Thursday, May 3, 2018

साहित्यिक पत्रिकामा नयाँ ट्रेन्ड - जिके पोख्रेल


इतिहास दोहोरिँदैन, फेरि लेखिन्छ एउटा छुट्टै अध्यायमा।
 
नेपाली साहित्यिक पत्रकारिताको श्रीगणेश गरेका हुन् युवाकवि मोतीराम भट्टले। वि.सं. १९३९ मा भट्टले आदिकवि आनुभक्तरचित रामायणको ‘बालकाण्ड’ बनारसबाट प्रकाशन गरेर ल्याएपछि यसको आधार स्तम्भ तयार पारेका हुन्।
 
त्यसपछि वि.सं. १९५८ मा ५० वटा हास्य कथाहरुको सङ्कलन प्रकाशित भएको थियो। त्यसमा विभिन्न रचनाकारका कथा सम्पादित थिए। खैर यसले दीर्घकालीन असर छोड्नचाहिँ सकेन, नेपाली साहित्यको २५० वर्षे इतिहासमा।
 
वि.सं. १९७४ मा प्रकाशित श्रृङ्गारप्रधान कविताहरुको सङ्कलनलाई हालसम्मकै सर्वाधिक भयानक विवाद मानिन्छ, साहित्यको प्रकाशन र साहित्यिक पत्रकारिताको इतिहासमा। यसले श्रृङ्गार वृत्तिलाई उत्कर्षमा मात्र पुर्या‍एन, साहित्यलाई प्लेटोको भाषाामा ‘पतीतहरुले मात्र पढ्ने रचना विशेष’मा खुम्च्याइदियो। 
 
त्यसपछि १९९१ मा ऋद्धिबहादुर मल्लको एकल पहलकदमिमा ‘शारदा’ पत्रिकाको सुरुवात भएपछि नेपाली साहित्य र साहित्यिक पत्रकारिताले शिखर चुम्यो। यसर्थ साहित्यक पत्रकारिताको इतिहासमा ‘शारदा’ पत्रिकालाई कोसढुङ्गो मानिन्छ। नभन्दै आजसम्म हामीले स्मरण गरिरहेका लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल ‘शारदा’ले १९९१÷९२ ताका जन्माएका काव्य/साहित्य मनिषिहरु हुन्। बाँकी साहित्यिक मनहरुको चर्चा गर्नै परेन। उपर्युल्लिखित व्यक्तित्वहरुको योगदान सम्झे पर्याप्त हुन्छ। 
 
राणा शाषक र साहित्यकारकाबीच लामो समयसम्म घम्सा–घम्सी चल्यो, त्यसताका। तथापी कलमसेवी लेखकहरु अविचलित रुपमा आफ्नो कर्ममा तल्लीन रहिरहे। 
 
२००४ सालमा साहित्यस्रोत सुरु गरेका थिए हृदयचन्द्रसिंह प्रधानले मार्क्सवादी साहित्यको विकास र प्रवद्र्धनका लागि। २०१३ सालमा इन्द्रेणी सुरु हुन अघिसम्म साहित्यस्रोतले राम्रै कार्य सम्पादन गरेको बुझिन्छ। यसबिचमा कति साहित्यिक पत्रिका उदाए र बिलाए, चर्चा गरिसाध्य छैन। 
 
२०१७ सालमा ‘रुपरेखा’ पत्रिका प्रकाशित हुन थालेपछि नेपाली साहित्यिक पत्रकारितामा फेरि पुनर्जागरण आएको तथ्य नस्वीकारी धरै पाइँदैन। मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल वासु शशि, कालिप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, मदन रेग्मी द्वारिका श्रेष्ठजस्ता प्रतिभा मौलाएको रुपरेखा कालले सुस्ताउन दिएन नेपाली साहित्य र दीर्घजीवी भएको चुनौति पेश गर्यो।
 
त्यसपछि सुरु भएका पत्रपत्रिका केवल निरन्तरतामा सीमित रहे। मधुपर्क, गरिमा, समकालीन साहित्य सरकारी अनुदान र तलब पचाउनमै रमाइरहे। त्यस बीचमा एउटा ठिटो सम्पादक झुल्किए– अविनाश श्रेष्ठ। र, उनले मृतसञ्जिवनी छर्किदिए, समकालीन साहित्य, कविता र गरिमालाई पालै पालो÷अद्यपि उनको योगदान घुर्या‍नमा हराएको सियो जसरी लुकिरहेको छ खिया बोकेर।
 
अचम्म बर्खे भेल जसरी जन्मियो ‘पाण्डुलिपि’ गणतान्त्रिक नेपालको साहित्यिक भारवहन गर्ने अठोट बोकेर। बी. एन. पुस्तक संसार र निबन्धकार/सम्पादक दीपक सापकोटाको संयुक्त प्रयासस्वरुप आएको ‘पाण्डुलिपि’को पहिलो अङ्कको पहिलो प्रिन्ट चामत्कारिक रूपमा पन्ध्रै दिनमा खत्तम भयो र निकाल्नुपर्यो दोस्रो प्रिन्ट।
 
हर्षित छन् प्रकाशक र सम्पादक।
 
चकित छन् पाठक र पत्रिका व्यवसायी।
 
प्रकाशक र सम्पादकको प्रयास तारिफयोग्य छ।
 
माथिका आधादर्जन पत्रिकाको चर्चा श्राद्धमा बिरालो बाँधेजस्तो बाँध्न मात्रे ल्याएको पक्कै होइन। यस ‘पाण्डुलिपि’ पत्रिकाको निरन्तर प्रकाशनमाथि शङ्का व्यक्त गरेका थिए निबन्धकार÷समीक्षक प्रा. अभि सुवेदीले। दोस्रो अङ्कमा यस्तै स्तरीय सामग्री आउन नसक्ने पुर्वानुमान नै गरेका थिए कवि श्यामलले। 
 
शारदा र रुपरेखा आज इतिहास बनिसकेका छन्। मधुपर्क, गरिमा र समकालीन साहित्य सरकारी राजनीति र दया कृपाका पात्रलाई साहित्यकार बनाउने ध्याउन्नमा। के सम्पादक दीपक सापकोटाले यी सबै तिकडम र सोर्सफोर्सबाट बचेर ‘पाण्डुलिपि’को यही गुणस्तर कायम राखिरहन सक्लान? 
 
यही अङ्कको स्तर धान्न त गाह्र्रै पर्ला। लक्ष्मी प्र. देवकोटा, मदनमणि दिक्षित, कुमार नगरकोटी, श्यामल मनु मञ्जिल, अभि सुवेदी, अभय श्रेष्ठ, राबत (जो युग र पुस्ताको साहित्यिक/चिन्तनगत नेतृत्वकर्ता मानिन्छन्) यसै अङ्कभित्र समेटेपछि त्यही स्तरका सर्जक अब कहाँ खोजेर ल्याउँछन् दीपकले? तर लेखकको स्तर मापन र निर्धारण गरेर ‘पाण्डुलिपि’ पत्रिकाको स्तर निर्धारण गर्नु धृष्टता मात्रै होला। आगामी अङ्कका स्तम्भ र समीक्षामा यही लेखन सामथ्र्य आउन सकोस् र नेपाली साहित्यका यी आशावादी पाठक  लाभान्वित भइरहन पाऊन्।
 
लक्ष्मीप्रसाद देवकोटाले २०१४ सालमा रुसको तासकन्दमा दिएको अङ्ग्रेजी भाषणको नेपाली पाठ पत्रपत्रिकाका पाठकलाई सर्वसुलभ मूल्यमा उपलब्ध गराइदिने ‘पाण्डुलिपि’लाई स्याल्युट गर्नैपर्छ। मदनमणि माड्सापको पाश्र्वजीवनको रहस्यमय पाटो यसरी समुद्घाटित गरिदिएर पदम गौतम, रोचक घिमिरे र अशोक सिलवालले पुण्य कमाउनुभा’छ। मनु मञ्जिल र विप्लव ढकालको जुहारी शिष्ट र सभ्य छ। एउटा प्रतिस्पर्धी कविमाथि त्यति नम्र र वफादार भएर प्रस्तुत हुने विप्लव दाइ तपाईंको सहनशीलता त मान्नैपर्छ।
 
चर्चित स्तम्भ ‘नयाँ/नौलो/नवीन’मा राजकुमार बानियाँ र राबतको ‘रक वार्ता’ पढेरै अघाइँदैन। डाक्टरी शैलीमा राबतको जीवन र कविताको अपरेसन गर्ने राजकुमार बानियाँको लेखनकलामा धु्रबचन्द्र गौतम र भैरव अर्यालको असित व्यङ्ग्यको छनक पाइन्छ।
 
डा. शिव रिजालको रंग समीक्षा र बालकृष्ण समको नाट्य÷रंग शिल्प एउटै अङ्कमा सिध्याउँदा भोलि नाटकविधाको स्तर धान्न गाह्रो पर्ला कि?
 
कवि चयनमा पनि बुद्धि पुर्या‍उनु पर्छ नि। स्फुट कवितामा प्रिय कविहरु स्वप्निल स्मृति, विश्व सिग्देल, फूलमान बल, सरिता तिवारी, छम गुरुङ् र केशव सिलवालका कविता एकैपटक प्रकाशित गरेर अर्कोपटक कसका माग्नु?
 
वरिष्ठ समाजशास्त्री सुरेश ढकालको साहित्यको समाजशास्त्र गम्भीर पाठकका लागि विशेष खुराकका रुपमा पस्किएको छ। प्रकाश सायमीले बब् डाय्लनको जीवनी र उपेन्द्र सुब्बाले नस्पाते बूढाको चरित्रचित्रणमा सायद आफ्नो भोगाइ मिसाएका हुन् कि जत्तिकै विश्वसनीयता छ।
 
पहिलो प्रयासमै यति गुणस्तर दिएँ भनेर सम्पादक र प्रकाशक हौसिनुभन्दा आगामी अङ्कमा त्यही स्तर कायम राख्न कस्सिनु वेश। आर्थिक दृष्टिले साहित्यिक पत्रिका प्रकाशन गर्नु भनेको बाघको मुखमा हात हाल्नुजस्तै हो। साहित्यिक पत्रिकाको ‘रिप्रिन्ट’ को इतिहास रक्षा गर्नुपर्ने चुनौतीको हेक्का राख्नुपर्ने देखिन्छ, ‘पाण्डुलिपि’का सम्पादक र प्रकाशकले। साहित्यमा सेवा गर्ने उद्देश्यले सुरु गरेकै हुन् भने नाफा र घाटामा नजोखी पत्रिका र गुणस्तरमा निरन्तरता दिऊन्। 

http://archive.setopati.com बाट साभार 

No comments:

Post a Comment