Wednesday, June 28, 2023

पुरानै ढर्रामा साहित्यिक पत्रकारिता - विवस वस्ती



विश्वका केही कर्पोरेट घरानाहरू मिडियामा लगानी गर्न अनिच्छुक रहेका होलान् । र, केही कर्पोरेट घरानाहरूले ‘घाटाको व्यापार’ गर्नु परेपछि अल्पायूमै आफूद्वारा सञ्चालित मिडियाको घाँटी निमोठ्न उद्यत देखिएका पनि छन् । नाफा र घाटाको गणितमा चलिरहेको वर्तमान विश्वमा मिडियामा लगानी गर्नेहरूमा पनि लेखाजोखाको सूत्र नहोला भन्न सकिन्न । तर, पनि ठूला–ठूला कर्पोरेट घरानाहरूका निम्ति मिडिया एउटा अपरिहार्य चिज हो र त्यसलाई सदुपयोग/दुरुपयोग गर्ने सवालमा त्यस्ता घरानाहरू सदैव दत्तचित्त रहन्छन् ।
अहिले नेपाली मिडिया क्षेत्र पनि त्यही हिसाब–किताबमा विकसित भइरहेको यथार्थलाई कुनै पनि कोणबाट पन्छाउन सकिँदैन । मिडिया क्षेत्रले लगातार छलाङ मारिरहे पनि नेपाली पत्रकारिताको आधारस्तम्भ/धरोहरका रूपमा स्थापित साहित्यिक पत्रकारिता क्षेत्रको स्थिति भने अहिले पनि अत्यन्तै रुग्ण, दयनीय र कहालीलाग्दो अवस्थामा छ । इतिहासका पानाहरूले भन्छ, नेपाली पत्रकारिताको प्रारम्भ साहित्यिक पत्रकारिताबाट भयो । सूचना र सञ्चारको अभिव्यक्तिकरणमा लगाम लागेको र प्रविधिको पनि विकास हुन नसकिरहेको समयावधिमा सूचनाको सम्बाहक मानिने पत्रकारितामा पाइला राख्ने दुस्साहस गर्नु अनौठो विषय थियो, त्यतिबेला । तर, त्यही बेला अर्थात् राणाकालीन समयमा साहित्यिक प्रकाशनले समाज र व्यक्तिमा कुनै तरंग नल्याउने निष्कर्ष सम्भवत: तत्कालीन शासकहरूद्वारा निकालिएकै हुँदा साहित्यिक पत्रकारिताको डोब खनियो र अहिलेसम्म पनि सीमित संख्यामै भए पनि देशका कुनाकाप्चाहरूबाट साहित्यिक पत्रिकाहरू नियमित र अनियमित प्रकाशन भइरहेका छन् र यो विषय र क्षेत्रका पारखीहरूलाई आफ्नो गच्छेले भ्याएअनुरूप तृप्त तुल्याइरहेका छन् ।
तथापि, इतिहासले मात्र धान्न र थेग्न नसक्दोरहेछ भन्ने गतिलो प्रमाण वर्तमान साहित्यिक पत्रकारिता क्षेत्र नै हुनपुगेको छ । इतिहास एउटा गर्वको विषय हुनसक्ला तर त्यसले वर्तमानका समस्या, संकट र अन्तरविरोधहरू छिचोल्ने दिशामा भने भूमिका निभाउन सक्दैन । अहिले साहित्यिक पत्रकारिता क्षेत्र पनि त्यही नियति भोग्न बाध्य छ । गर्विलो इतिहास भए पनि साहित्यिक पत्रकारिताले एउटा पृथक्, सम्मानजनक र प्रभावकारी क्षेत्र पाउन सकिरहेको छैन । यो अत्यन्तै दु:खद् विषय हो ।
अर्को दु:खद् विषय त, साहित्यिक पत्रकारिता सदैव राज्यद्वारा उपेक्षित रह्यो र अद्यापि छ । विगतदेखि वर्तमानसम्म यो क्षेत्रले राज्यबाट उपेक्षाको गह्रुंगो भारी मात्रै बोक्दै आइरहेको छ । राज्यको दृष्टिमा यो क्षेत्र किन पनि हेय छ भने, साहित्य वा साहित्यिक पत्रकारितामा कलम चलाउनेहरूले सत्तासीन तप्कालाई कुनै पनि हिसाबले झाँट्न सक्दैनन् । यो आंशिक यथार्थ पनि हो । अरू प्रभावशाली मिडियाहरूको स्थापना, विकास र विस्तार भइरहेको वर्तमान सन्दर्भमा विम्ब, प्रतीक र उपमाहरूमा खेल्ने निरीह साहित्यिक पत्रिका र पत्रकारहरूले के नै पो गर्न सक्छन् र ? अझ, सूचनालाई मात्र महत्त्व दिने तर ज्ञान, विवेक, निष्ठा र जनपक्षधरताजस्ता पक्षहरूमा मौन रहने ‘हरपलको साथी’को रूपमा मित्रता गाँस्न लालायित वर्तमान सञ्चारमाध्यम र गृहहरूको बोलवाला चलिरहेको समय साहित्यिक पत्रकारिताको हविगत के होला ? जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।
हुन त, साहित्यिक पत्रकारिता क्षेत्रको पनि आफ्नै कमीकमजोरी छ । यो क्षेत्र र परम्परागत नेपाली खेती प्रणालीबीच समानता भेट्न सकिन्छ । जसरी, आधुनिक प्रविधि र ज्ञान भित्रिए पनि नेपाली कृषि क्षेत्र अझै पनि परम्परागत रूपमै अल्झिरहेको छ, साहित्यिक पत्रकारिता पनि यो नियतिबाट टाढा छैन । मूलत: साहित्यिक पत्रकारितामा दत्तचित्त भएर लाग्नेहरूमा पुराना पुस्ताको बाहुल्यता रहेको हुँदा पनि यस्तो समस्या उत्पन्न भएको हुनसक्छ । तर, उच्च ज्ञान र आधुनिक प्रविधिको सहायतामा साहित्यिक पत्रकारिता क्षेत्रलाई समयसापेक्ष एवम् प्रभावकारी तुल्याउन इतिहास रच्ने साहित्यिक पत्रकारहरूले अब कन्जुस्याइँ गर्नु उचित दैखिँदैन ।
एक दशकअघिको प्रसंग हो । हिन्दी साहित्यका अग्रणी साहित्यिक पत्रिका ‘हंस’मा एउटा वाक्य छापिएको हुन्थ्यो–‘इस वर्ष लेखकीय पारिश्रमिक अरुन्धति राय के सौजन्य से ।’ हिन्दीका चर्चित लेखिका रायले ‘हंस’मा त्यस वर्षभरि प्रकाशित रचनाहरूको पारिश्रमिकको व्ययभार लिनुको तात्पर्य के थियो भने, आकर्षक र उचित पारिश्रमिकबिना राम्रा रचनाहरूको अपेक्षा राख्नु व्यर्थ छ । हुन पनि, अचेल स्थापित र राम्रा लेखकहरूका रचना पुराना र प्रतिष्ठित साहित्यिक पत्रिकाहरूमा भन्दा स्थापित दैनिक समाचारपत्रहरूमा आउँछन् । यस्ता समाचारपत्रहरूले ती स्रष्टाहरूलाई आकर्षित गर्नुको कारण के हो भने दैनिक समाचारपत्रहरूमा रचना प्रकाशित हुँदा एक त पाठक संख्या अधिक बटुल्न पाउँछन् र अर्को, आकर्षक पारिश्रमिक पनि पाइन्छ ।
तीतो यथार्थ के हो भने, अहिले पनि केही संस्थानमुखी साहित्यिक पत्रिकाबाहेक निजी पहलबाट प्रकाशित साहित्यिक पत्रिकाहरूले लेखकस्व प्रदान गर्ने हैसियत राख्दैनन् । एउटा अंक प्रकाशनको चिन्ताबाट टाढा नहुँदै अर्को अंकका लागि प्रकाशन खर्च कसरी जुटाउने भन्ने चिन्तामा सदैव रुमल्लिइरहने साहित्यिक पत्रकारहरूले कसरी लेखकहरूलाई पनि पारिश्रमिक दिनुपर्ने सोच राख्न भ्याउलान् ? र, अधिकांश लेखकहरू पनि यति सचेत भइसकेका छन् कि, आकर्षक पारिश्रमिक दिने पत्रिकाहरूलाई रचना दिनु उनीहरूको पहिलो प्राथमिकतामा पर्दछ भने अलि कमसल रचनाहरू लेखकस्व नदिने पत्रिकाहरूलाई सम्प्रेषित गर्न रुचाउँछन् । अर्थात्, रचनालाई पनि लेखकस्वको आधारमा वर्गीकरण गर्ने प्रवृत्ति लेखकहरूमा मौलाइरहेको छ । यस्तो प्रवृत्तिले नेपाली साहित्यलाई कतातिर लैजाला र साहित्यिक पत्रकारिता गर्नेहरूको हविगत पनि के होला ?
तसर्थ, लेखकस्वको दायित्व निर्वाह गर्ने अरुन्धति रायहरू हामीकहाँ फेला पर्नु मुस्किल नै छ । र, अहोरात्र साहित्यिक पत्रकारितामा लागेर कपाल फुलाउने चूडामणि रेग्मी, वीरबहादुर चन्द, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मोहन दुवालजस्ता व्यक्तित्वहरूको योगदानलाई उपेक्षा गर्न पनि सकिँदैन । तसर्थ, नयाँ प्रविधि, परिवेशअनुरूप साहित्यिक पत्रकारितालाई रूपान्तरण गर्दै र सिंगो पत्रकारिता क्षेत्रमा भित्रिइरहेको व्यवसायिकता बोधलाई ग्रहण गर्दै अघि बढ्नुबाहेक नेपाली साहित्यिक पत्रकारिता क्षेत्रसित अर्को विकल्प तत्काल दैखिँदैन । यस्तो मार्ग अपनाए, लेखकीय पारिश्रमिकका लागि कुनै व्यक्तिको सौजन्य ग्रहण गर्ने झन्झट बेसाइरहनु पर्दैन ।

000

No comments:

Post a Comment