Saturday, February 7, 2026

चनाभुजा मात्रै खाएर दिन टारेका थियौँ - दुर्गाप्रसाद श्रेष्ठ

 


२०७८ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुँदै गरेका साहित्यकार हुन्, दुर्गाप्रसाद श्रेष्ठ । उनी भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकाका सम्पादक समेत हुन् । नेपाली र हिन्दी भाषामा विभिन्न कृतिहरू पाठकलाई दिइसकेका छन् । कोरोना कहरपछि सम्पादक श्रेष्ठ अधिकांश समय काठमाडौंमा बस्दै आएका छन् । ‘सम्झनाको बादल’, ‘सोनिया’, ‘चण्डी घोष स्ट्रीट’, ‘बाग्मती साक्षी छ’, ‘उसको अन्त्यहीन कथाहरू’, ‘कोसेली’, ‘देश–देशान्तर’, ‘सत्तारे मौसी’, ‘योगीको आत्मकथा’लगायत कृतिका सर्जक श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘उदय’को सम्पादकका हैसियतमा २०७८ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुँदै हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?
निश्चय पनि खुसी लागेको छ । मलाई लाग्छ, कुनै पनि पुरस्कार वा सम्मान आफूले चाहेर पाइने होइन । र, आफ्नो क्षेत्रमा निरन्तर काम गर्ने मानिसले त्यस्तो चाहना राख्न पनि हुन्न । यसपालि मेरो नाम कसरी आयो, यस विषयमा कहीँ कतै चर्चा भएको मैले आभास पनि पाइनँ । पुरस्कार पाएको खबर पनि आकस्मिक रूपमा नै पाएको हुँ । बरु, चार÷पाँच वर्षअघि भने कुरा उठेको थियो भन्ने मैले सुनेको हुँ ।

मलाई एउटा सम्झना छ, जगदम्बा रानीको बनारसमा पनि एउटा ट्रष्ट थियो, ‘बालचन्द्र प्यालेस ट्रष्ट’ । त्यो एक किसिमले निदाइसकेको थियो । त्यसलाई बिउँताउने काम मैले गरेको थिएँ । र, त्यहाँबाट हरेक वर्ष ‘मदन स्मारक सम्मान’ प्रदान गरिन्थ्यो । कमलमणिजी (कमल दीक्षित)सँग यसै विषयमा कुराकानी भइरहन्थ्यो । छलफल÷सरसल्लाह हुन्थ्यो । त्यो सम्मान पहिलोपटक दार्जिलिङ, असाम, सिक्किमतिरका चारजना दिग्गजहरूलाई प्रदान गरिएको थियो । त्यो पुरस्कार मिनि मदन पुरस्कारका रूपमा स्थापित थियो । त्यहाँ हामीबीच कामको कुरो मात्रै हुन्थ्यो ।

उदयको यात्रा कस्तो रह्यो ?
उदय साहित्यिक पत्रिका मेरो बुवा काशीबहादुर श्रेष्ठले ८० अंक प्रकाशित गर्नुभयो । सन् १९३९ सालदेखि यसको प्रकाशन सुरु भएको हो । ८० अंकपछि मैले निरन्तर प्रकाशित गर्दै आएको छु । अहिलेसम्म १२० अंक प्रकाशित भइसकेको छ । कोरोना कहरले गर्दा केही वर्ष प्रकाशन गर्न सकिनँ । त्यो समयमा म काठमाडौं नै बसेँ ।

प्रकाशनले निरन्तरता पाउँछ नि !
पक्कै पनि । अब पत्रिका निरन्तर प्रकाशित हुन्छ । मैले सबै म्याटरहरू तयार गरिसकेको छु । कोरोनाले गर्दा तीन वर्ष म बनारस गइनँ । तर, अस्ति गएर आएँ । त्यसै समयमा कासी हिन्दु विश्वविद्यालयको भारतीय भाषा विभागले सम्मान पनि गर्यो । यी पुरस्कारहरू भनेको मेरा लागि ऊर्जाको स्रोत नै त हो ।

८४ वर्षको भइसक्नुभएको छ । यो उमेरमा पनि पत्रिका प्रकाशनमा लागिरहनुभएको छ । कसरी गर्नुहुन्छ ?
यो मेरो गुरु योगानन्दजीको आशीर्वादले पनि हो भन्ने मलाई लाग्छ । उहाँको जीवनगाथा ‘योगीको आत्मकथा’ मैले नेपालीमा अनुवाद गरेको थिएँ । त्यो अनुवाद गरेको पनि २० वर्ष बितिसकेको छ । म एकदमै ठूलो काम गर्छु भनेर लागेको नै होइन । म त आफ्नो कर्तव्य निर्वाह गर्दै गइरहेको छु । त्यसैले मैले उदयलाई निरन्तरता दिँदै आएको हुँ । त्यही निरन्तरताको परिणाम हो, जगदम्बाश्री पुरस्कार । निश्चय पनि यसले थप केही गरिरहनलाई उत्साह र प्रेरणा दिएको छ । पैसा भनेको कुरो त आउँछ जान्छ । सम्मान नै ठूलो कुरो हो । त्यसले मानिसलाई ऊर्जा दिन्छ ।

उदय प्रकाशनमा के कस्ता सकस झेल्नुपर्‍यो ? 
साहित्यिक पत्रिका प्रकाशन गर्नु भनेको निकै जटिल काम हो । तर, त्यस्तो जटिल काम पनि मेरो बुवाले निरन्तर लगनका साथ गर्नुभयो । धेरैपछि गएर मात्र मैले बुवालाई साथ दिन थालेँ । त्यस बेला उदयको सम्पादनभन्दा पनि उदयको प्रकाशनको व्यवस्थापन गर्नमा म सक्रिय थिएँ । प्रुफ पनि हेर्थेँ ।

उति बेला सजिलो थिएन पत्रिका प्रकाशन । त्यो समयमा पत्रिकाको वार्षिक ग्राहक शुल्कले नै पत्रिका र हाम्रो परिवारको जीवन धानेको थियो । वार्षिक शुल्क चार रुपैयाँ थियो । पैसा उठाउन बुवा आफैँ हिँड्नुहुन्थ्यो । कहिलेकाहीँ ग्राहक बनेकाहरूले पैसा नपठाइदिँदा हामीले चनाभुजा मात्रै खाएर पनि दिन टारेका छौँ । त्यस्तो पनि असहज अवस्था थियो । पैसा कतैबाट आएपछि चामल, दाल किनिन्थ्यो र भात खान्थ्यौँ । तर पनि बुवाले उदयलाई निरन्तर प्रकाशित गर्दै आउनुभयो । कहिल्यै पत्रिका निकाल्न छोडनु भएन ।

त्यस्तो अवस्थामा पनि तपाईंले उदयलाई निरन्तरता दिने आँट गर्नुभयो ?
मलाई लाग्छ, त्यो बुवाको जिन नै हो । बुवामा जुन साहस थियो उदय प्रकाशनको, त्यो ममा पनि आयो । उहाँले अन्तिम समयसम्म पनि हिम्मत हार्नु भएन । र, आजसम्म मैले पनि बुवाले सुरु गर्नुभएको कामलाई अगाडि बढाइरहेको छु । र, मेरो जीवनकालभरि नै यो पत्रिका प्रकाशित गरिरहनेछु । भोलिका दिनमा यो साहित्यिक धरोहरलाई निरन्तरता दिने कोही त निस्केलान् । तर, मेरो परिवारमा साहित्यिक प्रवृत्ति कसैमा पनि नभएकोले तिनले उदयलाई निरन्तरता देलान् भन्ने लाग्दैन ।

उदयका केही विशेष सम्झना छन् कि ?
उदयले धेरै साहित्यकारहरूलाई साहित्यमा स्थापित गरेको छ । उदयमा लेखेरै कतिपय लेखक चर्चामा आएका छन् । भवानी भिक्षु, इन्द्रबहादुर राईलगायत धेरै साहित्यकारहरू मेरा बुवाको साथी हुनुहुन्थ्यो । उहाँहरू बरोबर बुवासँग भेट्न आइरहनुहुन्थ्यो । मेरो पहिलो कथासंग्रह ‘सम्झनाको बादल’ छापिँदा भवानी भिक्षुले भूमिका लेखिदिनुभयो । उहाँले भूमिका लेख्दा मेरा कथाहरूमा ‘अल्लारेपन छ’ भनेर लेख्नुभएको थियो । र, त्यस सुझावले मलाई आफ्नो लेखनी सुधार्न धेरै मद्दत गरेको थियो । मेरो पहिलो कथासंग्रह भएकोले कथामा अल्लारेपन स्वाभाविक थियो । पछि मैले आफ्नो लेखनीलाई परिमार्जित गर्दै लगेँ ।

तपाईं सम्पादक पनि हुनुभयो । लेखक बनाउनमा सम्पादकको भूमिका रहन्छ ?
मलाई लाग्छ, ठूलो भूमिका हुन्छ । एउटा लेखकलाई लेखक बनाउने सम्पादक नै हो भनिरहँदा गलत नहोला । सम्पादकको काम पनि त गाह्रो नै हुन्छ । तर, सम्पादनको काम गर्नुभन्दा अघि मैले कथा, कविता लेख्ने र अनुवाद गर्ने काम गरेँ । त्यसले मलाई सम्पादनमा सहयोग गर्यो ।

बनारसमा त्यस्तो कुनै समूह छ जसले उदयलाई निरन्तरता दिन सकोस् ?
त्यस विषयमा म भन्न सक्दिनँ । हेरौँ । साहित्य सेवा भनेको एक्लै गर्ने काम होइन । साहित्य सेवकले रचना गर्ने काम मात्रै गर्छ । त्यसलाई छाप्ने अर्कै हुन्छ । त्यसका पाठकहरू अनेक हुन्छन् । त्यसैले अनेकको भावना त्यो रचनासँग जोडिएको हुन्छ । बितेको ८० वर्षमा उदयसँग लाखौँ लेखक तथा पाठकहरू जोडिनुभएको छ । त्यसैले उदयले वा उदयको नामसँग जोडिएर मैले पाउने हरेक पुरस्कार र सम्मानको भागीदार त्यसका लेखक तथा पाठकहरू पनि हुनुहुन्छ ।

000

https://baahrakhari.com बाट साभार 

साहित्य र पत्रकारिता : अभिव्यक्ति रथका दुई पाङ्ग्रा - श्रीरामसिंह बस्नेत

 


मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई  मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो । 

आधुनिक पत्रकारिताको अवधारणाले जन्म लिनुभन्दा धेरै अघि विश्वविजयको महìवाकाङ्क्षा लिँदै रोमन सम्राट जुलियस सिजरले युद्ध अभियान चलाएका थिए । त्यस क्रममा उनले जारी युद्ध र प्लेग रोगको महामारीबारे जनसाधारणलाई आधिकारिक सूचना दिने परिपाटी चलाए । इसापूर्व ६९ मा पहिलो पटक रोम दरबारको बाहिर सार्वजनिक स्थानमा ‘एक्टा डिउर्ना’ नामको जानकारीपत्र प्रकाशित गरी युद्ध र महामारीबारे जानकारी दिने चलन चलाए । त्यतिखेर लेखपढ गर्न जान्ने मानिसहरू नगण्य मात्रामा हुने भएकाले पढ्न जान्ने दरबारका कर्मचारीले भेला भएका मानिसहरूलाई त्यसमा लेखिएका कुरा पढेर सुनाइदिने र कुरा बुझाइदिने गरिन्थ्यो भन्ने चर्चा रोमन इतिहासमा पाइन्छ । अहिलेसम्मको अनुसन्धान वा प्राप्त प्रमाणहरूका अनुसार त्यो ‘एक्टा डिउर्ना’भन्दा पहिले जनसाधारणलाई आधिकारिक रूपमा महìवपूर्ण जानकारी दिने उद्देश्यले त्यस प्रकारको व्यवस्था विश्वका अन्य स्थानमा भएको पाइएको छैन ।

बरु एक्टा डिउर्ना प्रकाशित हुन थालेपछि त्यसकै लोकप्रियताबाट प्रभावित भई रोमन साम्राज्यका अन्य स्थानबाट पनि ‘एक्टा सिनाटस’, ‘एक्टा पब्लिका’ आदि नामबाट सार्वजनिक चासोका विषयमा जनसाधारणलाई आधिकारिक जानकारी दिने व्यवस्था भएको पाइन्छ । त्यसैले एक्टा डिउर्नालाई नै  पत्रकारिताको बीजारोपण मानिन्छ र यसको श्रेय सम्राट जुलियस सिजर र रोमन सभ्यतालाई दिने गरिन्छ । 

जहाँसम्म साहित्यको सन्दर्भ छ, पत्रकारिताको जस्तो साहित्यको जन्मको कुनै एक निश्चित समयविन्दु तोकेर भन्न सकिँदैन । किनकि मानिसको मन मस्तिष्कबाट अनायास नै सिर्जित लोकसाहित्यलाई कुनै एक निश्चित समयविन्दुमा किटान गरेर तोक्न सम्भव छैन । आजभन्दा करिब सात हजार वर्षअघिको घटना मानिएको रामायणको कथा संस्कृतका आदिकवि महर्षि वाल्मीकिले महाकाव्यका रूपमा लिपिबद्ध गरे । कुल पाँच सय सर्ग, सात काण्ड र २४ हजार श्लोक रहेको वाल्मीकि रामायणभन्दा अघि विश्वमा लिखित स्वरूपको यस्तो साहित्यिक कृतिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन ।

रामायणभन्दा दुई हजार वर्षपछिको महाभारत पूर्वीय साहित्यको अर्को अत्यन्तै महìवपूर्ण धार्मिक साहित्य हो । एक लाख श्लोक रहेको महाभारतमा १८ पर्व रहेका छन् ।  यसका लेखक कृष्ण द्वैपायन हुन्, जो वेदव्यास ऋषिका नामले प्रसिद्ध छन्, उनैले वेद, पुराण, उपनिषद्समेत रचना गरेको मानिन्छ । यद्यपि स्वामी विवेकानन्दले वेदव्यास कोही एक व्यक्ति नभई प्रबुद्ध ऋषिमुनिहरूको एक समूह रहेको र त्यही समूहले विभिन्न कालखण्डमा हिन्दुत्वसम्बन्धी ती सबै महान ग्रन्थहरू रचना गरेका हुन् भन्ने तर्क गरेका छन् । यतिका सबै महान ग्रन्थहरू एक व्यक्तिले मात्र तयार गर्न सम्भव थिएन भन्ने उनको आशयमा विश्वास गर्न सकिने ठाउँ देखिन्छ । जे होस्, मानव सभ्यता आधुनिक युगमा प्रवेश गर्नुअघि नै कालजयी महान् साहित्यिक कृतिहरू दिनसक्नु पूर्वीय जगत्को कम ठूलो योगदान होइन ।  

पश्चिमी जगतको प्राचीन साहित्यको कुरा गर्दा महान् ग्रिक कवि होमरको नाम सबैभन्दा अग्रपङ्क्तिमा आउँछ । उनले अनुमानित इसापूर्व आठौँ वा सातौंँ शताब्दीमा लेखेका इलियड र ओडिसी दुई महाकाव्यलाई युरोप महादेशकै सबैभन्दा प्राचीन साहित्यिक कृति मानिन्छ । ग्रिक भाषामा लिखित इलियडमा १५ हजार ६९३ पङ्क्ति छन् भने ओडिसी १२ हजार १०९ पङ्क्तिको छ । युद्धवीरहरूको गाथा र सुन्दरीहरूको कथा चित्रण गरिएका यी दुई कृतिको विश्व साहित्यमै ठूलो प्रभाव रहिआएको छ । 

यता प्राचीन विश्व साहित्यमा जापानको नाम पनि अग्रपङ्क्तिमा आउँछ । कालखण्डको हिसाबले रामायण, महाभारतजस्तो प्राचीन नभए पनि आजभन्दा करिब एक हजार वर्षअघि जापानी साहित्यकार मुरासाकी सिकिबुद्वारा रचित राजकुमार गेन्जीको कथालाई विश्वको पहिलो उपन्यास मानिन्छ । राजकुमार गेन्जीको जीवन र प्रेमसम्बन्धबारे रोचक चित्रण गरिएको यो उपन्यासकी स्रष्टा मुरासाकी एक नारी भएकीले पनि विशेष उल्लेखनीय मानिन्छ । आजभन्दा एक हजार वर्षअघि नै नारी स्रष्टाले ऐतिहासिक कृति रचना गर्न सफल भएको तथ्य एक अत्यन्त प्रेरणादायी उदाहरण हो । तर यो ऐतिहासिक तथ्यसँग आजका कति साहित्यकार तथा साहित्यप्रेमी परिचित होलान् ? 

यी त भए प्राचीन साहित्यका केही प्रसङ्ग । साहित्यिक पत्रकारिताको प्रसङ्ग पनि यहाँ मननीय हुन आउँछ । यद्यपि प्राचीनताको दृष्टिले साहित्यभन्दा साहित्यिक पत्रकारिता धेरै कान्छो हो । पन्ध्रौँ शताब्दीको मध्यतिर सन् १४५५ मा जर्मनीमा जोहान गुटेनवर्गले मुद्रण प्रविधिको आविष्कार गरेपछि पुस्तक र पत्रपत्रिका छापिने क्रम सुरु भयो । आफूले आविष्कार गरेको प्रविधिको प्रयोग गरी गुटेनवर्गले सन् १४५६ मा प्रारम्भमा तीन सयप्रति बाइबल छापे । जर्मनी भाषामा रहेको त्यो बाइबललाई नै मुद्रण प्रविधिबाट छापिएको पहिलो पुस्तक मानिन्छ । गुटेनवर्गको प्रविधि सफल भएको परिणाम स्वरूप जर्मनीका विभिन्न सहरहरू र युरोपका विभिन्न मुलुकबाट पनि बेलाबेलामा सामयिक पत्रपत्रिका छापिने क्रम सुरु भयो । तीनमा फाट्टफुट्ट  साहित्यिक सामग्री पनि प्रकाशित हुन्थे । सत्रौँ शताब्दीमा सन् १६६३ देखि सन् १६६८ सम्म जर्मनीको ह्यामवर्ग नगरबाट एक मासिक पत्रिका निस्कने गर्दथ्यो । यसका सम्पादक– प्रकाशक एक धार्मिक कवि जोहान रिस्ट थिए । यसमा धार्मिक तथा आध्यात्मिक भावनाका सामग्री प्रकाशित हुन्थे ।  यसैगरी सन् १६८४ मा फ्रान्सको राजधानी पेरिसबाट पियरे बोयलले ‘नुभेले दे ला रिपब्लिका लेटर्स’ प्रकाशित गरे । साहित्यिक सामग्रीको बाहुल्यता भएको त्यो मासिक पत्रिकाको सम्पादकीय साहित्यिक विषयमा केन्द्रित हुने गरेकाले यो पत्रिकालाई साहित्यिक पत्रिकामा गणना गरी युरोपको पहिलो साहित्यिक पत्रिकाको मान्यता दिइएको छ ।

भारतमा पत्रकारिताको इतिहास सन् १७८० मा जेम्स अगस्टस हिक्कीले कोलकताबाट साप्ताहिक बङ्गाल गजेट प्रकाशित गर्न थालेपछि भएको हो । हिन्दी साहित्यिक पत्रकारिताको प्रारम्भ भने सन् १९०० मा चिन्तामणि घोषद्वारा इलाहाबादबाट प्रकाशित ‘सरस्वती’ नामक साहित्यिक पत्रिकाबाट भएको पाइन्छ । प्रसिद्ध भारतीय साहित्यकार महावीरप्रसाद द्विवेदीले १७ वर्षसम्म यो पत्रिकाको सम्पादक भएर सेवा गरेका थिए । हिन्दी गद्य र पद्य साहित्यको लोकप्रियता वृद्धिमा ‘सरस्वती’को ठूलो योगदान रहेको बताइन्छ । त्यसो त योभन्दा धेरैअघि सन् १८२१ मै राजा राममोहन रायद्वारा कोलकाताबाट प्रकाशित बङ्गाली साप्ताहिक ‘संवाद कौमुदी’ले पनि बङ्गाली साहित्यको उन्नयनमा योगदान गरेको थियो । राजा राममोहन सती प्रथालगायत भारतीय समाजमा प्रचलित अमानवीय विभिन्न अन्धविश्वासका कट्टर विरोधी थिए । साहित्यका माध्यमबाट त्यस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउन राममोहनले ‘संवाद कौमुदी’लाई एक सशक्त माध्यम बनाएका थिए । भारतवर्षका भाषासाहित्यहरूमध्ये संस्कृतपछि तमिल साहित्यको इतिहासलाई प्राचीन  मानिन्छ । 

नेपालका सन्दर्भमा कुरा गर्दा साहित्यकै जगमा नेपाली पत्रकारिताको विशाल मन्दिर उभिएको पाइन्छ भने पत्रकारिताकै माध्यमबाट नेपाली साहित्यले फैलिने माध्यम पाएको देखिन्छ । यद्यपि दक्षिण एसियाली पत्रकारितामा नेपाली पत्रकारिता निकै कान्छो हो, कठोर र निरङ्कुश राणा शासनका कारण शिक्षाबाट वञ्चित हुनुपरेकाले । नेपालभित्रैबाट पत्रिका प्रकाशन गर्न सकिने वातावरण नभएकाले नै बनारसमा विद्यार्थी जीवन बिताइरहेका मोतीराम भट्टले विसं १९५० मा रामकृष्ण बर्माको समेत सहयोग लिई उतैबाट मासिक ‘गोर्खाभारत जीवन’ प्रकाशित गरे । नेपाली भाषामा प्रकाशित त्यो नै पहिलो पत्रिका थियो । पर्याप्त प्रमाणहरूको अभावमा त्यस पत्रिकाका बारेमा विस्तृतमा केही भन्न नसकिए पनि मोतीराम आफैँ साहित्यसेवी भएकाले त्यस पत्रिकामा साहित्यिक सामग्रीलाई पर्याप्त स्थान दिइएको हुनुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपाली भाषामै र नेपालबाटै प्रकाशित पूर्ण साहित्यिक पत्रिका भने विसं १९५५ मा प्रकाशित ‘सुधासागर’ हो । यसको पूर्ण श्रेय नरदेव पाण्डेलाई जान्छ । यद्यपि सुधासागरका प्रतिहरू उपलब्ध नभएका कारण यसको योगदानबारे विश्लेषण गर्न सम्भव भएको छैन । 

त्यसपछि वि.सं.१९५८ वैशाखदेखि राज्यसत्ताकै सदिच्छाबाट ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसका लागि तत्कालीन प्रधानमन्त्री देवशमशेर सधैँका लागि धन्यवादका पात्र बनेका छन् । सुधासागरका संस्थापक नरदेव पाण्डेलाई नै देवशमशेरले गोर्खापत्र प्रकाशनको गहन जिम्मेवारी सुम्पेकाले सुधासागरको साइनो गोर्खापत्रसँग जोडिएको छ । गोर्खापत्र नेपालको पहिलो अखबार भए पनि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा यसको योगदान अतुलनीय रहिआएको छ । गोर्खापत्रका विशेषाङ्क र शनिवासरीय अङ्कहरूले नेपाली साहित्यका विकासका लागि फराकिलो बाटो दिँदै आएका छन् । पूर्ण साहित्यिक प्रकाशनको कुरा गर्दा शारदा मासिक (विसं १९९१), उद्योग ( १९९२), साहित्य स्रोत (२००४), घरेलु इलम पत्रिका (२००४), आँखा (२००५) आदिको पनि योगदान रहेको पाइन्छ । त्यसमा पनि  विशेषगरी शारदा र उद्योगले धेरै साहित्यकारहरूलाई जन्माएको इतिहास  छ  । 

नेपाली साहित्य र नेपाली पत्रकारिताबीचको सम्बन्ध निकै घनिष्ठ र गहिरो छ । यो सम्बन्धको इतिहास उनै महान् विभूति युवक कवि मोतीराम भट्टको सत्कर्मदेखि नै प्रारम्भ भएको पाइन्छ । किनकि उनले नेपाली भाषामा पहिलो पत्रिका प्रकाशित गर्ने ऐतिहासिक साहस गरे भने उनी एक प्रतिभाशाली साहित्यकार त छँदै थिए । उनले बनारसबाट गोर्खाभारत जीवन मासिक पत्रिका निकाल्ने आँट नगरेका भए त्यसबाट प्रेरित भएर काठमाडौँबाट सुधासागर प्रकाशित हुने वातावरण बन्दैन थियो । सुधासागर प्रकाशित गरेर काठमाडौँमा एउटा सिर्जनशील वातावरण सिर्जना  गर्न नसकेका भए नरदेव पाण्डेले गोर्खापत्र प्रकाशित गर्ने ऐतिहासिक जिम्मेवारी सायद पाउँदैन थिए होलान् । त्यसैले नेपाली भाषाको पहिलो पत्रिका गोर्खाभारत जीवन, नेपालबाट प्रकाशित पहिलो पत्रिका सुधासागर र नेपाली भाषाको पहिलो अखबार गोर्खापत्रको जन्म एकै शृङ्खलाका कडी बनेका छन् । 

नेपाली साहित्य र पत्रकारिताको विगत पल्टाउँदा एकै व्यक्तिले साहित्य र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय योगदान पु-याएका प्रशस्त दृष्टान्त भेटिन्छन् । यस्ता महारथिहरूमा मोतीराम, नरदेव, जयपृथ्वीबहादुर सिंह मात्र हैन शारदाका सम्पादक ऋद्धिबहादुर मल्ल, घरेलु इलम पत्रिकाका सम्पादक भीमनिधि तिवारी, साहित्य स्रोत र पछि जागरण साप्ताहिकका पनि सम्पादक हृदयचन्द्रसिंह प्रधान, नेपालको पहिलो दैनिक अखबार आवाजका सम्पादक युगकवि सिद्धिचरण श्रेष्ठ, रेडियो नेपालका संस्थापक निर्देशक कथाकार तारिणीप्रसाद कोइराला आदिका नाम अग्रपङ्क्तिमा आउँछन् । 

साहित्य सिर्जना र पत्रकारिता दुवै क्षेत्रमा कलम चलाएर जीवनको भारी बिसाइसकेका हाम्रा अग्रजहरूलाई पनि यस सन्दर्भमा सम्झनै पर्ने हुन्छ । रूपरेखा साहित्यिक पत्रिकाको माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि प्रशस्त सेवा गरेका श्रद्धेय बालमुकुन्ददेव पाण्डे अखबारी पत्रकारिताका पनि एक हस्ती हुनुहुन्थ्यो । यसैगरी हाँस्यव्यङ्ग्यका महारथि भैरव अर्याल र केशवराज पिँडाली, आख्यानकार मदनमणि दीक्षितले पत्रकारिता क्षेत्रमा पु-याएको योगदान इतिहासमा स्पष्टसँग अङ्कित छ । समाचारकर्मीको पेसामा जीवन विताएका दुर्लभलालसिंह, बासु रिमाल यात्री, लीलासिंह कर्मा, अमृतलाल श्रेष्ठ, शिव अधिकारी आदिका साहित्यिक सिर्जना हाम्रो साहित्य भण्डारमा सुरक्षित रहेका छन् । 

विद्वान् म्याथु आरनोल्डले ‘पत्रकारिता हतारिएको साहित्य हो’ भनेका थिए । यस हिसाबले साहित्यलाई पनि फुर्सदको पत्रकारिता हो भन्दा गल्ती हुँदैन । किनकि साहित्य र पत्रकारिता दुवैको लक्ष्य मानिसलाई सजग, सचेत र संवेदनशील बनाउनु हो । साहित्य र पत्रकारिता दुवै संदेशवाहक हुन् भने अभिव्यक्तिका सशक्त माध्यम  । कुनै एक देश वा भूगोलको मात्र होइन, समग्र मानव सभ्यताकै अग्रगामी यात्रामा साहित्य र पत्रकारिता एकै रथका दुई पाङ्ग्रासरह चलायमान रहँदै आएका छन् र रहिरहने छन् । 

000

https://gorkhapatraonline.com बाट साभार 

बदलिँदो स्वरूपमा आजको साहित्यिक पत्रकारिता - मातृका पोखरेल

नेपाली वाङ्मयको विकासको सन्दर्भमा हेर्ने हो भने साहित्यिक पत्रकारिताको भूमिका सबैभन्दा अग्रणी छ । नेपालमा पत्रकारिताको शुभारम्भ गर्ने श्रेय पनि साहित्यिक पत्रकारिताको रहेको तथ्य इतिहासले लिपिबद्ध गरिसकेकै छ । मोतीराम भट्टद्वारा बनारसबाट सम्पादित र प्रकाशित भनिएको 'गोरखा भारत जीवन' पत्रिका वि.सं. १९५५ साउनमा ठहिँटी काठमाडौँबाट पण्डित नरदेव र मोतीकृष्ण शर्माद्वारा सम्पादित र प्रकाशित सुधासागरभन्दा बाह्र वर्षपहिले नै प्रकाशित भएको मानिन्छ । तर यसको कुनै पनि प्रमाणित तथ्य हालसम्म प्राप्त छैन । त्यसैले हामीले सुधासागरलाई नै पहिलो मान्दै आएका छौं । सुधासागर प्रकाशन भएको पनि एकसय सत्ताइस वर्ष नाघी सकेको छ । सुधासागर पनि वि.सं. १९५८ मा प्रकाशन आरम्भ भएको गोरखापत्रभन्दा तीन वर्ष जेठो पत्रिका हो । इतिहासको यो पाना पल्टाएर हेर्दा साहित्यिक पत्रकारिताको इतिहास कम गौरवपूर्ण छैन । यस्तो गौरवमय इतिहास बोकेको साहित्यिक पत्रकारिताको वर्तमान कस्तो छ ? अहिले कुन अवस्थामा बाँचिरहेको छ ? साहित्यिक पत्रकारिताको कुरा चल्यो कि त्यसबेला हामी यही बारेमा धेरै समय दिएर छलफल गरिरहेका हुन्छौं । साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाको बारेमा धारणा बनाउँदा हामीले एकसय सत्ताइस वर्षमा भएको प्रकाशनको क्षेत्रमा भएको परिवर्तन र विकासलाई अघिल्तिर राख्न जरूरी छ । हाम्रै पुस्ताले हस्तलिखित पत्रिकाबाट आफ्ना रचनाहरू लेख्न आरम्भ गऱ्यो । लिथो गरेर प्रकाशन गरिएका सामग्रीहरू पढ्यो । लेटर प्रेसबाट प्रकाशन गर्न भ्यायो । अहिले अफसेट प्रविधिबाट पनि फड्को मारेर इन्टरनेट दुनियाँमा डुबुल्की मार्दैछ । अहिलेको पुस्ताले हस्तलिखित पत्रिकाको के कुरा लिथो मेसिनबाट प्रकाशित पत्रिकामात्र होइन, लेटर प्रेस पनि थाहा पाएन । अहिलेको साहित्यिक पत्रकारिता प्रतिको धारणा निर्माण गर्दा हामी यो पक्षलाई नजरअन्दाज गरेर सही मूल्याङ्कन गर्न सक्दैनौं ।

नेपाली भाषामा साहित्यिक पत्रिकाको योगदानको इतिहासतिर फर्किंदा शारदा ( वि. सं. १९९१) भन्दा पहिल्यै नेपाल बाहिर बाट प्रकाशित सुन्दरी ( वि.सं. १९६३), माधवी ( वि.सं. १९६५), गोर्खाली (वि.सं. १९७२) , चन्द्रिका ( वि.सं. १९७४), जन्मभूमि ( वि.सं. १९७६), नेपाली साहित्य सम्मेलन ( वि.सं. १९८८) आदि पत्रिकालाई हामीले विर्सिनु हुँदैन । शारदाको प्रकाशनपछि बनारसबाट प्रकाशित उदय (वि.सं. १९९३) को दीर्घ सेवा पनि कम महत्त्वको छैन । 'साहित्यस्रोत' (वि.सं २००४), 'आँखा' ( वि.सं २००५), 'पुरुषार्थ' (वि.सं २००६), 'भारती' (वि.सं २००६) आदि हुँदै २००७ सालको क्रान्तिपूर्व साहित्यिक पत्रिकाहरूको संख्या डेढ दर्जनजति पुग्नु पनि उल्लेख्य नै मान्नु पर्छ । वि.सं २००७ सालपछि साहित्यिक पत्रिकाहरूको लहर नै चल्यो । 'सेवा' (वि.सं २००८), 'प्रतिभा' (वि.सं २००९), 'प्रगति' (वि.सं २०१०), नौलो पाइलो (वि.सं २०१२), 'इन्द्रेनी' (वि.सं २०१३), 'साहित्य' (वि.सं २०१६), 'रूपरेखा' (वि.सं २०१७), 'रचना' (वि.सं २०१८), 'हिमानी' (वि.सं २०१९), 'भानु' (वि.सं २०२०), 'रत्नश्री' (वि.सं २०२०) अभिव्यक्ति (वि.सं २०२७) , विगुल (वि.सं.२०२७), वेदना (वि.सं. २०३०) जस्ता विविध पत्रिकाले यथासम्भव निरन्तरता दिंदै लगे भने देशका पूर्व-पश्चिम विभिन्न भेगबाट पनि साहित्यिक पत्रिका, साहित्यिक सङ्कलनहरू निस्कँदै गए । त्यसपछि निस्किएका पत्रिकाहरूको सूची धेरै लामो छ । नेपाली भाषा र साहित्यको विकासका लागि ती पत्रिकाहरूको योगदान अतुलनीय छ । नेपाली बाहेक नेपालका अन्य मातृभाषामा साहित्यिक पत्रकारिताको विकासक्रम अत्यन्तै अत्यासलाग्दो छ । मातृभाषाप्रति राज्यको दृष्टिकोण अत्यन्तै पुर्वाग्रही रह्यो । एकप्रकारले भन्ने हो भने मातृभाषालाई दमन गर्न राणा शासनकाल र पञ्चायतीकालका शाषकहरू नाङ्गो रूपमा प्रस्तुत भए । त्यति हुँदाहुँदै पनि मानिसहरूले आफ्नो मातृभाषा जोगाउन धेरै सङ्घर्ष गरे । राणा शासनकै समयमा नेपालभाषाको साहित्यिक पत्रिका ‘बुद्वधर्म’ (वि.सं. १९८२) लाई मातृभाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका मानिन्छ । वि.सं . २०४६ सालको आन्दोलन पछि विभिन्न मातृभाषामा साहित्यिक पत्रिका प्रकाशित हुने क्रम बढ्यो । यी भाषामध्ये नेपाल भाषा, मैथिली, थारु, राई, लिम्बू, तामाङ, मगर, गुरुङ आदि भाषामा साहित्यिक पत्रिकाहरू मनग्ये प्रकाशन । नेपाल भाषामा मचाक्यव, पुलुकिसी, थायभू, नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौ कन्हे जस्ता पत्रिकाले निरन्तर भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेका छन् । तामाङ भाषामा प्राङबोला छारहान, तामाङ डाजाङजस्ता पत्रिका प्रकाशित भइरहेका छन् । मगर भाषामा लाङ्घाली, बीम्लीक र लाफा नामका साहित्यिक पत्रिकाहरूले निरन्तरता दिइरहेका छन् । अनि मैथिली भाषामा आँगन, नैमिकानन, आकृति, पल्लव, मिथिला वाणी आदि पत्रिकाको उच्च योगदान रहेको पाइन्छ । डोट्यालीको गुगुल्डीले निरन्तरता कायम गरेको छ । भोजपुरीमा मोजर, गमक, अजोरियाजस्ता पत्रिकाले आफ्नो इतिहास रचेका छन् । त्यस्तै थारु भाषाको गोचाली, राई भाषाको बुङवाखा, कोङ्पी, लिब्जुभुम्जु अनि लिम्बू भाषाका तानछोपा, पालाम् आदि प्रकाशित छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानले वर्तमान नेतृत्वले मातृभाषाका साहित्यिक पत्रिका प्रकाशनमा प्रशस्तै ध्यान पुऱ्याएको देखिन्छ । गोरखापत्रले समावेशीताको नाममा विभिन्न भाषाका सामग्री प्रकाशित गरिरहेको छ । यस्ता सामग्रीमध्ये अधिकांशमा साहित्यिक रचनाकै प्रधानता रहेको पाइन्छ ।

साहित्यिक पत्रकारिताको गौरवमय इतिहासको जति पनि बखान गर्न सकिन्छ । किनकी नेपाली वाङ्मयको विकासका निम्ति सबैभन्दा बढि यही क्षेत्रले सहयोग गऱ्यो । साहित्यिक पत्रिकाहरूकै कारण हामीले अहिले देखेका धेरैजसो प्रतिभाशाली सर्जकहरूको प्राप्ति भएको हो । साहित्यिक पत्रिकाले धेरै साहित्यिक प्रतिभाहरूलाई जन्मायो । आफैंले नजन्माएकाहरूलाई हुर्कायो । त्यसैले नेपाली वाङ्मयको विकासको मूल्याङ्कन साहित्यिक पत्रकारितालाई ओझेलमा पारेर गर्न सकिंदैन । यो सत्यलाई सबैले स्वीकार गर्नै पर्छ र गरेकै छन् । नेपाली साहित्यको आधुनिक युगको प्रारम्भ 'शारदा' पत्रिकाबाट भएको थियो भन्ने भाष्यलाई हामी सबैले स्वीकारेकै छौं । प्रगति युग र रूपरेखा युग भनेर केही समालोचकहरूले भनिरहनु भएकै छ । प्रगतिशील साहित्यको विकासको सन्दर्भमा समालोचकहरूले 'वेदना - संकल्प' लाई निकै महत्त्व दिएको देखिन्छ । नेपाली वाङ्मयको चर्चा साहित्यिक पत्रिकाहरूको योगदानलाई किनारातिर धकेलेर गर्नै सकिंदैन । त्यसैले पनि सहित्यिक पत्रकारिताको महत्त्व ऐतिहासिक छ ।

राज्यको साहित्यिक पत्रिकालाई हेर्ने दृष्टिकोण कहिल्यै सकारात्मक थिएन त ? यो कुरो बारम्बार हामी भन्दै आएका छौं । साहित्यिक पत्रकारिताका बारेमा आयोजित गोष्ठीमा अधिकांश वक्ताहरूले यो कुरा उठाइएको सुनिन्छ । अब यो कुरालाई हामी कति उठाइरहन्छौं ? तर यो विषय आंशिक मात्र सत्य हो । हुनुपर्ने र आवश्यक मात्रामा राज्य सकारात्मक रहेन भन्ने कुरा सत्य हो । शारदा पत्रिकाका केही सम्पादकीय, सूचना र जानकारी हेऱ्यौं भने राणा शासनको कालदेखि शाषकहरूको धेरथोर सहयोग प्राप्त गरेको पढ्न पाइन्छ । तर त्यो पक्कै नगण्य थियो । तर केही होइन भन्ने होइन । साहित्यिक पत्रिकाको आवश्यकताको पूर्ण सम्बोधन राणाकालीन समयदेखि अहिलेसम्मै खासै परिवर्तन आएको पाइँदैन । मैले केही दिन अघिमात्र साहित्यिक त्रैमासिक पत्रिका 'हाम्रो मातृभूमि', मकवानपुरका साहित्यकार देवराज खरेलसँग सुरेश श्रेष्ठले लिनुभएको अन्तर्वार्ता पढेको थिएँ । त्यहाँ उहाँले आफूले प्रकाशन गर्ने 'हाम्रो मातृभूमि' साहित्यिक पत्रिका प्रकाशनको मूल आधार सरकारले दिने लोक कल्याणकारी विज्ञापन हो भन्नुभएको थियो । करिव डेढ दशक अगाडि नेपाल साहित्यिक पत्रकार सङ्घको पहलमा नेपाल सरकारले यो विज्ञापन दिने निर्णय गरेको थियो । प्रेस काउन्सिलबाट वर्गिकृत साहित्यिक पत्रिकालाई दिने यो विज्ञापनबाट पत्रिका प्रकाशनका लागि धेरै राहत पुगिरहेको छ । हुलाक सुविधाजस्ता साहित्यिक पत्रकारहरूले माग गरेका अन्य कैयौं साधारण र सामान्य सुविधाहरूबाट साहित्यिक पत्रिकाहरू अझै बञ्चित छन् ।

एक समय थियो, साहित्यिक पाठकका बीचमा साहित्यिक पत्रिकाको आगमन एउटा उत्सवजस्तै हुन्थ्यो । नयाँ अङ्क सँगसँगै एउटा उत्साहको जन्म हुन्थ्यो ।त्यो अङ्कमा छापिएको कविता, कथा वा समीक्षा पाठकको मस्तिष्कमा महिनौँसम्म घुमिरहन्थ्यो । तर आज, एकैछिनमा मोबाइलको स्क्रिनमा हजारौँ सूचना , कथा , कविता , समीक्षा एकैछिनमा ओइरिन्छन् । त्यसैबीचको एउटा सानो छापा साहित्यिक पत्रिका कसरी बाँच्छ ? हामी भने एउटा छापा पत्रिका प्रकाशन हुँदा पहिलेको झैं उत्सव मनाइयोस् भनेर सोच्छौं । उहिलेझैं पाठकको मस्तिष्कमा महिनौँसम्म एउटा पत्रिकामा छापिएको रचनाले प्रभाव परिरहोस् भनेर सोच्छौं । त्यो नभएको देखेर हामी पठन संस्कृति नष्ट भयो भनेर भन्छौं । अब हामीले हाम्रो सोच्ने तरिका माथि एकपटक निधार खुम्च्याएर सोच्ने बेला भएको छ । यो त आजको कुरा भयो । अझ भोलि के होला । भोलिको दिनमा त अझै प्रविधि, कृत्रिम बौद्धिकता र इन्टरनेटको क्षेत्रको थप प्रगतिको प्रभाव कति बढ्ने होला ? हामी अनुमान मात्र गर्न सक्छौं । हिजो पनि साहित्यिक पत्रकारिता साध्य थिएन, साधन थियो । आज पनि यो साधन नै हो । नेपाली वाङ्मयको श्रीवृद्धि यसको उद्धेश्य हो । त्यही उद्धेश्य प्राप्त गर्ने यो साधन हो । प्रविधिको विकासले साधनहरू परिवर्तित हुन वाध्य भए । समाजमा उत्पादनमा आएको व्यापक परिवर्तनले मानिसहरू ठुलाठुला वृहत् सामग्री पढ्ने क्रम चाहिँ घटेको छ । पढ्ने क्रम मात्र होइन लेख्ने क्रम पनि घटेको छ । जापान जस्तो आधुनिक उत्पादन प्रणालीको विकास भएकै कारण त्यहाँ हाइकु जस्ता छोटाछोटा विधाको जन्म भएको हुनसक्छ । मोवाइलको स्क्रिनमा लघु रचनाहरू पढ्नेको संख्या यो दशकमा कति बढ्यो होला ? पठन संस्कृतिको समीक्षा गर्दा यो पाटोलाई हामीले पटक्कै विर्सिनु हुँदैन ।

साहित्यिक पत्रकारिताको भविष्य एकदम अन्धकारमय छ भन्ने धारणा बनाउनु अत्यन्तै गैरजिम्मेवारी कार्य हुन्छ । परम्परागत छापा माध्यमबाट डिजिटल माध्यममा सर्ने क्रममा नयाँ सम्भावनाहरू प्रशस्तै देखिएका छन् । अनलाइन साहित्यिक पत्रिकाहरूको विकास, सामाजिक सञ्जालमार्फत साहित्यिक सामग्रीको प्रसार, र विश्वव्यापी पाठकवर्गसम्म पुग्ने अवसरले नयाँ आयाम थपेको कुरा हामीले भुल्नु हुँदैन । इन्टरनेट युगको आगमनसँगै छापा पत्रकारितामा पक्कै चुनौति थपिएको छ । यो चुनौति साहित्यिक पत्रकारितामा मात्र होइन, समग्र पत्रकारितामैं देखिएको छ । डिजिटल दुनियाँका कारण पाठकीय संस्कारमा पारिवर्तन आएको छ । छापा माध्यमप्रतिको आकर्षण घट्दै गएको छ । अहिलेको युवा पुस्तामा साहित्यिक पत्रिका पढ्ने संस्कारको ह्रास भएको छ, तर उनीहरू इन्टरनेट दुनियाँको सामग्री अध्ययन गरिरहेका छन् । इन्टरनेट युगको हस्तक्षेपकारी प्रवेशले छापा पत्रकारितालाई पक्कै संकटमा पारेको छ । तर बुझ्नै पर्ने एउटा कुरा चाहिँ के छ भने साहित्यिक पत्रकारिता भनेपछि छापा प्रकाशनबाट छापिने मासिक, द्वैमासिक र त्रैमासिक पत्रिकामात्र हो भन्ने बुझाइबाट हामीले आफूलाई मुक्त गर्नुपर्छ । छापा प्रकाशन एउटा मञ्च हो र थियो । अब त्यो मञ्चको ठाउँमा अर्को नयाँ मञ्चको आक्रामक ढङ्गको उपस्थिति भयो । त्यो परिवर्तनलाई हामीले सहजै स्वीकार्न जरुरी छ । यो शताब्दीको साहित्यिक पत्रकारिताको यात्रा हस्तलिखित पानादेखि इन्टरनेटको प्लेटफर्मसम्म फैलियो । यो विकासलाई केन्द्रित गरेर पक्कै नकारात्मक कुराहरूलाई धेरै औंल्याउन पनि सकिन्छ तर यो नयाँ साइवर युगले साहित्यिक पत्रकारितालाई वैश्विक बनाउनेछ । अब लेखकले आफ्ना विचार विभिन्न डिजिटल मिडियामार्फत् विश्वमा प्रत्यक्ष प्रवाहित गर्न सक्नेछन् । यो सबैभन्दा ठुलो र सकारात्मक उपलब्धि हो । नयाँ प्लेटफर्मबाट किन नहोस्, साहित्यिक पत्रकारिताको आवश्यकता र महत्त्व अवश्य कमजोर हुँदैन । साहित्यिक पत्रकारितामा भित्रिएको डिजिटल युगको अत्यन्तै महत्वपूर्ण प्राप्ति भनेको आजै लेखिएको साहित्य अष्ट्रेलिया, अमेरिका, जापान आदि देशमामा बसेका नेपालीहरूले पनि तुरुन्तै पढ्न सक्छन् । यसले साहित्यिक पत्रकारितालाई सीमाहीन बनाएको छ ।

साहित्यिक पत्रकारिताको भविष्य उज्वल छ वा छैन भन्ने प्रश्नको उत्तर हाम्रो सामूहिक प्रतिबद्धतामा निर्भर गर्दछ । राज्यले संवेदनशील र सहयोगी नीति लिनुपर्छ । सर्जकहरू र सम्पादकहरू युगअनुकूल परिवर्तनका लागि तयार हुनुपर्छ । पाठकवर्गमा साहित्यिक चेतनाको विकास गर्नुपर्छ । गौरवमय इतिहासको धनी साहित्यिक पत्रकारिताले आफ्नो प्रासंगिकता कायम राख्न सक्छ । भविष्य चुनौतीपूर्ण छ तर निराशाजनक कदापि होइन ।

साहित्यिक पत्रकारितामा इन्टरनेट युगलाई कसरी प्रभावकारी बनाएर वाङ्मयको विकास गर्ने भन्ने बारेमा हाम्रो योजना केन्द्रित गर्न जरुरी छ । साहित्यिक पत्रकारिताको यो परिवर्तित स्वरूप कुनै अन्त्य होइन । यो निरन्तर यात्राको अर्को अध्याय मात्र हो ।
000










राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको योगदान - शशिधर भण्डारी

विश्वका हरेक राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहँदै आएको देखिन्छ । साहित्यिक पत्रकारिता साहित्य र कला क्षेत्रको विषद परिभाषासित जोडिन्छ । साहित्यिक पत्रकारिताको चरित्र समाचारमूलक कम र विचारमूलक बढी हुन्छ । त्यसैले साहित्यिक पत्रकारिताले विश्वमा क्रान्ति र परिवर्तनको सपना मात्र बाँडेको हुँदैन यसले विचार निर्माणको तहमा पनि महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । त्यसैले साहित्यिक पत्रकारिताले राजनीतिक आन्दोलन, जनसंघर्ष तथा क्रान्तिको पूर्वसन्ध्यामा एउटा परिवर्तनकामी माहोल सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । क्रान्ति वा परिवर्तनपश्चात् नयाँ व्यवस्थामा जनअपेक्षा अनुरुप काम भएनन्, विकृति र विसंगतिहरु कायम रहे भने पनि लेखक साहित्यकार तथा साहित्यिक पत्रकारहरुले नै अग्रमोर्चामा रहेर संघर्ष गरेको पाइन्छ । समाजवादी आन्दोलनको इतिहासमा स्टालिन युगको निकै ठूलो ऐतिहासिक दृष्टान्त छ । तर पनि त्यो युगमा कमरेड स्टालिनबाट कतिपय परिस्थितिजन्य कमजोरी रहेका थिए । तत्कालीन सोभियत संघमा साहित्यकारहरूले नै क्रान्तिको माहोल सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । लेनिनले आमा उपन्यासको चर्चा गर्ने सन्दर्भमा म्याक्सिम गोर्कीको आमा उपन्यासले रूसको समाजवादी क्रान्तिलाई १० वर्ष नजिक भएको बताएका थिए । आमा उपन्यासले १९२७ तिर हुने क्रान्तिलाई १९१७ मा ल्यायो भनेका थिए । सो उपन्यासले लाखौं युवालाई बोल्सिविक क्रान्तिको मार्गमा लामबद्ध हुन प्रेरित गरेको थियो । सन् १७८९ मा सम्पन्न फ्रान्सेली राज्यक्रान्तिमा पनि ‘विश्वकोष’ ले त्यतिबेलाको समयमा साहित्यिक पत्रकारिताको भूमिका निर्वाह गरेको थियो । रुसो, दिदेरो, भोल्त्यर, मन्टेस्क्यूलगायतका बौद्धिक लेखक तथा साहित्यकारहरुका कृति साहित्य र विचारको प्रभावमा फ्रान्सेली जनताले भोग विलासको केन्द्रका रुपमा रहेको भर्साइलको दरबार र राजतन्त्रका विरुद्धमा धावा बोलेका थिए । चीनमा माक्र्सवादी कला, साहित्य र विचारको प्रतिनिधित्व गर्ने ‘नवयुग’ भन्ने पत्रिकामा लिचा ताओले लेखेका दुईवटा वैचारिक लेखले त्यत्रो चीनलाई हल्लाएको थियो । तिनै लेखको जगमा नै सन् १९१९ मा ‘मे फोर्थ’ आन्दोलनको ज्वार सिर्जना भएको थियो । अंग्रेजी साम्राज्यवादका विरुद्धमा चलेको भारतको स्वतन्त्रता संग्राममा पनि साहित्यिक पत्रकारिताको अहं भूमिका रहेको थियो । यी त केही सीमित उदाहरण मात्र हुन् । विश्व र दुनियाँभरिका राजनीतिक आन्दोलनको इतिहासमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहेको तथ्य इतिहास बोल्दछ । त्यस सिलसिलामा नेपाल पनि अपवाद मुलुक होइन । साहित्य राजनीति भन्दा जेठो देखिन्छ । साहित्यले नै राजनीतिक विचार निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो पूर्वीय दर्शनमा साहित्यलाई एउटा प्रकाशको रूपमा र साहित्यकारलाई प्रजापतिका रूपमा सम्मान दिइएको पाइन्छ । त्यसको समयानुकूल विकसित र आधुनिक रूप नै साहित्यिक पत्रकारिता हो ।

साहित्यिक पत्रकारिताले पूर्वीय दर्शनको प्राज्ञिक मूल्यसित पनि सम्बन्ध राख्दछ । हिन्दु दर्शनका सबै शास्त्रहरू विराट साहित्यका खजाना हुन् । त्यसभित्रका मिथक तथा अन्धविश्वासपूर्ण कर्मकाण्ड अनि विभेदको व्यवस्थाभित्रको जीवनविरोधी मूल्यको प्रश्न भने अर्को विमर्शको विषय हो । समाचार पत्रकारितालाई हतारको साहित्य भन्ने प्रचलन छ । समाचार पत्रकारिताले पनि पत्रिकाका पेजहरूमा साहित्यिक विधाभित्रका विभिन्न सामग्रीहरूलाई स्थान दिएर साहित्यको उत्थानमा योगदान पु¥याएको पाइन्छ । समाचार पत्रकारिताको मुख्य भूमिका आवाजविहीनहरूको आवाज बन्नु हुन्छ र यसले देश विदेशका समाचार, जानकारी तथा सूचनाहरुलाई जनसमक्ष ल्याउँछ । साहित्यिक पत्रकारिताले एउटा मिसन बोकेको हुन्छ । विचार निर्माणमा साहित्यिक पत्रकारिताको र प्रचारमा समाचार पत्रकारिता वा आमसञ्चारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताका बीचमा गहिरो सम्बन्ध रहेको हुन्छ । दुनियाँको इतिहासमा समाचार पत्रकारिता भन्दा साहित्यिक पत्रकारिता जेठो भएको देखिन्छ ।

नेपालको पत्रकारिताको इतिहासको जग पनि साहित्यिक पत्रकारिता नै थियो । तर चौधौं शताब्दीमा नै युरोपमा पुनर्जागरणको युग आएको थियो । जुन युगले मध्ययुगीन सामन्ती बर्बर शासन र दैवी सिद्धान्तमा आधारित अन्धविश्वासलाई जोडदार थप्पड हानेको थियो । त्यसैको जगमा युरोपमा साहित्यिक पत्रकारिताले एसियामा भन्दा पहिल्यै विकास गरेको थियो । त्यसैले आज पनि साहित्यिक पत्रकारिताको इतिहासमा पाश्चात्य चिन्तन परम्परा नै वर्चस्वशाली देखिन्छ । भारतमा अंग्रेजी शासनको समयमा सुधारवादी आन्दोलन भए । कैयौं साहित्य, कला र संस्कृतिको क्षेत्रमा नवीन धाराहरूको उदय भयो । त्यसलाई कतिपय लेखकहरूले पुनर्जागरणको संज्ञा दिएका छन् । तर ती आन्दोलनमा पुनर्जागरण आन्दोलनमा हुने आधारहरु पाइँदैनन् । तर पनि भारतको साहित्यिक पत्रकारिताको इतिहास सुधारवादी आन्दोलनको गति र प्रवाहमा नै विकास भएको थियो । युरोपको कुरा त धेरै अगाडिको कुरा हो । भारतमै सुधारवादी आन्दोलन चलेको बखतमा नेपालमा श्री ३ जङ्गबहादुर राणाको उदय भएको थियो र देशमा जहानियाँ निरंकुशतन्त्र उदाएको थियो । नेपालको साहित्यिक पत्रकारिताको इतिहास खोज्दा विक्रम सम्वत १९४३ मा बनारसबाट प्रकाशित ‘गोरखा भारत जीवन’ भन्दा अगाडि जान सकिन्न । त्यसकारण नेपालको समाचार पत्रकारिताको इतिहास मात्र होइन, साहित्यिक पत्रकारिताको इतिहास पनि निकै कान्छो देखिन्छ । किनभने नेपालको निरंकुश सामन्ती शाहवंश परम्परा र राणा शासनको जहानियाँ निरंकुशताले नेपालीलाई स्वतन्त्र रुपमा पढ्न लेख्न, विचार सम्प्रेषण गर्न तथा प्राज्ञिक विमर्श गर्नमा पूर्णरूपमा बन्देज लगाएको थियो । सन् १९५० तदनुरूप विसं २००७ सालमा आधुनिकतामा प्रवेश गरेको नेपालमा शाहवंशले शिक्षा क्षेत्रमा ध्यान दिए तापनि तिनीहरूको मुख्य जोड स्तुतिवादी शिक्षाको आधार निर्माणमा केन्द्रित भयो । त्यसकारण मिसनलाई आधार बनाएर मात्र प्रस्फुटन हुने साहित्यिक पत्रकारिताले धेरै उतारचढावपूर्ण वातावरण तथा उकाली ओरालीहरूको सामना गर्नुप¥यो । यस्ता धेरै समस्याको अलावा आज नेपालको समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताले द्रुत गतिमा विकास गरेको देखिन्छ । इतिहासका घटनाचक्रलाई हेर्दा यो गुणात्मक फड्को नै हो । मूलतः नेपाली साहित्य पत्रकारिता र समाचार पत्रकारिता दुबैको भूमिका नेपालको राजनीतिक आन्दोलनको इतिहासमा लोकतन्त्रका पक्षमा उभिदै आएको उज्यालो परम्परा छ । त्यसमा देशका बाम तथा लोकतान्त्रिक विचार सम्बद्ध साहित्यिक पत्रकारिताको इतिहास धेरै प्रभावकारी रहेको छ ।

विक्रम सम्वत् १९४३ मा बनारसबाट प्रकाशित ‘गोरखा भारत जीवन’ हिन्दी भाषामा प्रकाशित भएको थियो । नेपाली भूमिमा नेपाली भाषामा प्रकाशित पहिलो नेपाली साहित्यिक पत्रिका ‘सुधासागर’ थियो । जुन विक्रम सम्वत् १९५५ मा पण्डित नरदेव मोतिकृष्ण शर्माको प्रकाशन तथा सम्पादनमा बाहिर आएको थियो । राणा प्रधानमन्त्रीमा उदार प्रधानमन्त्रीका रूपमा इतिहासमा परिभाषित श्री ३ देवशमशेरको पालामा विक्रम सम्वत् १९५८ को वैशाखमा गोरखापत्र प्रकाशन भयो । त्यसको पहिलो सम्पादक पनि पण्डित नरदेव मोतिकृष्ण शर्मा नै हुनुहुन्थ्यो । पछि त्यसको सम्पादकको जिम्मा गङगाप्रसाद श्रेष्ठले लिनुभएको थियो । गोरखापत्र सरकारी समाचारमूलक पत्रिकाका रूपमा स्थापना भएको थियो । पछि त्यो पत्रिकाले साहित्य सम्बन्धी पेज राखेर साहित्यिक पत्रकारिताको पनि छेउ समातेको देखिन्छ । आजभोलि त गोरखापत्रले केही सहप्रकाशन मार्फत् साहित्यिक पत्रकारिताको क्षेत्रमा राम्रो योगदान पु¥याएको पाइन्छ । सरकारी पत्रिका हुनाले राजनीतिक परिवर्तनको पक्षमा नउभिने तर परिवर्तन भएपछि परिवर्तनलाई आत्मसात गर्ने यसको चरित्र रहँदै आएको छ ।

मोतीराम भट्टले अल्पआयु बाँचेर पनि नेपाली भाषा र साहित्यको उन्नयन तथा साहित्यिक पत्रकारिताको जग बसाल्ने प्रश्नमा अत्यन्त महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । पूर्णआयु बाँचेको भए नेपाली भाषा र साहित्यको विकासमा कति योगदान पुग्थ्यो होला भन्ने प्रश्न उठ्छ । तर, राणाशासन विरोधी संघर्षको प्रश्नमा मोतीरामको अग्रणी वैचारिक भूमिका देखिन्न । विक्रम सम्वत् १९०३ देखि विक्रम सम्वत् २००७ सम्म नेपाली साहित्यिक पत्रकारिताले खास वैचारिक स्वरूप ग्रहण गरेको पाइन्न । तर भारतबाट नेपाली भाषामा प्रकाशित विभिन्न साहित्यिक पत्रपत्रिकाले महत्वपूर्ण योगदान पू¥याएका थिए । राणाविरोधी राजनीतिक दलहरूको गठनमा तिनको महत्वपूर्ण योगदान रहेको देखिन्छ । नेपालमा विक्रम सम्वत १९९१ मा ऋद्धि बहादुर मल्लको सम्पादनमा ‘शारदा मासिक’ नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । राणाशासन एउटा कठोर पिछडिएको सामन्ती सोच भएको व्यवस्था थियो । कृष्णलाल अधिकारीले ‘मकैको खेती’ भन्ने पुस्तक लेख्दा उनलाई राणाहरूले जेलमै सडाएर मारेका थिए । कृष्णलाल अधिकारी नेपालका महान साहित्यिक सहिद हुन् ।

विक्रम सम्वत् २००७ सालमा राणाशासनको अन्त्य भएपछि देशमा केही खुकुलो वातावरणको सृष्टि भयो । त्यसपश्चात् समाचारमूलक तथा साहित्यिक पत्रिका प्रकाशनको बाढी आयो । २००७ साल पछाडि नै नेपाली भाषा र साहित्यको द्रुत गतिमा विकास भएको थियो । यो कालमा प्रकाशन भएको पत्रिकाहरूको लामो सूचि छ । राणाशासनको अन्त्य पश्चात् प्रकाशित अधिकांश समाचारमूलक तथा साहित्यिक पत्रिकाले प्रजातन्त्रको पक्षमा नै विचार सम्प्रेषण गरेका थिए । विक्रम सम्वत् २०१७ साल पौष १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई सैन्य बलमा अपदस्त गरे । त्यसपछि लागू भएको पञ्चायती व्यवस्थामा समाचारमूलक पत्रकारिता र साहित्यिक पत्रकारितालाई थला नै पारियो । पञ्चायत र राजाको गुणगान गाउने व्यक्ति र पत्रिकाको मात्र अस्तित्व रह्यो । राजधानी र कैयांै मोफसलका साहित्यिक तथा समाचारमूलक पत्रपत्रिका दर्ता खारेजीमा परे । पञ्चायतकालमा नेपाली साहित्य र कलाको क्षेत्र निकै पछाडि प¥यो । नेपाली साहित्यको बजार स्तुतिवादी साहित्यले पिट्न पुग्यो । यस्तो जटिल अवस्थामा पनि राष्ट्रपुकार, हाँक, देशान्तर, दृष्टि, साप्ताहिक विमर्शलगायतका पत्रिका तथा मोफसलका युगबोधलगायत पत्रपत्रिकाहरूले पञ्चायत व्यवस्थाका विरुद्धमा सकेसम्म विरोधको भूमिका खेलेका थिए । २०४६ साल चैत्र ३ गते साहित्यिक पत्रकारितामा लागेका श्रष्टाहरूको भेलाले पञ्चायत विरुद्ध जनसंघर्षको आह्वान गरेको थियो । जसबाट २०४६ सालको आन्दोलनलाई ऊर्जा प्राप्त भएको थियो । पञ्चायत व्यवस्थाको अन्त्य भएपछिको वातावरणमा नेपालको समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताले गुणात्मक छलाङ मारेर द्रुत गतिमा विकास गरेको देखिन्छ । माओवादी जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको माहोल सिर्जना गर्ने काममा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहेको थियो । तत्कालीन सरकारले गणतन्त्रवादी पत्रिका तथा श्रष्टाहरूमाथि निर्मम दमन गरेको थियो । त्यो कालमा कैयौं स्रष्टाहरु सहिद भएका थिए । त्यसमध्येमा एकजना उच्च कदका स्रष्टा कृष्णसेन इच्छुक साहित्यिक सहिद हुनुभएको थियो । आन्दोलनको पक्षमा सक्रिय भूमिका खेल्ने लेखक, साहित्यकार तथा पत्रकारहरूको लामो सूचि छ । राजा ज्ञानेन्द्रको शासनकालमा नेपाल पत्रकारहरुका लागि ठूलो जेलका रूपमा अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको थियो ।

जनताको त्याग र बलिदानी तथा समाचार पत्रकारिता अनि साहित्यिक पत्रकारिताको योगदानको परिणामस्वरूप विक्रम सम्वत् २०६५ साल जेठ १५ गते नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाली समाचार पत्रकारिता र डिजिटल पत्रकारिताले गुणात्मक फड्को त मा¥यो तर देशको राजनीति भ्रष्ट, दलाल, माफिया, दलाल पूँजीपति तथा लुटेराहरुको कब्जामा गयो । लोकतन्त्र होइन दलतन्त्रको निकै ठूलो अहंकार सिर्जना भयो । राज्य सञ्चालनका नेतृत्व र प्रतिपक्षमा रहेका दलका नेता तथा कार्यकर्ताहरूको एउटा पंक्ति द्रव्यमोहमा लाग्यो । राजनीति देश लुट्ने र कमाउने धन्दाको पर्यायवाची भयो । इमान्दारहरूको केही चलेन । त्यही असन्तोषको परिणाम देशमा जेनजेड आन्दोलनको ज्वारभाटा उठ्यो । जसको सकारात्मक परिणामका रुपमा भ्रष्ट सरकार ढल्यो, देशका ७६ जना भविष्यका कर्णधारको ज्यान गयो । जेनजेडको प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो । सरकारले केही सकारात्मक कदम उठाएको पनि देखिन्छ तर यतिबेला यो मुलुकको संविधान मुर्छा परेको छ । लोकतन्त्र र सार्वभौमसत्ता अग्नि परीक्षामा छन् ।

यस्तो अवस्थामा सकारात्मक परिवर्तनको सपना बोकेर चलेका सबै आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको नेपाली साहित्यिक पत्रकारिताको काँधमा देशको संविधान, लोकतन्त्र र सार्वभौमिकता जोगाउने अभिभारा आएको छ । लोकतन्त्र नभएको कारणले मौलिक हक र प्रेस स्वतन्त्रता माथि चुकुल ठोकिएको हाम्रो मुलुक युरोप त के भारतभन्दा पनि निकै पछाडि परेको हो । आज देशमा विद्यमान लोकतन्त्र र संविधानले देशका शोषित पीडित आम जनताको पक्षमा काम गर्दैन । रणनीतिक रुपमा उन्नत लोकतन्त्र र संविधानका लागि अर्को जनसंघर्षको आवश्यकता छ तर राजनीतिक रुपमा पहिलेको तुलनामा यो व्यवस्था र संविधानले प्रगतिशील महत्व राख्दछ । त्यसका लागि आम निर्वाचन नै महत्वपूर्ण शर्त हो । आजको अवस्थामा जनताले भ्रष्ट, तस्कर, माफिया, दलाल र लुटेराहरुलाई मिल्काउने हो, संविधान र व्यवस्थालाई होइन । यति अधिकार प्राप्त गर्न राजनीतिक संघर्ष मात्र पर्याप्त थिएन । कैयौं साहित्यिक पत्रकारहरुले बलिदानी दिएका छन् र देशमा रगत, आँसु र पसिनाको भल बगेको छ । मुलुकलाई संवैधानिक लयमा ल्याउन मुर्छा परेको संविधानमा त्राण ल्याउन, भ्रष्ट र अपराधीलाई दण्डित गर्न, देशमा सुशासन कायम गर्ने कार्यमा साहित्यिक पत्रकारिताले कलमको मोर्चामा रहेर महत्वपूर्ण योगदान दिन आवश्यक छ । त्यही योगदानमा देशको भविष्य निर्भर छ ।

000

https://nayayougbodh.com बाट साभार 

'कलम' मा लु सुन र रामवृक्ष यादब



भदौ २, २०५१ पार्टीले नेपाल बन्दको कार्यक्रम राखेको थियो । बिराटनगरमा पूर्वी क्षेत्रको भेटघाट र कार्यक्रम सम्बन्धी जानकारी दिएर कमरेड रामवृक्ष यादव जनकपुर फर्किनुभयो । त्यसपछि स्थानीय प्रशासन र काङ्ग्रेसी गुन्डा मिलेर कमरेड रामवृक्ष यादवको निर्मम किसिमले हत्या गरेको समाचार थाहा पायौँ । कमरेड रामवृक्ष यादब पार्टीको माथिल्लो निकायमा हुनुहुन्थ्यो र एक जना जुझारु सांस्कृतिक योद्धा पनि हुनुहुन्थ्यो । उहाँको ‘पेरूमेँ लाल झण्डा फहराइ रे..’ गीत निकै लोकप्रिय थियो । अनि सांस्कृतिक मोर्चाका तर्फबाट उहाँको सम्झनामा ‘कलम’ साहित्यिक पत्रिकाका माध्यमबाट केही गर्नुपर्छ भनेर तयारीमा लाग्यौँ । हाम्रा लागि त्यतिखेर उहाँका रचना सामग्री के–कति र कहाँ छन् भन्ने कुराको राम्रो जानकारीको पनि समस्या थियो ।

पार्टीको स्रोतबाट फोटो प्राप्त गर्यौँ । साथै उहाँबारे सबैभन्दा बढी जान्ने पार्टी नेता कमरेड गौरव नै हुनुहुन्थ्यो । त्यसपछि रामवृक्ष यादवका केही रचना उपलब्ध गगाराउन र उहाँबारे लेख्न भन्यौँ । जोडजाड गरेका रचनासामग्री पनि थोरै थिए । अनि हामीले असोजको पहिलो हप्ता चिनियाँ नयाँ जनवादी सांस्कृतिक आन्दोलनका अगुवा लु स्युनको स्मृतिसमेतलाई समेटेर ‘कलम’ मार्फत उहाँको सम्झना गर्यौँ  । यस अङ्कमा कमरेड गौरव अर्थात् सिपी गजुरेलको ‘साहित्यिक आलोकमा रामवृक्ष यादव’, शीर्षकको महत्त्वपूर्ण स्मरणात्मक लेख छ र रामवृक्ष यादब लिखित ‘पेरू मेँ लाल झण्डा’ समाविष्ट गरिएको छ । त्यतिखेर ‘कलम’ को सम्पादक कृष्ण सेन ‘इच्छुक’ हुनुहुन्थ्यो र सल्लाहकारमा शक्ति लंसाल, शारदारमण नेपाल र डा. ऋषिराज बरालहरू थिए । यो एउटा तत्कालको सम्झना मात्र थियो, पछि त 'स्मृति ग्रन्थहरू' प्रकाशित भएका छन् ।प्रस्तुत छ कलमको सम्पादकीयको एउटा अंश :

…अहिलेको आवश्यकता भनेको   प्रतिक्रियावादी तथा अवसरवादीहरूका सबैखाले भ्रमजाललाई चिर्दै देश, जनता र क्रान्तिको सर्वोच्च हितमा राष्ट्रियता र जनतन्त्रका सङ्घर्षलाई अविराम अगाडि बढाउँदै लैजानु हो । नेपाली जनताको वास्तविक मुक्ति र उज्वल भविष्यको निर्माणका लागि नयाँ विश्वास र नयाँ सङ्कल्पको ऊर्जाका साथ हरेक सङ्घर्ष र आन्दोलनलाई नयाँ जनवादी क्रान्तिकै अभिन्न अङ्गका रूपमा जोडेर विश्व समाजवादी आन्दोलनलाई समेत टेवा पुर्यायउन आजका क्रान्तिकारीहरू र तिनका सहकर्मी योद्धाहरूको प्रमुख दायित्व हो । साहित्य र कला पनि वर्गसङ्घर्षकै धारिलो हतियार हो । हाम्रो साहित्यिक एवं सांस्कृतिक आन्दोलन पनि त्यसै दिशामा परिलक्षित हुनुपर्दछ । साथै यसले नयाँ जनवादी क्रान्तिको सफलताका लागि विचारधारात्मक रूपले आधार तयार पारेर सहयोगको भूमिका निर्बाह गर्नुपर्दछ । 

अन्त्यमा यही महान् ध्येयका लागि आफ्‌नो सम्पूर्ण जीवन देश, जनता र क्रान्तिमा समर्पण गर्ने योद्धा जो भाद्र २ गते प्रतिक्रियावादीहरूको कायरतापूर्वक हत्याको सिकार हुनुभयो, आदरणीय सहिद कमरेड रामवृक्ष यादवप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँ लोकप्रिय राजनेता र प्रगतिवादी सांस्कृतिक योद्धा मात्रै नभएर शोषितपीडित नेपाली जनताका प्रिय एवं विश्वसनीय मित्र हुनुहुन्थ्यो ।  कमरेड यादवका क्रान्तिकारी गीतहरूले मुक्तिकामी नेपाली जनतालाई वर्गसङ्घर्षको लडाइँमा वैचारिक हतियार बनेर क्रान्तिकारी प्रेरणा र सहयोग दिइरहनेछन् । 

000

(कलम : वर्ष २, अङुक ४, पूर्णाङ्क ६, असोज २०५१ बाट) ।