२०७८ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुँदै गरेका साहित्यकार हुन्, दुर्गाप्रसाद श्रेष्ठ । उनी भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकाका सम्पादक समेत हुन् । नेपाली र हिन्दी भाषामा विभिन्न कृतिहरू पाठकलाई दिइसकेका छन् । कोरोना कहरपछि सम्पादक श्रेष्ठ अधिकांश समय काठमाडौंमा बस्दै आएका छन् । ‘सम्झनाको बादल’, ‘सोनिया’, ‘चण्डी घोष स्ट्रीट’, ‘बाग्मती साक्षी छ’, ‘उसको अन्त्यहीन कथाहरू’, ‘कोसेली’, ‘देश–देशान्तर’, ‘सत्तारे मौसी’, ‘योगीको आत्मकथा’लगायत कृतिका सर्जक श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
‘उदय’को सम्पादकका हैसियतमा २०७८ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुँदै हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?
निश्चय पनि खुसी लागेको छ । मलाई लाग्छ, कुनै पनि पुरस्कार वा सम्मान आफूले चाहेर पाइने होइन । र, आफ्नो क्षेत्रमा निरन्तर काम गर्ने मानिसले त्यस्तो चाहना राख्न पनि हुन्न । यसपालि मेरो नाम कसरी आयो, यस विषयमा कहीँ कतै चर्चा भएको मैले आभास पनि पाइनँ । पुरस्कार पाएको खबर पनि आकस्मिक रूपमा नै पाएको हुँ । बरु, चार÷पाँच वर्षअघि भने कुरा उठेको थियो भन्ने मैले सुनेको हुँ ।
मलाई एउटा सम्झना छ, जगदम्बा रानीको बनारसमा पनि एउटा ट्रष्ट थियो, ‘बालचन्द्र प्यालेस ट्रष्ट’ । त्यो एक किसिमले निदाइसकेको थियो । त्यसलाई बिउँताउने काम मैले गरेको थिएँ । र, त्यहाँबाट हरेक वर्ष ‘मदन स्मारक सम्मान’ प्रदान गरिन्थ्यो । कमलमणिजी (कमल दीक्षित)सँग यसै विषयमा कुराकानी भइरहन्थ्यो । छलफल÷सरसल्लाह हुन्थ्यो । त्यो सम्मान पहिलोपटक दार्जिलिङ, असाम, सिक्किमतिरका चारजना दिग्गजहरूलाई प्रदान गरिएको थियो । त्यो पुरस्कार मिनि मदन पुरस्कारका रूपमा स्थापित थियो । त्यहाँ हामीबीच कामको कुरो मात्रै हुन्थ्यो ।
उदयको यात्रा कस्तो रह्यो ?
उदय साहित्यिक पत्रिका मेरो बुवा काशीबहादुर श्रेष्ठले ८० अंक प्रकाशित गर्नुभयो । सन् १९३९ सालदेखि यसको प्रकाशन सुरु भएको हो । ८० अंकपछि मैले निरन्तर प्रकाशित गर्दै आएको छु । अहिलेसम्म १२० अंक प्रकाशित भइसकेको छ । कोरोना कहरले गर्दा केही वर्ष प्रकाशन गर्न सकिनँ । त्यो समयमा म काठमाडौं नै बसेँ ।
प्रकाशनले निरन्तरता पाउँछ नि !
पक्कै पनि । अब पत्रिका निरन्तर प्रकाशित हुन्छ । मैले सबै म्याटरहरू तयार गरिसकेको छु । कोरोनाले गर्दा तीन वर्ष म बनारस गइनँ । तर, अस्ति गएर आएँ । त्यसै समयमा कासी हिन्दु विश्वविद्यालयको भारतीय भाषा विभागले सम्मान पनि गर्यो । यी पुरस्कारहरू भनेको मेरा लागि ऊर्जाको स्रोत नै त हो ।
८४ वर्षको भइसक्नुभएको छ । यो उमेरमा पनि पत्रिका प्रकाशनमा लागिरहनुभएको छ । कसरी गर्नुहुन्छ ?
यो मेरो गुरु योगानन्दजीको आशीर्वादले पनि हो भन्ने मलाई लाग्छ । उहाँको जीवनगाथा ‘योगीको आत्मकथा’ मैले नेपालीमा अनुवाद गरेको थिएँ । त्यो अनुवाद गरेको पनि २० वर्ष बितिसकेको छ । म एकदमै ठूलो काम गर्छु भनेर लागेको नै होइन । म त आफ्नो कर्तव्य निर्वाह गर्दै गइरहेको छु । त्यसैले मैले उदयलाई निरन्तरता दिँदै आएको हुँ । त्यही निरन्तरताको परिणाम हो, जगदम्बाश्री पुरस्कार । निश्चय पनि यसले थप केही गरिरहनलाई उत्साह र प्रेरणा दिएको छ । पैसा भनेको कुरो त आउँछ जान्छ । सम्मान नै ठूलो कुरो हो । त्यसले मानिसलाई ऊर्जा दिन्छ ।
उदय प्रकाशनमा के कस्ता सकस झेल्नुपर्यो ?
साहित्यिक पत्रिका प्रकाशन गर्नु भनेको निकै जटिल काम हो । तर, त्यस्तो जटिल काम पनि मेरो बुवाले निरन्तर लगनका साथ गर्नुभयो । धेरैपछि गएर मात्र मैले बुवालाई साथ दिन थालेँ । त्यस बेला उदयको सम्पादनभन्दा पनि उदयको प्रकाशनको व्यवस्थापन गर्नमा म सक्रिय थिएँ । प्रुफ पनि हेर्थेँ ।
उति बेला सजिलो थिएन पत्रिका प्रकाशन । त्यो समयमा पत्रिकाको वार्षिक ग्राहक शुल्कले नै पत्रिका र हाम्रो परिवारको जीवन धानेको थियो । वार्षिक शुल्क चार रुपैयाँ थियो । पैसा उठाउन बुवा आफैँ हिँड्नुहुन्थ्यो । कहिलेकाहीँ ग्राहक बनेकाहरूले पैसा नपठाइदिँदा हामीले चनाभुजा मात्रै खाएर पनि दिन टारेका छौँ । त्यस्तो पनि असहज अवस्था थियो । पैसा कतैबाट आएपछि चामल, दाल किनिन्थ्यो र भात खान्थ्यौँ । तर पनि बुवाले उदयलाई निरन्तर प्रकाशित गर्दै आउनुभयो । कहिल्यै पत्रिका निकाल्न छोडनु भएन ।
त्यस्तो अवस्थामा पनि तपाईंले उदयलाई निरन्तरता दिने आँट गर्नुभयो ?
मलाई लाग्छ, त्यो बुवाको जिन नै हो । बुवामा जुन साहस थियो उदय प्रकाशनको, त्यो ममा पनि आयो । उहाँले अन्तिम समयसम्म पनि हिम्मत हार्नु भएन । र, आजसम्म मैले पनि बुवाले सुरु गर्नुभएको कामलाई अगाडि बढाइरहेको छु । र, मेरो जीवनकालभरि नै यो पत्रिका प्रकाशित गरिरहनेछु । भोलिका दिनमा यो साहित्यिक धरोहरलाई निरन्तरता दिने कोही त निस्केलान् । तर, मेरो परिवारमा साहित्यिक प्रवृत्ति कसैमा पनि नभएकोले तिनले उदयलाई निरन्तरता देलान् भन्ने लाग्दैन ।
उदयका केही विशेष सम्झना छन् कि ?
उदयले धेरै साहित्यकारहरूलाई साहित्यमा स्थापित गरेको छ । उदयमा लेखेरै कतिपय लेखक चर्चामा आएका छन् । भवानी भिक्षु, इन्द्रबहादुर राईलगायत धेरै साहित्यकारहरू मेरा बुवाको साथी हुनुहुन्थ्यो । उहाँहरू बरोबर बुवासँग भेट्न आइरहनुहुन्थ्यो । मेरो पहिलो कथासंग्रह ‘सम्झनाको बादल’ छापिँदा भवानी भिक्षुले भूमिका लेखिदिनुभयो । उहाँले भूमिका लेख्दा मेरा कथाहरूमा ‘अल्लारेपन छ’ भनेर लेख्नुभएको थियो । र, त्यस सुझावले मलाई आफ्नो लेखनी सुधार्न धेरै मद्दत गरेको थियो । मेरो पहिलो कथासंग्रह भएकोले कथामा अल्लारेपन स्वाभाविक थियो । पछि मैले आफ्नो लेखनीलाई परिमार्जित गर्दै लगेँ ।
तपाईं सम्पादक पनि हुनुभयो । लेखक बनाउनमा सम्पादकको भूमिका रहन्छ ?
मलाई लाग्छ, ठूलो भूमिका हुन्छ । एउटा लेखकलाई लेखक बनाउने सम्पादक नै हो भनिरहँदा गलत नहोला । सम्पादकको काम पनि त गाह्रो नै हुन्छ । तर, सम्पादनको काम गर्नुभन्दा अघि मैले कथा, कविता लेख्ने र अनुवाद गर्ने काम गरेँ । त्यसले मलाई सम्पादनमा सहयोग गर्यो ।
बनारसमा त्यस्तो कुनै समूह छ जसले उदयलाई निरन्तरता दिन सकोस् ?
त्यस विषयमा म भन्न सक्दिनँ । हेरौँ । साहित्य सेवा भनेको एक्लै गर्ने काम होइन । साहित्य सेवकले रचना गर्ने काम मात्रै गर्छ । त्यसलाई छाप्ने अर्कै हुन्छ । त्यसका पाठकहरू अनेक हुन्छन् । त्यसैले अनेकको भावना त्यो रचनासँग जोडिएको हुन्छ । बितेको ८० वर्षमा उदयसँग लाखौँ लेखक तथा पाठकहरू जोडिनुभएको छ । त्यसैले उदयले वा उदयको नामसँग जोडिएर मैले पाउने हरेक पुरस्कार र सम्मानको भागीदार त्यसका लेखक तथा पाठकहरू पनि हुनुहुन्छ ।
000
https://baahrakhari.com बाट साभार

No comments:
Post a Comment