Monday, November 29, 2021

नेपाल साहित्यिक पत्रकार संघको केन्द्रीय अधिवेशन सम्पन्न

 


नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मत ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजुलाई चयन गरेको हो । त्यस्तै, केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा. शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ ।

वि.स. २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा. रेवतीरमण लाल र वासुदेव अधिकारीलाई चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे बनेपा घोषणापत्र पनि जारी गरेको छ । सम्मेलनको उद्घाटन गर्दै सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । उहाँले साहित्यिक पत्रकारिताले देशको जेठो पत्रकारिताको रूप धारण गरे पनि त्यसले गति लिन नसक्नुको मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, साहित्यिक पत्रपत्रिका टिकाउनु राज्यको पनि दायित्व भएकाले काउन्सिलको वर्गीकरणमा पारेर मात्रै नभई त्यसलाई विशेष प्रकारले राज्यले सहयोग गर्न आवश्यक छ ।

कार्यक्रमको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरूको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरि सौहाद्रपूर्ण वातावरणमा काम गरेको उल्लेख गर्दै अबको कार्यकालमा त्योभन्दा राम्रो गर्न शुभकामना दिनुभयो । सम्मेलनमा निवर्तमान महासचिव मोहन दुवाल र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरिएको थियो । सम्मेलनमा निर्वाचनका प्रयोजनका लागि पूर्वअध्यक्ष घिमिरेको संयोजकत्वमा शर्मा, मातृका पोखरेल र नरेन्द्रबहादुर श्रेष्ठ रहेको समिति गठन गरिएको थियो । कार्यक्रममा सङ्घको प्रकाशन ‘आलेखन–३’ को पनि लोकार्पण गरिएको थियो ।

www.kavretimes.com  बाट साभार 

000


सम्मेलनका तस्विरहरू





















































































































No comments:

Post a Comment