नेपाली पत्रकारिताको इतिहास खोज्नेहरूले त्यसको चुरो फेला पार्न साहित्यिक पत्रकारितासम्म पुग्नै पर्छ । त्यहाँसम्म नपुगिकन वास्तविक जरो फेला पर्दैन । यसो भनौँ साहित्यिक पत्रकारिता भन्दा अगाडि नेपाली पत्रकारिताको चुरो पुग्न सकेको छैन । अर्थात् नेपाल र नेपाली भाषाको सन्दर्भमा साहित्यिक पत्रकारिताको प्रारम्भ नै नेपाली पत्रकारिताको जग हो ।
साहित्यिक पत्रकारिता सुरु भएको डेढ दशक पछाडि मात्र समाचार मुलक पत्रकारिता सुरु भएको इतिहास इतिहास बनेर सबैको आँखा अगाडि प्रमाण सहित् ठिङ्ग उभिई रहेको छ । पृथक आँखाले हेर्दा ‘ गोर्खा भारत जीवन ’ साहित्यिक पत्रकारिताको र ‘ गोरखा पत्र ’ समाचार मुलक पत्रकारिताका नेपालका आरम्भ विन्दु हुन् ।
आजसम्मको खोजीमा भेटिएको तथ्य अनुसार साहित्यिक पत्रकारिताको इतिहास करिव करिव डेढसय वर्ष निकट रहेको छ । यसले विगतको त्यो कालखण्डमा जसरी हिँड्नु परेको थियो आज पनि त्यो हिँडाईमा खासै देखिने गरी भिन्नता वा परिवर्तन आउन सकिरहेको छैन । अर्थात् हिजोको अवस्थाको पछि पछि आजको परिस्थिति लागिरहेको छ ।
हुन त हिजो र आजको समयमा आकाश पातालको फेर बदल छ । विचार , सोच , चिन्तन र मूल्य–मान्यतामा अनेक पृथकाता देखिएका छन् । परिवर्तन बाटो पछ्याएर अगाडि बढेको सङ्केत गर्नेहरूको कुनै कमी छैन । मूल्याङ्कन हिजोलाई हिजो र आजलाई आजको आँखाले गर्दा मात्र विषयको गाम्भीर्यता समय सापेक्ष हुन सक्छ । यथार्थको कसी पनि यही नै हो ।
समयले जतिसुकै कोल्टे फेरेको वा त्यसमा परिवर्तन आएको भए पनि साहित्यक पत्रकारितालाई हेर्ने दृष्टिकोण वा विचारमा अलिकति पनि तलमाथि भएको छैन । अझै गहिराइमा प्रवेश गर्ने हो भने दिनप्रतिदिन खस्कँदै गएको आभाष हुन्छ । हिजो समाज सुधारदेखि सामाजिक परिवर्तन गर्नमा समेत खेलेको भूमिकालाई आज कतैबाट पनि सम्झने झिनो मसिनो प्रयास पनि भईरहेको देखिँदैन ।
नवराज रिजाल |
बरु साहित्यिक पत्रकारिता केही होईन र यसले इतिहासको कुनै कालखण्डमा कतै योगदान गरेकै छैन भन्ने जस्ता सोचहरू सचेत ठानिएका केही मानिसहरूमा विकास हुँदै गएको देखिन्छ ।यो तिनीहरूको एकल चिन्तन भए पनि त्यसले सामान्य सोचका मानिसमा पर्ने प्रभावलाई नकार्न सकिन्न । हुन त यो सही चिन्तन हैन र सकारात्मक सोच पनि हैन र यसलाई कुनै हालतमा आत्मसात गर्न पनि सकिन्न ।
यो कुरा सुटपाइन्ट लाउने छोराले दौरासुरुवाल लगाउने बाउलाई उनी भन्दा आफू आधुनिक जस्तै हो भनेर बुझ्न सकिन्छ । अन्यथा साहित्यिक पत्रकारितालाई पत्रकारिता नै नभएको दृष्टिकोण कसैले पनि अँगाल्नु सकारात्म चिन्तन हुँदै हैन । हो यसका पनि कमीकमजोरी होलान् , सच्याउने काम पनि गर्नु पर्छ । तर त्यसो भन्दैमा इतिहासलाई नै अस्विकार गर्नु चाहिँ राम्रो हुँदै हैन ।
तर अग्रज ठानिएका र नेतृत्व तहमा समेत पुगिसकेकाहरूले यसलाई टेढो आँखाले हेर्नु र विपक्षमा धारणा राख्नु भनेको अस्तित्व अस्वीकार गर्नु हो । यसले मौकामा चौका हान्न पाए हामी आफुले आफैलाई पनि बिर्सन्छौँ भन्न दृष्टान्त बिर्साउन मदत गर्छ । विचारमा बहस गर्दै सत्यको पछि हिँड्नेहरूले साहित्यिक पत्रकारिताको अस्तित्वलाई अस्विकार गर्नु आवश्यक छैन र गरेको पनि देखिन्न ।
अग्रज वा जानकारहरूको काम बाटो देखाउनु र हिँड्न सिकाउन पनिु हो । निषेध वा तिरस्कार गर्नु पक्कै पनि हैन । तर हाम्रो परिप्रेक्षमा यस्ता कामहरू ज्यादै कम हुने गर्छन् । हामी बाहेक कोही छैन भन्ने प्रवृति देख्दा तिनले सकेको खण्डमा साहित्यिक पत्रकारिता माथि नै अङ्कुस नलगाउलान् भन्न सकिन्न । राजनीतिमा मात्र हैन अन्य क्षेत्रमा पनि आफूले देखेको सत्य मात्र साँचो हो भन्नेहरूको कमी रहेनछ । अन्यथा साहित्यिक पत्रकारितालाई टेढो नजरले हेर्नु पर्ने कारण देखिँदैन ।
साहित्यिक पत्रकारिताको सम्बन्ध संस्कृति निर्माण , समाज सुधार , सामाजिक सद्भावको जगेर्ना , आपसी प्रेम , मेलमिलाप र एकतालाई एकिकृत गर्दै त्यसको जगेर्नातिर पनि हुन्छ । हरेक मुलुकको आफ्नो अलग मौलिक संस्कृति , परम्परा , रीति रिवाज र मूल्य मान्यता हुन्छन् । यिनीहरूले कुनै पनि देश , समाज र संस्कृति चिन्न भरपुर सहयोग गर्छन् । यिनीहरूको प्रचार प्रसार र जगेर्नामा साहित्यिक पत्रकारिताको भूमिका जहिले पनि अहं रहन्छ ।
देशका सामाजिक र सास्कृतिक सम्पत्तिको संरक्षण , संवर्धनले र प्रचारप्रसारले राण्ट्रलाई चिनाउने हो । यो कर्ममा विगत देखि आगतसम्म साहित्यिक पत्रकारहरू अग्रमोर्चामा नै छन् । हैसियत र सामथ्र्यले भ्याएसम्म काम गरिरहेका छन् । त्यो विगतमा पनि गरेका थिए । वर्तमानमा पनि गरिरहेका छन् र भविश्यमा पनि गर्ने छन् ।
संसारको जुनसुकै कुनामा रहेको भएपनि जानकारहरूको काम बाटो देखाउने र हिँड्न सिकाउने हो । तसर्थ कसैको कर्मलाई पनि टेढो आँखा लगाउनु भन्दा साथमा हिँडाउनु नै बुध्दिमानी ठहर्छ । इतिहासलाई आफू अनुकुल व्याख्या विश्लेषण गर्ने चिन्तनले पनि कसैको हित गर्दैन ।
तर यतातिर सम्बन्धित पक्षहरूको ध्यान जान सकिरहेको छ जस्तो लाग्दैन । त्यसैले त संस्कृति निर्माणको मुख्य कडी साहित्य र साहित्यिक पत्रकारिता जहिले पनि पछाडिको पछाडि नै छाडिई रहेछ । राजनेता मात्र हैनन् आफूलाई सामाजिक अभियन्ता र नागरिक अगुवा भनाउन रुचाउनेहरू समेतको नजर यतातिर कहिल्यै पर्दैन । अर्थात् उनीहरू यसको संरक्षण र संवर्धनमा आवाज मुखरित गर्नुलाई प्राथमिकतामा राख्दैनन् ।
हरेक राजनीतिक घटना प्रतिघटनामा शीघ्रातिशीघ्र पर्ने ती नजरहरूको ध्यान यता पटक्कै जाँदैन । हो पनि , साहित्य र साहित्यिक पत्रकारिताले न कसैलाई पदमा पु¥याउन मदत गर्छ न त त्यहाँबाट ओराल्ने हैसियत नै राख्छ । यसले क्षण भरमै वाहवाहीको माला पहि¥याउन पनि सक्दैन । सायद त्यसैले होला साहित्यिक पत्रकारिता सधैँ ओझेलको ओझेलमै छ । यसको उत्थान र उन्नयनतिर कोही कसैको सकारात्मक ध्यान जान सकिरहेको छैन ।
भनिन्छ नि , बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन । वर्तमानमा साहित्यिक पत्रकारिताले यही नियति भोगिरहेको छ । देशमा पटक पटक राजनैतिक परिवर्तन भए । समयले कोल्टे फे¥यो । तर योगदानका साथ सतहमा देखिएको साहित्यिक पत्रकारितालाई केही गर्नु पर्छ भन्ने कसैले ठानेन ।
यसको मतलब साहित्यिक पत्रकारिता मात्र अप्ठेरोमा छ भन्न खोजिएको पनि किमार्थ हैन । अरु क्षेत्र र अन्य पक्षहरू पनि असजिलोमा होलान् तर साहित्यिक पत्रकारिता फरक विषय हो र यसलाई अलग आँखाले हेरौँ भन्ने मात्र आम साहित्यिक पत्रकारहरूको आग्रह हो । अपवाद बाहेक अधिकांश साहित्यिक पत्रकारहरू रहर , ईच्छा , कर्तव्यबोध , केही गरौँ भन्ने सोच र सकारात्मक चिन्तनका कारण यो कर्ममा लागेका हुन् मात्र हैन लागि रहने पनि छन् ।
प्रवासका बनारस , देहरादुन , दार्जिलिङ् , मेघालय , नागालैण्ड , मणिपुर , शिमला वा आसाम र नेपाल जहाँ जहाँबाट समूहगत वा एकल प्रयासमा आजसम्म साहित्यिक पत्रपत्रिका प्रकाशित भए ती सबै रहर वा कर्तव्यबोधका परिणाम हुन् । कतिपय प्रकाशन बन्द पनि भएका छन् र कतिपय मनहरूमा रहर जन्मेर गति लिने क्रम पनि चलिरहेको छ । यसो त यसको क्रम भङ्गता कसैले गर्न सक्दैन । जस्तो सुकै परिवेशमा पनि साहित्यिक पत्रकारिता निरन्तर चलिरहेको छ अर्थात् रोकिएका छैनन् । कोभिडको महामारी कालमा पनि निजि तवरबाट प्रकाशित हुने अधिकांश साहित्यिक पत्रपत्रिकाले आफ्नो काम अँह रोकेनन् ।
अन्यत्रका सामान्य भन्दा सामान्य समस्याहरू पनि देख्ने अगुवा आँखाहरू भाषा , साहित्य , संस्कृति ,कला , परम्परा र मूल्य मान्यता माथिका र अप्ठेरा असजिला पटक्कै देख्दैनन् वा देखे पनि देखेको नदेख्यै गर्छन् । यता बोल्नु मरिगए आवश्यक ठान्दैनन् । साहित्यिक पत्रकारिता भरेङको बन्न नसकेको कारण यो नियति भोग्न वाध्य बनेको त हैन यो क्षेत्रमा लामो समय देखि कलम चलाईरहेकाहरूको ओठ ओठमा यो प्रश्न छ ।
बि.सं .१९९५ बाट प्रकाशन आरम्भ गरिएको उदय साहित्यिक पत्रिका छोरा पुस्तमा पुगेर पनि निरन्तर प्रकाशित भईरहेछ । बनारसबाट नेपाली भाषा साहित्यको बिकासमा त्यसले पु¥याई रहेको योगदान अतुलनीय छ । विदेशमा रहेर नेपाली साहित्यको उत्थानमा मरिमेटेर लागेका बाबु–छोरा काशीबहादुर श्रेष्ठ र दुर्गाप्रसाद श्रेष्ठहरूलाई हाम्रा आँखाले देखेका छैनन् र आँखाहरू त्यस्तो चाहना पनि बोक्दैनन् ।
प्रत्येक काम कुरोमा नाफा घाटाको हिसाब किताब गर्नु हुँदैन । ती सब बिर्सिएर दुर्गाप्रसादहरू वर्षौ वर्ष देखि साहित्यिक पत्रकारितामा रमाइरहनु भएको छ । नेपाल बाहिर रहेर पनि भाषा साहित्यको विकासमा दिलो ज्यानले सघाई रहनु भएको छ । तर हामी सही मूल्याङ्कन गर्न सकिरहेका छैनौँ । यति मात्र हैन उहाँहरूले गरेको कर्मलाई पत्रकारिता भन्न समेत हिचकिचाई रहेका छौँ । नाफमा मात्र जिन्दी सोच्नेहरूले गर्ने त्यत्ती मात्र हो ।
विभिन्न कालखण्डमा नविन ईतिहास बनाएका शारदा लगायतका साहित्यिक पत्रिकाका कामलाई पनि आज हामी साहित्यिक पत्रकारिता भन्न हिचकिचाई रहेका छौँ । अनेक उपमा र विशेषण दिएर पन्छिन खोज्ने प्रवृतिले हाम्रा मथिङ्गलमा काम गरिरहेका कारण परिस्थिति जटिल बन्दै गएको हो ।
अहिलेसम्म जीवित मात्र हैन ६० वर्ष देखि निरन्तर योगदान दिईरहेको रचना , ५० वर्ष देखि योगदान गरिरहेको अभिव्यक्ति तथा भानु ,४० को हाराहारी देखि योगदान गरिरहेका तन्नेरी ,जनमत र दायित्व लगायतका साहित्यिक पत्रपत्रिका अहिले पनि संस्कृतिको उन्नयनमा महत्वपूर्ण योगदान रहि आएको छन् । यो तथ्यलाई कसैले पनि बिर्सन सक्दैन तर नबिर्सनेहरूको सङ्ख्या क्रमश ः घटिरहेको छ ।
यथार्थमा विविध कालखण्डमा देशमा भएका राजनीतिक देखि सामाजिक र सांस्कृतिक आन्दोलन तथा परिवर्तन समेतमा साहित्यिक पत्रकारितामा कर्म गर्ने पत्रकारहरूको महत्वपूर्ण योगदान रहेको कुरालाई नकार्न सकिदैन । तर यो पाटोतिर हाम्रा चिन्तन किन जान नसकेका हुन् यसलाई गम्भीरता पुर्वक सोचिनु आवश्यक छ ।
खोलो त¥यो लौरो बिस्र्यो गर्ने हाम्रो प्रवृत्तिका कारण हाम्रा त्यता नजर जान नसकेको हो कि भनेर आशङ्का गर्न सकिने ठाउँहरू प्रशस्त देखिन्छन् । यसमा सुधार हुनु आवश्यक छ । हामीमा बढ्दै गएको इतिहास प्रतिको कृतघ्न भाव पनि यसको कारक भन्ने अनुमानलाई अन्यथा ठान्न सकिदैन ।
आज पनि हाम्रा साहित्यिक पत्रपत्रिका देशको सिमाना काटेर वैध रुपमा नेपाली बहुल भारतीय क्षेत्रमा निर्वाध जान सक्दैनन् । लामो समय देखि साहित्यिक पत्रिका र पत्रकारले आवाज उठाई रहेको भएपनि तालुकवाला निकायहरू मुख खोल्दैनन् वा उपयुक्त ठाउँमा केही पनि बोल्दैनन् ।
कुरा यतिमात्र कहाँ हो र ? सचेत वर्ग , नागरिक अगुवा र बुध्दिजीविहरूको ध्यान पनि यता कहिल्यै खिचिन सक्दैन । ती सबै बोल्न डराई रहेका छन् । किन थुनिएको छ तिनीहरूको मुख ? यो प्रश्नको उत्तर सखल्दो रुपमा आउन सकिरहेको छैन । साहित्यिक पत्रकारहरू यसलाई अर्थ पुर्ण नजरले हेरिरहेका छन् ।
आवश्यकतामा सबै मुखहरू मौन अर्थात् चुपचाप रहन्छन् । जिम्मेवारहरू कोही पनि देखिँदैनन् । जिम्मेवारी पनि त एउटा पहिचान हो नि । तर खै ती किन बोलिरहेका छैनन् । किन ? यो क्षेत्रमा क्रियाशील सबैका ओठ ओठमा प्रश्नहरू छन् । तर , प्रश्न प्रश्नका रुपमा मात्र छन् ।
उत्तर कोहीसँग छैन । लामै समय देखि उत्तरको प्रतीक्षा गरिरहेकाहरू हरेक अवधिमा शासन सत्तामा पुग्नेहरूबाट चित्त बुझ्दो उत्तर खाजिरहेका छन् । भेट्न सकिरहेका छैनन् । आफु आफु नरहेको परिप्रेक्षमा जस्तोसुकै उत्तर दिन सकिन्छ । जिम्मेवारी बोध नगर्नेहरूको उत्तरमा केवल आफ्नो प्रस्तुति मात्र हुनुलाई अन्यथा भन्न सकिँदैन ।
त्यसो भए साहित्यिक पत्रकारिता पत्रकारिता हो कि हैन त ? यसको उत्तर साहित्यिक पत्रकारिता गरिरहेकाहरू खोजिरहेका छन् । उनीहरूको मतमा त साहित्यिक पत्रकारिता पनि पत्रकारिता नै हो ।
इतिहासका पाठकहरू पनि हैन भन्ने पक्षमा खासै देखिएका छैनन् । तर पनि प्रश्न उठेपछि छिनोफानो गरिनु आवश्यक छ । यसर्थ म साहित्यिक पत्रकारिता गरिरहेको नाताले सोध्न चाहन्छु साहित्यिक पत्रकारिता पत्रकारिता हो कि हैन ?
000
No comments:
Post a Comment