
विश्वका हरेक राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहँदै आएको देखिन्छ । साहित्यिक पत्रकारिता साहित्य र कला क्षेत्रको विषद परिभाषासित जोडिन्छ । साहित्यिक पत्रकारिताको चरित्र समाचारमूलक कम र विचारमूलक बढी हुन्छ । त्यसैले साहित्यिक पत्रकारिताले विश्वमा क्रान्ति र परिवर्तनको सपना मात्र बाँडेको हुँदैन यसले विचार निर्माणको तहमा पनि महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । त्यसैले साहित्यिक पत्रकारिताले राजनीतिक आन्दोलन, जनसंघर्ष तथा क्रान्तिको पूर्वसन्ध्यामा एउटा परिवर्तनकामी माहोल सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । क्रान्ति वा परिवर्तनपश्चात् नयाँ व्यवस्थामा जनअपेक्षा अनुरुप काम भएनन्, विकृति र विसंगतिहरु कायम रहे भने पनि लेखक साहित्यकार तथा साहित्यिक पत्रकारहरुले नै अग्रमोर्चामा रहेर संघर्ष गरेको पाइन्छ । समाजवादी आन्दोलनको इतिहासमा स्टालिन युगको निकै ठूलो ऐतिहासिक दृष्टान्त छ । तर पनि त्यो युगमा कमरेड स्टालिनबाट कतिपय परिस्थितिजन्य कमजोरी रहेका थिए । तत्कालीन सोभियत संघमा साहित्यकारहरूले नै क्रान्तिको माहोल सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । लेनिनले आमा उपन्यासको चर्चा गर्ने सन्दर्भमा म्याक्सिम गोर्कीको आमा उपन्यासले रूसको समाजवादी क्रान्तिलाई १० वर्ष नजिक भएको बताएका थिए । आमा उपन्यासले १९२७ तिर हुने क्रान्तिलाई १९१७ मा ल्यायो भनेका थिए । सो उपन्यासले लाखौं युवालाई बोल्सिविक क्रान्तिको मार्गमा लामबद्ध हुन प्रेरित गरेको थियो । सन् १७८९ मा सम्पन्न फ्रान्सेली राज्यक्रान्तिमा पनि ‘विश्वकोष’ ले त्यतिबेलाको समयमा साहित्यिक पत्रकारिताको भूमिका निर्वाह गरेको थियो । रुसो, दिदेरो, भोल्त्यर, मन्टेस्क्यूलगायतका बौद्धिक लेखक तथा साहित्यकारहरुका कृति साहित्य र विचारको प्रभावमा फ्रान्सेली जनताले भोग विलासको केन्द्रका रुपमा रहेको भर्साइलको दरबार र राजतन्त्रका विरुद्धमा धावा बोलेका थिए । चीनमा माक्र्सवादी कला, साहित्य र विचारको प्रतिनिधित्व गर्ने ‘नवयुग’ भन्ने पत्रिकामा लिचा ताओले लेखेका दुईवटा वैचारिक लेखले त्यत्रो चीनलाई हल्लाएको थियो । तिनै लेखको जगमा नै सन् १९१९ मा ‘मे फोर्थ’ आन्दोलनको ज्वार सिर्जना भएको थियो । अंग्रेजी साम्राज्यवादका विरुद्धमा चलेको भारतको स्वतन्त्रता संग्राममा पनि साहित्यिक पत्रकारिताको अहं भूमिका रहेको थियो । यी त केही सीमित उदाहरण मात्र हुन् । विश्व र दुनियाँभरिका राजनीतिक आन्दोलनको इतिहासमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहेको तथ्य इतिहास बोल्दछ । त्यस सिलसिलामा नेपाल पनि अपवाद मुलुक होइन । साहित्य राजनीति भन्दा जेठो देखिन्छ । साहित्यले नै राजनीतिक विचार निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो पूर्वीय दर्शनमा साहित्यलाई एउटा प्रकाशको रूपमा र साहित्यकारलाई प्रजापतिका रूपमा सम्मान दिइएको पाइन्छ । त्यसको समयानुकूल विकसित र आधुनिक रूप नै साहित्यिक पत्रकारिता हो ।
साहित्यिक पत्रकारिताले पूर्वीय दर्शनको प्राज्ञिक मूल्यसित पनि सम्बन्ध राख्दछ । हिन्दु दर्शनका सबै शास्त्रहरू विराट साहित्यका खजाना हुन् । त्यसभित्रका मिथक तथा अन्धविश्वासपूर्ण कर्मकाण्ड अनि विभेदको व्यवस्थाभित्रको जीवनविरोधी मूल्यको प्रश्न भने अर्को विमर्शको विषय हो । समाचार पत्रकारितालाई हतारको साहित्य भन्ने प्रचलन छ । समाचार पत्रकारिताले पनि पत्रिकाका पेजहरूमा साहित्यिक विधाभित्रका विभिन्न सामग्रीहरूलाई स्थान दिएर साहित्यको उत्थानमा योगदान पु¥याएको पाइन्छ । समाचार पत्रकारिताको मुख्य भूमिका आवाजविहीनहरूको आवाज बन्नु हुन्छ र यसले देश विदेशका समाचार, जानकारी तथा सूचनाहरुलाई जनसमक्ष ल्याउँछ । साहित्यिक पत्रकारिताले एउटा मिसन बोकेको हुन्छ । विचार निर्माणमा साहित्यिक पत्रकारिताको र प्रचारमा समाचार पत्रकारिता वा आमसञ्चारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताका बीचमा गहिरो सम्बन्ध रहेको हुन्छ । दुनियाँको इतिहासमा समाचार पत्रकारिता भन्दा साहित्यिक पत्रकारिता जेठो भएको देखिन्छ ।
नेपालको पत्रकारिताको इतिहासको जग पनि साहित्यिक पत्रकारिता नै थियो । तर चौधौं शताब्दीमा नै युरोपमा पुनर्जागरणको युग आएको थियो । जुन युगले मध्ययुगीन सामन्ती बर्बर शासन र दैवी सिद्धान्तमा आधारित अन्धविश्वासलाई जोडदार थप्पड हानेको थियो । त्यसैको जगमा युरोपमा साहित्यिक पत्रकारिताले एसियामा भन्दा पहिल्यै विकास गरेको थियो । त्यसैले आज पनि साहित्यिक पत्रकारिताको इतिहासमा पाश्चात्य चिन्तन परम्परा नै वर्चस्वशाली देखिन्छ । भारतमा अंग्रेजी शासनको समयमा सुधारवादी आन्दोलन भए । कैयौं साहित्य, कला र संस्कृतिको क्षेत्रमा नवीन धाराहरूको उदय भयो । त्यसलाई कतिपय लेखकहरूले पुनर्जागरणको संज्ञा दिएका छन् । तर ती आन्दोलनमा पुनर्जागरण आन्दोलनमा हुने आधारहरु पाइँदैनन् । तर पनि भारतको साहित्यिक पत्रकारिताको इतिहास सुधारवादी आन्दोलनको गति र प्रवाहमा नै विकास भएको थियो । युरोपको कुरा त धेरै अगाडिको कुरा हो । भारतमै सुधारवादी आन्दोलन चलेको बखतमा नेपालमा श्री ३ जङ्गबहादुर राणाको उदय भएको थियो र देशमा जहानियाँ निरंकुशतन्त्र उदाएको थियो । नेपालको साहित्यिक पत्रकारिताको इतिहास खोज्दा विक्रम सम्वत १९४३ मा बनारसबाट प्रकाशित ‘गोरखा भारत जीवन’ भन्दा अगाडि जान सकिन्न । त्यसकारण नेपालको समाचार पत्रकारिताको इतिहास मात्र होइन, साहित्यिक पत्रकारिताको इतिहास पनि निकै कान्छो देखिन्छ । किनभने नेपालको निरंकुश सामन्ती शाहवंश परम्परा र राणा शासनको जहानियाँ निरंकुशताले नेपालीलाई स्वतन्त्र रुपमा पढ्न लेख्न, विचार सम्प्रेषण गर्न तथा प्राज्ञिक विमर्श गर्नमा पूर्णरूपमा बन्देज लगाएको थियो । सन् १९५० तदनुरूप विसं २००७ सालमा आधुनिकतामा प्रवेश गरेको नेपालमा शाहवंशले शिक्षा क्षेत्रमा ध्यान दिए तापनि तिनीहरूको मुख्य जोड स्तुतिवादी शिक्षाको आधार निर्माणमा केन्द्रित भयो । त्यसकारण मिसनलाई आधार बनाएर मात्र प्रस्फुटन हुने साहित्यिक पत्रकारिताले धेरै उतारचढावपूर्ण वातावरण तथा उकाली ओरालीहरूको सामना गर्नुप¥यो । यस्ता धेरै समस्याको अलावा आज नेपालको समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताले द्रुत गतिमा विकास गरेको देखिन्छ । इतिहासका घटनाचक्रलाई हेर्दा यो गुणात्मक फड्को नै हो । मूलतः नेपाली साहित्य पत्रकारिता र समाचार पत्रकारिता दुबैको भूमिका नेपालको राजनीतिक आन्दोलनको इतिहासमा लोकतन्त्रका पक्षमा उभिदै आएको उज्यालो परम्परा छ । त्यसमा देशका बाम तथा लोकतान्त्रिक विचार सम्बद्ध साहित्यिक पत्रकारिताको इतिहास धेरै प्रभावकारी रहेको छ ।
विक्रम सम्वत् १९४३ मा बनारसबाट प्रकाशित ‘गोरखा भारत जीवन’ हिन्दी भाषामा प्रकाशित भएको थियो । नेपाली भूमिमा नेपाली भाषामा प्रकाशित पहिलो नेपाली साहित्यिक पत्रिका ‘सुधासागर’ थियो । जुन विक्रम सम्वत् १९५५ मा पण्डित नरदेव मोतिकृष्ण शर्माको प्रकाशन तथा सम्पादनमा बाहिर आएको थियो । राणा प्रधानमन्त्रीमा उदार प्रधानमन्त्रीका रूपमा इतिहासमा परिभाषित श्री ३ देवशमशेरको पालामा विक्रम सम्वत् १९५८ को वैशाखमा गोरखापत्र प्रकाशन भयो । त्यसको पहिलो सम्पादक पनि पण्डित नरदेव मोतिकृष्ण शर्मा नै हुनुहुन्थ्यो । पछि त्यसको सम्पादकको जिम्मा गङगाप्रसाद श्रेष्ठले लिनुभएको थियो । गोरखापत्र सरकारी समाचारमूलक पत्रिकाका रूपमा स्थापना भएको थियो । पछि त्यो पत्रिकाले साहित्य सम्बन्धी पेज राखेर साहित्यिक पत्रकारिताको पनि छेउ समातेको देखिन्छ । आजभोलि त गोरखापत्रले केही सहप्रकाशन मार्फत् साहित्यिक पत्रकारिताको क्षेत्रमा राम्रो योगदान पु¥याएको पाइन्छ । सरकारी पत्रिका हुनाले राजनीतिक परिवर्तनको पक्षमा नउभिने तर परिवर्तन भएपछि परिवर्तनलाई आत्मसात गर्ने यसको चरित्र रहँदै आएको छ ।
मोतीराम भट्टले अल्पआयु बाँचेर पनि नेपाली भाषा र साहित्यको उन्नयन तथा साहित्यिक पत्रकारिताको जग बसाल्ने प्रश्नमा अत्यन्त महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । पूर्णआयु बाँचेको भए नेपाली भाषा र साहित्यको विकासमा कति योगदान पुग्थ्यो होला भन्ने प्रश्न उठ्छ । तर, राणाशासन विरोधी संघर्षको प्रश्नमा मोतीरामको अग्रणी वैचारिक भूमिका देखिन्न । विक्रम सम्वत् १९०३ देखि विक्रम सम्वत् २००७ सम्म नेपाली साहित्यिक पत्रकारिताले खास वैचारिक स्वरूप ग्रहण गरेको पाइन्न । तर भारतबाट नेपाली भाषामा प्रकाशित विभिन्न साहित्यिक पत्रपत्रिकाले महत्वपूर्ण योगदान पू¥याएका थिए । राणाविरोधी राजनीतिक दलहरूको गठनमा तिनको महत्वपूर्ण योगदान रहेको देखिन्छ । नेपालमा विक्रम सम्वत १९९१ मा ऋद्धि बहादुर मल्लको सम्पादनमा ‘शारदा मासिक’ नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । राणाशासन एउटा कठोर पिछडिएको सामन्ती सोच भएको व्यवस्था थियो । कृष्णलाल अधिकारीले ‘मकैको खेती’ भन्ने पुस्तक लेख्दा उनलाई राणाहरूले जेलमै सडाएर मारेका थिए । कृष्णलाल अधिकारी नेपालका महान साहित्यिक सहिद हुन् ।
विक्रम सम्वत् २००७ सालमा राणाशासनको अन्त्य भएपछि देशमा केही खुकुलो वातावरणको सृष्टि भयो । त्यसपश्चात् समाचारमूलक तथा साहित्यिक पत्रिका प्रकाशनको बाढी आयो । २००७ साल पछाडि नै नेपाली भाषा र साहित्यको द्रुत गतिमा विकास भएको थियो । यो कालमा प्रकाशन भएको पत्रिकाहरूको लामो सूचि छ । राणाशासनको अन्त्य पश्चात् प्रकाशित अधिकांश समाचारमूलक तथा साहित्यिक पत्रिकाले प्रजातन्त्रको पक्षमा नै विचार सम्प्रेषण गरेका थिए । विक्रम सम्वत् २०१७ साल पौष १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई सैन्य बलमा अपदस्त गरे । त्यसपछि लागू भएको पञ्चायती व्यवस्थामा समाचारमूलक पत्रकारिता र साहित्यिक पत्रकारितालाई थला नै पारियो । पञ्चायत र राजाको गुणगान गाउने व्यक्ति र पत्रिकाको मात्र अस्तित्व रह्यो । राजधानी र कैयांै मोफसलका साहित्यिक तथा समाचारमूलक पत्रपत्रिका दर्ता खारेजीमा परे । पञ्चायतकालमा नेपाली साहित्य र कलाको क्षेत्र निकै पछाडि प¥यो । नेपाली साहित्यको बजार स्तुतिवादी साहित्यले पिट्न पुग्यो । यस्तो जटिल अवस्थामा पनि राष्ट्रपुकार, हाँक, देशान्तर, दृष्टि, साप्ताहिक विमर्शलगायतका पत्रिका तथा मोफसलका युगबोधलगायत पत्रपत्रिकाहरूले पञ्चायत व्यवस्थाका विरुद्धमा सकेसम्म विरोधको भूमिका खेलेका थिए । २०४६ साल चैत्र ३ गते साहित्यिक पत्रकारितामा लागेका श्रष्टाहरूको भेलाले पञ्चायत विरुद्ध जनसंघर्षको आह्वान गरेको थियो । जसबाट २०४६ सालको आन्दोलनलाई ऊर्जा प्राप्त भएको थियो । पञ्चायत व्यवस्थाको अन्त्य भएपछिको वातावरणमा नेपालको समाचार पत्रकारिता र साहित्यिक पत्रकारिताले गुणात्मक छलाङ मारेर द्रुत गतिमा विकास गरेको देखिन्छ । माओवादी जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको माहोल सिर्जना गर्ने काममा साहित्यिक पत्रकारिताको महत्वपूर्ण योगदान रहेको थियो । तत्कालीन सरकारले गणतन्त्रवादी पत्रिका तथा श्रष्टाहरूमाथि निर्मम दमन गरेको थियो । त्यो कालमा कैयौं स्रष्टाहरु सहिद भएका थिए । त्यसमध्येमा एकजना उच्च कदका स्रष्टा कृष्णसेन इच्छुक साहित्यिक सहिद हुनुभएको थियो । आन्दोलनको पक्षमा सक्रिय भूमिका खेल्ने लेखक, साहित्यकार तथा पत्रकारहरूको लामो सूचि छ । राजा ज्ञानेन्द्रको शासनकालमा नेपाल पत्रकारहरुका लागि ठूलो जेलका रूपमा अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको थियो ।
जनताको त्याग र बलिदानी तथा समाचार पत्रकारिता अनि साहित्यिक पत्रकारिताको योगदानको परिणामस्वरूप विक्रम सम्वत् २०६५ साल जेठ १५ गते नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाली समाचार पत्रकारिता र डिजिटल पत्रकारिताले गुणात्मक फड्को त मा¥यो तर देशको राजनीति भ्रष्ट, दलाल, माफिया, दलाल पूँजीपति तथा लुटेराहरुको कब्जामा गयो । लोकतन्त्र होइन दलतन्त्रको निकै ठूलो अहंकार सिर्जना भयो । राज्य सञ्चालनका नेतृत्व र प्रतिपक्षमा रहेका दलका नेता तथा कार्यकर्ताहरूको एउटा पंक्ति द्रव्यमोहमा लाग्यो । राजनीति देश लुट्ने र कमाउने धन्दाको पर्यायवाची भयो । इमान्दारहरूको केही चलेन । त्यही असन्तोषको परिणाम देशमा जेनजेड आन्दोलनको ज्वारभाटा उठ्यो । जसको सकारात्मक परिणामका रुपमा भ्रष्ट सरकार ढल्यो, देशका ७६ जना भविष्यका कर्णधारको ज्यान गयो । जेनजेडको प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो । सरकारले केही सकारात्मक कदम उठाएको पनि देखिन्छ तर यतिबेला यो मुलुकको संविधान मुर्छा परेको छ । लोकतन्त्र र सार्वभौमसत्ता अग्नि परीक्षामा छन् ।
यस्तो अवस्थामा सकारात्मक परिवर्तनको सपना बोकेर चलेका सबै आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको नेपाली साहित्यिक पत्रकारिताको काँधमा देशको संविधान, लोकतन्त्र र सार्वभौमिकता जोगाउने अभिभारा आएको छ । लोकतन्त्र नभएको कारणले मौलिक हक र प्रेस स्वतन्त्रता माथि चुकुल ठोकिएको हाम्रो मुलुक युरोप त के भारतभन्दा पनि निकै पछाडि परेको हो । आज देशमा विद्यमान लोकतन्त्र र संविधानले देशका शोषित पीडित आम जनताको पक्षमा काम गर्दैन । रणनीतिक रुपमा उन्नत लोकतन्त्र र संविधानका लागि अर्को जनसंघर्षको आवश्यकता छ तर राजनीतिक रुपमा पहिलेको तुलनामा यो व्यवस्था र संविधानले प्रगतिशील महत्व राख्दछ । त्यसका लागि आम निर्वाचन नै महत्वपूर्ण शर्त हो । आजको अवस्थामा जनताले भ्रष्ट, तस्कर, माफिया, दलाल र लुटेराहरुलाई मिल्काउने हो, संविधान र व्यवस्थालाई होइन । यति अधिकार प्राप्त गर्न राजनीतिक संघर्ष मात्र पर्याप्त थिएन । कैयौं साहित्यिक पत्रकारहरुले बलिदानी दिएका छन् र देशमा रगत, आँसु र पसिनाको भल बगेको छ । मुलुकलाई संवैधानिक लयमा ल्याउन मुर्छा परेको संविधानमा त्राण ल्याउन, भ्रष्ट र अपराधीलाई दण्डित गर्न, देशमा सुशासन कायम गर्ने कार्यमा साहित्यिक पत्रकारिताले कलमको मोर्चामा रहेर महत्वपूर्ण योगदान दिन आवश्यक छ । त्यही योगदानमा देशको भविष्य निर्भर छ ।
000
https://nayayougbodh.com बाट साभार
No comments:
Post a Comment