Sunday, October 29, 2017

बाँचेकै छन् साहित्यिक पत्रिका - राजेश खनाल


एकदिन अचानक चाबहिल चोकमा भेटिए नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा । उनलाई नेपालको साहित्यिक पत्रकारिताका पर्याय नै भन्दा हुन्छ । नमस्कार गरेँ । नमस्कार फर्काउँदै उनले आफूसँग रहेको ब्याग खोले । ‘अभिव्यक्ति’ द्वैमासिकको ताजा अंक दिए । ‘दाइ टाढै ?’ मैले सोधें । ‘एउटा कार्यक्रममा हिँडेको,’ उनले बताए । उप्रान्त नगेन्द्र दाइ आफ्नो बाटो लागे । म आफ्नो बाटो लागेँ ।
धुलिखेलमा रोशी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मोहन दुवाल दाइसित भेट भयो । भेटमा सामान्य औपचारिकता पछि मोहन दाइले जनमत मासिकको नयाँ अंक दिए । कार्यक्रम सकिएपछि मोहन दाइ बनेपा झरे । हामी काठमाडौं फर्कियौंँ । 
रामप्रसाद पन्त भेटिँदा हातमा ‘दायित्व’ पर्छ भने वियोगी बुढाथोकीसँग भेट हुँदा ‘शिवपुरी सन्देश’ र होमशंकरजी भेट हुँदा ‘अन्तर्वोध’ ।
यस्तै हुन्छ, साहित्यिक पत्रकारहरुसितको भेटमा । प्रकाशित पत्रिकाको ताजा अंक हात पर्छ । मासिक, द्वैमासिक वा त्रैमासिक, जे भएपनि पत्रिका पाइन्छ, पढिन्छ र केही सामग्री त्यसका लागि लेखेर पनि पठाइन्छ ।
यदाकदा ती पत्रिकाहरुमा छापिएको कुनै रचनाको चर्चा जमघटहरुमा हुन्छ । त्यो रचना पढ्ने लालसा जाग्छ । पत्रिका खोजिन्छ । तर पत्रिका पसलमा त्यो पत्रिका पाइँदैन । पत्रिका पसलेले पनि साहित्यिक पत्रिका कि त राख्दै राख्दैनन्, राखे पनि दुई चार प्रतिमात्रै राख्छन्, जुन चाँडै सिद्धिन्छ । नसिद्धिए कतै डम्प गरिदिन्छन् गोदामतिर । किनभने साहित्यिक पत्रिका बिक्री हुँदैन भन्ने मानसिकता छ, बिक्रेतामा पनि ।
हरेक साहित्यिक पत्रकारहरुको पीडा नै यही हो । आज नेपालभरिबाट सयौं साहित्यिक पत्रिकाहरु प्रकाशित हुन्छन् । साहित्यिक पत्रकार होमशंकरजीका अनुसार साहित्यिक पत्रकार संघमा ७० वटा पत्रिका रजिष्टरमा दर्ता छन् । तर बजारमा कमैमात्र भेटिन्छ । सबै सम्पादक वा सम्बन्धित व्यक्तिहरुले वितरण गरेको मात्रै देखिन्छ । यसको अर्थ ती पत्रिका स्तरीय नभएर होइन यसरी वितरण गर्नु परेको । वास्तवमा हामीमा साहित्यिक पत्रिका किनेर पढ्ने प्रवृत्ति नै भएन । 
नेपालको साहित्यिक पत्रकारिताको इतिहास पुरानो छ । ११९ वर्षअघि साहित्यिक पत्रिकाको प्रकाशन सुरु भएको थियो, ‘सुधासागर’ नामबाट । वि.सं. १९५५ मा सुधासागरको प्रकाशन भए पनि सोको प्रति आजसम्म फेला नपरेको बताइन्छ । तथापि, अनुसन्धाताहरुले सुधासागरलाई नै  पहिलो साहित्यिक पत्रिका मान्दै आएका छन् । त्यस उप्रान्त वि.सं. १९९१ मा शारदा पत्रिकाले पत्रिकाको माध्यमबाट साहित्यिक स्वाद पाठकमाझ पस्कँदै आएको हो । तर केही कालपछि शारदा पनि प्रकाशनलाई निरन्तरता दिन नसकी थलियो । 
आज साहित्यिक पत्रकारिता समयका हिसाबले बूढो भइसकेको छ । परिपक्व पनि भएको छ तर यति लामो अवधिमा जुन रूपमा साहित्यिक पत्रपत्रिकाको विकास हुनुपर्ने हो, त्यो हुन सकेको पाइँदैन । 
विगत छ दशकदेखि साहित्यिक पत्रकारिता व्यक्तिगत रुपमा साहित्य प्रति रुची भएकाहरुले प्रकाशन गर्दै आएकोले पनि साहित्यिक पत्रकारिता संस्थागत हुन नसकेको यस क्षेत्रमा सक्रिय रहेकाहरुको भनाइ छ । त्यसैले अहिले पनि साहित्यिक पत्रकारिताको अवस्था जस्ताको त्यस्तै रहेको हो । 
विगत दुई दशक भन्दा बढी समयदेखि साहित्यिक पत्रिकाको सम्पादनमा सक्रिय रहँदै आएका साहित्यकार तथा मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन अहिले पनि साहित्यिक पत्रकारिताको अवस्था शारदाकालिन युगमै रहेको बताउँछन् । 
श्रीओम भन्छन्, “त्यसो त साहित्यिक पत्रकारिताको ११९ वर्षको इतिहास छ, तर पीडा अहिले पनि उस्तै छ ।”
बितेको तीन दशकयता संख्यात्मक हिसाबबाट साहित्यिक पत्रिकाको विस्तार भएको छ । त्यसमा नयाँ प्रयोग पनि भएका छन् । स्वरुपमा परिवर्तन पनि भएको छ । र पनि साहित्यिक पत्रिकाको अवस्था नाजुक नै रहेको छ । 
यसको कारण खोतल्न खोज्दा पत्रकार श्रीओम भन्छन, “पहिलो कुरा त साहित्यिक पत्रकारिता गर्नेहरुको सोच सुरुदेखि नै व्यावसायिक नहुनु हो । प्रारम्भदेखि नै साहित्यिक पत्रकारिता संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा संचालन हुँदै आउनु नै यो पीडा थपिनुको कारण हो । सायद सुरुदेखि नै व्यावसायिक धार समातेको भए आज साहित्यिक पत्रकारिताको अवस्था यति दयनीय हुन्थेन ।” 
यद्यपि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा भने साहित्यिक पत्रकारिता व्यापार व्यवसाय नभएकोले नफस्टाएको बताउँछन् । शर्मा भन्छन्, “नेपालमा जति पनि साहित्यिक पत्रिका प्रकाशन भइरहेका छन्, ती सबै व्यक्तिगत रहरमा भइरहेका छन् । यति हुँदाहुँदै पनि राज्यले साहित्यिक पत्रकारितातर्फ खासै वास्ता गरेको छैन । तर पनि साहित्यिक पत्रिका बाँचिरहेको छ । यो नै ठूलो कुरो हो ।” 
जीवन नै साहित्यिक पत्रकारितामा अर्पण गर्ने नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, स्व. भवानी घिमिरेलगायतको सक्रियताले नै आज साहित्यिक पत्रकारितालाई नगेन्द्र दाइले भनेजस्तै जिवित राखेको छ । यिनको साहित्यिक पत्रकारितामा निरन्तरको सक्रियताले संस्थागत स्वरुप नै लिएको छ । अभिव्यक्ति, रचना, जनमतलगायतका केही पत्रिकाहरु संस्थाकै रुपमा खडा रहेका छन् । र, यी साहित्यिक पत्रिकाहरु पचास वर्षको हाराहारीमा पुग्दा पनि प्रकाशनमा आइरहनुको कारण शर्मा, घिमिरे र दुवालहरुकै व्यक्तिगत प्रयासबाट भएको हो । व्यक्तिको निरन्तरताले नै यो साहित्यिक पत्रिकालाई उचाइ दिएको निर्विवाद छ ।
त्यसो त सुरुदेखि नै साहित्यिक पत्रकारिताको स्थापना संस्थागत रुपमा भइदिएको भए आज साहित्यिक पत्रिका र पत्रकारहरुले यो पीडा भोग्नुपर्ने थिएन होला । एउटा व्यक्ति भन्दा संस्था निश्चित रुपमा बलियो हुन्छ । त्यसले चाहेका कुराहरु गर्न सक्छ । तर साहित्यिक पत्रिका र पत्रकारहरुका लागि त्यो वातावरण राज्यले कहिले तयार गरिदिएन । दैनिक र साप्ताहिक पत्रिकाको लागि जे पनि गर्ने सरकारले साहित्यिक पत्रकारिता र पत्रिकातर्फ सकारात्मक दृष्टिकोणसमेत राखिदिएन ।
नगेन्द्रराज शर्मा भन्छन्, “साहित्यिक पत्रिकालाई राज्यले हुलाक दर्ता सुविधासम्म पनि दिएको छैन । मैले २०२९ सालदेखि पत्रिकाको लागि हुलाक दर्ताको माग गर्दै आएको छु । तर राज्यले आजसम्म पनि केही गरेको छैन । निरिह छ राज्य । सबै सरोकारवालाहरु मुखले मिठो र चिप्लो बोल्छन् । गर्ने बेलामा केही गर्दैनन् ।” 
यसरी हेर्दा साहित्यिक पत्रिका निकालेर साहित्यको सेवामा निरन्तर लागिरहेकाहरुलाई पनि राज्यले सौताको व्यवहार गरिरहेको देखिन्छ । यसको कारण साहित्यिक पत्रिकाहरुबाट राजनीतिमा लागेकाहरुलाई केही फाइदा नपुग्ने भएरै त होला । हैन भने साहित्यिक पत्रिकाहरु पनि आज माथि पुग्थे । प्रशस्त विज्ञापन पाउँथे । तर विडम्बना, त्यो अवस्था छैन ।
साहित्यिक पत्रकार संघका महासचिव तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल भन्छन्, “साहित्यिक पत्रिकाप्रति राज्यले जहिले पनि झारा टार्ने किसिमबाट काम गर्दै आएको छ । यतातिर राज्यको कहिले पनि सकारात्मक दृष्टिकोण रहेन ।” 
यसै भनाइलाई श्रीओमको भनाइले पुष्टि गर्छ, “११९ वर्षको इतिहास बोकेका साहित्यिक पत्रकारितालाई सरकारले कहिले पनि आधिकारिक मानेन भन्न सकिन्छ ।” 
२५ वर्षअघि २०४६ सालपछिको अवस्थामा पटक पटक साहित्यिक पत्रकारहरु जुर्मुराए । अभियान थाले प्रेस काउन्सिलमा साहित्यिक पत्रकारको उपस्थिति गराउन । पछि प्रेस काउन्सिलको समूहमा एक जना साहित्यिक पत्रकार राख्न पनि थालियो । तर पछि त्यो क्रम भङ्ग भयो ।
यसरी हेर्दा साहित्यिक पत्रकारलाई काउन्सिलमा राख्दा राजनीतिक दल र नेतालाई कुनै फाइदा नभएकाले पनि हुनसक्छ प्रेस काउन्सिलमा साहित्यिक पत्रकार पठाउने चलन हटाइएको साहित्यिक पत्रकारहरुको तर्क छ । वास्तवमा राज्यले साहित्यिक पत्रिका र पत्रकारलाई हेय दृष्टिले हेर्दै आएको छ भनिरहँदा गलत नठहरिएला ।
साहित्यिक पत्रकार मोहन दुवाल खरो पारामा भन्दै थिए, “साहित्यिक पत्रिका प्रायः बौद्धिक वर्गले मात्रै पढ्ने गर्छन् । त्यसैले पनि साहित्यिक पत्रिका र पत्रकारितातर्फ राज्यको दृष्टि जान नसकेको होला । अर्को कुरो, साहित्यिक पत्रिकाहरुले खासै नकमाउने भएकोले यतातिर लगानी गर्न पनि डराउँछन् लगानीकर्ता ।”
साहित्यिक पत्रिकाहरुमा विज्ञापनको अभाव पनि उस्तै छ । पञ्चायतकालमा केही सरकारी संघसंस्थाहरुले वर्षमा चार पाँच पटक विज्ञापन दिने चलन थियो । अहिले त त्यो पनि हराएर गएको छ । कहिलेकाहीँ अलिकति विज्ञापन सम्पर्कका आधारमा नआउने होइन । विज्ञापनको अभावले पनि साहित्यिक पत्रिकाको विकास हुन नसकेको र यतातिर सबैको उपेक्षाभाव रहँदै आएको हो भन्न सकिन्छ । 
श्रीओम भन्छन्, “साहित्यिक पत्रिकाहरुले लेखक कविलाई अगाडि बढाउनमा अतुलनीय योगदान दिएको छ । यो सबैलाई थाहा छ । तर तिनै लेखक कवि नीति निर्माणको ठाउँमा पुग्दा साहित्यिक पत्रिकाको विकासका लागि केही गर्दैनन् । यो भन्दा विडम्बना अरु के हुन सक्छ !”
त्यसो त साहित्यिक पत्रकार र पत्रकारिताको श्रीवृद्धिका लागि भनेर नेपाल साहित्यिक पत्रकार संघ पनि स्थापित छ । केही अघि रोचक घिमिरे त्यसका अध्यक्ष थिए भने अहिले अध्यक्षको जिम्मेवारी नगेन्द्रराज शर्माको काँधमा छ । साहित्यिक पत्रिकाको क्षेत्रमा केही हितकारी काम गर्न राज्यलाई संघले घच्घचाउँदै आएको पनि हो । तर राज्यले ‘लोलोपोतो’ बाहेक अरु केही गरेको देखिँदैन । संघले बेला बेला राज्यसित लड्दै आएको शर्मा र दुवाल दुबै बताउँछन् । तर राज्य मौन छ । 
यो स्थितिमा अब साहित्यिक पत्रकार संघले केही ठोस काम गर्नुपर्ने देखिएको छ । हैन राज्यको यही रवैया हुने हो भने साहित्यिक पत्रिकाको अवस्था के होला ? यो चिन्ता हरेक साहित्यकारहरुमा रहेको पाइन्छ । 
समय तिव्र गतिमा अघि बढिरहेको छ । लेखकहरु तात्तातो साहित्यिक सामग्री लेख्छन् । दैनिक पत्रिका र अनलाइन पत्रिकाहरुमा पठाउँछन् । दैनिक पत्रिका र अनलाइन पत्रिकाहरुले पनि हरेक साता शनिवारको परिशिष्टमा साहित्यिक परिकारहरुलाई पस्कँदै पत्रिका सजाउँछन् । निश्चय पनि साहित्य लेखनमा रुची राख्नेहरुले यतिबेला थुप्रै मञ्च पाएका छन् आफ्ना रचना प्रस्तुत गर्न । र, पाठकहरुको रुची पनि बढदै गएको छ । रचना छिटो छापिने र मासमा पुग्ने भएकोले पनि लेखकहरु यता आकर्षित भएका हुन् ।
तर साहित्यिक पत्रिकाहरु मासिक द्वैमासिक रुपमा प्रकाशित हुँदै आएका छन् । बदलिँदो समयसंगै साहित्यिक पत्रिकाहरुले आफ्नो प्रकाशनलाई पनि परिमार्जन गर्नुपर्ने देखिएको छ ।
पत्रकार श्रीओम भन्छन्, “परिवर्तित समयअनुसार साहित्यिक पत्रकारहरुले पत्रिकालाई परिमार्जन गर्दै जानुपर्ने समय आएको छ । डिजिटलको युग भएकोले साहित्यिक पत्रिकाहरुले पनि यसको प्रयोग गरेको खण्डमा साहित्यिक पत्रिकाले अर्को फड्को मार्ने थियो ।”
तथापि साहित्यिक पत्रिकाहरुको प्रकाशनले नेपाली साहित्य र साहित्यकारलाई टेवा दिइरहेको विषयलाई अस्वीकार गर्न सकिन्न । तसर्थ साहित्यिक पत्रिकाको विकासका लागि के गर्न सकिन्छ, राज्य र सरोकारवाला कार्यालयले यतातिर पनि ध्यान पुर्याउनु आवश्यक छ । 
http://www.baahrakhari.com बाट साभार