घ, बुटवल बहुमुखी क्याम्पस तथा लुम्बिनी क्याम्पस, इकाईको संयुक्त प्रकाशन गोराक बार्षिक, नेपाल मगर विद्यार्थी सङ्घ, संयुक्त क्याम्पस इकाई समिति, कास्की, पोखराको बार्षिक मुखपत्र मगर, मगर लाफा सङ्घ, केन्द्रीय समिति, खरसाङ, भारतको अनुसन्धानात्मक मुखपत्र मगर जुङ (सन् १९८४) जस्ता पत्रिका प्रकाशित छन् । यसैगरी भैरहवाबाट ग्याँवट र बुटवलबाट मगराती नामक पत्रिका पनि प्रकाशित भएको छ । यी सबैजसो पत्रिकाहरू गैरसाहित्यिक प्रकृतिका भए तापनि तिनमा मगर साहित्यका केही रचनाहरूले स्थान पाउने गरेको तथा तिनले मगर साहित्यको संरक्षणमा केही न केही योगदान गरेको तथ्यलाई बिर्सन सकिदैन ।
अठार मगरात क्षेत्रबाट पनि विभिन्न पत्रपत्रिकाहरू प्रकाशित गरिएका छन् । बमकुमारी बुढा मगरको सम्पादन र प्रकाशनमा काठमाडौँबाट २०५५ सालदेखि लामो समयसम्म प्रकाशित कोञ्जा–मारुम त्रैमासिक पत्रिकाले गरेको योगदान महत्वपूर्ण देखिन्छ । हाल बन्दप्रायः अवस्थामा रहेको भए पनि यसले मगर भाषाका कविता, गीत, व्याकरणजस्ता विविध सामग्री प्रकाशित गरेर मूलतः राप्ती क्षेत्रको खाम/पाङ भाषाको संरक्षण र विकासमा राम्रो टेवा दिएको छ । यसैगरी दाङबाट २०५१ सालमा टीकाराम बुढा मगर (उदासी) को प्रधान सम्पादकत्वमा प्रकाशित भएको मगर आवाज नामक पत्रिकामा पनि दाङ र रोल्पाका केही मगर प्रतिभाका खाम भाषाका गीतकविताहरू प्रकाशित भएका छन् । यो पत्रिकाको प्रकाशन नेपाल मगर सङ्घ, जिल्ला समिति दाङअन्तर्गत्को प्रारम्भिक इकाई समिति लक्ष्मीपर, सौडियार र धर्नाले गरेको हो । यसको सम्पादन, प्रकाशन र व्यवस्थापनमा चन्द्रबहादुर पुन मगर, विजय बुढा मगर, चूर्णबहादुर पुन मगर, हेमकर्ण रोका मगर आदि धेरैले योगदान गरेका छन् । यो पत्रिकाको दोस्रो अङ्क भने निस्कन सकेन । यस्तै दाङबाट प्रकाशित मिर्मिरे पत्रिका राप्तीको मगर समुदायमा कुनै बेला निकै लोकप्रिय रहेको देखिन्छ । नेपाल मगर विद्यार्थी सङ्घ, महेन्द्र बहुमुखी क्याम्पस इकाईले २०५४ सालदेखि प्रकाशन गरेको मिर्मिरे बार्षिक पत्रिकामा पनि मगर विद्यार्थीहरूका मगर भाषाका रचनाहरू प्रकाशित छन् । यो पत्रिका लामो समयसम्म चलेको भए तापनि हाल नियमित हुनसकेको पाइँदैन ।
आदिवासी मञ्च त्रैमासिक दाङबाट प्रकाशित अर्र्कोे महत्वपूर्ण पत्रिका हो । जनजातिसम्बन्धी विविध वैचारिक विषय र सन्दर्भमा केन्द्रित खोजमूलक सामग्रीहरूका कारण यस क्षेत्रमा निकै लोकप्रिय यस पत्रिकामा मगर भाषाका सामग्री पनि प्रकाशित छन् । पछिल्लो समयमा टीकाराम बुढा मगर (उदासी) सम्पादक÷प्रकाशक रहेर जिल्ला प्रशासन कार्यालय, दाङमा दर्ता भएको भए पनि यसको संस्थापक प्रकाशन, व्यवस्थापन र सम्पादनमा उदय जीएम, नवीन विभास, नोबल जीएम, मानबहादुर बुढा मगरजस्ता व्यक्तित्वहरूको निकै अविष्मरणीय योगदान रहेको छ । २०५४÷०५५ सालदेखि प्रारम्भ भएर सात अङ्कसम्म नियमित प्रकाशित भएको यो पत्रिका पनि हाल बन्द छ । यसमा पनि मगर भाषासाहित्यका विविध सामग्रीहरू प्रकाशित भएका छन् । यस्तै साठीकै दशकको आरम्भमा नेपाल मगर विद्यार्थी सङ्घ, रोल्पाले मगर भाषाको वार्षिक पत्रिका साङ (उज्यालो) प्रकाशित गरेको थियो तर पछिल्लो समयमा यसले पनि निरन्तरता पाउन भने सकेन । यसैगरी एच.बी. थापा (खाम) मगरले चार हजार पर्वत नामको खाम भाषाको त्रैमासिक पत्रिका काठमाडौँबाट प्रकाशित गरेका थिए । तर त्यसले पनि नियमितता पाउन सकेन । उनले नै अन्य साथीहरूको सहयोगमा दाङबाट सोरो त्रैमासिक पनि प्रकाशित गरेका थिए । केही अङ्क निस्केर यो पनि बन्द भयो । उनकै सम्पादनमा दाङबाट समाचारमूलक पत्रिका मँगोल साप्ताहिक प्रकाशित भयो । यसमा पनि मगर भाषाका रचना प्रकाशित छन् । तर यसले पनि तीन अङ्क नाघ्न सकेन । दाङबाट हाम्रो आवाज साप्ताहिक पनि उनकै सम्पादनमा प्रकाशित भयो तर हाल यी सबै पत्रिकाहरू बन्द भएका देखिन्छन् । यसरी नियमित हुन नसकेका भए पनि थापाले धेरै पत्रिकाहरू निकालेका छन् । ती पत्रिकाहरूमा थोरै भए पनि उनले मगर भाषाका रचनालाई स्थान दिएका छन् ।
यस अवधिमा मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल राप्तीक्षेत्रले २०६३ सालमा प्रकाशित गरेको कहला साहित्यिक पत्रिकामा पनि मगर भाषाका केही रचना प्रकाशित भएका छन् । यसमा मगर खाम भाषामा समर रोका मगर, कैलाश्री पुन मगर, आकाश घर्ती मगरका कवितादेखि महेश बुढा मगरका कथा रहेका छन् । यस क्रममा प्युठानका साहित्यकार भावेश भूमरी (जुद्धबहादुर पुन मगर) को प्रधान सम्पादकत्व र नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको प्रकाशकत्वमा काठमाडौँबाट निस्केको यानीमाया नामक पत्रिकालाई पनि बिर्सन सकिदैन । त्यसैगरी विभिन्न समयमा काठमाडौँबाट कानुङ लाम, काठमाडौँबाटै जनजाति मञ्च, काठमाडौँबाटै इम् र कइरन, बुटवलबाट समाचारमूलक साप्ताहिक पत्रिका बुद्ध सन्देश, तनहुबाट सोनी (२०४९) तथा काठमाडौँबाट सेरोफेरो (२०३३) प्रकाशित भएका देखिन्छन् । यी सबैजसो पत्रपत्रिकाहरूमा नेपाली भाषाका सामग्रीका साथसाथै मगर भाषाका केही रचनाहरू पनि प्रकाशित भएका छन् । खासगरी काठमाडौंँबाट प्रदीप थापा मगरको सम्पादन र प्रकाशनमा चालिसको दशक अन्त्यदेखि केही वर्ष प्रकाशित भएर हाल बन्द रहेको लाफा मासिक पत्रिकामा मगर इतिहास, भाषा, संस्कृति र साहित्यसँग सम्बन्धित विविध महत्वपूर्ण सामग्रीहरू प्रकाशित भएका छन् । लाफामा मगर समुदायसँग सम्बन्धित विभिन्न खोजमूलक लेखरचना पनि प्रकाशित भएका छन् । तर, यी सबै गैरसाहित्यिक पत्रिका, समाचारपत्र र सामयिक सङ्कलन भएकाले तिनले मगर भाषामा यथोचित साहित्यिक योगदान भने गर्न नसक्नुलाई स्वाभाविकै मान्न सकिन्छ ।
नेपाली भाषामा प्रकाशित हुनेगरेका अन्य साहित्यिक पत्रिकाहरूले पनि मगर साहित्यको संरक्षणमा योगदान गरेका छन् । यस क्रममा राप्तीको प्रतिनिधि साहित्यिक पत्रिका अन्तध्र्वनिको नाम पनि विशेष रहेको छ । राप्ती साहित्य परिषद्ले नियमित रूपमा प्रकाशित गर्ने गरेको अन्तध्र्वनि त्रैमासिक साहित्यिक पत्रिकाले २०६६ साल साउन—असोज अङ्कलाई राप्तीका भाषाविशेषाङ्कका रूपमा सार्वजनिक गरेको छ । यसमा थारु भाषापछि मगर भाषाकै सामग्रीहरू बढी रहेका छन् । कार्यकारी सम्पादक टिकाराम उदासी रहेको प्रस्तुत अङ्कमा बमकुमारी बुढा मगर, टीकाराम उदासी, तिलबहादुर घर्ती मगर, प्रेमप्रकाश मायालु जीएमका लेखनिबन्ध रहेका छन् ।
यसैगरी लोकेश पुन मगरको एउटा एकाङ्की पनि यसमा प्रकाशित छ । साथै खोरलोम खाम, सुबिन्द्र रोका मगर, अमृत बुढा मगर, समीर प्रकाश घर्ती, विकास जीएम, बेगम रोका मगर, सपना रोकाका कविताहरू रहेका छन् भने आकाश बीएम, शर्मिला आर.एम., प्रतापसिंह घर्ती र चाहना बीएमका गजलहरू पनि प्रकाशित छन् । यसैगरी यस पत्रिकामा जुरमान आर.एम र सङ्गीता रोकाका मुक्तकहरू पनि यसभित्र समाविष्ट रहेका छन् ।
यसरी मगर भाषासाहित्यको संरक्षण तथा उत्थानमा साहित्यिक र गैरसाहित्यिक सबै पत्रिकाहरूले योगदान गरेका छन् । तीमध्ये यहाँ मगर भाषाका प्रतिनिधिमूलक केही साहित्यिक पत्रिकाहरूका बारेमा चिनारी गराइएको छ ।
३. मगर भाषाका साहित्यिक पत्रिका
मगर भाषामा साहित्यिक पत्रिका निकै सीमित निस्केका छन् । ती पनि नियमित छैनन् ।
(क) मगर साहित्यिक पत्रिका बीम्लीक
पोखराबाट लोकबहादुर थापा मगरको सम्पादनमा २०५२ सालदेखि प्रकाशित भएको बीम्लीक तत्कालीन मगर भाषासाहित्यको प्रतिनिधि साहित्यिक पत्रिका हो । यो पत्रिका छ अङ्कसम्म प्रकाशित भई बन्द हुन पुगेकोमा पुनः प्रकाशन भई हाल फेरि बन्द हुनपुगेको जानकारी प्राप्त छ । त्रैमासिक रूपमा प्रकाशित प्रस्तुत पत्रिका सर्वप्रथम २०५२ वैशाखमा वर्ष १, अङ्क १ का रूपमा प्रकाशित भएको थियो भने २०५६ साउन—असोज अङ्क निस्केर बन्द हुनपुगेको देखिन्छ । यो पत्रिकाको प्रकाशन आफैमा मगर भाषा र साहित्यको उत्थानमा समर्पित गतिलो ऐतिहासिक अभियान थियो । यसले मगर भाषासाहित्यको उत्थानमा ऐतिहासिक योगदान गरेको देखिन्छ । यसमा विभिन्न मगर प्रतिभाका कविता, कथा, गीत, निबन्ध, एकाङ्की आदि रचनाहरू प्रकाशित भएका देखिन्छन् । तिनले मगर प्रतिभाहरूको प्रष्फुटन, प्रोत्साहन र मगर भाषासाहित्यको संरक्षणमा महत्त्वपूर्ण टेवा दिएका छन् । तर प्रकाशित हुने स्थानको भौगोलिक स्थिति र सूचनाप्रविधिको तत्कालीन सीमाका कारण पनि यस पत्रिकाले मगर ढुट भाषाका सामग्रीहरूलाई मात्रै स्थान दिएको देखिन्छ । अठार मगरात क्षेत्रका मगर खाम÷पाङ भाषी तथा काइके भाषी स्रष्टाहरूको प्रकाशन पहुँच भने यस पत्रिकासम्म पुगेको पाइँदैन । जेहोस् यस पत्रिकाले मगर ढुट भाषासाहित्यको क्षेत्रमा नयाँ जागृति सिर्जना गर्नुका साथै अनेकौँ सिर्जनशील प्रतिभाहरूलाई प्रकाशनको अवसर प्रदान गरेको कुरामा कुनै सन्देह छैन ।
ख) मगर साहित्यिक पत्रिका सिङ्ङार
सिङ्ङार अठार मगरात भाषा खाम÷पाङको साहित्यिक पत्रिका हो । २०७५ सालदेखि रोल्पाबाट प्रकाशित यस पत्रिकाले मगर भाषासाहित्यको क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान गरेको देखिन्छ । बोमबहादुर घर्ती मगर (व्योमजी अवतार) प्रकाशक र कार्यकारी सम्पादक रहेको यस पत्रिकाको सम्पादक मूलमान पुन मगर रहेका छन् । त्रैमासिक रूपमा प्रकाशित यस पत्रिकामा मगर भाषामा लेखिएका विभिन्न विधाका सामग्रीहरू प्रकाशित भएको पाइन्छ । खासगरी यसभित्र मगर भाषा खाम÷पाङका कविता, कथा, मुक्तक, हाइकु, गजल, लेख÷निबन्ध, कथा, समालोचना, लोकसाहित्य जस्ता सामग्री रहेका देखिन्छन् । यसले धेरै युवा प्रतिभाहरूलाई मगर भाषासाहित्यमा कलम चलाउन प्रोत्साहन गरिरहेको छ भने अग्रज स्रष्टाहरूलाई त्यसतर्फ लाग्न प्रेरित गरिरहेको छ । हालसम्म यसका केही अङ्कहरू सार्वजनिक भएका छन् । यसले आफूलाई मगर साहित्यको स्तरीय पत्रिकाका रूपमा स्थापित गर्न सफल भएको छ । तर दुःखको कुरा, यसले आफूलाई नियमित बनाउन भने सकिरहेको देखिदैन ।
ग) मगर साहित्यिक पत्रिका चाउ यम
चाउ यम मगर भाषाको साहित्यिक पत्रिका हो । नेपाल मगर लेखक सङ्घ, रोल्पा शाखाले २०६९ सालदेखि प्रकाशित गरेको यस वार्षिक पत्रिकाको सम्पादक जीवन रोका मगर र बोमबहादुर घर्ती मगर रहेका छन् । यसैगरी यसको कार्यकारी सम्पादकमा स्मृति रोका मगर रहेका छन् । यसमा पनि मगर खाम÷पाङका कथा, कविता, निबन्ध, समालोचना, मुक्तक, हाइकु, गजल तथा लोकसाहित्यिक सामग्रीहरू प्रकाशित भइरहेका छन् । हालसम्म यसका छओटा अङ्कहरू पाठकसमक्ष आइसकेका छन् । यसले आफूलाई मगर खाम भाषासाहित्यको स्तरीय पत्रिकाका रूपमा परिचित बनाइसकेको छ । यसभित्र मगर खाम÷पाङका रचनाहरूले प्राथमिकता पाएका छन् । जेहोस् मगर साहित्यको विकासमा यस पत्रिकाले महत्त्वपूर्ण योगदान दिइरहेको छ । खासगरी मगर भाषाका नवोदित प्रतिभाहरूलाई प्रोत्साहन गर्ने सन्दर्भमा यसको भूमिका प्रशंसनीय रहेको छ ।
घ) मगर साहित्यिक पत्रिका मिक
नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौँले केही समयदेखि मगर भाषाको साहित्यिक पत्रिका मिक प्रकाशित गरिरहेको छ । पत्रिकाको सम्पादक मण्डलमा डा. विष्णुकुमार सिङ्जाली, जीवनप्रवेश रोकामगर, मनकुमारी ठाडामगर, हेमा आलेमगर र जगबहादुर बुढामगर रहेका छन् । हाल नियमित प्रकाशित भइरहेको पत्रिकामा मगर खाम, मगर ढुट र मगर काइके भाषाका खोजमूलक आलेख, समीक्षा, समालोचना, कविता, कथा, निबन्ध, नाटक, गीत, मुक्तक, गजल आदि विविध विधाका सामग्रीहरु प्रकाशति भइरहेका छन् । यो पत्रिका नियमित हुन सकेमा मात्र मगर भाषासाहित्यको संरक्षण र विकासमा धेरै ठुलो योगदान पुग्ने देखिन्छ ।
४. निष्कर्ष
मगर साहित्यमा विशुद्ध साहित्यिक पत्रिकाहरूको धेरै अभाव रहेको छ । मगर समुदायले प्रकाशित गरेका गैरसाहित्यिक पत्रिकाहरूले दिने सीमित स्थानमा मगर भाषाका साहित्यिक रचनाहरू प्रकाशित हुनु विडम्बना जस्तै बनेको छ । यस सन्दर्भमा पोखराबाट प्रकाशित बीम्लीक तथा रोल्पाबाट प्रकाशित सिङ्ङार र चाउ यम जस्ता मगर भाषाका साहित्यिक पत्रपत्रिकाले खेलेको भूमिका भने अविष्मरणीय रहेको छ । तर यी पत्रिकाहरू समेत नियमित प्रकाशित हुनसकेका छैनन् । यसरी समग्रमा आज मगर भाषासाहित्यको सिर्जनात्मक गतिविधि र प्रकाशन यात्रा दुवै प्रगतितर्फ उन्मुख भइरहेको देखिन्छ । तर, मगर भाषासाहित्यको वहुआयामिक विकास र उत्थानका लागि भने स्रष्टाहरूले आफ्नो सिर्जनात्मक प्रतिभा, अमूल्य पसिना र अथक साधना लगाउनुपर्ने उत्तिकै खाँचो देखिएको छ । यसका लागि मगर स्रष्टाहरुलाई प्रोत्साहन र संरक्षण गर्न नियमित साहित्यिक पत्रिकाहरुको प्रकाशनलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने भएको छ ।
000
युगबोध राष्ट्रिय दैनिकमा ( २०८१ साउन १२, शनिबार) प्रकाशित

No comments:
Post a Comment