Tuesday, April 14, 2026

छापासञ्चारको मोह - शार्दूल भट्टराई

 


कुनै समय थियो, समाचारपत्र (छापासञ्चारमाध्यम)हरू साहित्यमा खासै चासो राख्दैनथे । चासो राखिहाले पनि साहित्यिक रचनालाई समाचारपत्रमा खुसी मनले स्थान दिँदैनथे । यसको अर्थ ती पत्रपत्रिकाहरू साहित्यलाई महìव दिँदैनथे । तर आज छापासञ्चारका कुनै त्यस्ता माध्यम छैनन्, जसले साहित्यलाई बेवास्ता गरून् । कतिपयले साहित्यलाई राम्रै महìव दिएका छन् भने कतिले थोरै भए पनि स्थान दिने गरेका छन् । 

चार पाँच दशकअगाडिसम्म सार्वजनिक सञ्चारमाध्यम भनेका छापा र रेडियो मात्र थिए । टेलिभिजनको नामसम्म पनि नेपालमा प्रचलित थिएन । सुन्नका लागि रेडियोको आकर्षण थियो भने पढ्नका लागि पत्रपत्रिकाको आकर्षण । रेडियो नेपालको साहित्यिक कार्यक्रमबाट कविता वा कथा प्रसारण हुने वा कुनै समाचारपत्रमा कविता वा अन्य साहित्यिक रचना प्रकाशित हुने कुरा निकै ठूलो मानिन्थ्यो । ती माध्यमप्रति लेखक÷साहित्यकारहरूकै पनि औधी मोह देखिन्थ्यो । 

त्यसबेला प्रेस स्वतन्त्रता थिएन । रेडियो नेपाल र गोरखापत्र सरकारी सञ्चारमाध्यम भएकाले पूर्णतः सरकारी निर्देशनमै चल्थे । तिनबाट कुनै पनि खालको विरोध वा विद्रोहको कुरा सम्भव थिएन । तैपनि साहित्यलाई महìव दिएर केहीनकेही स्थान दिने माध्यमका रूपमा ती दुवैको नाम आउने गरेको छ । त्यसबाहेकका अन्य छापामाध्यमले साहित्यलाई त्यतिधेरै महìव दिएको पाइँदैन । विरोध र विद्रोहका आवाजलाई सरकारी सञ्चारमाध्यमले स्थान नदिने भएकाले लेखक÷साहित्यकारहरू अन्य निजी छापामाध्यमतिर लाग्थे । तर तिनीहरू पनि सेन्सरसिपको डरले विद्रोही भावका रचनालाई स्थान दिन त्यति सजिलै मान्दैनथे । 

प्रसङ्ग छापामाध्यमको हो । पञ्चायती शासनकालमा साहित्यलाई स्थान दिने दैनिक÷साप्ताहिक छापामाध्यममा विशेष रूपले गोरखापत्र दैनिकलाई लिने गरिएको छ । त्यसअवधिमा गोरखापत्रले स्थान दिने साहित्यकाकारको पङ्क्ति पनि निश्चित सीमाभित्र थियो । सबैका रचना त्यसमा अट्दैनथे । त्यसबाहेकका दैनिक÷साप्ताहिक छापामाध्यमहरूको भूमिकालाई समान रूपमा लिन मिल्दैन । कुनैले साहित्यलाई राम्रै स्थान दिएको देखिन्छ भने कुनैले बेवास्ता गरेको पनि भेटिन्छ । 

कविता लेख्ने रुचि त स्कुल पढ्दै थियो । स्कुलको पढाइ सकिएपछि त्यो रुचि झनै बढेको थियो । तर लेख्यो, नराम्रो लागे फाल्यो । अथवा लेख्यो, राम्रो लागे राख्यो । कहाँ छाप्ने, कसरी छाप्ने भन्ने कुनै कुरा थाहा थिएन । 

एसएलसीको जाँच दिएर काठमाडौँमा भौँतारिने क्रममा मलाई केही पुस्तकालयमा छिर्ने मौका मिल्यो । चाबहिलको मित्र वाचनालय नै हो जहाँ मैले जीवनमै पहिलो पटक समाचारपत्र देखेँ । वाचनालयमा छिरेको पहिलो दिनमै मैले त्यहाँ ती तीनवटा साप्ताहिक पत्रिका देखेको थिएँ । ती थिए गोविन्द वियोगी सम्पादक रहेको मातृभूमि साप्ताहिक, मदनमणि दीक्षित सम्पादक रहेको समीक्षा साप्ताहिक र रमेशनाथ पाण्डे सम्पादक रहेको नयाँ सन्देश साप्ताहिक । 

साँझपख खुल्ने मित्र वाचनालयमा छिर्ने पाठकमध्ये म पनि एउटा नियमित पाठक बनेँ । त्यसबेला मातृभूमि मङ्गलबार र समीक्षा तथा नयाँ सन्देश शुक्रबार प्रकाशित हुन्थे । ती साप्ताहिक पत्रिकासँगै मैले साहित्यिक पत्रिका मधुपर्क र रूपरेखा पनि पहिलो पटक त्यहीँ देखेको थिएँ । ती दुवै साहित्यिक पत्रिका पढ्ने अवसर पनि त्यहीँ पाएको थिएँ । 

त्यसपछि म अलि ठूला पुस्तकालयहरू पनि खोज्दै हिँडेँ । त्यसक्रममा म नयाँ सडकको भारतीय पुस्तकालय पनि पुगेँ । त्यहाँ भारतीय दैनिक पत्रिका, मासिक म्यागेजिनहरूसँगै मैले नेपाली पत्रपत्रिका पनि देखेँ । त्यहाँ पनि गोरखापत्र, दी राइजिङ नेपाल, मातृभूमि, समीक्षा, नयाँ सन्देशजस्ता पत्रिका देखेँ । त्यसपछि म वसन्तपुरको सोभियत मैत्री पुस्तकालयसम्म पनि पुगेँ । सोभियतभूमि जस्ता रुसी पत्रिका सँगैै नेपाली पत्रपत्रिकाहरू त्यहाँ पनि देखेँ । जमलस्थित नेपाल सोभियत सांस्कृतिक सङ्घमा पनि पत्रपत्रिकाहरू अध्ययन गर्ने सुविधा थियो । म त्यहाँ पनि जान थालेँ ।     

साप्ताहिक पत्रिकामध्ये समीक्षाका हरेकजसो अङ्कमा साहित्यसम्बन्धी टिप्पणी, समाचार वा एउटासम्म रचना पनि छापिएको देखिन्थ्यो । नयाँ सन्देशमा प्रेमसम्बन्धी रचना छापिएका हुन्थे तर साहित्यिक स्तरका हिसाबले त्यति गतिला हुँदैनथे । मलाई स्तरीय र आकर्षक लाग्ने पत्रिका थियो मातृभूमि । त्यसमा यदाकदा साहित्यसम्बन्धी समाचार वा टीकाटिप्पणी भए पनि साहित्यिक रचना प्रकाशित भएको देखिन्नथ्यो । 

मलाई ती तीनवटै पत्रिकामा कविता प्रकाशित गर्नपाए हुन्थ्यो भन्ने लाग्यो । तर आफ्नो पहुँच कतै पनि थिएन । त्यसैले तीनवटै पत्रिकामा एउटा एउटा कविता छोड्ने विचार गरेँ । मैतीदेवीमा रहेको नयाँ सन्देशको कार्यालयमा गएर प्रेमसम्बन्धी एउटा कविता छोडेँ । प्युखाबाट कालिकास्थानमा सरेको  समीक्षा कार्यालयमा गएर अर्को कविता छोडेँ । त्यसपछि घण्टाघरमा रहेको मातृभूमि कार्यालयमा गएर अर्को कविता छोडेँ । तर ती तीनवटै पत्रिकामा मेरा कविता छापिएनन् । छापामाध्यमसँग जोडिने मेरो मोह पूरा हुन सकेन । 

तीन वर्षपछि म त्रिचन्द्र कलेजको रात्रिसत्रमा बिउ पढ्न थालेँ । एक दिन त्यहीँँ विद्यार्थी–विद्यार्थीबीच ठूलै झगडा भयो । त्यो पञ्चायती व्यवस्थाविरोधी अनेरास्ववियु र पञ्चायती व्यवस्थाको पक्षधर राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल (जसलाई मण्डले भनिन्थ्यो)का विद्यार्थीबीचको झगडा थियो । दुई पक्षबीच पिटापिट, मारामार । सत्तापक्षका विद्यार्थीको आक्रमणबाट पीडित बनेका अनेरास्ववियुका केही साथीले उक्त घटनाको समाचार प्रकाशन गर्ने जिम्मा मलाई दिए । म अलमलमा परेँ– कसरी, कहाँ लगेर छाप्ने होला यो समाचार ? त्यही अलमलका बीच अचानक सम्झिएँ– मातृभूमि साप्ताहिक ! 

त्यतिखेर निकै चल्तीको र सबैले राम्रै मान्ने पत्रिका थियो मातृभूमि । त्यस साप्ताहिकको कार्यालय  घण्टाघरनजिकै थियो । त्रिचन्द्र कलेजको ठीक अगाडि । मैले उक्त समाचार मातृभूमि साप्ताहिकमा दिने विचार गरेँ । पीडित पक्षका विद्यार्थीहरूले निकालेको विज्ञप्तिलाई समाचारको शैलीमा तयार पारेँ । समाचारको शीर्षक ‘मण्डले गुण्डागर्दीको प्रतिरोध गरिने’ भन्ने राखेँ । म विज्ञप्तिसहित आफूले बनाएको समाचार लिएर मातृभूमि कार्यालयमा पुगेँ । सम्पादक गोविन्द वियोगीलाई भेटेँ । मैले लगेको समाचार हेरिसकेपछि मुसुक्क हाँस्दै गोविन्द वियोगीले भने– ‘यस्तो समाचार छाप्यो कि प्रशासनले दुःख दिन्छ । तैपनि छोडेर जाऊ, हेरौँला ।’ 

त्यसको चार दिनपछि मातृभूमि निस्कियो । त्यसमा मैले दिएको समाचार पनि प्रकाशित भएछ । शीर्षकमा समेत कुनै परिवर्तन गरिएजस्तो लागेन । त्रिचन्द्र क्याम्पसका मण्डलेहरूलाई नङ्ग्याउने कुरामा त्यो समाचार क्याम्पसभित्र निकै चर्चाको विषय बन्यो । मण्डलेहरूको गुण्डागर्दी र भ्रष्टताको पोल खोल्ने काम त्यो समाचारले गरेको थियो । म साहित्यमा रुचि राख्ने मान्छे, आफूले बनाएको पहिलो समाचार जस्ताको तस्तै छापिएपछि त्यस्ता समाचारपत्रहरूमा साहित्यिक रचना छाप्ने मेरो पहिलेको मोह जागृत हुन पुगेको थियो ।  

सात दिनपछि म फेरि एउटा कविता बोकेर मातृभूमि कार्यालयमा गएँ । सम्पादक गोविन्द वियोगीलाई भेटेँ । आफूले लेखेको समाचार प्रकाशित गरिदिएकोमा खुसी व्यक्त गरेँ । त्यस समाचारको प्रभाव राम्रै परेको कुरा क्याम्पस प्रशासनबाट थाहा पाएको उहाँ आफैँले बताउनुभयो । मैले मातृभूमिमा कविता प्रकाशन गर्ने रहर जागेको बताउँदै आफ्नो खल्तीबाट कविता झिकेर उहाँको अगाडि राखिदिएँ । तर उहाँले ‘कविता होइन, साहित्यिक समाचार र समसामयिक टिप्पणीहरू भए मात्र छापिने’ कुरो गर्नुभयो । म जति उत्साहित भएर मातृभूमिको कार्यालयमा छिरेको थिएँ, त्यसको उल्टो निराश भएर बाहिर निस्किएँ । 

त्यसको केही समयपछि मित्र वाचनालयले एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । त्यो हृदयचन्द्रसिंह प्रधानको जन्मजयन्तीसँगै कविता वाचनको कार्यक्रम थियो । त्यससम्बन्धी विस्तृत समाचार बनाएर मैले मातृभूमिलाई दिएँ । त्यसमा वक्ताहरूका सङ्क्षिप्त भनाइदेखि कविता वाचन गर्ने सबैको नामसमेत उल्लेख गरेको थिएँ । अलिअलि काटकुट गरेर त्यो समाचार छापियो । कविता नछापे पनि आफूले बनाएर दिएको साहित्यिक समाचारलाई स्थान दिएकोमा मलाई खुसी नै लाग्यो । 

समीक्षा साप्ताहिकका सम्पादक भने आफैँ साहित्यिक थिए । त्यसैले पनि होला समीक्षामा साहित्यिक रचना र साहित्यसम्बन्धी समीक्षा–टिप्पणीहरू आइरन्थे । मदनमणि आफैँ पनि आफ्नो स्तम्भ ‘मेरो देश मेरो संसार’मा बेलाबेलामा साहित्यिक चर्चाहरू गर्ने गर्थे । 

पञ्चायती शासनकालको उत्तराद्र्धतिर केही साप्ताहिक पत्रिका निकै चर्चित रहे । सत्ताविरोधी समाचार–विचारको सम्प्रेषणलाई महìव दिएकाले पनि होला ती पत्रिका लोकप्रिय बनेका थिए । तिनको स्तर र लोकप्रियताकै कारण लेखक÷साहित्यकारहरू पनि ती पत्रिकामा आफ्ना रचना प्रकाशित गर्ने मोह राख्थे । केही लेखक÷साहित्यकारहरू त तिनका नियमित स्तम्भकार नै पनि थिए । उदाहरणका रूपमा मदनमणि दीक्षित, मोदनाथ प्रश्रित, पारिजात, ध्रुवचन्द्र गौतम, रमेश विकल, भैरव अर्याल, रोचक घिमिरे, केशवराज पिँडाली, विमल निभा, दाताराम शर्मा, पद्मरत्न तुलाधर, रामचन्द्र भट्टराई, रघु पन्त, नारायण ढकाल, राजव, हरि अधिकारी, किशोर नेपाल, श्यामल, शक्ति लम्साल, मल्ल के. सुन्दर,  अग्निशिखा, हरिगोविन्द लुइँटेल, गोविन्द वर्तमान, मोहनविक्रम सिंह आदिलाई लिन सकिन्छ । यीमध्ये केही त दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक नै थिए । जस्तै, मदनमणि दीक्षित, नारायण ढकाल, रघु पन्त, शक्ति लम्साल, रामचन्द्र भट्टराई, किशोर नेपाल, मल्ल के सुन्दर आदि ।        

आफ्नो कविता छपाउने रहर बोकेर म कालिमाटीस्थित दृष्टि कार्यालयमा पुग्दा त्यहाँ खासै चहलपहल थिएन । म कोठाभित्र छिरेँ । सामान्य खालको कोठा । नजिकैको ट्वाइलेटबाट दूषित गन्ध आइरहेको थियो । कोठामा काठका दुईवटा सामान्य टेबुल र चारवटा काठकै मेच थिए । भित्तामा एउटा क्यालेन्डर झुन्ड्याइएको थियो । भुइँतिर कागजका टुक्राहरू छरिएका थिए । भुइँ पनि बढार्न बाँकी रहेजस्तो । भित्तातिर फोहोरका टाटा । टेबुलमा पनि टाटैटाटा । दृष्टिको त्यतिबेलाको सम्पादकीय कक्षको दृश्य यस्तै थियो ।   

दृष्टिका सम्पादक थिए रघु पन्त । म उनलार्ई भेट्नका लागि दृष्टि कार्यालयमा छिरेको थिएँ । त्यहाँ विष्णु प्रभात, शम्भु श्रेष्ठ, गोपाल गुरागाईं, भीमसेन राजबाहकलगायतसँग भेट भयो ।

‘ल, आउने अङ्कमा देब्रेकुनामा व्यङ्ग्य तपाईं लेख्नोस् त !’ दृष्टिको सम्पादकीय कोठामा पस्ने बित्तिकै रघु पन्तले भने । निरङ्कुश पञ्चायती शासनकालमा विपक्षी; त्यसमा पनि वामपन्थी पत्रिकाका रूपमा चर्चित दृष्टिमा केही न केही लेख्नका लागि म लालायित त थिएँ नै । त्यही लालसा पूरा गर्न सकिन्छ कि भनेरै म खल्तीमा कविता बोकेर त्यहाँ पुगेको थिएँ ।  आफूले लेखेर लगेको कुरो छापिदिनोस् भन्नु र सम्पादकले नै लेख्नोस् भन्नुमा कति फरक छ कति । म पहिलो पटक सम्पादककै आग्रहमा लेख्न पाउँदा झनै खुसी बनेको थिएँ तर मेरा लागि लेख्ने कुरा चुनौती पनि थियो । चर्चित कवि÷व्यङ्ग्यकार विमल निभाले लोकप्रिय बनाएको दृष्टिको अन्तिम पृष्ठको ‘देब्रे कुना’मा व्यङ्ग्य लेखनको काम मेरा लागि चुनौतीरहित कुरा थिएन । विमल निभाले आउने अङ्कमा व्यङ्ग्य लेख्न नभ्याउने खबर गरेपछि सम्पादक पन्तले अन्य कुनै विकल्पको खोजी गरिरहेकै बेला म त्यहाँ पुगेको रहेछु ।   

निरङ्कुश शासनको बर्बरताबीच त्यतिबेला देशभर, विशेषगरी काठमाडौँमा चक्कु (छुरी) कान्ड मच्चिएको थियो । चक्कु प्रहार गरेर मान्छे मार्ने, घाइते बनाउने र लुट्ने समूहबाट सबै त्रस्त थिए । यही घटनालाई विषय बनाएर मण्डलेतन्त्रको विरोधमा मैले व्यङ्ग्य लेखेँ । चक्कुलाई निरङ्कुशताको प्रतीक बनाएर लेखिएको त्यो व्यङ्ग्य पाठकका बीच रुचिकर नै रह्यो । मैले जीवनमा पहिलो पटक केही लेखेबापत धेरै मान्छेबाट प्रतिक्रिया पाएको थिएँ । सीमित पाठकमा पुग्ने साहित्यिक पत्रिकामा छापिएको रचना र देशभर, व्यापक पाठकका बीचमा पुग्ने चल्तीका समाचारपत्रमा छापिएको रचनाको पाठकीय प्रभावमा धेरै फरक पर्नेरहेछ । साहित्यिक स्तम्भलेखनका दृष्टिले छापासञ्चारसँगको पहिलो साक्षात्कार मेरा लागि निकै नै महìवपूर्ण रहन पुग्यो । यसले छापासञ्चारमा  साहित्यिक स्तम्भलेखनप्रति अभिप्रेरित गर्ने काम पनि गरेको थियो ।  

वि.सं. १९५८ मा साप्ताहिक रूपमा गोर्खापत्रको प्रकाशन सुरु भएको थियो । तर त्यसलाई पत्रिका प्रकाशनको आरम्भका रूपमा लिइए पनि पत्रकारिताको आरम्भका रूपमा लिइएको छैन । पत्रकारिताको आरम्भ २००७ सालको परिवर्तनपछि मात्र भएको मानिन्छ । २००७ सालदेखि २०१६ सालसम्म नेपाली छापा सञ्चारमाध्यमले अलिकति फस्टाउने मौका पाए पनि त्यसबीचमा पत्रपत्रिकाको प्रकाशनले खासै तीव्रता पाएको देखिँदैन । केही दैनिक÷साप्ताहिक पत्रिका प्रकाशनमा आए पनि तिनले निरन्तरता पाउन सकेनन् । 

२०१७ सालमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निर्दलीय पञ्चायती व्यवस्था लादिएपछि पत्रपत्रिकाको प्रकाशन पनि सङ्कटमा प¥यो । स्वतन्त्र पत्रकारिताको कुरा तीस वर्षसम्म निषेधको अवस्थामा रह्यो । तथापि केही सङ्घर्षशील पत्रकारले अनेकौँ दुःखकष्ट र जेलनेल भोगेर भने पनि पत्रिका निकाल्ने काम गरे । नेपालको पत्रकारिताले बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मात्र वाक् तथा प्रकाशन स्वतन्त्रतासहित स्वतन्त्र एवं व्यावसायिक पत्रकारिताको विकासमा अगाडि बढ्ने अवसर पाएको थियो ।           

आवाज, जनता, हालखबर, समाज, कल्पना, दियालो, नेपाल पोस्ट आदि नामका दैनिक पत्रिकाहरू पञ्चायतीकालमा प्रकाशित भएका देखिन्छन् । ती दैनिक पत्रिका दीर्घकालसम्म चल्न भने सकेनन् । केही आफ्नै कारणले बन्द भए । केही सरकारको प्रतिबन्धमा परे । तथापि छोटो समयमै पनि तिनले नेपाली समाजको परिवर्तनमा समाचार, विचार र साहित्यका माध्यमबाट योगदान पु¥याउने काम गरेका थिए । २००८ सालमा प्रकाशित आवाज भन्ने दैनिक पत्रिकामा साहित्यसम्बन्धी सामान्य चर्चा–टिप्पणीहरू प्रकाशित हुने गरेको बताइन्छ । गोपालदास श्रेष्ठले रमेशनाथ पाण्डेलाई सम्पादनको जिम्मेवारीमा राखेर २०१४ सालमा दैनिक जनता प्रकाशित गरेका थिए । त्यसमा पनि साहित्यसम्बन्धी टिप्पणीहरू प्रकाशित हुने गरेका त थिए तर यदाकदा मात्रै ।  

तारिणी कोइरालाको सम्पादनमा निस्किएको कल्पना दैनिक तत्कालीन राजनीतिक व्यवस्थाको विरोधमा अलि प्रखर थियो । उक्त दैनिकले साहित्यलाई यथोचित स्थान दिने गरेको थियो । कल्पना दैनिक बन्द गरिएपछि कोइरालाले दियालो दैनिकको सम्पादन गरेका थिए । त्यसमा पनि साहित्यलाई केही न केही  स्थान दिने गरिएको थियो । मदनमणि दीक्षित र दाताराम शर्माको नेतृत्वमा (सम्पादनमा !) निस्किएको हालखबर दैनिकले पनि साहित्यलाई थोरै भए पनि स्थान दिने गरेको पाइन्छ । यस पत्रिकामा स्तम्भलेखन, समाचार लेखन तथा सम्पादनमा भैरव अर्याल र भैरव रिसालको समेत संलग्नता रहेको थियो । 

विमर्श, दृष्टि, पुनर्जागरण, छलफल, प्रकाश, युगधारा (रातो), मूल्याङ्कन, समालोचना, राष्ट्रपुकार, योजना, जनजागृति, साप्ताहिक नेपाली आवाज, साप्ताहिक मञ्च, करेन्ट, चर्चा, चित्रण, पृष्ठभूमि, आरती, संरक्षकलगायतका धेरै साप्ताहिक पत्रिकाहरू थिए, जसमध्ये कतिपयले पञ्चायती शासनको उत्तराद्र्धमा निरङ्कुशताविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाएका थिए भने केही पत्रिका पञ्चायती शासनको पक्षमा खुलेरै लागेका थिए । परिवर्तनको पक्षमा उभिएका पत्रिकाहरूले साहित्यिक रचनाहरूको समेत साथ लिएका थिए । सबैजसो पत्रिकामा एउटा न एउटा साहित्यिक रचना प्रकाशित भएकै हुन्थ्यो । एउटा एउटा कविता छाप्ने त लहर नै चलेको थियो । ती पत्रिकामा छापिने कविता विद्रोही खालका हुन्थे । ती पत्रिका र तिनमा छापिने साहित्यिक रचनाहरूले २०४६ सालको आन्दोलनलाई तताउन यथासक्य भरथेग गरेका थिए । 

यस समयमा काठमाडौँबाट नेपाल भाषामा प्रकाशित हुने विश्वभूमि, सन्ध्या टाइम्स, इनापजस्ता पत्रिकाले साहित्यलाई राम्रो स्थान दिएको देखिन्छ । 

बहुदलीय व्यवस्थाको स्थापनापछि साहित्य र छापासञ्चारको सम्बन्ध अझै बलियो र व्यापक बन्यो । छापामाध्यमहरू वाक् तथा प्रकाशन स्वतन्त्रताको प्राप्तिसँगै आफ्ना प्रकाशनहरूलाई विविधतायुक्त बनाउन पुगे । साहित्यलाई समेट्ने नाममा एउटा एउटा कविता मात्रै प्रकाशन गर्दै आएका पत्रिकाहरू कथा, निबन्ध, साहित्य संवाद, पुस्तक समीक्षा, साहित्यिक कार्यक्रमसम्बन्धी समाचार आदिलाई समेत समेट्न थाले । छापा समाचारपत्रहरूमा साहित्यिक रचना र साहित्यसम्बन्धी अन्य सन्दर्भहरू नियमित र अनिवार्य सामग्री बन्न पुगे ।  

२०४६ सालको राजनीतिक परिवर्तन आमासञ्चारकोे विकासका लागि महìवपूर्ण रह्यो । छापा समाचारपत्रहरू मात्र बढेनन्, एफएम रेडियो र टेलिभिजन च्यानलसमेत बढे । सरकारीसँगै निजी क्षेत्रले समेत आमसञ्चारका क्षेत्रमा नयाँ नयाँ प्रकाशन प्रसारणलाई महìव दिए । फलस्वरूप आमासञ्चारको क्षेत्रले छोटो समयमै पेसागत र व्यावसायिक दृष्टिले समेत फैलिने अवसर पायो । 

यसै अवधिमा छापासञ्चारका क्षेत्रमा निजी क्षेत्रबाट केही राष्ट्रिय दैनिक पत्रिका र साप्ताहिक, पाक्षिक तथा मासिक म्यागेजिनहरूको प्रकाशनसमेत आरम्भ भयो । प्रकाशनको सुरुदेखि नै तिनको हस्तक्षेप प्रभावपूर्ण रह्यो । दैनिक समाचारपत्रहरू र साप्ताहिक, पाक्षिक तथा मासिक म्यागेजिनहरूकै कारण पहिलेका चर्चित राष्ट्रिय साप्ताहिकहरूको बजार खुम्चिँदै गयो ।  तथापि तिनले साहित्यिक रचनालाई स्थान दिई नै रहे । अहिलेसम्म टिकिरहेका साप्ताहिक पत्रिकाहरूमध्ये कतिपयले साहित्य र त्यससम्बन्धी स्तम्भलाई राम्रै स्थान दिइरहेको देखिन्छ । 

राष्ट्रिय स्तरका दैनिक पत्रिका र म्यागेजिनहरूले सुरुमा साहित्यसम्बन्धी खासखास समाचारलाई मात्रै स्थान दिने गरेका थिए । दुई दशकदेखि तिनले साहित्यिक रचनाहरूलाई समेत महìव दिँदै आएका छन् । सबैजसो दैनिकको शनिबारको अङ्क साहित्यविशेष हुनेगर्छ । तिनमा कविता, कथा, निबन्ध, पुस्तक समीक्षा, पुस्तक वार्ता आदि विषय समेटिएका हुन्छन् । दशैँको समयमा तिनले साहित्यलाई विशेष महìव दिएर विशेषाङ्क नै प्रकाशित गर्ने गरेका छन् । 

त्यो समय, जतिबेला गोरखापत्रबाहेक अन्य निजी-संस्थागत समाचारपत्रहरूमा साहित्यिक रचना देख्न पाइँदैनथ्यो । तर आज साहित्यिक रचना नभएका कुनै समाचारपत्र छन् जस्तो लाग्दैन । राष्ट्रिय दैनिक पत्रिका, साप्ताहिक पत्रिका र पाक्षिक तथा मासिक म्यागेजिनहरूले साहित्यलाई महìवका साथ स्थान दिन थालेपछि त्यसको प्रभाव लेखन र पठन दुवै क्षेत्रमा देखिएको छ । साहित्यलेखनमा लाग्नेहरू बढेका छन् भने पाठकहरू पनि बढेका छन् । साहित्यको पठनसंस्कृतिलाई बढावा दिने कुरामा समेत छापामाध्यमहरूको योगदान रहेको छ । 

समाचारपत्रहरूमा रचना छापिनु र स्तरीय साहित्यिक पत्रिकामा रचना छापिनुको महìव बेग्लै छ । तर पनि तत्काल धेरै ठाउँमा पुग्ने, धेरै पाठकले पढ्ने र आफ्नो रचनाको प्रतिक्रिया पनि पाइहाल्ने भएकाले   लेखकहरू त्यसप्रति आकर्षित हुने गरेका छन् । सञ्चारका छापामाध्यमहरूले साहित्यलाई जति महìव दिन थालेका छन्, तिनमा लेखक÷साहित्यकारहरूको मोह पनि उत्तिकै बढेको छ । 

000

https://gorkhapatraonline.com बाट साभार 

Sunday, April 12, 2026

समाचार पत्रकारिता र साहित्य - प्रमोद प्रधान



वास्तवमा पत्रकारिता र साहित्यबीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ । पत्रकारिताका माध्यमबाट नै साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्छन् भने साहित्यिक रचनाहरूले पत्रकारितालाई अघि बढाउन सहयोग पु-याउने यथार्थलाई हामी सबैले बुझेकै छौँ । यी दुईबीचको सम्बन्ध हेर्न हामीले इतिहासतिर नियाल्नुपर्ने हुन्छ ।

नेपालमा पत्रकारिताको इतिहास काठमाडौँबाट मासिक पत्रिकाका रूपमा सुधासागरको प्रकाशनसँगै सुरु भएको देखिन्छ । तर पत्रकारिता सुरु हुनुअघि यसका लागि आधारभूत केही कुरा आवश्यक पर्छन् र ती आधारभूत कुराको उपलब्धतापछि मात्र पत्रकारितालाई अघि बढाउन सकिन्छ । यसरी हेर्दा पहिलो कुरा त शैक्षिक चेतना र दोस्रो कुरा, मुद्रण प्रविधिको उपलब्धता नै हो । पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेर फर्कने क्रममा वि.सं. १९०८ मा आपूmसँगै एउटा हाते पे्रस ल्याएका थिए, जुन नेपालको इतिहासमा ‘गिद्धे पे्रस’को नामबाट चर्चित छ । यही पे्रस नै नेपालको पहिलो छापाखाना हो र यहीँबाटै नेपालमा मुद्रण प्रविधि भित्रिएको हो । यसपछि क्रमशः मनोरञ्जन पे्रस, नारायणहिटी छापाखाना, पाशुपत पे्रस, ढोकाटोल पे्रस, नारायण पे्रस आदि छापाखाना क्रमशः स्थापना भएका देखिन्छन् । यस प्रकार मुद्रण प्रविधि भित्रिएसँगै नेपालमा पत्रकारिता प्रारम्भ भएको र पत्रकारितामार्पmत साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्ने गरेको इतिहास रहेको छ ।

नेपालमा छापा पत्रकारितालाई दुई भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ : पहिलो, समाचार पत्रकारिता र दोस्रो, साहित्यिक पत्रकारिता । यी दुईमध्ये साहित्यिक पत्रकारिताको उद्देश्य नै साहित्यिक सिर्जनाहरूलाई पाठकसमक्ष पु-याउनु हो भने समाचार पत्रकारिताको उद्देश्य साहित्यिक सिर्जनाहरूभन्दा पनि समाचारलाई पाठकसमक्ष पु¥याएर सुसूचित गर्नु हो । त्यस हिसाबले दुवैको उद्देश्य नै फरक रहेका छन् । त्यसैले उद्देश्य नै फरक भएकाले साहित्यिक रचनाको प्रस्तुतिका दृष्टिकोणले साहित्यिक पत्रकारिताले साहित्यको विकास, विस्तार र प्रवर्धनमा पु-याएको वा पु-याउँदै आएको योगदानको तुलनामा समाचार पत्रकारिताले साहित्यिक क्षेत्रमा पु-याएको वा पु-याउन सक्ने योगदान कम हुनु स्वाभाविकै हो ।

समाचार पत्रकारिता

वास्तवमा समाचार पत्रकारिताको उद्देश्य भनेको सर्वसाधारणलाई देशविदेशका समाचार, जानकारी, सूचनाहरू दिनु नै हो । तर त्यससँगसँगै साहित्यका विभिन्न विधाका रचनाहरू समय–समयमा दिएर समाचारपत्रहरूले पनि साहित्यको उत्थानमा योगदान गरेको देखिन्छ । यसक्रममा नामै लिनुपर्दा गोरखापत्रको योगदान यस दृष्टिले उल्लेखनीय, उदाहरणीय र ऐतिहासिक छ भन्दा अत्युक्ति हुँदैन । वि.सं. १९५८ वैशाख २४ गते साप्ताहिक प्रकाशनका रूपमा गोर्खापत्रको प्रकाशन प्रारम्भ भएको थियो । पछि साताको दुई पटक, चार पटक हुँदै यो पत्रिका नेपालकै पहिलो दैनिक समाचारपत्रका रूपमा विकसित र विस्तारित भई आजसम्म यथावत् रूपमा प्रकाशित हुँदै आएको छ । यस हिसाबले यसको आयु १२२ वर्ष पुगेको छ । यो आपैmँमा एक ‘रेकर्ड’ हो । गोरखापत्रले नेपाली साहित्यका विभिन्न विधामा दिएको योगदान अत्यन्त उल्लेखनीय रहेको छ । वास्तवमा भन्ने हो भने नेपाली साहित्यका कतिपय विधाको प्रारम्भकालीन रचनाहरू गोरखापत्रमै प्रकाशित भएको देखिन्छ । गोरखापत्रको विधागत योगदानलाई हेर्न सकिन्छ :

निबन्ध

गोरखापत्रको प्रकाशन सुरु भएपछि पत्रिकालाई फुटकर रचनाको आवश्यकता पर्नु स्वाभाविक थियो । त्यसै क्रममा पत्रिकाको आवश्यकतालाई परिपूर्ति गर्ने क्रममा विभिन्न लेखकका निबन्धात्मक रचनाहरू यस पत्रिकामा प्रकाशित भएका पाइन्छन् । वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठका अनुसार पनि मौलिक नेपाली निबन्धको परम्परा गोरखापत्रबाटै सुरु भएको हो । (श्रेष्ठ, २०५६ :१२३) तर त्यतिबेला छापिएका धेरै रचनाहरूमा रचनाकारको नाम भने देखिँदैनन् । त्यसबेला गोरखापत्रका प्रकाशित केही बेनामी निबन्धहरूका शीर्षक यस्ता छन् : अघि मूर्ख पछि बुद्धिमान् (१९५९), नैराश्य परमं सुखम् (१९५९), कृषि वृत्तान्त (१९५९), हिन्दुस्थान सुवीवरहरूको इतिहास (१९६०), वसन्तवर्णनम् (१९६१), शिक्षोपदेश (१९६६), निद्रा (१९६६), मातृभाषाको उन्नति (१९६६), बोलीको संस्कार (१९६६), श्रीवसन्तपञ्चमी (१९६६), दूधको गुण–अवगुण (१९६७), दुःख र सुख (१९६७), धन र त्यसको उपयोग (१९६७), व्यापार (१९६७), मासु (१९६७), कर्महेतु (१९६८), भलाइ (१९६८), विज्ञापनशिल्प (१९७०), बफादारी (१९७०), शिशुशिक्षा (१९७०), मनको नाप (१९६०) र हावा (१९७३) । गोरखापत्रमा समय, प्रभात, हरदम याद राख्नुपर्ने कुरा, कर्तव्य, मितव्यय र कविताको फल शीर्षकका निबन्धहरू बेनामी छापिएका भए पनि ती निबन्धहरू शम्भुप्रसाद ढुङ्गेलको भएको र ती वि.संं १९७६ मा छापिएको उनीबारे विशेष खोज अनुसन्धान गर्ने घटराज भट्टराईको ठहर देखिन्छ । बालकृष्ण सम (१९५९–२०३८) को भाषा शीर्षकको निबन्ध पनि गोरखापत्र (१९९८) मै प्रकाशित भएको थियो । गोरखापत्रले यात्रानिबन्धतर्पm पनि योगदान गरेको पाइन्छ । वि.सं. १९७३ तिरै जापानको अपूर्व स्वागत र काश्मीरयात्रा शीर्षकका दुई यात्रावर्णन गोरखापत्रमा प्रकाशित भएका थिए । तर तिनमा लेखकको नाम भने उल्लेख छैनन् ।

कथा

गोरखापत्रले नेपाली कथाको विकासमा पु-याएको योगदान पनि कम छैन । वि.सं. १९५८ देखि १९९० बीचको समयमा यस पत्रिकामा लामा छोटा गरी थुपै्र कथा प्रकाशित भएको अनुसन्धानले देखाएको छ । त्यस्ता कथाहरूमा प्राचीन प्रपञ्च (१९६२), यमपञ्चक प्रपञ्च (१९६३), स्फटिकचन्द्र (१९६५), प्रत्यागमन (१९६७), माला (१९६८), दालिमा (१९६८), भाग्यवती (१९६८), सज्जनसिंह (१९६८), सुकुलगुन्डाको कहानी (१९६९), काला पहाड (१९६९), हिराको औँठी (१९७०), मानभञ्जन (१९७०), अशिक्षिता जानकी (१९७२), हरायाको औँठी (१९७२), कृतघ्न सुरेश (१९७२), हृदयपरीक्षा (१९७२), बूढाको विवाह (१९८४), संस्कार र सङ्गत (१९७४), उपदेशको अनौठो फल (१९७७) र आदर्श पतिपत्नी (१९७८) लगायत थुप्रै्र कथाहरू प्रकाशित भएका छन् । सामाजिक नीतिचेतनाले युक्त यी कथाहरूमा समाजका विकृति र विसङ्गतिको चित्रण गर्दै आदर्श समाजको निर्माणका लागि बाटो देखाइएको छ । यसका अतिरिक्त गोरखापत्रमा सामाजिक, धार्मिक–पौराणिक, मनोरञ्जनात्मक कथाहरू पनि प्रशस्त प्रकाशित भएको पाइन्छ । (श्रेष्ठ, २०७६ : ७४२)

उपन्यास

वि.सं. १९९० सम्मको अवधिमा गोरखापत्रमा एघारवटा उपन्यास धारावाहिक रूपमा छापिएको देखिन्छ । मनोरञ्जन र शिक्षाप्रद ती उपन्यासहरूले नेपाली भाषामा उपन्यास लेखनका लागि महìवपूर्ण आधारशिला खडा गरिदिएको देखिन्छ । त्यस्ता उपन्यासहरूमा कथा, वीर मालोजी भोसले, नरदेव, नौलाखा हार, कर्मको गति, माया नाम्नी नदीका तीरको कायापुरजस्ता उपन्यास उल्लेखनीय रहेको डा. चन्द्रमान श्रेष्ठको विश्लेषण छ (श्रेष्ठ, २०७६ :७९९) । यसैगरी गोरखापत्रमा कविता, नाटक, जीवनी र अन्य विविध विषयक रचना पनि प्रशस्त छापिएका छन् ।

गोरखापत्रबाहेक त्यसबेला नेपालभित्रबाट अन्य समाचारपत्र निस्कन सक्ने वातावरण नै थिएन । नेपालबाहिर दार्जिलिङबाट भने गोर्खे खबर कागजको मासिक समाचार पत्रिकाको प्रकाशन वि.सं. १९५८ मै सुरु भएको पाइन्छ । क्रिस्चियन मिसिनरीबाट इसाई धर्मको प्रचारहेतु सुरु गरिएको भए पनि यस पत्रिकाले नेपाली भाषा र साहित्यको विकास एवं विस्तारमा भने धेरथोर योगदान दिएको तथ्यलाई नकार्न सकिँदैन । विशेषतः वि.सं. २००७ भन्दा अघिको कालखण्डमा प्रमुख रूपमा गोरखापत्रले नेपाली भाषा साहित्यको विकासमा पु-याएको योगदान अविस्मरणीय रहेको छ भन्दा अत्युक्ति हुँदैन ।

वि.संं २००७ को राजनीतिक परिवर्तनपछि भने देशमा खुकुलो वातावरण आएको र त्यसको प्रभाव सबै क्षेत्रमा परेको देखिन्छ । यसै परिपे्रक्ष्यमा समाचारपत्रिकाहरूको सङ्ख्या क्रमशः बढ्दै गएको र ती पत्रिकाहरूले पनि केही साहित्यिक रचनाहरू प्रकाशन गर्ने गरेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि भने ब्रोडसिट आकारका दैनिक पत्रिकाहरूको प्रकाशन उल्लेख्य रूपमा हुन थालेको देखिन्छ । कान्तिपुर, आजको समाचारपत्र (पछि नेपाल समाचारपत्र), नागरिक, अन्नपूर्ण पोस्ट आदि दैनिक पत्रिकाहरूले साताको एक दिन शनिबार साहित्यिक सामग्रीहरू प्रस्तुत गर्दै आएका छन् ।

त्यस्ता सामग्रीहरूको आफ्नै किसिमको विशिष्ट महìव रहेको छ । विचारको विविधतासहित छापिने त्यस्ता सामग्रीहरूले नेपाली साहित्यलाई बदलिँदो परिवेशअनुरूप नै विविधता प्रदान गर्ने कार्यमा योगदान पु¥याएको छ । यी सबैको योगदानका बारेमा छुट्टै विशेष अध्ययन र अनुसन्धानको खाँचो भने देखिएको छ ।

सन्दर्भसामग्री

नेपाल, किशोर (२०५५), नेपाली पत्रकारिताको विकासक्रम (अनुसन्धान), काठमाडौँ : पे्रस काउन्सिल नेपाल ।

श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०५६), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन, पाँचौँ संस्करण ।

श्रेष्ठ, चन्द्रमान (२०७६), माध्यमिककालीन नेपाली गद्याख्यान (लेख), जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, दोस्रो ठेली, ललितपुर : कमलमणि प्रकाशन ।

000

https://gorkhapatraonline.com बाट साभार 

प्रलेस - १२ / विचार, विश्लेषण र सिर्जनाको केन्द्रीय प्रकाशन