Tuesday, February 25, 2025

रुञ्चे साहित्यिक पत्रकारिता - राजेश खनाल

 


एकातिर अखबार तथा अनलाइन पत्रिकाले साहित्यलाई प्रशस्त स्थान दिन थाले भने अर्कोतिर आवधिक साहित्यिक पत्रिका कमजोर बन्दै गए । त्यतिमात्र होइन, साहित्यिक पत्रिका साजसज्जा, स्तरीय रचना र लेखकलाई पारिश्रमिक दिने सवालका साथै बिक्री–वितरणमा पनि कमजोर बन्दै गए । बजारमा ती रुञ्चे देखिँदै गए । यही कारण नेपालका साहित्यिक पत्रिका ओरालो लाग्न थाले । तर साहित्यिक पत्रिकाले जसरी मुलुकमा नयाँनयाँ साहित्यकार जन्माउने र स्थापित गर्न काम गर्न सक्छ, त्यो काम अखबार वा अनलाइनले गर्न मुस्किल छ । साहित्यिक पत्रिकालाई सरकारले सहयोग गर्नुपर्छ भन्ने माग अधिकांश साहित्यिक पत्रकार तथा साहित्यकारको रहेको छ । 

नेपालमा पत्रकारिताको आरम्भ नै साहित्यिक पत्रिकाको प्रकाशनबाट सुरु भएको मानिन्छ । १९५५ सालमैै साहित्यिक पत्रिकाका रुपमा ‘सुधासागर’ छापिन सुरु भएको थियो । सुधासागर प्रकाशनको केही वर्षपछि मात्रै गोर्खापत्र सुरु भएको थियो । त्यसपछि १९९१ सालमा शारदा साहित्यिक मासिक पत्रिकाको प्रकाशन सुरु भयो, जसले तत्कालीन समयका लेखकहरूलाई साहित्यमा स्थापित गरायो ।

यसरी हेर्दा साहित्यिक पत्रिका प्रकाशन (सुधासागर)ले सवा सय वर्ष छुन लागिसकेको छ । शारदाको प्रकाशनलाई मात्रै गणना गर्ने हो भने पनि ८५ वर्ष भइसकेको छ । तर साहित्यिक पत्रिकाको यति लामो इतिहास भएर पनि नेपालमा यसको अवस्था कमजोर नै रहेको छ । 

यति लामो इतिहास बोकेको साहित्यिक पत्रकारिता फस्टाउन नसक्नुमा मुख्य कारण यो कामप्रति राज्यको हेपाहा दृष्टि जिम्मेवार रहेको साहित्यिक पत्रकारहरुको भनाइ छ । यसको पुष्टि शारदाकालीन सम्पादकीयहरुले पनि गरेको छ । 

शारदा साहित्यिक मासिक पत्रिकाले तत्कालीन अवस्थामा लेखेको सम्पादकीयहरुमा साहित्यिक पत्रिकाको विकासमा सरकारबाट कुनै पनि किसिमको सहयोग नपाएको गुनासो गरेको छ । यस्ता सम्पादकीय शारदाले मात्र होइन, अन्य अधिकांश साहित्यिक पत्रिकाले लेख्नुपर्ने बाध्यता छ, लेख्दै आएका पनि छन् । नेपाली साहित्यिक पत्रिकाको आधुनिककाल मानिने शारदाकालीन समयमा पनि पत्रिका चलाउन गाह्रो भएको एक साहित्यिक पत्रकार बताउँछन् । आज ८५ वर्षपछि साहित्यिक पत्रिकाको अवस्थामा कुनै सुधार नआउनु विडम्बना नै मान्नुपर्छ ।  

१९९१ सालमा जुन गुनासो गरिन्थ्यो, २०७७ सालमा पनि त्यही गुनासो जीवित छ । यसरी हेर्दा स्पष्ट रुपमा के भन्न सकिन्छ भने, नेपाली साहित्यिक पत्रिकाहरूलाई सरकारले हेर्ने दृष्टि सकारात्मक छैन । सरकारको नजरमा साहित्यिक पत्रिका प्रकाशन आवश्यक नै छैन ! सरकार शताब्दीअघि जसरी साहित्यिक पत्रिकालाई उपेक्षित भाव हेथ्र्यो, अहिले पनि अवस्था उस्तै छ । साहित्यिक पत्रकारलाई त पत्रकार मान्ने चलन नै छैन । मुलुकमा प्रजातन्त्रको उदयपछि प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताबाट प्रतिनिधित्व गराउन थालिए पनि अहिलेसम्म एकदुई पटक मात्रै उक्त संस्थामा साहित्यिक पत्रकार पुगेका छन् । 

कतिपय साहित्यकार उच्च सरकारी पदमा पुगेका छन्, कोही  मन्त्री पनि भएका छन् । साहित्यकार लोकेन्द्रबहादुर चन्द पटकपटक प्रधानमन्त्री नै भए । तर साहित्यिक पत्रिकाको उन्नयन र विकासमा केही हुन सकेन । 

नेपालमा विशेषगरी साहित्यिक पत्रिकाहरू व्यक्तिगत तवरबाटै प्रकाशित भइरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, गोरखापत्र संस्थानजस्ता एक–दुई सरकारी स्वामित्वका संस्थाहरुले साहित्यिक पत्रिका निकाले पनि पछिल्लो समय तिनको प्रभाव खासै देखिँदैन । सहकारी संस्था साझा प्रकाशनको मासिक साहित्यिक पत्रिका ‘गरिमा’ पनि अहिले गरिमाहीन भइसकेको छ । सङ्ख्यात्मकमात्र होइन स्तरीयताको हिसाबले पनि साहित्यिक पत्रिकाहरू निजी तवरबाट नै धेरै प्रकाशनमा आएको देखिन्छ । प्रविधिको विकासले तिनलाई पनि छोएको छ । तर ठूला सञ्चार गृहबाट प्रकाशित हुने साहित्य विशेषाङ्कमा देखिने साजसज्जा र प्रविधिको प्रयोग आवधिक साहित्यिक पत्रिकाले गर्न सकेका छैनन् ।   

एकजना साहित्यिक पत्रकारका अनुसार साहित्यिक पत्रिकाले सत्ता र सरकारको विरोध गर्न सक्दैनन् । तिनले कविता, कथा, निबन्ध, उपन्यास आदि मात्रै छाप्ने भएकोले सत्तामा बस्नेलाई हानि नोक्सानीको कुनै डर हुँदैन ! त्यसैले ‘जाबो कथा, कविता छाप्नेलाई किन सुविधा दिने ? हाम्रा लागि त दैनिक पत्रिका र साप्ताहिक पत्रिका पो डरलाग्दा हुन्छन्’ भन्ने सोचले नै सत्ता र सरकारले साहित्यिक पत्रिकालाई नजरअन्दाज गर्दै आएको छ । तर साहित्यिक पत्रिकाले जसरी मुलुकमा नयाँनयाँ साहित्यकार जन्माउने र स्थापित गर्न काम गर्न सक्छ, त्यसरी कुनै पनि अखबारले गर्न सक्दैन । यो तथ्य जबसम्म सरकारले बुझ्दैन तबसम्म साहित्यिक पत्रिकाको अवस्थामा सुधार आउन सक्दैन । अधिकांश साहित्यिक पत्रिकाहरु सरकारको मुख ताकेर बसिरहेका छन्, सरकारलाई हारगुहार गरिरहेका पनि छन् । थाहा छैन, यो रुवाइ कहिले सरकारले सुन्ने हो ।

शारदाले धेरै साहित्यकार जन्मायो र स्थापितसमेत गर्यो । त्यसपछि प्रकाशनमा आएका अन्य कतिपय साहित्यिक पत्रिकाले अनगिन्ती साहित्यकारहरुलाई स्पेस दिए । रुपरेखा, रचना, अभिव्यक्ति, बगर, तन्नेरी, मधुपर्क, समकालीन साहित्य, गरिमा, कविताजस्ता साहित्यिक पत्रिकाले मुलुकको साहित्य उत्थानमा पु¥याएको योगदान कुनै अखबारको भन्दा कम आँक्न नमिल्ने साहित्यिक पत्रकारहरुको भनाइ छ ।  

तर राज्यले तिनको कदर गर्न सकेको छैन वा गर्नै चाहँदैन । कतिपय साहित्यकाहरू नै भन्छन्, ‘अखबारमा साहित्य लेखेर साहित्यकार होइँदैन । साहित्यकार हुन साहित्यिक पत्रिकामा नै रचना छापिनु पर्छ । यसैको जरो मजबुत हुन्छ ।’ तर साहित्यिक पत्रिका कसरी नियमित चलाउने ? समयस्या यहीँनिर छ ।

पछिल्लो समय अखबार तथा अनलाइन पत्रिकाहरूले सप्ताहन्तमा पस्कने साहित्यिक सामग्रीले साहित्यिक पत्रकारितालाई नै सहयोग पु¥याएका छन् । तर साहित्यिक पत्रिका र पत्रकारिताको विकास यसबाट आवश्यक रुपमा हुन नसक्ने साहित्यिक पत्रकारहरु बताउँछन् ।

साहित्यिक पत्रकारिता र पत्रिकाको अवस्थालाई लिएर अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा, रुपरेखाका तत्कालीन सम्पादक नयनराज पाण्डे, समकालीन साहित्य, कविता र गरिमाका सम्पादक अविनाश श्रेष्ठ, शब्द संयोजनकी कार्यकारी सम्पादक सुमी लोहनी, रचनाका सम्पादक रोचक घिमिरे र मधुपर्कका सम्पादक जयदेव भट्टराईसँग कुराकानी यहाँ प्रस्तुत छ :      

नगेन्द्रराज शर्मा 
साहित्यिक पत्रकारिता ओइलाएको महसुस गर्दैछु म । यसलाई फस्टाएको मान्न सकिँदैन । यद्यपि, पछिल्लो समयमा अखबारी पत्रिकाले पनि साहित्यलाई स्थान दिँदै आएको छ । यसले साहित्यको विकासमा केही योगदान दिएको मान्न सकिन्छ । तर पनि समाचार पत्रिकाहरूमा साहित्य छापिनुलाई साहित्यिक पत्रकारिता मान्दिनँ म । यो त अखबारहरूले साहित्यको प्रचार मात्रै गरेका हुन् । तर पनि यो प्रशंसनीय कार्य भने हो ।

साहित्यिक पत्रिका एकदुई कारणले गर्दा फस्टाउन सकेको छैन । पहिलो, साहित्यिक पत्रिकाको बिक्री–वितरणको व्यवस्था गतिलो नहुनु । यसको सबैभन्दा अप्ठेरो पक्ष नै यही हो । एक पटक मैले साझा प्रकाशनबाट ‘अभिव्यक्ति’ देशभरि आफ्ना आउटलेटबाट बिक्री–वितरण गरिदिन आग्रह गर्दै पत्रिका साझामा पु¥याइदिएको थिएँ । तर तिनीहरुले त्यो पत्रिका गोदाममा नै राखिदिने रहेछन् । बाहिर नपठाउने रहेनछन् ! फेरि मैले कचकच गरेर पठाउन भनेँ । त्यसपछि तिनले पठाए । तर त्यो पत्रिका जहाँ पुग्यो त्यहीँको गोदाममा थन्कियो !

साहित्यिक पत्रिकाहरूलाई साझाले सहयोग गरेको भए आज मुलुकको कुनाकुनामा पुग्ने थियो । साझालाई पनि सहयोग नै पुग्थ्यो । तर यस्ता ठूला संस्थाले सहयोग गरेनन्, हामीले आफैं बेच्न पनि सकेनौं । त्यसैले साहित्यिक पत्रिका र पत्रकारिताको विकास हुन सकेन । नत्र भने साहित्यिक पत्रिका बिक्री नहुने होइन । हामीलाई बिक्रेताहरूले सहयोग गर्ने हो भने पाँच–सात हजार प्रति साहित्यिक पत्रिका देशभरि आरामले बेच्न सकिन्छ । 

साहित्यिक पत्रिका केही व्यक्तिको निजी रुचि र इच्छाका कारण प्रकाशन हुँदै आएको छ । अरु केही नगरे पनि सरकारले यस्ता पत्रिका किनेर देशभरिका पुस्तकालयहरूमा बाँड्ने व्यवस्था गरिदियो भने साहित्यिक पत्रिकालाई सहयोग पुग्नेछ ।

सेवाकै रुपमा साहित्यिक पत्रिका प्रकाशन हुँदै आए पनि लेखरचनाको अभाव छैन । लेखकलाई पारिश्रमिक दिन नसकेर लेख कम आउने गरेको छ म भन्दिनँ । अहिले पनि साहित्यिक पत्रिकामा लेख प्रकाशित गर्न चाहने धेरै साहित्यकार छन् । मैले मागेको रचनालाई पारिश्रमिक दिँदै आएको छु । 

अहिलेको नयाँ पुस्ताका लेखक धेरै ‘पोटेन्सियल’ छन् । लेखन शैली पनि राम्रो छ । लेखिएका कुरा पनि राम्रो छ । हामीले तिनैलाई स्पेस दिँदै आएका छौं । तीसको दशकतिर भरखर लेख्न सुरु गरेकाहरू अहिले ठूला लेखक भएका छन् । तर ती हामीले छापेर ठूला भएका हैनन् । हामीले स्पेस दियौं, मेहनत तिनले गरे । र, माथि उक्लिए । 

नयनराज पाण्डे 
अहिलेको साहित्यिक पत्रकारिता फस्टाएको देख्दिनँ म । किनभने ‘गरिमा’जस्तो साहित्यमा एउटा उचाइ लिएको पत्रिका बन्द भएको छ । एकेडेमीबाट प्रकाशित हुँदै आएको ‘समकालीन साहित्य’ धेरै पाठकसम्म पुग्दैन । काठमाडौंमै पनि थोरै पुग्ला । तिनको वितरण प्रणाली फितलो छ । ‘मधुपर्क’को बिक्री–वितरण स्वात्तै घटेको देखिन्छ ।

निजी क्षेत्रका केही साहित्यिक पत्रिका छन्, जुन सीमित छन् । सीमित सङ्ख्या र सीमित पाठकका बीचमा मात्रै पुग्छ, तर ती पत्रिकाहरूले नेपाली साहित्यमा ठूलो योगदान दिएका छन् । तर त्यसले पठन संस्कृतिको विकास गरिरहेको छ भन्नचाहिँ सकिँदैन ।

पछिल्लो समय प्रायः सबै दैनिक पत्रिकाले साप्ताहिक रुपमा साहित्यिक सामग्री पस्कँदै आएका छन् । साहित्यका पाठकले खुराक त्यसबाट पाउँदै आएका छन् । त्यसैले मासिक, द्वैमासिक, त्रैमासिक निस्किने पत्रिकाहरूले राम्रा रचना पाउने गरेको देखिँदैन । सिकारु रचनाकार त्यसमा बढी देखिन्छन् । 

बदलिँदो परिस्थिति र बढ्दो बजारले पनि यसलाई असर गरेको छ । एक समय थियो, साहित्यिक पत्रिकाका पाठक प्रशस्तै थिए । पत्रिकाको माग ठूलो थियो । ती पत्रिकामा रचना छाप्न लेखकले भरमग्दुर प्रयास गर्नुपथ्र्यो । साथै रचना पनि राम्रो र शक्तिशाली लेख्नु पर्दथ्यो । ती पत्रिकामा छापिएपछि लेखक स्थापित हु्न्थे । तर अहिले त्यो छैन । दैनिक पत्रिकाको साहित्यिक पृष्ठ बलियो बन्दै गएको देख्छु ।  

तर एउटा कुरो के हो भने, दैनिक पत्रिकामा छापिए पनि लेखक स्थापित हुने अवस्था छैन । रुपरेखाले डा. धुवचन्द्र गौतम, मोहन कोइराला, दिनेश अधिकारी, विमल निभाहरूजस्ता एकसे एक लेखकलाई स्थापित गरेको हो । अर्थात् पहिले विकल्प थिएन । रचना छाप्नैका लागि लेखकले कडा मेहनत गर्थे । तर अहिले लेखकहरूरुका लागि विकल्प धेरै छ । पहिले नयाँ लेखकले ती साहित्यिक पत्रिकाहरूमा स्थान पाउँदैनथे । अहिले दैनिक पत्रिकाहरुले नयाँलाई पनि उत्तिकै स्थान दिँदै आएको छ । 

वास्तवमा राम्रो रचना प्रकाशित गरेरै दैनिकको साहित्य पृष्ठले बजारमा साख जमाएको छ । हो, दैनिक पत्रिकाको एउटा मात्रै अप्ठेरो के भने यसको कलेक्सन भ्यालु हुँदैन । र, साहित्यकारको चर्चा पनि साताभन्दा पर जाँदैन । 

उतिबेला साहित्यिक पत्रिकाको महत्व बेग्लै थियो । राम्रो रचनाको कदर सबैले गर्थे । समालोचकीय दृष्टिकोणबाट समीक्षा लेखिन्थ्यो । मलाई सम्झना छ, ‘रुपरेखा’मा श्यामलको कथा छापिएको थियो । त्यो कथा पढेर समालोचक ईश्वर बराल आफैं पाठक प्रतिक्रिया लिएर रुपरेखाको अफिसमा आउनु भएको थियो । ईश्वर बरालजस्तो समालोचक आफैं आउनु आफंैमा ठूलो कुरो थियो । त्यस्तै, एउटा रचनाको शीर्षकमा आपत्ति जनाउँदै आनन्ददेव भट्ट प्रतिक्रिया लिएर आउनु भएको थियो । अहिले त्यो तहका समीक्षक पनि देखिँदैनन् । भए पनि ती मौन छन् । साहित्यमा प्राज्ञिक व्यक्तिको प्रतिक्रिया आउनु पर्ने हो, तर आउन सकेको देखिन्न । 

जहाँसम्म साहित्यिक पत्रिकाको विकासको कुरो छ, तिनले बजारमा हस्तक्षेपकारी रुपमा आउनु पर्छ । तिनले धेरै कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।

अविनाश श्रेष्ठ 
अहिलेको साहित्यिक पत्रिका– जुन मासिक/द्वैमासिक/त्रैमासिकरुपमा प्रकाशित हुँदै आएका छन्– ओरालो लाग्ने फेजमा रहेको देखिएको छ । तिनले उचाइमा पुगेर फेरि ओरालो बाटो समाएजस्तै भएको मलाई अनुभूति भइरहेछ । 

मेरै बैंशको समयमा साहित्यिक पत्रिकामा एउटा रचना छापिँदा जुन उल्लास, उमङ्ग र आनन्द हुन्थ्यो त्यो अहिले देखिँदैन । त्यसबेला साहित्यिक पत्रिकाले पहिले नयाँ स्रष्टालाई साहित्यकारका बीच, पाठकका बीच प्रष्ट चिनाउने काम गर्दथ्यो । त्यो अहिले ओझेलमा परेको छ । 

अहिले विकल्प धेरै भए । साहित्य पस्कने माध्यम पनि धेरै भए । त्यसैले पनि साहित्यकारहरूमा त्यो लालसा रहेन । नभए साहित्यिक पत्रिकाले नै मलाई उचाइ दिन्छ भन्ने भावना सबै साहित्यकारमा हुन्थ्यो ।

अहिले त दैनिक पत्रिकाहरूले साप्ताहिक रुपमा साहित्यिक सामग्री प्रस्तुत गर्दै आएका छन् । त्यहीँबाट नै साहित्यकारहरूले आफ्नो अभिव्यक्ति, आफ्ना विचार र रचना पस्कँदै आएका छन् । उनीहरुको आत्मअभिव्यक्तिका लागि थुप्रै माध्यम भएका छन् । 

यस्तो हुनुको कारण समय अनुसारको परिवर्तन नै हो । इन्टरनेटको अत्यधिक प्रयोगले धेरै कुरालाई दमन गरेको छ । साहित्यिक पत्रिका मात्रै होइन, यसले सिनेमालाई पनि दमन गरेको छ । गीत–सङ्गीत सुन्ने प्रवृत्तिलाई धरासायी बनाइदिएको छ । अर्थात् इन्टरनेटले धेरै बाटाहरू सिर्जना गरिदिएको छ ।

सायद समय अनुसारको यो परिवर्तन आवश्यक पनि थियो । अहिले त झन् फेसबुक र अन्य सामाजिक सञ्जाल पनि छ । ब्लगको चलन छ । त्यसैले कुनै पत्रपत्रिका खोजी गरिरहेका हुँदैनन् साहित्यकार । तिनले फेसबुकमा रचना हाल्छन् । ब्लगमा पोस्ट गर्छन् । यो स्थितिमा साहित्यिक पत्रिका नै चाहिन्छ भन्ने जरुरी देखिँदैन ।

तर एउटा कुरो के भने दैनिक पत्रिकाको परिशिष्टाङ्कमा छापिएको सामग्री सङ्ग्रहमा रहँदैन । जबकि साहित्यिक पत्रिका कतै न कतै कुनै पुस्तकालयमा सय वर्षपछि पनि भेटिन सक्छ । 

उहिले हामी हाम्रो रचना कहिले छापिन्छ भनेर पर्खेर बस्थ्यौं । त्यो समयमा ढिलो गरी छापिएको हाम्रो साहित्य रचनाले सुपारी वा छुर्पीको स्वाद आनन्दले लिए जस्तो अनुभूति दिन्थ्यो । अहिलेका लेखकमा त्यो धैर्य देखिँदैन । उनीहरू चाँडोभन्दा चाँडो छापियोस् र प्रतिक्रिया मिलोस् भन्ने चाहन्छन् ।  फास्टफुड प्रवृत्तिमा रमाएका छन् ।  

एउटा कुरो पक्कै के हो भने, धैर्यका साथ लेखिएको आलेख परिपक्व भएर आउँछ । हतारिएर आउने सामग्री परिपक्व नहुन सक्छ । पहिले साहित्यिक पत्रिकामा आउनु भन्दा अगाडि साहित्यकार आफंैले पनि त्यो रचना पटकपटक सम्पादन गरेर पठाउँथे । र, साहित्यिक पत्रिकाका सम्पादकले पनि कडा सम्पादन गर्थे । तिनले साधारण रचना छाप्दैनथे । त्यसैले रचना कालजयी बन्थ्यो ।

चाँडो लेखेर चाँडो छापिने बाटोमा हिँड्दा त्यसले साहित्यकारलाई नै नोक्सान गर्छ । त्यसको असर समग्र नेपाली साहित्यमा पर्छ । परिपक्व रचना नै बाहिर ल्याउने प्रवृत्तिमा वृद्धि भए त्यसले साहित्य र साहित्यिक पत्रकारिता बलियो हुँदै जान्छ । 

मैले समकालीनमा लेख लिएर आउनेलाई भन्थेँ– तपाईंको यो अन्तिम जाँच हो । तपाईं पहिले अन्यत्र लेखेर पोख्त हुुनुस् अनि मात्रै समकालीनमा ल्याउनुस । मलाई धेरैले बढी बोल्यो पनि भन्थे । तर मलाई आज लाग्छ, मैले जे बोलेको थिएँ सही बोलेको थिएँ । आजका रचनाको आयु लामो छैन । कति रचनाको आयु त एक दिन पनि हुँदैन ! वास्तवमा रचनामा जीवन छैन । 

सुमी लोहनी 
वर्तमान परिस्थितिमा साहित्यिक पत्रकारिता ओरालो लागेको म देख्दिनँ । फस्टाएकै देखिरहेकी छु । तथापि, जुन रुपमा फस्टाउनु पर्ने हो त्योचाहिँ छैन । यसको मूलकारण साहित्यिक पत्रिकाको फितलो बजार व्यवस्थापन नै हो । 

अहिलेसम्म जति पनि साहित्यिक पत्रिकाहरू प्रकाशनमा छन्, तिनको बजार व्यवस्थापन एकदमै कमजोर छ । ‘गरिमा’लगायत अन्य कतिपय साहित्यिक पत्रिकाहरू पनि बजार व्यवस्थापनमा भएको कमजोरीकै सिकार भए । हामीले पनि बजार व्यवस्थापनलाई बलियो बनाउन सकेका छैनौं । यही नै हाम्रो सबैभन्दा ठूलो समस्या हो । 

हामीले पत्रिका प्रकाशनमा आउनासाथ बजारमा पु¥याउनु पर्ने हो, तर पु¥याउन सकिरहेका हुँदैनौं । बजारमा पुग्यो पुगेन, त्यसका बारेमा हामीले थाहा पाउनै सक्दैनांै । पत्रिका बजारमा बिक्री भए पनि रकम नउठ्ला भन्ने चिन्ता ठूलो छ । यस्ता समस्या हरेक साहित्यिक पत्रिकाले भोग्दै आउनु परेको छ । 

यतिबेला सबै साहित्यिक पत्रिका र साहित्यिक पत्रकारहरूले एकठाउँमा आएर यो समस्याको समाधान खोजे एउटा बाटो भेटिन्थ्यो कि ? तर यस विषयमा कतैबाट पनि ठोस रुपमा पहल हुन सकेको छैन । 

जहाँसम्म ‘शब्द संयोजन’को कुरो छ, हामीले विनय शम्र्मामार्फत काठमाडौं बाहिर पत्रिका पठाउने व्यवस्था मिलाएका छौं । तर त्यसरी ती पत्रिका पाठकका हातमा पुगे नपुगेको सही जानकारी पाउन भने गाह्रै छ ।

साहित्यिक पत्रिकालाई हामीले व्यावसायिक बनाउन सकेनौं । ‘शब्द संयोजन’को टिमले पनि यसलाई अहिलेसम्म सेवाकै रुपमा लिँदै आएको छ । हामीले साहित्य सेवा मात्रै गरेका हौं । तर हामीले लेख रचनाको हकमा स्तरीय रचना छाप्दै आएका छौं । स्तरीय रचनाका पाठकलाई दिन हामी सचेत छौं ।  रचनामा कुनै कम्प्रोमाइज गरेका छैनौं ।

दैनिक पत्रिकाहरूको परिशिष्टाङ्कले गर्दा साहित्यिक पत्रिकाको पाठक घटेको वा पत्रिकालाई ओझेलमा पारेको छ भन्ने कुरा म मान्दिनँ । अहिले पनि साहित्यिक पत्रिका पढ्ने र खोज्ने साहित्यिक पाठक प्रशस्त छन् । हो, उहाँहरूको चाहना अनुसार हामीले पत्रिका पुर्याउन सकेका छैनौं ।

साहित्यिक पत्रिकाको विकास र उन्नयनका लागि हामी सबै एक भएर, मिलेर गएको खण्डमा यसले सकारात्मक स्वरुप पक्कै लिनेछ ।
 
रोचक घिमिरे 
साहित्यिक पत्रिका, प्रकाशनको दृष्टिले फस्टाएको भनिए पनि गुणात्मकताका दृष्टिले भने यसलाई अलिअलि ओइलाइएको नै भन्छु म । पहिलेको पत्रिकाहरुमा जस्तो पठनीय, स्तरीय र विचारोत्तेजक लेख रचना अहिलेको पत्रिकामा भेटिँदैन । अचेलका स्रष्टाहरूमा पनि त्यो क्षमता सायद रहेन ! अहिले त हतारमा लेख्यो र हतारमै प्रकाशन गर्ने प्रवृत्ति बढेर गएको छ ।

दैनिक अखबारहरूमा प्रकाशित परिशिष्टाङ्कमा साहित्यले स्थान पाउँदै आएको छ । यसलाई पनि साहित्यिक पत्रकारिता भन्न सकिन्छ । पत्रिकाहरू धेरै पनि भएको र छिटो पनि छापिने भएकोले अहिले लेखकहरूको ध्यानदृष्टि त्यता गएको छ । र, यसले लेखनमा हतारो निम्त्याएको छ । सायद त्यसैले पनि होला, त्यहाँ प्रकाशन हुने कतिपय लेख रचना खासै स्तरीय भएको मैले महसुस गरेको छैन । अर्थात्, अहिले साहित्यमा गुणवत्ता छैन । पुरानै पुस्ताले त्यो लेखकीय स्तरीयता धानिरहेका छन् !

रह्यो साहित्यिक पत्रिकाको विकासको कुरो, त्यसका लागि साहित्यिक पत्रिकामा प्रकाशनका लागि आउने लेख रचनाको सम्पादन गर्ने सम्पादकहरूमा पनि क्षमता हुनुपर्छ । अनि मात्रै साहित्यिक पत्रिकाको विकास हुनसक्छ । ५५ वर्षअघि पत्रिकाको काम गर्दा हामी अति मेहनत गर्दथ्यौं । लेखकले पनि त्यतिकै मेहनत गर्दथे । र, लेखकमा धैर्य पनि थियो ।

आज धेरै पत्रिकाहरू निस्किरहेको छ, तर सामग्री स्तरीय भेटिँदैन । पहिलेपहिले छापिएका रचना सबैका लागि लामो समयसम्म चर्चाको विषय हुन्थ्यो । आज त्यो छैन ।

रचनाको प्रकाशन सुरु भएको ६० वर्ष हुनलागेको छ । यो लामो समयमा मैले धेरैका रचना छापेँ । तुलसी दिवसको कविता पहिलो पटक रचनामा २०१८ सालमा नै छापेको थिएँ । भूपि शेरचनको कतिपय स्मरणीय र कालजयी कविता रचनामा पहिलो पटक छापिएका हुन् । बालकृष्ण समको कविता पनि रचनामा छापिएको थियो । भैरव अर्यालकै कतिपय व्यङ्ग्य रचना पहिलो पटक रचनामा छापिए । पारिजातको पहिलो कथा पनि रचनामै छापिएको हो । 

त्यसैले सामग्रीका दृष्टिले धेरै उत्कृष्ट रचना त्यसबेला छापिएको थियो । तर आज त्यो अवस्था छैन । त्यो अवस्था फेरि ल्याउने वातावरण तयार भए साहित्यिक पत्रिकाको विकास निश्चित छ ।

जयदेव भट्टराई 
साहित्यिक पत्रिका र पत्रकारिताको इतिहासलाई हेर्ने हो भने आज साहित्यिक पत्रिका र पत्रकारितालाई ओइलाएको नै भन्नु पर्छ । किनभने नेपालमा सबैभन्दा जेठो पत्रिका नै साहित्यिक पत्रिका हो ।

पुराना केही पत्रिकाहरु बन्द भए पनि नयाँ पत्रिकाहरू प्रकाशनमा आएका छन् । ती पत्रिकाहरू व्यक्तिगत इच्छाले प्रकाशित हुँदै आएको सबैलाई थाहा छ । ती पत्रिका कतिसम्म दिगो हुन्छन्, त्यो बेग्लै कुरा हो । तर व्यक्तिगत प्रयासलाई हेर्दा उत्साहजनक भने पनि संस्थागतरुपमा त्यसलाई निराशाजनक नै मान्नु पर्छ ।

दैनिक पत्रिकाहरूले साहित्यलाई विशेष स्थान दिन थालेपछि साहित्यिक पत्रिकातिरबाट साहित्यिकार र लेखकको रुचि घट्दै गएको निश्चय पनि हो । दैनिक र अनलाइन पत्रिकाको परिशिष्टाङ्कमा चाँडै छापिने र प्रतिक्रिया पनि चाँडै आउने भएकोले यो अवस्था आएको हो । 

तथापि, साहित्यिक पत्रिकाको महत्व आफ्नै किसिमको छ । साहित्यिक पत्रिकामा नै लेख रचना छाप्न खोज्ने लेखकहरू आज पनि धेरै हुनुहुन्छ । उहाँहरू साहित्यिक पत्रिकामा नै आफ्नो साहित्यिक रचना प्रकाशित होस् भन्ने चाहनु हुन्छ । तर मासिक–द्वैमासिक पत्रिकाहरूमा लेख रचना छाप्न केही समय पर्खिनु पर्छ । त्यसका लागि समय लाग्छ । र, त्यो छापिए पछि सङ्गृहित पनि हुन्छ । त्यसको साहित्यिक वजन पनि बढी हुन्छ । 

अखबारको परिशिष्टाङ्कमा लेख्ने भन्दा साहित्यिक पत्रिकामा लेख्नु पर्दा एउटा लेखकले जहिल्यै गम्भीर भएर लेखेको हुन्छ भन्ने मलाई लाग्छ । तर पछिल्लो समयको लेखन र लेखक सधैं हतारमा रहेको देखिएको छ । अहिले लेखक छाप्न पनि छिटो चाहन्छन् र प्रतिक्रिया पनि तत्काल नै खोज्छन् ।  

साहित्यिक पत्रिकाहरूलाई राज्यले कहिले पनि सहयोग गरेको देखिँदैन । साहित्यिक पत्रपत्रिकालाई सहयोग मिल्ने हो भने तिनको विकास निश्चित छ । 

000


https://baahrakhari.com बाट 

‘अभिव्यक्ति’ आइकन - राजकुमार बानियाँ



साहित्यिक सेरोफेरोमा अभिव्यक्ति भनेकै नगेन्द्रराज शर्मा हुन् र नगेन्द्रराज शर्मा भनेकै अभिव्यक्ति । उनको अभिव्यक्ति–यात्रा ४६ वर्षे अधबैँसे भइसक्यो । उनले उमेरको ३३ वर्षमा थालेको काम ८० वर्ष पुग्न लाग्दा पनि आफैँ सम्हालिरहेका छन् । उनी अभिव्यक्तिको परिचय दिन्छन्, दुई महिने सामान्य साहित्यिक पत्रिका । यसका १८२ अंक छापिइसकेका छन् । यसलाई व्यक्तिगत प्रयासमा निकालिएको पहिलो साहित्यिक पत्रिका भने हुन्छ । त्यसअघिका शारदादेखि रूपरेखासम्मका पत्रिका सरकारी खर्च या सामूहिक लगानीमा थिए ।

अभिव्यक्तिको अर्को विशेषता के भने नियमित छ । आकार र प्रकारमा घटबढ छैन । पत्रिकाका खाली ठाउँमा नेपाली लेखककै महावाणी छापिरहेको छ । लेखकहरूबीच हुने रोचक/घोचक ख्यालठट्टा रहेको स्तम्भ ‘जमघटबाट’ लोकप्रिय छ ।

पञ्चायतकालमा सजिलै पत्रिका दर्ता हुँदैनथ्यो । दर्ता नभए सरकारी विज्ञापन पाइँदैनथ्यो । पुलिस रिपोर्टको झमेला छँदै थियो । वाग्मतीका प्रमुख अञ्चलाधीश सरदार विष्णुमणि आचार्य दीक्षितका छोरा धनमणि उनका साथी थिए । उनैको भनसुनपछि विष्णुमणिले भने, ‘तिमीलाई कांग्रेसले उचाल्यो कि के हो ?’

०२७ सालमा प्रवेश अंक निकाल्दा अपरिचित लेखकले खुसी भएर रचना दिए तर परिचित लेखकले सघाएनन् । कवि मोहन कोइरालाले सोधेछन्, ‘पारिश्रमिकको के छ ?’ उनले भनेछन्, ‘दोस्रो अंकबाट मागेका रचनालाई दिन्छु ।’ मोहन उम्किहाले, ‘उसो भए मेरो दोस्रो अंकमै छापौँ ।’ पछि गएर कसैसँग रचना माग्नै परेन ।

पहिलो अंकमा केदारमान व्यथित, भीमनिधि तिवारी, पारिजात, शंकर लामिछाने, भूपी शेरचन, सिर्जना शर्मा, जगदीश घिमिरेलगायतका रचना छन् । पत्रिका निकाल्ने क्रममा थुप्रै लेखकको संगत भयो उनको । ताहाचलको बंगलामा जाँदा श्याम वर्णका लेखक शंकर लामिछाने टाई–सुटमा अत्तरको मगमग बासनासहित चिपिचल्लै भएर निस्किए । उनले दराजबाट टाइप गरिएका रचनाको फाइल निकाले र सोफामा उपरखुट्टी लगाएर रेट तोके, ६०, ३०, २० रुपियाँ । ‘यो रेट सरकारी पत्रिकाका लागि हो,’ उनले भने, ‘तपाईंले यसको चौथाइ दिए पनि हुन्छ । तर, सित्तैँमा दिन्नँ ।’ शर्माले सस्तामस्ता दुई–तीनवटा रचना लिए । त्यसपछि शंकर आफैँ परमधाम भइगए ।

हरिभक्त कटुवाल त एक समय अभिव्यक्तिका सम्पादक नै भए । तलबी होइन, विज्ञापन खोजेर खाने सम्पादक । खासमा कटुवाल प्राज्ञ बन्न चाहन्थे । तर, केदारमान व्यथितले ‘क्लर्क’ बनाइदिए । कटुवालका आँखा रक्सी नपिउँदा पनि मात्तिएका जस्ता देखिन्थे । “वास्तवमा कटुवाल मैले जति पनि रक्सी खान्थेन, उसलाई एकै गिलासले लाग्थ्यो,” उनी भन्छन्, “खाएभन्दा बढी सो गर्दा डाक्टरसमेत झुक्किए ।” एक दिन पिउँदापिउँदै कोमामा गएका हरिभक्तलाई बोक्न ट्याक्सीवालाले मानेन ।

‘पोखिएर घामको झुल्का…’ लेख्ने यिनै हुन् भनेपछि बिनापैसा लगिदिएको उनी सुनाउँछन् ।

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा अनुसन्धान प्रशासन (सेडा)मा काम गर्दा उनी नित्य पारिजातकहाँ पुग्थे आधा बोतल सोमरस बोकेर । साँझपख सितन बनाएर पर्खिरहन्थिन् पारिजात । उनले पारिजातका डायरी पनि छापे पत्रिकामा । “व्यवहारमा पारिजात जतिसुकै राम्रो भए पनि लेखकका रूपमा ओभर रेटेड हुन्,” उनी भन्छन्, “अपांगता, दार्जीलिङे, मतवाली र कामरेड हुनुको लाभ उनलाई भयो ।”

बासु शशी उनका अर्का मित्र हुन् । जसको पनि तारिफ गरिदिने, गजब छ भनिदिने । खानपिनका सोखिन । दारु अड्डामा टन्न पिए पनि अन्त्यमा लोकल रक्सी नै चाहिने । “ढकिचा (जयवागेश्वरीको भट्टीसाहू)कहाँ अत्यन्त निम्नकोटिको रक्सी पाइन्थ्यो, एकदमै नमिठो,” उनी भन्छन्, “उसलाई त्यही नभई नहुने ।”

भवानी घिमिरे उनका अर्का मित्र थिए । उनका आहारका किस्सा प्रशस्त छन् । एक दिन उनको घरमा ४५ घोगा मकै, दुई किलो प्याज, एक दर्जन अन्डा, एक अँजुली खुर्सानी र एक बोत्तल रक्सी बुत्याएको अभिव्यक्तिमै छापिएको छ । जगदीश घिमिरे उनका साहिँला भाइ हुन् तर उनी साथी–भाइ भन्छन् । “हामी त मीठो लागेको मात्र खान्थ्यौँ, नमीठो खाँदै नखाने,” उनी भन्छन्, “स्वास्थ्यको ख्याल गर्ने उही चाँडो गयो ।”

तामाकोसी किनारमा रहेको रामेछापको सदरमुकाम मन्थलीमा जन्मेका शर्माका पिता अपिलका हाकिम सुब्बा (पुनरावेदन अदालतको न्यायाधीश) रहेछन् । उनी चार दाजुभाइमध्ये माहिला हुन् ।

जेठा दिनेश शर्मा सरकारी जागिरे थिए, साहिँला जगदीश घिमिरे मदन पुरस्कार विजेता लेखक भइगए । कान्छा समीर घिमिरे पूर्वराष्ट्रपति डा रामवरण यादवलाई कांग्रेसको सदस्यता दिने नेता मानिन्छन् ।


०१३ सालमा एसएलसी गरेका हुन् उनले । वनारस हिन्दु विश्वविद्यालयमा बीए पढ्दापढ्दै टिम्बर कर्पोरेसनको थापाथली डिपोको इन्जार्च भए । उनको कामबाट खुसी भएर अमेरिकनहरूले हेटौँडा सरुवा गरिदिए । तर, औलो लाग्छ भनेर परिवारले जानै दिएन ।

फाल्तु बसेका बेला उनले चारवटा उपन्यास लेखे । पहिलो उपन्यास महापुरुष (०२८) रत्न पुस्तक भण्डारले ‘उचित पारिश्रमिक’सहित छापिदियो । रत्नका विज्ञ माधवलाल कर्माचार्यले भने, ‘उपन्यास राम्रो छ । तर, प्रमुख पात्रको यही नाम भनेर छाप्यो भने जेल पर्छौ ।’

श्याम शाह नामको दरबारिया पात्र कस्तो भने रक्सी खाने, स्वास्नी बटुल्ने, घरको गरगहनादेखि फर्निचरसमेत बेचेर खाने । अब त्यस्तो झन्झट कहाँ बेसाउने ? समाधान पनि माधवलालले नै दिए, ‘तिमीलाई मन्जुर छ भने म श्यामविक्रम बनाइदिन्छु ।’

अर्को वर्ष फेरि रत्नबाटै नयाँ उपन्यास आयो, दिवास्वप्न । दुवै उपन्यास उनले ‘कालो कुकुरलाई समर्पण’ गरेका छन् । खासमा त्यो मातापिता, छोराछोरी, श्रीमतीलाई पुस्तक समर्पण गर्ने लेखकहरूप्रति व्यंग्य थियो । सबैले उनको आख्यानकारिताको तारिफ गरे । बरू उनैलाई राम्रो लाग्न छाड्यो । पछि उनका दुई कथासंग्रह छापिए, पीपलको बोटमुनि (०३९) र एकान्तका आफन्तहरू (०५५) ।

खासमा शर्मालाई साहित्यिक बनाउने आफ्नै घरेलु परिवेश हो । उनका दुई काका नामी कवि थिए, भरतराज मन्थलीय र हृदयराज शर्मा । घरमा साम्वदेवभक्त सुवेदी, सोमप्रसाद घिमिरे ‘व्यास’, कुलचन्द्र कोइराला, हरिहरनाथ रेग्मीको बाक्लो आउजाउ हुन्थ्यो ।

मैतीदेवीमा थियो उनको घर । छिमेकी थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा । देवकोटा बाजेलाई चुरोट लाने काम पनि गरे उनले । त्यो जमानामा पनि देवकोटा साइकल चढ्थे । एक दिन त्यो साइकल हरायो । तर, हराएको चार दिनमै फेरि नयाँ साइकल किने । “त्यतिबेला साइकल किन्नु भनेको कार किन्नुजस्तै थियो,” उनी सम्झिन्छन्, “देवकोटाको जीवनशैली नवावको जस्तो थियो, गरिबीका कुनै लक्षण थिएनन् ।”

०२७ देखि ०४२ सम्म सेडामा सहायक प्राध्यापकका रूपमा काम गरे उनले । त्यसपछि छुट्टी लिएर ओकुरा एन्ड कम्पनीको जागिरे भएर कोलकाता गए । ओकुराले त्रिवि शिक्षण अस्पताल बनाउँदै थियो । उनको काम जापानबाट डिस्प्याच भएको सामान बुझेर काठमाडौँ पठाउने हुन्थ्यो । ओकुराले उनलाई भुटान पनि पठायो ।

नेपाल आएपछि उनी सेडा फर्किएनन् । उनले प्रेस चलाए । साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानका पुस्तक छापे । तर, उनले प्रेसको दुनियाँमा मुड चेन्ज भइसकेको पत्तै पाएनन् । “रिको अफसेट प्रिन्टिङ मेसिन आइसकेको थियो तर मैले लेटरप्रेस किनेँ,” उनी भन्छन्, “चार लाख रुपियाँमा किनेको मेसिन कवाडीलाई बेच्नुपर्‍यो ।”

साँच्चै भन्ने हो भने यी मित्रहरूका पनि मित्र अलि एक्लिएका छन् । कोही बितिसके, कोही रोगाएका छन् । पछिल्लो छिमलका साथीलाई नाम दिएका छन्, जोनीवाकर पौडेल, बियरबहादुर बुढाथोकी, ह्विस्कीबहादुर सिंह । उनको कतै दारु खाने गुठी छ, कतै खीर खाने गुठी ।

मदिरा उनको प्रिय पेय हो । रमा सिंह र भास्करराज राजकर्णिकारको टीभी सो ‘जिरो आवर’मा मदिराको पक्षमा बोल्दा एक भट्टीसाहूले कम्प्लिमेन्ट दिएछन् उनलाई । “रक्सीलाई म पनि असल भन्दिनँ तर खराबैचाहिँ होइन,” उनी भन्छन्, “यो देशमा रक्सी खानेले भन्दा नखानेले नै गर्न नहुने काम गरेका छन् ।”

इतिहासकार सूर्यविक्रम ज्ञवालीकी छोरी कमलासँग उनको भागी विवाह भयो । वनारस पढ्दाको चिनजान काठमाडौँ आएपछि प्रेममा बदलियो । बा र ससुरालाई बोधार्थ दिएर एकाध वर्ष लखनउतिर बिताए । छोरी जन्मेपछि घर फर्किए । तर, छोरीको अल्पायुमै निधन भयो । जेठा छोरा प्रणय राष्ट्रसंघीय फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनमा काम गर्छन्, कान्छा छोरा ओपल आफ्नो कामका अतिरिक्त अभिव्यक्तिको आवरण बनाउँछन् ।

परिवार, पत्रिका र जागिर नै उनका लागि भारी भयो । उनले अरूतिर सोच्दै सोचेनन् । उनको सन्तुष्टि केमा छ भने लेखक भए आफैँ मात्र बन्थे, पत्रिकाका कारण धेरै लेखक जन्माएका छन् । “म मामुली मानिस हुँ, मजस्ता कति आए, कति गए,” उनको आत्मसमीक्षा छ, “सबभन्दा ठूलो कुरा मलाई अभिव्यक्तिले इष्टमित्र दिएको छ । मेरा ईश्वर तिनै हुन् ।”

साहित्यिक पत्रिकाको भविष्य सकियो भन्ने कुरा उनी मान्दै मान्दैनन् । “संगीतको जतिसुकै विकास भए पनि रागरागिनीको महत्त्व घटेको छैन, कस्ता कस्ता नाचगान आउँदा पनि कत्थक र भरतनाट्यम चलिरहेकै छ,” उनी भन्छन्, “प्यास लाग्दा बियर खाएर हुँदैन, पानी नै चाहिन्छ । साहित्यिक पत्रिका पनि त्यस्तै हो ।”

साभारः नेपाल म्यागेजिन

६ असार २०७३ सोमबार प्रकाशित

Friday, December 20, 2024

स्वर्णजयन्तीका अवसरमा सापसद्वारा कपी एडिटर सम्मानित



काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले स्वर्णजयन्तीका अवसरमा चार जना पुस्तक सम्पादक (कपी एडिटर)लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सङ्घबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी छन् भने पुरस्कृत हुने पुस्तक सम्पादकमा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे थिए । तीन दर्जनभन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सिर्जना गरेर नेपाली साहित्यमा योगदान पुर्याएबापत त्रिभुवन विश्व विद्यालय कीर्तिपुरका प्राडा लक्ष्मणप्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरिएको हो ।

यस्तै सयभन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरका रूपमा सम्पादन क्षेत्रमा योगदान पुर्याएबापत सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरिएको सङ्घका अध्यक्ष राधेश्याम लेकाली जानकारी दिए ।

कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रूपमा रहेका र एक सयभन्दा बढी कृतिको सम्पादन गरेका पारसप्रकाश नेपाललाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो । यसैगरी एक दशकभन्दा लामो समयदेखि कपी एडिटरको रूपमा सक्रिय रोयल आचार्यले एक दर्जनभन्दा बढी कृतिको सम्पादन गरी विशेष योगदान पुर्याएकाले ५ हजार ५०० रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो । नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य सङ्घले यस पटकबाट सुरु गरे हो ।

नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्त्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए । कृति सम्पादकहरू जहिले पनि छायामा पर्ने हुँदा उनीहरूको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु सङ्घको प्रशंसानीय कार्य भएको राईको कथन थियो ।
कार्यक्रममा सहित्यिक पत्रकार सङ्घकी कोषाध्यक्ष पद्मावती सिंह, पूर्वअध्यक्षहरू विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत स्रष्टाहरूको योगदानको चर्चा गर्दै सङ्घले साहित्यिक पत्रकारहरूका लागि राम्रा काम गर्दै आएको बताए ।

सञ्चारकर्मी डब्बु छेत्रीद्वारा सञ्चालित कार्यक्रममा गुञ्जनकी निवर्तमान अध्यक्ष हीरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्राडा गोविन्दमानसिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिल, घुम्ती मुक्तक मञ्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित सञ्चारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सानुराजा अञ्जान, सञ्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति थियो ।


000


www.ratopati.com बाट 

Wednesday, December 4, 2024

साहित्यिक पत्रकार सङ्घको स्वर्ण वर्ष शुभारम्भ कार्यक्रम सम्पन्न

 


साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार सङ्घ ५० औँ स्थापना दिवसको अवसरमा राजधानी स्थित थाहा पुस्तकालय, मीनभवनमा ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति केके कर्माचार्यले पानसमा दीप प्रज्वलन गरेर उक्त महोत्सवको शुभारम्भ गरे । सो कार्यक्रममा उनले साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको लोगोसमेत अनावरण गरे ।

कार्यक्रमा उनले साहित्यिक पत्रकार सङ्घले नेपाली साहित्यको सिर्जना र प्रचार प्रसार खेलेको भूमिकाको चर्चा र प्रशंसा पनि गरे । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष विश्व विमोहन श्रेष्ठले साहित्यिक पत्रकार सङ्घका गतिविधिको चर्चा गर्दै महोत्सवको उद्देश्य र महत्त्वमाथि प्रकाश पारे ।

कार्यक्रममा विशिष्ट अतिथिहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला (अमेरिका), वरिष्ठ निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञहरू माया ठकुरी र डा. बेन्जु शर्मा, वरिष्ठ साहित्यकारहरू डा. गार्गी शर्मा, भरत जङ्गम र प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष एवं भाषा आयोगका सदस्य मातृका पोखरेलले आआफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामनासमेत वाचन गरिएको थियो । सो कार्यक्रममा साहित्यकारहरू मोमिला जोशी, विमल भौकाजी, बाबा बस्नेत, ध्रुव मधिकर्मी, नन्दु उप्रेती, पवन आलोक, मन्जिला अनिल, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, गणेश भण्डारी, मनोज न्यौपाने, ललिता दोषी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारीलगायत उपस्थित थिए ।

000

www.ratopati.com बाट साभार 


Wednesday, October 30, 2024

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा - मातृका पोखरेल

 ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौं । यसैक्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ ।

२०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  ।सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभएको यो आंकडाले अब हामी सूचना र ज्ञान विनिमयको नयाँ युगमा अन्त्यन्तै द्रुत गतिमा प्रवेश गरिसकेका छौं भन्ने कुरा स्पष्ट रूपमा बताएको छ ।

अहिले इन्टरनेटको नाम नसुन्ने सायदै कोही होला । नेपाली समाजको ग्रामीण समुदायसम्म यसको पहुँच पुगिसकेको छ ।  International Network लाई संक्षेपिकरण गरेर इन्टरनेट शब्द प्रचलनमा ल्याइएको हो । यो मानव विकासको पछिल्लो चरणमा विकास भएको अत्यन्तै प्रभावशाली प्रणाली हो । यसको विकास सूचना प्रणालीको विकासको रूपमा शीतयुद्धको दौरान भएको थियो । त्यतिबेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। तत्कालीन सोभियत संघ अर्थात रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक स्याटेलाइट स्थापित गरेपछि अमेरिकाले सामरिक ढङ्‌गले केही नयाँ योजना सार्‍यो । अमेरिकाले  रुसले कुनैपनि बेला अमेरिकाको तार तथा टेलिफोन प्रणाली (टेलिग्राफ तथा टेलिफोन प्रणाली) ध्वस्त पार्नसक्ने संभावित चुनौति देख्यो । यसपछि त्यहाँको रक्षा विभागले डीएआरपीए नामक एउटा परियोजना खडा गरेर यसैलाई अझ परिष्कृत तथा व्यवस्थित पार्दै अर्पानेट (एड्भान्स रिसर्च प्रोजेक्ट अजेन्डा) नामक एउटा नेटवर्क स्थापित गर्‍यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यी दुबै जना वैज्ञानिहरु अमेरिका, बेलायत तथा फ्रान्समा भएका सूचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरुलाई एउटै सञ्जाल (नेटवर्क) मा ल्याएर आफनो सुरक्षित  सूचना संयत्र बनाउन सफल भए । पछि  यही प्रविधि विस्तारै संचारमाध्यममा परिवर्तित भयो । नेपालमा भने यो प्रविधिको आरम्भ सन् १९९५ को सेरोफेरोमा  सुरुवात भएको पाइन्छ ।

इन्टरनेटको विकासक्रमबारे अध्ययन गर्ने हरूले पनि हालको विकास कुन अवस्थाको हो, धेरैले अनुमान मात्र लगाएका छन् । कसैले बालककाल भनेका छन , कसैले किशोरावस्था, कसैले युवावस्था यस्तै यस्तै । तर छापा माध्यमको युग चाहिँ वृद्धवस्थामा पुग्‍यो भनेर चाहिं धेरैको एउटै मत छ । तर इन्टरनेटको माध्यमबाट हुने नयाँनयाँ विकास अझै कति हुने हो त्यो भने अनुमान गर्न गाह्रो छ ।

इन्टरनेटमार्फत् ज्ञानविज्ञान र सूचनाका अतिरिक्त नेपाली साहित्यको पनि   व्यापक विस्तार भएको छ । इन्टरनेटमा साहित्यिक गतिविधि निम्न माध्यमबाट संचालित गरिएको पाइन्छ । 

१. वेबसाइट संचालन गरेर ।

डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्नमा भएको थियो । भौतिकशास्त्री टिम बर्नर्स-लीले वैज्ञानिकहरूका लागि पहिलो वेबपेज बनाएका थिए ।

इन्टरनेटमा वेवसाइटको माध्यमबाट नेपाली साहित्यका सामाग्रीहरु सवैभन्दा बढि प्रकाशित भइरहेका छन् ।

नेपाली साहित्यलाई इन्टरनेटमा प्रवेश गराउनेहरू

- नेपाली साहित्यलाई इन्टरनेट प्रविधिमा प्रवेश गराउने काम पहिलो पटक रसियाबाट डा. मधु माधुर्यले सन् १९९८ मा https://freenepal.com मार्फत गर्नुभयो । 

- कवि विक्रम सुब्बा सम्पादक रहनुभएको www.nepalikavita.com
ले नेपालमा पहिलोपटक  साहित्यिक वेभसाइट सुरू गर्‍यो ।

 - कवि मोमिला सम्पादक रहनुभएको www.nepalikalasahitya.com पनि साहित्यिक जगतमा प्रशिद्ध छ।

- बेल्जियमबाट कृष्ण बजगाई सम्पादक रहनुभएको  www.samakalinsahitya.com  र वेलायतबाट विश्वासदिप तिगेला सम्पादक रहनुभएको
https://nepaliliterature.com ले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

अमेरिकाबाट बासु श्रेष्ठले सम्पादन गर्नु भएको 
http://www.khasskhass.com र अहिले आविष्कार नामले संचालन गर्नुभएको www.sahityasangraha.com   धेरै सामाग्री देखिन्छन् । साहित्य सङ्ग्रहालयमा आजसम्म त्यहाँ २१ हजार भन्दा माथि साहित्यिक रचना समाविष्ट  छन् ।

- अश्विनी कोइरालाको सम्पादनमा रहेको sahityapost.com  अहिले साहित्यिक वृत्तमा निकै चर्चित छ। 

अमेरिकाबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले संचालन गर्नुभएको
www.vishwaparikrama.com पनि साहित्यिक जगतमा चर्चित वेवसाइट हो ।

www.nstelevision.com ( नवसाहित्य अनलाइन ) को सुरुवात हेटौंडाबाट भरखरैमात्र अर्थात २०८० साल असार १४ गतेबाट  भएको हो ।


आदि वेवसाईटहरु नेपाली स्रष्टाहरूका माझमा निकै चर्चित छन् । 

यी त केही उदाहरणमात्र हुन् । नेपाली साहित्यमा  केन्द्रित रहेर संचालित वेवसाइटको संख्या पाँच दर्जनभन्दा बढी नै भएको अनुमान गर्न सकिन्छ ।

केही साहित्यिक संस्थाहरूले पनि संस्थागत वेभसाइटहरू  संचालन गरेको  पाइन्छ ।
जस्तै :

अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको

- नेपालीकलासाहित्यडटकम प्रतिष्ठानले सञ्चालन गरेको
आदि ।

२. इच्छुक व्यक्तिले स्वतन्त्ररुपबाट सञ्चालन गरेको साहित्यिक वेबसाइट जस्तै,  http://sahityasangalo.com

३. विभिन्न साहित्यिक संघसंस्थाको आफ्नो संस्थागत वेबसाइटमा सिर्जनाहरू पनि राख्ने गर्दछन् । 
जस्तै, विश्व नेपाली साहित्य महासङ्घको https://gfnl.org

४.  ब्लग मार्फत साहित्यिक सिर्जनाहरू राख्ने कार्य पनि प्रसस्तै भएको पाइन्छ । जस्तै, 

५. समाचार तथा विविध विषय समेटिएको वेब साइटमा एकपेज छुट्याएर साहित्यलाई पनि स्थान दिएको पाइन्छ । 
जस्तै, 

एचकेनेपालडटकम, 
नेपाल जापान डट कम् 
फ्रि नेपाल डट कम् आदिआदि

६. साहित्यिक प्रिन्ट पत्रिकाको अनलाइन संस्करणको माध्यमबाट 
जस्तै, मधुपर्क, रचना , अभिव्यक्ति, शब्दाङ्कुर, अन्तर्वोध,  गोर्खापत्र आदि ।

२. ब्लग संचालन गरेर

ब्लगमा नेपाली साहित्यको उपस्थिति पनि निकै बाक्लो देखिएको छ । सन् १९९८ मा जर्न बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरेपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । त्यसपछि यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगर र पिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधाको प्रारम्भ गरे पछि ब्लग पनि साहित्यिक क्षेत्रको एउटा महत्वपूर्ण चौतारी बन्यो । सन २००५ देखि नेपालमा ब्लग भित्रिएको पाइन्छ ।

वि.सं. २०६१ मा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरूवात भए सँगै  हतियारधारी सुरक्षाकर्मीहरूले  पत्रिका कार्यालयमा प्रवेश गरी समाचारमा  सेन्सरसिप गर्न थालेपछि निष्पक्ष पत्रकारिताको आग्रह राख्ने युवाहरूले एउटा वैकल्पिक स्थानको खोजी गर्ने क्रममा उनीहरुको सामु बरदान बनेर  ब्लग आयो । निष्पक्ष र स्वतन्त्र स्वतन्त्र समाचारका  भोका र विद्रोही स्वभावका पत्रकारहरुले सही सुचना जनसमक्ष ल्याउन ब्लगको चौतारीमा प्रवेश गरे ।

बैशाख ११, २०६३ को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । मेरो सन्सार डट ब्लगस्पोट डट कम  त्यसबेला चर्चामा रहेको शायद पहिलो ब्लग हो । पछि त्यो ब्लग www.mysansar.com मा रूपान्तरित भयो । समाचार माध्यमका रुपमा त्यो प्रभावकारी ढङ्‌गले चलिरहेको छ । शनिवार साताको साहित्य कार्यक्रम पनि संचालन गर्छ उक्त ब्लगले ।

नेपाली ब्लग अहिले कती छन? अनुमान गरिन्छ, अहिले करिव एकलाखको हाराहारीमा छन् । यसको आधिकारीक तथ्यांक कतै छैन । ब्लग खोल्न कतै दर्ता  गर्नु नपर्ने हुनाले र संसारको जुनसुकै कुनाबाट पनि खोल्न सकिने हुनाले यस्को आधिकारीक तथ्याङ्क पत्ता लगाउन सजिलो छैन । कती ब्लग त एक दुइ पोष्टमै बिश्राम लिन पुगेका देखिन्छन् भने केही ब्लगहरुले निरन्तरता दिइरहेका छन् ।

साहित्यकारका  केही व्यक्तिगत ब्लगहरु :

आदिआदि ।

साहित्यसँग सम्बन्धित केही सामुहिक ब्लगहरू :

आदिआदि |

इन्टरनेटको माध्यमबाट साहित्य दुनियाँको सञ्जाल तयार गर्न ब्लग भरपर्दो माध्यम बन्न सक्छ । 

वि.सं. २०६४ सालतिर साहित्यकार कसुम ज्ञवालीले साहित्यकारको एउटा समूहलाई  ब्लग बनाउन सिकाउनुभएपछि नेपाली युवा साहित्यकार हरूका बीचमा ब्लगको प्रयोग राम्रैसँग बढ्‌यो  । 

' सलाम बिहानी', '  अलग अभियान ' भन्ने समूह चलाएर केही प्रगतिशील युवाहरुले ब्लगमा राम्रा कविताहरु पस्किए । त्यसबेलाका ब्लगहरू अहिले पनि हामी हेर्न सक्छौं । पछि 'उन्मुक्त पुस्ता ' संचालन गर्ने केही प्रतिभाशाली युवा साहित्यकारहरुले  आफ्ना सिर्जनाहरू प्रकाशन गर्न ब्लगलाई रामैसँग उपयोग गरेका थिए ।

सन २००८ देखि २०१२ - १५ सम्म प्रतिभाशाली साहित्यिक युवा पुस्ता ब्लगको दुनियाँमा राम्रैसंग प्रवेश गरेको थियो । यी ब्लगहरू अहिले पनि हामी पढ्न सक्छौं ।

आदिआदि ।

३. सामाजिक सञ्जाल संचालन गरेर 

वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधननै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलजस्ता उपकरणमा इन्टरनेट जडान गरी  आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका सिर्जना, विचार,  सन्देश, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गर्न सकिन्छ । यो हरेक व्यक्तिले हरेक क्षेत्रमा सजिलैसँग प्रयोग गर्न सक्ने प्रविधि भएकाले यतिबेला यो  मानिसको जीवनसाथी जस्तै बनेको छ । सामाजिक सन्जालबिनाको जीवननै सोच्न नसक्ने पुस्ता अहिले बढिरहेको देख्न सकिन्छ ।

सामाजिक संजालमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाट्सप, यूट्यूब, मेसेन्जरहरू बढि चर्चामा छन् । ४ फरवरी, २००४ मा मार्क जुकर्बर्कले फेसबुकको निर्माण गरे । १४ फरवरी, २००५ मा चाड हुर्ली र स्टिभ चेनले भिडियो हेर्न मिल्ने जनप्रिय युट्यूबको सुरूआत गरे । ६ अक्टोबर, २००६ मा केभिन सिस्ट्रोम र माइक क्रिगरले इन्स्टाग्रामको आविस्कार गरे। यसरीनै २००९ मा ब्रियन एक्टोन अनि जन कउमले अहिलेको चर्चित वाट्सपको सुत्रपात गरे । यी त केही चर्चित  सामजिक संजालका उदाहरणमात्र हुन् । यी बाहेक कैयौं यस्ता एपहरू पनि कृयाशील छन् जहाँ मानिस आफ्ना विचार, संदेश, रचना साझा गर्छन्  । भरखरैको तथ्याङ्कअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता मात्रै १ करोड ३० लाख ४० हजार बढी पुगेका छन् ।

फेसवुकका चर्चित साहित्यिक समूहहरू

- साहित्यकार किशोर पहाडी र मुरारी सिग्देलले चलाउनुभएको  शब्दपथ 
- साहित्यकार नारायण तिवारीले चलाउनुभएको  कथा समूह
लघुकथा समूह
- यस्ता थुप्रै थुप्रै साहित्यिक पेज र समूहहरू फेसबुकमा देख्न पाइन्छ ।

युट्युब प्रयोग गरेर 

सन २००५ को फेबुअरीमा युट्युबको निर्माण भयो । यो निर्माण भएको अहिले १८ वर्ष पुगिसक्यो । अठार वर्षमा यसले सञ्चारको क्षेत्रमा रोमाञ्चक र प्रभावकारी भूमिका हाम्रा बिचमा छाडेको छ । 

अहिले आएर साहित्यिक रचनाहरू युट्युवमा राख्ने क्रम निकै बढेको छ । 
गीत र कविता मात्र नभएर सुन्ने कथा नामबाट पनि युट्युव च्यानल चलिरहेका छन् । 
- झण्डै तीन दशक अघि देखिनै प्रकाशित हुने गरेको प्रगतिशील साहित्यिक पत्रिका 'साथी' का सम्पादक सुदर्शन श्रेष्ठले  युट्युव कविता च्यानल 'शब्द'  चलाइरहनु भएको छ । 

- ( सार्थक अभियान ) ले प्रगतिशील गीतहरुको  युट्युब च्यानल संचालन गरेको छ। यस्ता धेरै युट्युब च्यानलहरू अहिले साहित्यिक गतिविधिका रुपमा संचालनमा रहेका छन् ।

इन्टरनेटमा   प्रगतिशील साहित्यको उपस्थिति : एक चर्चा

इन्टरनेटमा प्रगतिशील / प्रगतिवादी साहित्यको बेग्लै मञ्च बन्न सकेको देखिंदैन । केही मार्क्सवादी विचारसँग निकट रहेका वेवसाइटहरू भेटिन्छन् , त्यहाँ प्रगतिवादी साहित्यका लागि केही स्थान छुट्याईएको पाइन्छ । उदाहरणका लागि जस्तै : www.moolbato.com 
मार्क्सवादी चिन्तक जय कार्कीले संचालन गर्नुभएको   www.communistonline.com
आदि । यस्ता वेबसाइटहरू अरू पनि छन् । कम्युनिष्ट पार्टी हरूले सञ्चालन गरेका वेवसाइटहरू पनि छन् । वरिष्ठ ब्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले संचालन गर्नुभएको www.fitkauli.com ले प्रगतिशील ब्यङ्ग्य साहित्यको क्षेत्रमा केही महत्वपूर्ण काम गरेको छ ।

प्रगतिशील लेखक सङ्घले आफ्नो वेवसाइट www.pwanepal.org.np संचालन गरे पनि त्यसको नियमिततामा केही सुस्तता देखिन्छ ।

प्रगतिशील लेखक सङ्घको नाममा संचालित केही ब्लगहरू :

- प्रलेस ललितपुरका सामाग्रीहरू -
- प्रगतिशील लेखक सङ्घ, नेपालको सातौं, आठौँ र नवौं राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूहरूको अभिलेख
- प्रगतिशील लेखक सङ्घ, नेपालको दसौं राष्ट्रिय सम्मेलनदेखि एघारौँ राष्ट्रिय सम्मेलनसम्मका गतिविधिहरूको अभिलेख

- प्रगतिशील लेखक सङ्घ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूको अभिलेख

समग्र साहित्यिक परिवेशमा अनलाइन प्रयोग अत्यन्त विस्तारित भए पनि प्रगतिवादी / प्रगतिशील साहित्यमा केन्द्रित भएर साहित्यिक गतिविधि भएकै छैन भन्दा पनि हुन्छ ।

हिजो प्रगतिवादी / प्रगतिशील साहित्यका मञ्चहरू थिए ।  त्यही मञ्चमा टेकेर धेरै प्रतिभाहरूले प्रगतिशील साहित्यमा पाइला टेक्ने कोसिस गरे । पञ्चामृत, वेदना, संकल्प, सुस्केरा, उत्साह,  झिममिसे, नौलो साहित्य, इन्द्रेणी, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, विहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलोकोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, श्रृंखला, घोषणा, अनुभूति, धेरै जिल्ला समिति बाट प्रकाशित प्रलेसका  मुखपत्रहरू आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । अहिलेको प्रगतिशील साहित्यको माहौल त्यसै निर्माण भएको होइन । यसको पछाडि यी साहित्यिक पत्रिकाको ठूलो योगदान छ । 

अबको युगलाई हामीले विज्ञान प्रविधिको युग भन्छौं । पहिले छापा प्रेस पुरुवात हुँदा पनि साहित्यले एउटा फड्को मारेको इतिहास हामीले पढेकै छौं । अब समयले  छापा माध्यमबाट मुक्ति खोजिरहेको देखिन्छ । यसो भनेर छापा माध्यमको महत्व छैन भन्ने होइन । हाम्रा वाङ्मयका कैयौं अभिलेखहरू छापा माध्यमबाटै अभिलेखमा सुरक्षित छन् । तर इन्टरनेटको दुनिँया हाम्रा अघिल्तिर व्यापक सम्भावना बोकेर आएको छ । 

इन्टरनेट प्रविधिले हामीलाई मनोरञ्जन मात्र दिएको छैन । अवसरको  ठुलो मैदान हाम्रा अघिल्तिर ल्याइदिएको छ । उक्त मैदानमा दौड्न सक्नु नसक्नु हाम्रो कुरा हो । जति बेसरी त्यो  अवसरहरूलाई हामी पकड्ने कोसिस गर्‍यौं ; हाम्रो साहित्यिक अभियानको सफलता त्यसैमा निहित छ । इन्टरनेटको माध्ययमबाट भित्रिएका अनेकौं प्राविधिक विकासहरु पछाडि फर्कदैनन , अघि बढ्छन् । 

हामीले बुझ्नुपर्ने  एउटा महत्वपूर्ण कुरा के हो भने इन्टरनेट साध्य होइन । यो साधन हो । साधनलाई उपयोग गरेर साध्य प्राप्त गर्नुपर्छ । प्रगतिशील साहित्यका अभियन्ताहरुले इन्टरनेट जस्तो साधन प्रयोग गरेर साध्य प्राप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ । इन्टरनेटमा प्रगतिशील साहित्यको संस्थागत उपस्थिति अत्यन्तै फितलो छ । वेवसाइट संचालन गर्न प्राविधिक र आर्थिक कारणले असहज हुँदा पनि हामी ब्लग संचालन गरेर प्रगतिशील साहित्यकारको बीचमा सञ्जाल निर्माण गर्न सक्छौं । 

अनलाइन प्रकाशनका फाइदाहरू

— कागजको प्रयोग भन्दा अनलाइन प्रकाशन वातावरणमैत्री  हुन्छ । 

—  अनलाइन (वेबसाइट, ब्लग, सामाजिक सञ्जाल ) आदिको  प्रकाशन खर्च  छापा माध्यमबाट गरिने खर्चभन्दा निकै सस्तो र किफायती  हुन्छ । 

— विक्री , वितरण तथा ढुवानीको झन्झटबाट पूर्ण मुक्त भइन्छ । 

— भण्डारणको समस्याबाट पूर्ण मुक्ति प्राप्त हुन्छ । 

— अनलाइनमा प्रकाशित सामग्री छिनभरमै विश्वका कुनै पनि कुनामा बसेकाहरूले तुरून्त हेर्न सक्छन् ।

- नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन यो धेरै प्रभावकारी माध्यम हो।

- अहिले अनलाईन रेडियो, टेलिभिजन संचालन गर्ने प्रचलन पनि बढ्दै गएको छ । अनलाइनमै कृति विमोचन, साहित्यिक प्रतियोगिता, पुस्तक बिक्री आदि पनि यो प्रविधिको उल्लेख्य पक्ष हो | अहिले त  ई–लाइब्रेरीको अवधारणा पनि आइरहेको छ । आर्थिक समस्यामा परेका साहित्यकारलाई सहयोग जुटाऊन अनलाइन अभियान अत्यन्तै प्रभावकारी बनेको छ ।

अनलाइन प्रकाशनका वेफाइदाहरू

- प्रतिलिपि अधिकारको चुनौति छ ।
- रचनाको चोरी हुने सम्भावना  बढ्दो छ ।
- अभिलेखको ग्यारेन्टीप्रतिको   आशङ्‌का देखिन्छ ।
- प्रिन्ट दुनियाँमा अभ्यस्त भएको पुस्ता मध्येको एउटा सानो हिस्सा  अनलाइनमा अभ्यस्त हुन अझै पनि  सकिरहेको छैन ।

अनलाइन प्रकाशनका यस्ता केही वेफाइदाहरू नदेखिएका होइनन् तर यी फाइदाका तुलनामा अत्यन्तै नगण्य छन् ।

000

[ प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित “इन्टरनेट र प्रगतिशील साहित्य” विषयक छैसट्ठिऔँ परिसंवादमा प्रस्तुत छलफलपत्र ।  सोही छलफलपत्रलाई  अहिले   "प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा" शीर्षक राखिएको छ । ]