नानाथरी नामका बग्रेल्ती साहित्यिक पत्रिका देखिन्छन् फुटपाथका पसलमा । तर, ती पत्रिकाका ग्राहक पर्खने हो भने घन्टौँसम्म पनि कसैले खल्तीबाट दाम झिकेको देखिँदैन । ग्राहक कता हो कता, भुइँबाट उठाएर तिनका पाना पल्टाउने पाठकसमेत विरलै भेटिन्छन् ।
बरू, कुनै सुन्दरीको रंगीन कलेवर भएको म्यागेजिन दोब्बर दाम तिरी काखी च्यापेर हिँडेका थुप्रै दृश्य देखिन्छन् । यस्तो लाग्छ, बजारमा सित्तैँमा पाए पनि साहित्यिक पत्रिकाका पाठक पाउन कठिन छ । आखिर किन विरक्तिए त साहित्यिक पत्रिकासँग पाठक ?
५६ वर्षयता नियमित रूपमा नेपाली साहित्यिक त्रैमासिकको सम्पादनमा लागेका साहित्यकार कमलमणि दीक्षित यसको पहिलो कारण कवि–लेखकहरूकै अभाव ठान्छन् । भन्छन्, “सुरुका दुई अंकमा बालकृष्ण सम र भवानी भिक्षुका एक–एकवटा कविता छापेको थिएँ, पछि माग्दा पनि स्तरीय कविता पाउन सकिनँ र त्यसयता नेपालीमा कविता नछाप्ने नियम बनाएँ ।”
यही प्रवृत्ति दोहोरिएकाले कथा पनि छाप्न छाडेको जिकिर गर्छन् दीक्षित । आजका उपन्यासकारले कथा लेख्न नसकेको उनको अनुभव छ । भन्छन्, “गंगाजीमा बग्दै जान सकिने भएकाले धेरै पौडिनु परेन तर पोखरीमा त आफैँले बाँकटे हान्नुपर्यो नि † त्यो क्षमता आजका उपन्यासकारहरूसित छैन ।”
०१६ सालमा एकैपटक दुई पूर्णांक भनेर प्रकाशित नेपाली आज पनि बालकृष्ण समले ०१५ सालमा बनाइदिएको आवरण डिजाइनमै प्रकाशन भइरहेको छ । नेपाली पत्रिका गोरखापत्रपछिको नियमित सबैभन्दा जेठो पत्रिका भएको दाबी गर्छन् ।
हुन त दीक्षितको पत्रिका पनि आमपाठकसमक्ष पुग्न सकेको छैन । नयाँ पुस्ताका पाठक मात्र नभएर लेखकलाई समेत मदन पुरस्कार गुठीबाट यो पत्रिका निस्किन्छ भन्ने थाहा छैन । उनी वितरण सञ्जाल बनाउन नसकेको स्वीकार्छन्, “केही समय साझा प्रकाशनले यसको वितरण व्यवस्था मिलाइदिएको थियो, पछि त्यो पनि नियमित हुन सकेन ।”
साझाले वितरणको आश्वासन दिए पनि पछि हात झिकिदिँदा साहित्यिक पत्रिकाको बजार-व्यवस्थापन खलबलिएको बताउँछन् रचना त्रैमासिकका सम्पादक रोचक घिमिरे । नेपाल साहित्यिक पत्रकार संघका सभापतिसमेत रहेका रोचकका अनुसार साझाले रचना, अभिव्यक्तिलगायतका साहित्यिक पत्रिकाहरूको वितरण व्यवस्था गरिदिने सम्झौता गर्यो । तर, सारा साहित्यिक पत्रिका गोदाममै थन्काइदियो ।
साहित्य लोकप्रिय भइरहेको छ । साहित्यका पाठकहरू बढेका बढ्यै छन् । तर, साहित्यिक पत्रिकाचाहिँ खुम्चिँदै अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । दीक्षित औँल्याउँछन्, “साहित्यिक पत्रपत्रिका पाठकसमक्ष पुर्याउनुपर्ने दायित्व प्रकाशक–सम्पादककै हो । बिक्रेताहरू ठूलो कमिसन खोज्छन् र सम्झौताबमोजिमको बिक्री–मूल्य पनि भुक्तानी गर्दैनन् ।”
त्यसो त कुनै समयको विख्यात साहित्यिक मासिक रूपरेखा पनि ‘पुससेल’बाटै चलेको थियो । सुरुआती चरणमा त्यसका सम्पादक उत्तम कुँवर घरघर पुगेर पत्रिका बेच्थे । रमेश विकलजस्ता साहित्य सर्जकसमेत लिएर प्रचारमा टोलटोल धाउँथे । दीक्षित इतिहासका पाना पल्टाउँछन्, “बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवर कवि–लेखकहरूलाई भन्थे, हामीले तिम्रा रचना छापिदियौँ, अब तिमीहरू यसलाई बेच्ने काममा हामीलाई सघाओ ।”
०११ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, भवानी भिक्षु आदिलाई सल्लाहकार राखेर नारायणप्रसाद बाँस्कोटाले प्रगति सम्पादन गरे । त्यस पत्रिकालाई बचाउनुपर्छ भनेर महाकवि स्वयंले त्यसको प्रचारमा घरदैलो अभियान चलाएका थिए । दीक्षित स्मरण गर्छन्, “त्यसबेला हामी १०–१५ जना युवा महाकविका पछि लागेर डिल्लीबजारका धेरै घरमा प्रगतिको प्रचार गर्दै हिँडेका थियौँ ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानको समकालीन साहित्य त्रैमासिकमा लामो समय कार्यकारी सम्पादकका रूपमा आबद्ध रहेका र पछि साझा प्रकाशनको गरिमा मासिकका प्रधान–सम्पादक भएका अविनाश श्रेष्ठका विचारमा अहिलेको समयलाई रूपरेखा कालसँग तुलना गर्नु उचित हुँदैन । किनभने, त्यसबेला रूपरेखा प्रतिस्पर्धाविहीन र एक्लो पत्रिका थियो । अहिलेका पाठकसामु अनेकौँ विकल्प लाम लागेर उभिएका छन् । ठूलठूला अखबार छन्, सिनेमा, रेडियो, टीभी, विभिन्न सामाजिक सञ्जालहरूले बजार ढपक्कै ढाकेका छन् ।
रूपरेखाले पाठकलाई लेखकसँग जोड्ने सेतुको पनि काम गरेको थियो त्यस बेला । त्यसमा भूपी शेरचन, मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, शंकर लामिछाने, ईश्वरवल्लभ, पारिजात, वैरागी काँइलाका रचना छापिन्थे । त्यसैले हरेक महिनाको पहिलो दिनको प्रतीक्षा हुन्थ्यो पाठकलाई । त्यसबेलाको साहित्यको संवाहक थियो त्यो पत्रिका । तर, अहिलेका पत्रिका त्यस स्तरका छैनन् ।
यति हुँदाहुँदै पनि नयाँ साहित्यकार जन्माउने र स्थापित गराउने अभिभारा साहित्यिक पत्रिकाले मात्र पूरा गर्ने ठान्छन् अविनाश । प्रतिप्रश्न गर्छन्, “साहित्यिक पत्रिकामा पाठकको रुचि नै समेटिँदैन भने उनीहरूले किन पढ्ने यस्ता पत्रिका ? रूपरेखाजस्ता स्तरीय पत्रिका हुने हो भने आज पनि पाठकले खोजीखोजी साहित्यिक पत्रिका पढ्छन् ।”
अविनाशको अनुभवमा लेखक अहिले पनि छन् तर आफ्नो पत्रिकामा के लेखाउने भन्ने सोच, सीप र क्षमता आजका सम्पादकमा छैन । त्यस कोटिका सम्पादक भेट्न धूलो फुकेर सियो खोज्नुभन्दा कठिन छ । उनी समकालीन साहित्य र गरिमाको सम्पादन गर्दा लेखकलाई आफैँ विषय दिएर त्यसमाथि मन्थन गराउँथे र लेखाउँथे । भन्छन्, “सही वैद्यले नाडी छामेको भरमा जसरी मानिसको कुन अंगमा कुन रोग लागेको छ भन्ने पत्ता लगाउँछ र उपचार गर्छ, त्यसरी नै सम्पादकले पनि पाठकको रुचि, समय र चेतनाको नाडी छाम्न सक्नुपर्छ ।”
उनको अनुभवमा आजका साहित्यिक पत्रिकाका सम्पादकहरू प्रस्तुतिकलामा कमजोर देखिन्छन् । उनको संकेत भद्दा आवरण र अनाकर्षक भित्री पृष्ठ सजावटमा छ । उनी आफूले दिएको विषयमा चित्त बुझ्दो लेख–रचना आउन नसक्दा बारम्बार पुन:लेखन गर्न लगाएको पनि स्मरण गर्छन् ।
मधुपर्क मासिकमा तल्लो तहदेखि प्रधान–सम्पादकसम्मको २५ वर्षे अनुभव सँगालेका लेखक हुन्, श्रीओम श्रेष्ठ ‘रोदन’ । उनी आजका साहित्यिक पत्रिकाहरू छायामा पर्नुको एउटा कारण प्रतिस्पर्धालाई औँल्याउँछन् । भन्छन्, “विभिन्न विद्युतीय र अन्य सञ्चारका माध्यमले गर्दा पहिलाजस्तो पाठकलाई साहित्यिक पत्रिका नै पढिरहनुपर्ने बाध्यता छैन । यसभन्दा पनि खतरनाक कुरा, अहिले त लेखक भनाउँदाहरूले नै साहित्यिक पत्रिका पढ्न छाडिदिए ।”
उनी नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रव्यापी कविता प्रतियोगितामा मधुपर्क र अन्य साहित्यिक पत्रिकामा प्रकाशित भइसकेका कवितालाई प्रतियोगितामा सामेल गरी पुरस्कृतसमेत गरिएका कैयौँ उदाहरण दिन्छन् । पटकपटक यस्ता प्रवृत्ति दोहोरिएका छन् । श्रीओम भन्छन्, “यसको तात्पर्य कविता महोत्सवमा निर्णायक बनाइएका विद्वान्हरूले समेत साहित्यिक पत्रिका पढ्दा रहेनछन् । लेखक स्वयं पाठक बन्न सकिरहेका छैनन् अनि कसरी साहित्यिक पत्रिका समुन्नत र लोकप्रिय हुन्छ ?”
श्रीओमलाई सम्झना छ, मधुपर्कमा नवोदित कविहरूको स्तम्भ ‘आँकुरा’का लागि कविता दिन आउने अधिकाश व्यक्तिका झोलामा आफैँले निकालेका एक–दुईवटा साहित्यिक पत्रिका पनि हुन्थे र उनलाई उपहार दिन्थे । अहिले पनि यस्तो प्रवृत्तिको जगजगी छ ।
हुन पनि प्रुफ रिडिङ जान्नु नै सम्पादक हुने योग्यता हो भन्ने मानसिकतामा अनगिन्ती साहित्यिक पत्रिका प्रकाशित भइरहेका छन् । यस्ता पत्रपत्रिकामा तिनले आफ्नै सामग्री छाप्छन् र झोलामा राखेर बाँढ्दै हिँड्छन् । यस्ता खालका झोले पत्रिकाले बजारमा आउने केही स्तरीय पत्रिकालाई पनि बदनाम गरिरहेका छन् । श्रीओम थप्छन्, “५० प्रतिशतभन्दा बढी साहित्यिक पत्रिका आफ्नै रचना छाप्ने वा आफ्ना रचनाको समालोचना छाप्ने ध्येयले प्रकाशित भएका छन् ।”
समय अनुसार आकर्षक कलेवर दिन नसक्दा पनि आजका साहित्यिक पत्रिका ओझेलमा परेको स्वीकार्छन् रचनाका सम्पादक घिमिरे । बजारमा छ्यापछ्याप्ती पार्नका लागि ठूलो आर्थिक लगानीको आवश्यकता पर्छ । त्यो यस्ता पत्रिकाको हैसियतभन्दा धेरै परको कुरा हो ।
“अहिले आएर ठूला अखबारले मनग्य पारिश्रमिक दिएर साहित्यलाई प्रशस्त ठाउँ दिन थालेका छन्,” रोचक भन्छन्, “हामी आफूले मागेका रचनालाई मात्र पारिश्रमिक दिन्छौँ, त्यो पनि आफ्नो गच्छे अनुसारको ।”
तथापि, सम्पादकहरू के कुरामा गर्व गर्छन् भने साहित्यिक पत्रिकाले स्थापित गरेका कवि–लेखक नै अहिलेका ब्रोडसिटमा छाउन थालेका हुन् । तिनलाई त्यहाँ पुग्नलाई साहित्यिक पत्रिकाको भर्याङ नउक्ली धरै छैन ।
अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा सोख र रुचिका लागि मात्र पत्रिकालाई निरन्तरता दिइरहेका छन् । भन्छन्, “मेरा समकालीनहरू फुर्सदमा तास खेल्छन्, सुरापान गर्छन् । म यी लतहरूबाट बचाएको समय र सम्पत्तिलाई पत्रिकामा लगानी गरिरहेछु ।”
०२७ सालदेखि निरन्तर प्रकाशन गर्दै आएको अभिव्यक्तिसित प्रौढावस्थामा समय व्यतीत गर्ने सहयात्रीका रूपमा जोडिइरहन चाहन्छन् । भन्छन्, “अब मेरो व्यक्तित्व र परिचयको पर्याय नै यही पत्रिका हुन पुगेको छ ।”
शर्मा साहित्यिक पत्रिकाका सम्पादकहरू अल्छी हुँदै गइरहेको समेत औँल्याउँछन् । “पुस्तक प्रदर्शनीमा तपाईंका पत्रिका पनि राखिदिनूस् न भन्दा पनि हामी चासो दिँदैनौँ,” उनी भन्छन्, “आ... चार–पाँच प्रति पत्रिकाका लागि के झमेला गरिरहनु भन्ने मानसिकता छ हाम्रो । खासमा प्रचार–प्रसारबाटै विरक्तिएकाले नेपाली साहित्यिक पत्रपत्रिकाले बजार पाउन नसकेका हुन् ।”
प्रकाशित: जेष्ठ २६, २०७३
http://nepal.ekantipur.com बाट साभार
No comments:
Post a Comment