Wednesday, June 28, 2023

इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध -विश्वास दीप तिगेला



 “संसार अहिले सानो गाउँको रुपमा परिणत मात्र होइन सोचाई र बुझाईमै ठूलो परिवर्तन आएको छ । सामाजिक सञ्जालमा भेटघाट नहुने स्वयम् आफ्नै आफन्तैहरू पनि बिरानो लाग्न थालेको छ । कहिल्यै नचिनेका नभेटेकाहरू तर समाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप आदिमा मात्र भेटभएकाहरू पनि नजिक र वर्षौं पुरानो चिनजानजस्तो लाग्दछ । संसारको लगभग प्रत्येक देशमा पुगेका नेपाली स्रष्टाहरू स्काइपमा बैठक बस्छन्, बहस गर्छन र सामूहिक निर्णय गर्दछन् ।”

––––––––––––––
(साझा बृहत् पुस्तक प्रदर्शनी तथा कलासाहित्य मेला २०६९, १२–२१ माघ, विराटनगर, मेलाको छैटौं दिन १७ माघमा अनलाइनमार्फत सेरिया बु्रनाईबाट प्रस्तुत कार्यपत्र)

विषय प्रवेशः

समय सधैँ गतिशील र संसार सधँै परिवर्तनशील हुन्छ । सन् १९६९ मा अमेरिकी सेनाको प्रयोगका लागि इन्टरनेटको विकास नगरिएको भए सम्भवतः अहिलेको यो उत्कृष्ट प्रविधि हामीले उपभोग गर्न पाउने थिएनौं । शिल्पकर्मी भिन्ट कार्फ, बिल गेट्स, स्टीभ जब्स लगायतको योगदान नहुने हो त हामीले यो जमाना उपभोग गर्न अझ केही दशक पर्खनु पथ्र्यो, सायद । जे खोज्यो त्यही पाइने, जे माग्यो त्यही दिने, जसलाई खोज्यो उसँग भेट गराई दिने गुगल, याहू, युट्युव, फेसबुक आदि जस्ता सर्च इञ्जिन, सामाजिक सञ्जाल लगायतका वेबसाइटहरू साँच्चै नै हाम्रो लागि ठूलो वरदान हो । अत्यन्तै शक्तिशाली सूचना प्रविधिको इन्टरनेट माध्ययम्मा समाहित नहुनेहरू अब बिस्तारै पछाडि धकेलिँदै गएको समेत आभाष हुन्छ । प्रत्येक व्यक्ति र संस्था मात्र नभई हरेक सिर्जनाहरू इन्टरनेटको पहँुचसम्म पुग्नैपर्ने बाध्यता बढ्दै गएको छ ।

सूचना प्रविधिलाई उपभोग गर्ने अनलाइनकर्ताहरू पछिल्लो समयमा छापाका पत्र–पत्रिकाहरू भन्दा अनलाइनमै बढी रमाउछन् । फलस्वरुप, विश्वका अति लोकप्रिय केही पत्रिकाहरू बन्द पनि भएका छन् । यसरी इन्टरनेट प्रयोगकर्ताहरू ह्वात्तै बढ्नु र छापाका पत्रिकाहरू बन्दहँुदै जानुको अर्थ साइबर सूचना प्रविधि अत्यन्तै शक्तिशाली रुपमा स्थापित हुनु हो । त्यसैले, यो साइबर प्रविधिको युगमा समाहित हुनु अति अपरिहार्य बनेको छ । अब स्रष्टा स्वयम् र स्रष्टाको सिर्जना साइबर प्रविधिभन्दा टाढा रह्यो भने धेरै अवसरबाट टाढिने देखिन्छ । हाम्रा आवश्यकताहरू कही न कही साइबर प्रविधिसँग जानेर वा नजानेर अन्तरसम्बन्धित् बनिसकेका छन् । शब्दहरूसँग रमाउने, कलमहरूसँग रमाउने बौद्धिक खेलको लागि यो प्रविधि झनै महत्वपूर्ण हुनु स्वतः सान्दार्भिक देखिन्छ । सूचना प्रविधिको यो महासागरमा नेपाली साहित्यले पनि गरिमामय उपस्थिति जमाइसकेको छ ।

इन्टरनेटमा नेपाली साहित्यको प्रवेश:

अत्यन्तै सशक्त र शक्तिशाली सूचना प्रविधिसँग नेपाली साहित्यले कहिले, कसरी र कति साइनो जोड्यो ? यसका साथै, यो कस्तो तरिकाले अघि बढिरहेको छ भन्ने सम्बन्धमा यहाँ सङ्क्षिप्त चर्चा गर्न सान्दर्भिक हुन्छ ।

नेपाली साहित्यलाई इन्टरनेट प्रविधिमा पहिलो पटक फ्रिनेपालडटकमले राख्ने काम ग¥यो र त्यही पहिलो चरण अन्तर्गत कवि विक्रम सुब्बा सम्पादक रहनुभएको नेपालीकविता डटकम, मोमिला सम्पादक रहनुभएको नेपालीकलासाहित्य डटकम, ताइवानबाट कपिल अधिकारी सम्पादक रहनुभएको इपत्रडटकम, बेल्जियमबाट कृष्ण बजगाई सम्पादक रहनुभएको समकालीनसाहित्य डटकम र वेलायतबाट विश्वासदिप तिगेला सम्पादक रहनुभएको नेपालीलिटरेचरडटकम अर्थात् साहित्यघरडटकम पर्दछन् । साहित्यघरडटकमको उद्घाटन वि.स. २०६२ भाद्र ७ गते अनामनगर काठमाडौंमा डा. गोविदराज भट्टराईले गर्नुभएको थियो ।

दोस्रो चरण अन्तर्गतका वेबसाइटहरूः हङकङबाट भोगेन एक्ले सम्पादक रहनुभएको सिर्जनाडटकम, वेलायतबाट केदार सुनुवार सङ्केत सम्पादक रहनुभएको साहित्यसङ्गालोडटकम, इजरायलबाट हरि मानन्धर सम्पादक रहनुभएको साहित्यसंसारडट्कम, विभोर बराल सम्पादक रहनुभएको अनलाइनसाहित्यडटकम, कुमार सिंखडा सम्पादक रहनुभएको मझेरीडटकम, ब्रुनाईबाट सुरेन्द्र इङ्नाम सम्पादन रहनुभएको कलासाहित्यडटकम आदि पर्दछन् ।

नेपाली साहित्यलाई अनलाइनमा लैजाने शुरुवातको चरणमा ठूलो प्रोगामिङ् गरेर वेबसाइट बनाउनु अत्यन्तै महँगो पर्दथ्यो । कुनै वेबसाइटचाहिँ म्यानुअल अपटुडेट गरिन्थ्यो । जस्तै, नेपालीकविताडटकम, नेपालीकलासाहित्यडटकम आदि । त्यस्तैगरी, उच्च प्रोगामिङ् भएको नेपालीलिटरेचरडटकम् आदि हुन् । पछिल्लो समयमा वर्डप्रेस, जुमला विश्वव्यापी लोकप्रिय वेबसाइटको ट्याम्प्लेट प्रयोग हुन सुरु भएपश्चात भने अनगिन्ति वेबसाइटहरू सञ्चालनमा रहेका छन् । ट्याम्प्लेट प्रयोग गरिएको वेबसाइट कस्टमाइज गर्नु (मिलाएर राख्नु) सजिलो, छिटो र सस्तो हुने गर्दछ । ती ट्याम्प्लेट नै प्रयोग भएका वेबसाइटमा पनि राम्रा सामाग्रीहरू समेत समाहित छन् । यद्यपि, नेपाली साहित्यलाई इन्टरनेटमा लैजाने विषयको चर्चा गर्दा पहिलो चरणमा स्वनिर्मित उच्चप्रोगामिङ् वेभसाइटका सञ्चालक र म्यानुअलकर्मीहरूलाई नसम्झनु अन्याय हुनेछ ।
इन्टरनेटमा नेपाली साहित्य चढाउनको लागि फ्रि ब्लगको पनि अत्यन्तै धेरै प्रयोग भएको पाइन्छ । हङकङबाट साहित्यकार टंक सम्बाहाङ्फेले सञ्चालन गर्नुभएको स्रष्टाडटब्लगस्पटडटकम एक महत्वपूर्ण ब्लग हो । यहाँ धेरै साहित्यकारहरूको विवरण संकलन गरिएको छ । अहिले नेपाली साहित्यको ब्लग कतिवटा सञ्चालनमा छन् यकिन गर्न गाह्रो छ । यी ब्लगहरू बनाउन सजिलो र छिटो हुने भएकोले धेरै स्रष्टाले तत्कालै बनाउँछन् र विर्सन्छन् पनि किनकि यो निःशुल्क प्राप्त हुने गर्दछ । त्यसैले पूर्ण वेबसाइट र ब्लगलाई एकैठाउँमा राखेर हेर्न मिल्दैन ।

साहित्यिक सिर्जना प्रकाशन गर्ने वेबसाइटका प्रकारहरू:

साहित्यिक वेबसाइटहरू सामान्यतः ६ प्रकारको पाइन्छन् ।
१. वेबसाइट नै मात्र सञ्चालन गर्नेगरी संस्थागत जस्तै, अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको नेपालीलिटरेचरडटकम र नेपालीकलासाहित्यडटकम प्रतिष्ठानले सञ्चालन गरेको नेपालीकलासाहित्यडटकम ।
२. इच्छुक व्यक्तिले स्वतन्त्ररुपबाट सञ्चालन गरेको साहित्यिक वेबसाइट जस्तै, साहित्यिसङ्गालोडटकम ।
३. विभिन्न साहित्यिक संघसंस्थाको आफ्नो संस्थागत वेबसाइटमा सिर्जनाहरू पनि राख्ने गर्दछन् । जस्तै, विश्व नेपाली साहित्य महासङ्घको वेबसाइट जिएफएनएलडटअर्ग आदि ।
४. फ्रि ब्लग बनाउँदै सिर्जनाहरू राख्ने काम हुन्छ । जस्तै, लघुकथाडटवर्डप्रेसडटकम ।
५. समाचार तथा विविध विषय समेटिएको वेब साइटमा एकपेज छुट्याएर साहित्यलाई पनि स्थान दिएको पाइन्छ । जस्तै, एचकेनेपालडटकम ।
६. साहित्यिक प्रिन्ट पत्रिकाको अनलाइन संस्करण । जस्तै, मधुपर्क को गोर्खापत्रडटअर्गडटएनपी ।

अनलाइन साहित्यिक प्रतियोगिताहरूः

नेपाली साहित्यको इतिहासमा त पक्कै पनि पहिलो हो । सम्भवतः विश्वको इतिहासमै पनि पहिलो हुन सक्दछ– अनलाइन नेपाली साहित्य मञ्चले वि.स. २०६४ मा अनलाइन विश्व वेबक्याम कविता प्रतियोगिताको आयोजना ग¥यो । त्यसबेला याहू र हटमेल म्यासेन्जर भर्खर लोकप्रिय बन्दैथियो । त्यही म्यासेन्जरको सम्पर्कमा रही प्रत्यक्ष सिर्जना बाचन गरेको भिडियो र अडियोलाई विशेष प्रविधिबाट रेकर्ड गरी अनलाइनमा राखेर अनलाइनमै मूल्याङ्कन गरी उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो छु्ट्याइएको थियो । उक्त प्रतियोगितामा विराटनगरकै कवि नवराज सुब्बा प्रथम हुनुभएको थियो । वहाँले नगद पुरस्कार समेत प्राप्त गर्नुभएको थियो ।

मञ्चले दोस्रो वर्ष पनि विश्वव्यापी वेभक्याम कविता प्रतियोगिता ग¥यो । उक्त प्रतियोगितामा विश्वभरका ८५ जनाले सहभागिता जनाउनु भएको थियो । प्रतियोगितामा भाषाभाषीको कविता, अंग्रेजी कविता लगायतलाई पनि समावेश गरिएको थियो । विश्वव्यापी भोटिङको समेत व्यवस्था गरिएको थियो । लण्डनका कवि गोपीकृष्ण प्रसार्इंले लोकप्रिय कविको उपाधी जित्नुभएको थियो भने अमेरिकाका उत्तमबाबु श्रेष्ठले प्रथम स्थान हासिल गर्नुभई नगद पुरस्कार समेत प्राप्त गर्नुभएको थियो । दुबै वर्षको प्रतियोगिताका कविताहरू अहिले पनि नेपालीलिटरेचरडटकममा सुन्न, हेर्न र पढ्न सकिन्छ ।

तेस्रो बर्ष वि.स. २०६६ मा मञ्चको सह–आयोजना र प्रवासी नेपाली साहित्य समाजको मुख्य आयोजनामा विश्वव्यापी रेडियो गजल प्रतियोगिता सु–सम्पन्न भयो । विश्वभरका १७५ सहभागीमध्ये इजरायलबाट उमा सुवेदीले प्रथम स्थान प्राप्त गर्नुभई नगद २० हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । मातृभाषाका गजलहरूको समेत मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । उक्त वर्षको कार्यक्रमलाई नेपालका मुख्य मिडियाहरूले पनि प्राथमिताका साथ चासो दिएको थियो । विविसी नेपाली सेवाले लामो रिपोर्ट नै प्रसारण गरेको थियो ।

वि.सं २०६८ सालमा विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रीय समितिको मुख्य आयोजना र विभिन्न ६ वटा साहित्यिक संस्थाहरूको सह–आयोजनामा विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा स्रष्टाको आफ्नै स्वरमा वाचन गरेको अडियो, टाइप गरिएको कविता, फोटो र केही भिडियो समावेश गरिएको थियो । प्रतियोगितामा १९ मुलुक र नेपालका २७ जिल्लाबाट जम्मा १८२ जनाको सहभागिता थियो । उक्त प्रतियोगितामा कतारका कवि चर्चित ढुङ्गेलले प्रथम स्थान प्राप्त गर्नुभई नगद २० हजार हातपार्नु भएको थियो । सो प्रतियोगितामा पनि भाषाभाषी र अंग्रेजी भाषाका कविताहरूलाई पनि समावेश गरिएको थियो । एकै भाषाको ६ वटा भन्दा बढी कविताहरू सहभागी भएकोलाई मात्र सोहि भाषाका कविताहरूबीच छनौट गरी पुरस्कृत गरिएको थियो । उक्त वर्ष थारू, मगर, गुरुङ, तामाङ, लिम्बू र राई बान्तावा भाषाका कविताहरू सहभागि थिए । लिम्बु भाषाको कवितामा धनकुटाका भरत थोक्लेन प्रथम हुनुभएको थियो त्यस्तैगरि राई बान्तावा भाषामा इलामका असिम राई प्रथम हुनु भएको थियो । थोरै सहभागिताको कारण बाँकी भाषाहरूको मूल्याङ्कन भएनन् । यहि अवसरलाई भाषाभाषीको पहिलो अनलाइन प्रतियोगिता मान्नुपर्दछ । माथिका यी विभिन्न प्रतियोगिताहरूमा साहित्यकर्मी विश्वास दीप तिगेला र सुरेन्द्र इङनामको प्राविधिक संयोजन रहेको थियो । सम्भवतः यो प्रविधिबाट अन्यत्र कतै साहित्यिक प्रतियोगिता भएको पाइँदैन किनकि यो अत्यन्तै मेहनत गर्नुपर्ने तथा उच्च प्रविधिको प्रयोग थियो ।

सन् २०१० मा हङकङबाट सञ्चालित सिर्जनाडटकमले पनि अनलाइन प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रगति राई प्रथम हुनुभई नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । उक्त प्रतियोगिताका सहभागी कविताहरू वेबमा पढ्न मात्र सकिन्थ्यो । केही समय अघि इजरायलका स्रष्टाहरूले फेसबुकमै पढ्नुपर्ने, फेसबुकमै भोट दिनुपर्ने फेसबुक केन्द्रीत विश्वब्यापी नेपाली देशभक्ति गीत प्रतियोगिता पनि सम्पन्न गरेका छन् ।

अनलाइनमै कृति विमोचन:

कृति विमोचन गर्ने धेरै तरिका तथा माध्ययमहरू छन् । यद्यपि, पुरानो चलन र मान्यताहरूलाई अब मान्नैपर्छ भन्ने छैन । इन्टरनेट क्षेत्रमा निक्कै लोकप्रिय स्काइपमार्फत गत ३० चैत्र २०६८ मा ‘निष्पक्ष संविधानः समृद्ध राष्ट्र’ नामक पुस्तकको विमोचन सु–सम्पन्न भयो । स्काइपले स्रष्टा, अतिथि र सहभागीहरूलाई एकैठाउँ जोडेको थियो भने प्रत्यक्ष भिडियो प्रसारणको सेवा प्रदायक युस्ट्रीमबाट संसारभर प्रसारण गरिएको थियो । काठमाडौंको एककोठामा केही स्रष्टाहरू भेला भएर कृतिको विमोचन गर्नुभन्दा स्काइप र युस्ट्रीममार्फत विमोचन गर्नु सर्वाधिक नयाँ मात्र होइन गुणौं प्रभावकारी पनि बनेको छ । युस्ट्रीमको प्रयोग गरी साहित्यिक वा कुनैपनि वेबसाइटमा प्रत्यक्ष प्रसारण भइरहेको भिडियो राख्न सकिन्छ जसले गर्दा आमन्त्रण गरिएका वा नगरिएका स्रष्टाहरूले विश्वको कुनैपनि कुनाबाट हेर्न, सुन्न र बुझ्न सक्दछन् । उक्त विमोचन कार्यक्रमको भिडियो अनलाइनमै रेकर्डेट हुने भएकोले विमोचनको दिन जेजतिले प्रत्यक्ष हेरेपनि कार्यक्रमको समाप्तिपछि पनि हजारौंले हेर्ने भएकोले यो बढी प्रभावकारी बनेको हो । उक्त विमोचनको भिडियो नेपालीलिटरेचरडटकम मा अहिले पनि हेर्न सकिन्छ । प्रविधिको ज्ञान हुने व्यक्तिले कुनैपनि ठाउँमा पुगेर, इच्छाएको व्यक्तिको हातबाट विमोचन गराउन सकिने भएकोले अब चाडैनै यो पद्धति लोकप्रिय हुने आस गर्न सकिन्छ ।

केही स्रष्टाहरूले फेसबुकमार्फत पनि आफ्नो कृतिहरूलाई सार्वजनिक गर्नुभएको छ । तर प्रत्यक्ष हेर्ने र सुन्ने बानी परिसकेकाले फेसबुकको माध्यम त्यति प्रभावकारी देखिँदैन । तथापि, सजिलो माध्यम भने अवश्य हो । फेसबुकलाई विभिन्न तरिकाबाट प्रयोग गर्ने जमर्को भएको छ । यद्यपि, स्वतन्त्र र पूर्ण वेबसाइटले जति आफ्नो पहँुच राख्छ त्यति चाहिँ राख्न सक्दैन । फ्रेन्ड्स लिष्टमा भएकालाई फेसबुकले जसरी जर्बरजस्त तानेर ल्याउँछ त्यसरी नै वेबसाइटले ल्याउन सक्दैन । कतिपयलाई सामाजिक सञ्जाल फेसबुकमा राखे सबैले देख्छन् भन्ने भ्रम् पनि छ तर त्यो सत्य होइन ।

ई–लाइब्रेरी ठूलो वरदान:

हङकङका स्रष्टा टंक सम्बाहाङ्फेले सुरु गर्नुभएको स्रष्टाडटब्लगस्पटडटकममा धेरै साहित्यकारहरूको व्यक्तिगत विवरण रहेको छ । यही लाइबे्ररीलाई नेपाली साहित्यको पहिलो ब्लग लाइब्रेरी मान्नुपर्दछ । त्यसपछि, नेपालीलिटरेचरडकमले पनि सुरु ग¥यो । नेपालीलिटरेचरडटकमले साहित्यकारहरूको व्यक्तिगत विवरण र पारिजात सङ्ग्रहालय अन्तर्गत विभिन्न पुस्तकहरूलाई डाउनलोड गरेर हेर्न मिल्नेगरी पुस्तकालयको व्यवस्था गरेको छ । त्यसपछि, पुस्तकालयडटअर्ग लगायतका राम्रा पुस्तकालयहरू पनि अहिले सञ्चालनमा रहेका छन् ।

अनलाइनमा पुस्तक बिक्रीकक्ष:

विदेशी मुलुकहरूमा अनलाइनबाट पुस्तक बिक्रि गरेर प्रशस्तै आम्दानी गरेको पाइन्छ । नफुट्ने, नसड्ने र पोष्ट गर्न सजिलो हुने भएकोले पुस्तकलाई अनलाइनबाट बिक्रि गर्न उपयुक्त बस्तु मानिन्छ । नेपालको विश्वासीलो बैंकले गेटवे पेमेण्ट सिस्टम पेपल, वल्डपे, टुचेकआउट, गुगलचेकआउट, अथोराइजडटनेट आदि जस्ताको पहँुच दिने हो भने कृति किनबेचमा ठूलो परिवर्तन हुनेछ ।

पुस्तक पढ्ने डिभाइस किन्डलमा हेर्न मिल्नेगरी किन्डल भर्सन र कम्प्युटरमा पढ्न मिल्ने पिडिएफ भर्सनलाई अनलाइनमै बिक्रि गर्ने प्रचलन पनि विकसित देशहरूमा लोकप्रिय भइसकेको छ । झमक घिमिरेको चर्चित पुस्तक ‘जीवन काँडा कि फूल’ पुस्तकको अंगे्रेजी संस्करण किन्डल भर्सनमा किन्न पाइन्छ । त्यस्तैगरी, पाण्डुलिपीबुक्सडटकमले पनि अनलाइन मार्फत पुस्तक बिक्रि सुरु गरेको छ । नेपालका केही पुस्तक पसलहरूले पनि अनलाइन बिक्रि शुरु गरिसकेका छन् ।

अनलाइन रेडियोमा साहित्यिक कार्यक्रम:

साहित्य र सिर्जनालाई अभिब्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्ययम भनेको रेडियो पनि एक हो । त्यसैले रेकडेट वा प्रत्येक्ष प्रसारण हुने अनलाइन रेडियोहरू पनि संचालनमा रहेका छन् । अमेरिकाको न्यूयोर्कमा बसोबास गदै आउनु भएका सहदेव पौडेलद्धारा संचालित नेपालीरेडियोडटअर्ग सबैभन्दा अगाडि रहेको छ । भने हङकङबाट देवराज राईले संचालन गर्नुभएको आलोपालोडटकम, साउदी अरेबियाबाट सागर श्रेष्ठले संचालन गर्नुहुने पिएनएन अनलाइन रेडियो, वेलायतबाट योगराज राईद्धारा संचालित सुन्नुहोसडटकम पनि निक्कै लोकप्रिय रहेका छन ।

नेपालमा संचालित झण्डै ४ सयभन्दा बढि एफएम रेडियोहरू मध्ये केहीले अनलाइन प्रसारण पनि गर्दै आएका छन । यसरी रेडियोहरू आफै अनलाइनमा प्रवेश गर्नु र स्वतन्त्र अनलाइन रेडियोहरू समेत अनगिन्ति संचालनमा आउनुले नेपाली भाषा साहित्यलाई ठूलो योगदान पुगेको छ । नेपाली भाषाको रेडियोहरू मध्ये अनलाइनबाट प्रत्येक्ष प्रसारण गर्ने पहिलो रेडियो बिएफबिएस गोर्खा रेडियो (बिट्रीस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस) हो । यसले सन २००० बाट प्रसारण आरम्भ गरेको थियो । वेलायत, ब्रुनाई र नेपालमा प्रसारण स्टेसन रहेको यस रेडियोले विदेशमा साहित्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नयाँ प्रविधिको विकास संगै एप्पल र रिकु प्रविधिबाट अनलाइन टेलिभिजन प्रसारण समेत शुरु भइसकेको छ । यसले पनि नेपाली साहित्यलाई थप मद्दत पु्याउने छ ।

विविध गतिविधि:

संसार अहिले सानो गाउँको रुपमा परिणत मात्र होइन सोचाई र बुझाईमै ठूलो परिवर्तन आएको छ । सामाजिक सञ्जालमा भेटघाट नहुने स्वयम् आफ्नै आफन्तैहरू पनि बिरानो लाग्न थालेको छ । कहिल्यै नचिनेका नभेटेकाहरू तर समाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप आदिमा मात्र भेटभएकाहरू पनि नजिक र वर्षौं पुरानो चिनजानजस्तो लाग्दछ । संसारको लगभग प्रत्येक देशमा पुगेका नेपाली स्रष्टाहरू स्काइपमा बैठक बस्छन्, बहस गर्छन र सामूहिक निर्णय गर्दछन् । उदाहरणको लागि विश्व नेपाली साहित्य महासङ्घ प्रत्येक महिनाको २८ तारिखको दिन स्काइपमा बैठक बस्छन् । उक्त भेलामै उनीहरू कहिले सिर्जनाहरू सुन्ने र सुनाउने कार्यक्रम पनि राख्ने गर्दछन् ।

भर्खरै मात्र शब्दहार क्रिएसनका रमेश कँडेल, मनु लोहरूङ लगायतले फेसबुक र वेभसाइटमार्फत धेरैलाई स–सानो सहयोग मागेर लाखौं रकम जम्मागरी कृतिहरू प्रकाशन गर्न थालेका छन् । यसले के देखाउँदछ भने धन भएका, मनभएका र दिनसक्नेसँग पनि यो साइबरले सबैलाई जोडिदिएको छ । यसअघि कहिल्यै नगरिएका नौला कामहरू गर्न सकिने यो साइबर प्रविधिसँग अथाह सम्भावना देखिन्छ ।

अनलाइनमा आफ्नो सिर्जनाहरू कसरी राख्ने ?

अहिले प्रत्येक व्यक्तिको लागि इमेल अति आवश्यक बस्तु हो । यही इमेलबाट हामीले साथी, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मलाई अर्थात जो कोहीलाई सम्पर्क गर्न सक्दछांै । त्यसैले आफ्नो सिर्जनालाई नेपाली वा युनिकोड नेपालीमा टाइप गरेर वेब सञ्चालकलाई इमेलमार्फत पठाउन सक्दछौं । अर्थात, कुनैकुनै उच्च प्रोगामिङमार्फत तयार गरिएको वेब साइटमा आफैले अपलोड गर्न सकिन्छ । नेपालीलिटरेचरडटकममा यो सुविधा रहेको छ । तपाइँले अपलोड गर्नुभएको सिर्जनालाई सम्पादकले एप्रुभ् गर्ने बित्तिकै अनलाइनमा तुरुन्त जो कसैले हेर्न सक्दछ । पछिल्लो समयमा फेसबुकको नोटमा पनि आफैले राख्ने प्रचलन छ । यद्यपि, फेसबुकमा राखिएको आफ्नो सिर्जना सिमित व्यक्तिले मात्र हेर्न सक्दछ । तर वेबसाइटमा राखिएको सिर्जना जो कसैले सजिलै हेर्न र प्रतिक्रिया दिन सक्दछ ।
नेपाली टाइप गर्ने ज्ञान नभएको खण्डमा स्क्यान गरेर, डिजिटल क्यामेराले फोटो खिचेर वा स्मार्ट मोबाइलबाट सीधै फोटो खिचेर इमेल वा फेसबुकमार्फत पठाउन सकिन्छ । यदि यी माथिका प्रविधि छैन भने फोनबाट टिपाएर पनि आफ्नो सिर्जना अनलाइनमा राख्न सकिन्छ ।

वेब क्यामेरा भएको खण्डमा आफ्नो सिर्जना बाचन गरेको भिडियो युट्युव जस्ता भिडियो सेयरिङ वेबसाइटमा राख्न सकिन्छ । समय यति परिवर्तन भइसक्यो कि आफ्नो कुरा, आफ्नो कला, आफैले भन्न सकिन्छ । तर त्यसको लागि सामान्य कम्प्युटर ज्ञान भएपुग्छ । इमेल, फेसबुक, युट्यव र ब्लग चलाउनको लागि सामान्य रुचिभए जो कसैले चलाउन सक्दछ । आफ्नो इच्छा र क्षमतालाई आफैले युट्युवमा चढाएकै कारण धेरैले ठूल्ठूला अवसरहरू प्राप्त गरेका प्रशस्त उदाहरणहरू छन् । त्यसैले नयाँ प्रविधिहरूले मनोरञ्जन मात्र होइन अवसरहरू पनि ल्याएका छन् । उक्त अवसरहरूलाई पकड्ने कोसिस गर्नुपर्दछ । अब इन्टरनेटको माध्ययमबाट भित्रिएका अनेक प्रविधि पछाडि फर्कने अवस्था छैन र यही माध्ययमलाई टेकेर अरुअरु प्रविधिहरू भित्रिने सम्भावनाहरू छन् । तसर्थ आजैबाट इमेल, वेबसाइटसँग नजिक हुनु जो कोहीको लागि अत्यावश्यक भइसकेको छ । किनकि आखिर भोलि पनि यो प्रविधि चलाउन बाध्य हुनै पर्नेछ । यदि यो नयाँ प्रविधिदेखि टाढा रहियो भने लगभग समाजबाटै अलग्गिएको जस्तो हुनेछ ।

केही महत्वपूर्ण तथ्याङ्कहरू:

१. नेपाली साहित्यलाई सबैभन्दा पहिला अनलाइनमा राख्ने काम रसियाबाट डा. मधु माधुर्यले सञ्चालन गर्नुभएको फ्रिनेपालडटकमले ग¥यो । सन् १९९८ मा शुरु भएको उक्त वेबसाइट केही वर्षपछि समाचारमुलक साइटमा परिणत भयो ।
२. पहिलो चरणका लोकप्रिय वेभसाइट परदेशडटकम, मनतरङ्गडटकम र सुस्केराडटकम बन्द भएको कारण विशुद्ध साहित्यको जेठो वेबसाइट इपत्रडटकम हो । यो सन् २००३ बाट सुरुभएको थियो ।
३. अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको नेपालीलिटरेचरडटकमको वि.स. २०६२ भाद्र ७ गते उद्घाटन भएको थियो र अहिलेसम्म निरन्तर चलिरहेको साहित्यको ठूलो भण्डार तथा लोकप्रिय विशुद्ध साहित्यिक वेबसाइट हो ।
४. नेपालीले सञ्चालन गरेको पहिलोे वेबसाइट दनेपालडाइजेष्टडटअर्ग हो र सन् १९९८ बाट सुरुभएको थियो ।
५. नेपालीभाषाको पहिलो वेबसाइट नेपालीपोष्टडटकम हो । यसको शुरुवात सन् २००१ को सेप्टेम्बरबाट भएको थियो ।
६. अनलाइन नेपाली साहित्य मञ्चले आयोजना गरेको ‘अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ नै अन्लाइनमा सञ्चालित पहिलो नेपाली साहित्यको प्रतियोगिता हो ।
७. अनलाइनमा कुनकुन प्रतियोगिताहरू भए ?
(क) विश्व वेभक्याम कविता प्रतियोगिता २०६४, अनलाइन् नेपाली साहित्य मञ्च, प्रथम पुरस्कार रु ५ हजार नगद
(ख) विश्व वेभक्याम कविता प्रतियोगिता २०६५, अनलाइन् नेपाली साहित्य मञ्च, प्रथम पुरस्कार रु १० हजार नगद
(ग) विश्वव्यापी रेडियो गजल प्रतियोगिता २०६६, प्रवासी नेपाली साहित्य समाज, प्रथम पुरस्कार रु २० हजार नगद
(घ) विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८, विश्व नेपाली साहित्य महासङ्घ, प्रथम पुरस्कार रु २० हजार नगद ।
(ङ) विश्वब्यापी अनलाईन कविता प्रतियोगिता सन् २०१०, सिर्जनाडटकम, प्रथम पुरस्कार रु २५ हजार
(च) विश्वब्यापी नेपाली देशभक्ति गीत प्रतियोगिता सन् २०१३, इजरायलका स्रष्टाहरूबाट, परिणाम आउन बाँकी

केही महत्वपूर्ण साहित्यिक वेभसाइटहरू:

www.nepaliliterature.com
www.sahityasangalo.com
www.shrijana.com
www.samakalinsahitya.com
www.nepalikalasahitya.com
www.kalasahitya.com
www.pandulipibooks.com
www.pustakalaya.org
www.pallawa.com.np
www.freenepal.com
www.majheri.com
www.khasskhass.com
www.nai.com.np
www.aswikrit.com
www.srasta.blogspot.com
www.laghukathaa.wordpress.com
www.aksharcreations.com
www.pravasi.com.np
www.gfnl.org
www.inls.org
www.nepaliradio.org
www.sunnuhos.com
www.alopalo.com
www.nepalipost.com
www.nepalacademy.org.np

सूचना प्रविधि अन्तगर्तको इन्टरनेटको तीब्रत्तर विकासलाई हेर्दा नेपाली साहित्यको लागि नयाँ तरिकाले केही गर्न सकिन्छ कि भनेर प्रत्येक दिन सम्भावनाहरू खोज्नुपर्ने अवस्था आएको छ । नयाँ जमानालाई पछ्याउनको लागि नयाँनयाँ चीज–बस्तुहरूको पनि प्रयोग गर्नुपर्ने आवश्यक देखिन्छ । सूचना प्रविधिको सिद्धान्ततः प्रत्येक ५ वर्षमा ठूलो परिवर्तन हुन्छ भन्ने मान्यता राख्नुपर्दछ । सैले त्यस्ता वर्षहरू निरन्तर आउनेछन् । सुधार, विकास र परिवर्तनहरू निरन्तर रहनेमा विश्वस्त हुँदै आफू स्वयम्लाई पनि तयारी गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को पुरस्कार वितरण समारोहमा प्राज्ञ कुलपति बैरागी काईला र प्राज्ञ सदस्य डा. वेन्जु शर्माले देशविदेशका सबै स्रष्टाहरूलाई समेट्नको लागि नेपाल प्रज्ञा प्रतिष्ठानले पनि साहित्यिक प्रतियोगिताहरू गर्दा अनलाइन माध्ययमा गर्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो । अन्ततः प्रज्ञा प्रतिष्ठान पनि आफ्नो वेबसाइट, इमेल र फेसबुक सम्म अघिबढिसकेको छ । त्यस्तैगरि साझा प्रकाशन लगायतका साहित्य संग सम्बन्धित निकायहरू पनि नेपाली साहित्यको लागि इन्टरनेट प्रयोग गर्न सक्षम भईसकेकोले आगामी दिनमा अझ धेरै प्रगति हुनेमा आस गर्न सकिन्छ । यसरी नयाँ प्रविधिले स्वागत गरिसकेको अवस्थामा किमार्थ हामी ओभानो बस्नु हुदैन ।

अन्तमा, केही समयअघिसम्म काठमाडौंलाई साहित्यको केन्द्र मानिन्थ्यो । तर प्रविधिको विकास र समयको परिवर्तनसँगै अब बहुकेन्द्रित साहित्य निर्माण भइसकेको छ । अब साहित्यकार बन्नको लागि मञ्च धाउनु पर्दैन, काठमाडौं सम्झनु पर्दैन; सिर्फ उत्कृष्ट सिर्जना गर्न सक्नेभए पुग्छ । यसका लागि प्रविधिलाई सदुपयोग गर्न सकौं । बस तपाइँको कृतिको प्रभावसँगै सम्र्पक र सहयोगको हातहरू बढ्नेछन् । तब कृति प्रकाशनको लागि हिजो जसरी खेती बेच्नु पर्दैन । यसरी समयलाई चिनांै र प्रविधि संगसंगै अघि बढौं ।

जय नेपाली साहित्य !

biswasdip@ymail.com

ब्रुनाई, ३० जनवरी २०१३

(लेखकः गैर-आवासीय नेपाली संघ, केन्द्रीय समिति साहित्य कार्यदलका सदस्य हुन् ।)


www.sanghiya.com बाट साभार

No comments:

Post a Comment