Sunday, December 17, 2017

साहित्यका दुई दीर्घसेवी व्यक्ति - गणेश राई




नेपाली साहित्यिक प्रकाशनमा लामो विरासत बोकेका पत्रिकामध्ये पर्छन्— ‘रचना’ र ‘अभिव्यक्ति’ । यिनका सम्पादकहरू हुन्— क्रमश: रोचक घिमिरे र नगेन्द्रराज शर्मा । दुवै जनाको अलग पहिचान छ तर विशेषता एउटै— साहित्यिक पत्रकारितामा दीर्घ साधना र सेवा । दुवैको जन्मथलो रामेछापको मन्थली हो भने वंशजको नाताले नगेन्द्र काका र रोचक भतिजा । यी दुई स्रष्टा निरन्तर नयाँ स्रष्टा जन्माउने र साधना गर्ने थलो निर्माणमा निरन्तर जुटिरहे । साहित्यिक पत्रिका सम्पादन, प्रकाशन, वितरण गरेर नेपाली साहित्यको चुली निर्माणमा निरन्तर निरन्तर लागिपरे । लागिपरेकै छन् । संयोग भनौं, यो वर्षको खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले यी दुई साधकलाई संयुक्त रूपमा ‘पद्मश्री साधना सम्मान–२०७३’ प्रदान गरेको छ । 

२०१८ सालमा प्रकाशन आरम्भ भएको ‘रचना’ हाल २०७४ मंसिरसम्म १५१ अंक प्रकाशित भएको छ । त्यसैगरी २०२७ सालमा प्रकाशन आरम्भ भएको ‘अभिव्यक्ति’ २०७४ मंसिरसम्म १९२ अंक प्रकाशित भएको छ । समाजशास्त्रीय विश्लेषणमा २५ वर्ष एक पुस्ता मानिन्छ । यस हिसाबले ५७ वर्षे ‘रचना’ र ४८ वर्षे ‘अभिव्यक्ति’ ले दुई पुस्ताको नेतृत्व गरिसकेका छन् । 

इतिहास खोतल्दा १९४३ सालमा बनारसबाट छापिएको ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका नै नेपाली भाषा, साहित्य र पत्रिकारिताका निम्ति पहिलो पत्रिका हो भन्ने तथ्य फेला पर्छ । उक्त पत्रिकाको सम्पादन, प्रकाशन युवाकवि मोतीराम भट्टले गरेका थिए । त्यसअघि नेपाल र भारतमा कुनै पनि नेपाली भाषाका पत्रपत्रिका प्रकाशनमा आएको थिएन । यो प्रकाशन इतिहास तन्किँदै आज १ सय ३१ वर्ष पुगेको छ । क्रमश: तन्किँदै जानेछ । 

साहित्यिक पत्रिकाको मुख्य उद्देश्य स्थापितदेखि भर्खरै लेख्न सिकेका स्रष्टाहरूको कविता (मुक्तक, हाइकु, गीत, गजल, ताङ्का आदि), कथा, नाटक, उपन्यास, चिन्तनपरक विचार, व्यंग्य, चुट्किला, निबन्ध, प्रबन्ध, नियात्राजस्ता विधागत सामग्री संकलन गरेर छपाउनु हो । लोकसंस्कृति, परम्परा, लोकमान्यता, उखान, टुक्का आदि संकलन र प्रकाशन गर्नु हो । स्वदेश या विदेशका अन्य भाषामा छापिएका उत्कृष्ट साहित्यलाई माध्यम भाषामा अनुवाद गरेर छाप्नु हो । सामान्य लेखपढ गर्न जान्नेदेखि शिक्षामा उच्चतम सिंढी चढेका स्रष्टा व्यक्तिहरूको रचना, अध्ययन तथा अनुसन्धानबाट संकलित सामग्रीहरूको प्रकाशन गर्नु हो । यी यस्ता सामग्री पूर्व–पश्चिम, उत्तर–दक्षिण देशका सबै भेगमा बसोबास गर्ने सबैखाले स्रष्टाको सामयिक रचना एउटै पत्रिकामा सचित्र प्रकाशन हुनु नै साहित्यिक पत्रिकाको विशेषता हो । 

२०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएयता दैनिक अखबारहरूको व्यावसायिक प्रकाशन बढेसँगै साहित्यिक पत्रिकाहरू ओझेलमा पर्दै गएका छन् । मूलधारका अखबारले साहित्यिक सामग्री पनि प्राथमिकता दिएका छन् । एफएम, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालजस्ता आमसञ्चारका माध्यमहरूले समेत साहित्यिक सामग्रीलाई ठाउँ दिएका छन् । त्यसैले पत्रपत्रिकामा रचना छपाउने र पत्रिका किनेर पढ्ने चलन घटेको छ । अहिले साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन् । यही चुनौतीमाझ ‘रचना’ र ‘अभिव्यक्ति’ जस्ता साहित्यिक पत्रिकाको निरन्तरता मननीय छ ।

रोचक अर्थात् ‘रचना’

साहित्यिक वृत्तका धेरैलाई लाग्छ— ‘रोचक दाइ’ र ‘रचना’ पर्याय हुन् । धेरैलाई उनले आफ्नो पत्रिकामा लेख, रचना छापेर साहित्य बजारमा चिनाएका छन् । साहित्यिक गोरेटोमा लाग्न उकेरा दिएका छन् । 

मीठो बोली र शालीन व्यवहारका धनी रोचक घिमिरेको औपचारिक नाम घनानाथ शर्मा घिमिरे हो । बाल्यकालमा उनलाई आत्माराम र ‘आत्मा’ भनेर बोलाउने गरिन्थ्यो । उनले पिता सोमप्रसाद घिमिरे ‘व्यास’ को प्रेरणाबाट साहित्यिक बन्ने अवसर पाएका हुन् । आमा मोहनकुमारीले ‘पिंजराको सुगा’ कविता लय हालेर सुनाउँथिन् । कविताको एउटा पंक्ति ‘भन्दछ तेस्रो आत्माराम † बढो जी राखो नाम †’ आमाले ‘आत्माराम तँलाई नै भनेको हो, लौ पढ् र नाम राख् †’ भनेकी थिइन् उनलाई । ‘यसरी बाल्यकालदेखि नै भाषा र साहित्यको स्पर्श मैले पाएँ,’ तेह्र वर्षको छँदा आमाको काख गुमाएका आत्माराम त्यसपछि कान्छी आमा शारदादेवीको वात्सल्यमा हुर्किए । आमाको वात्सल्य गुमाए पनि त्यो प्रेरणाले आत्मारामलाई कुतुकत्याइरहेको थियो । 

१९९८ भदौ ३ गते रामेछापको मन्थली गहिराथोकमा जन्मिएका हुन् उनी । पिता सोमनाथ घिमिरेले राणा प्रधानमन्त्री भीमशमशेरकी बुहारी समुद्रकुमारीको टंगाल दरबारमा पुराणवाचकको काम पाए । त्यसपछि २००३ सालमा घिमिरे परिवार राजधानीको टंगालमै बसोबास गर्न आयो । पिताको सान्निध्य कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतसँग थियो । रोचक जसै पढ्दै र बढ्दै गए संगत पनि उस्तै पाए । संस्कृत साहित्यमा मध्यमा हासिल गरे । ‘केटौले उमेरदेखि नै देशविदेशका राजनीतिक, सामाजि, साहित्यिक गतिविधि जान्ने उत्सुकता हुन्थ्यो,’ उनी भन्छन्, ‘विद्यालय पढ्दाताका पुरु रिसाल, भैरव अर्याल, रमेश विकल साथी हुन पुगे ।’

तिनै साथीको संगतले एकताका उनले आफ्नो साहित्यिक नाम ‘जीएन रोचक’ राखेका थिए । लेखनयात्राको मेसो २०१४ सालमा जुटेको थियो । उनी हरेक दिन ‘कल्पना’ दैनिक पत्रिकाको प्रेसमा पुगेर पत्रिका लिने गर्थे । एक दिन पत्रिकाका सम्पादक/प्रकाशक तारिणीप्रसाद कोइरालाले बोलाएर ‘ए बाबु तपाईं सधैं पत्रिका पढ्नुहुन्छ मात्र कि लेख्नु पनि हुन्छ ?’ भनेर सोधेछन् । ‘मैले म पाठक मात्रै हो, लेख्न रुचि छैन भनें । उहाँले तपाईंजस्तो मान्छेले लेख्नु पनि पर्छ । म विषय दिन्छु, लेख्नू भन्नुभयो,’ त्यतिखेर २०१५ सालको आमचुनावको चर्चा हुँदै गरेको उल्लेख गर्दै रोचक भन्छन्, ‘उहाँले ‘के तोकिएको मितिमा आमचुनाव होला ?’ भनेर विषय दिनुभयो । मैले ‘निर्धारित समयमा चुनाव हुँदैन’ शीर्षक समसामयिक लेख लेखें । त्यो लेख जीएन रोचक नामबाट पत्रिकामा छापियो । यो नै मेरो पहिलो लेख थियो ।’ त्यसपछि त्यही नामबाट उनले ‘हालखबर’ दैनिकमा समेत समसामयिक लेखहरू छपाए । 

साहित्यिक पत्रिका सम्पादन, प्रकाशन गर्ने रहरले यसतर्फ पाइला चालेका थिए रोचकले । बीसवर्षे उमेरमा २०१८ सालमा ‘रचना’ पत्रिका प्रकाशन आरम्भ गरे । पत्रिकामा छपाउन सिर्जना माग्न जाँदा भाषाशास्त्री महानन्द सापकोटाले जीएन रोचकको सट्टा रोचक घिमिरे नाम राख्न भनेर सुझाए । अन्तत: त्यही नाम सरकारी कागजातदेखि सबैतिर स्थापित भएको छ । 

‘रचना’ सुरुमा चारमहिने थियो । अहिले दुईमहिने छ । प्रधान सम्पादक/प्रकाशक ७६ वर्षीय रोचक घिमिरे छन् भने सहयोगीमा उनकै पुत्रद्वय सुधीर र प्रतीक छन् । प्रकाशन सामग्रीहरू इमेलबाटै प्राप्त हुन्छन् । पत्रिका हजार प्रति छापिन्छ । सित्तै बाँडेर सकिन्छ । ‘रचना’ मा छापिएका सामग्रीहरू ‘खासखास डटकम’ अनलाइनमै पढ्न पाइन्छ । ‘साहित्यिक समाजमा मेरो परिचयको माध्यम ‘रचना’ नै हो । मैले जति पनि साथी सहयोगी र हितैषीहरू कमाएँ यसैबाट कमाएँ ।’ यसमा उनकी श्रीमती सुष्मिता घिमिरेको साथ निरन्तर छ ।

यो पत्रिकाको आयुबारे भने उनी निश्चिन्त छैनन्, ‘भविष्यमा रचना प्रकाशन जारी नै राख्न सक्ने बलियो आधार पनि केही छैन । तर कुनै बेला रचना बन्द गर्नुपर्‍यो भने मेरानिम्ति त्यो दु:खद स्थिति हुनेछ । अहिले त म रचनाबाहेकको आफ्नो बँचाइको कल्पना गर्न सक्तिनँ ।’ 

रोचकको लेखन विधा कविता, निबन्ध, समीक्षा प्रमुख हुन् । उनका ‘सम्झनामा फक्रिएका थुँगाहरू’ (निबन्धसंग्रह, २०५५), ‘अनुहार र अनुभूति’ (व्यक्तिचित्र, २०७४) प्रकाशित कृति हुन् । केही सम्पादित कृति पनि छन् । केही कृति प्रकाशोन्मुख छन् भने छरिएर रहेका अनगिन्ती लेख, रचना छन् । ‘म सर्जकभन्दा बढी साहित्यिक पत्रकार हो,’ उनी प्रस्ट्याउँछन् । 

रोचकले दर्जनौं पुरस्कार र सम्मान पाएका छन् । साहित्यिक पत्रकारकै हैसियतले प्रेस काउन्सिल नेपालको सदस्य पनि बनेका छन् । धेरै संघसंस्थामा आबद्ध उनी २०६२/६३ को राजनीतिक परिवर्तनपछि गठित नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष भए । साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापना गरिएको संघको उद्देश्यप्राप्तिमा केही पहल गरेको उनी सुनाउँछन् । रोचकले २०२६ देखि ०३६ सालसम्म घरमै ‘व्यास प्रेस’ सञ्चालन गरेका थिए । जुन मुलुकमा भित्रिएको पहिलो हाइडल वर्ग प्रेस थियो । पछि बेचे । 

पैत्रिक सम्पत्तिले गर्दा खासै दु:ख बेहोर्नु नपरेको रोचकको कथन छ । पिताले सात दाजुभाइलाई राजधानीमै एक–एक रोपनी जग्गा अंश दिएका थिए । तराईतिर खेती पनि छ । त्यसैले रोचक एकोहोरो साहित्यिक पत्रिकाको माध्यमबाट भाषा सेवामा जुटिरहेको सुनाउँछन् । उनी नेपाली भाषा साहित्यलाई विश्व साहित्य स्तरमा दाँजिने स्थिति रहेको उल्लेख गर्छन् । ‘कुम जोरेर अघि बढेको छ नेपाली साहित्य । तर राम्रो अनुवाद गर्न र विश्वस्तरका प्रकाशकले छाप्न सक्नुपर्छ,’ भन्छन्, ‘नयाँ पुस्ताको क्रियाशीलता ज्यादै अगाडि छ । भाषिक भाँडभैलोले ल्याउने विकृति हटाउनुपर्छ । वर्णविन्यास एकरूपता हुनुपर्छ ।’

‘अभिव्यक्ति’ र नगेन्द्रराज

‘यति लामो अवधिसम्म साहित्यिक पत्रकारितामा यसरी अल्झिरहँुला भन्ने मैले सोचेको पनि थिइनँ,’ दीर्घकालीन योजना नबनाएको उल्लेख गर्दै ८० वर्षे नगेन्द्रराज शर्मा भन्छन्, ‘जिन्दगीलाई कुन बाटो कसरी अघि बढाउने हो भन्ने विषयमा म कहिल्यै गम्भीर भइनँ । मेरो जिन्दगी आपैंm अगाडि बढ्दै गयो आफ्नो बाटो आपैंm बनाउँदै । अथवा, भनौं नदीजस्तै बग्दै गयो आफैं आफ्नो बाटो पहिल्याउँदै । म साहित्यिक पत्रकारको रूपमा परिचित हुँदै गएँ । मेरो सिर्जनशील व्यक्तित्व पनि सम्पादक व्यक्तित्वको छायामा पर्‍यो । भनौं— जति–जति मेरो सम्पादक व्यक्तित्व मौलाउँदै गयो— उति–उति लेखक व्यक्तित्व ओइलाउँदै गयो । यसरी म लेखक कम र सम्पादक बेसी हँुदै गएँ ।’ 

नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा स्थापित अर्को नाम हो— नगेन्द्रराज शर्मा । बाल्यकालदेखि बोलाइने नाम भने मुकुन्द हो उनको । उनलाई भारतको बनारस हिन्दु विश्वविद्यालयका सहपाठीलगायतले मुकुन्द भनेरै बोलाउँछन् । ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाको सम्पादकका रूपमा प्रसिद्धि कमाएका छन् उनले । यसबाटै सबथोक मिलेको उनको अनुभूति छ । ‘सुयोग नै भन्नुपर्छ, यस वर्ष ‘अभिव्यक्ति’ का सम्पादकलाई तीनवटा प्रतिष्ठित पुरस्कार/सम्मान प्राप्त भए,’ २०७४ सालको उपलब्धिबारे शर्मा भन्छन्, ‘मदन–शीला प्रतिष्ठानबाट १ लाख एक हजारको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’, नेपाल सरकारबाट १ लाख रुपैयाँको ‘महाकवि देवकोटा पुरस्कार’ र खेमलाल–हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानबाट (संयुक्त रूपमा) २ लाखको ‘पद्मश्री सम्मान’ पाएँ । साहित्यिक पत्रकारितामा लागेर प्राप्त गरेको योभन्दा अरू धेरै के नै हुन सक्छ ।’ 

शर्माको जन्म १९९४ चैतमा रामेछापको मन्थलीमा भएको हो । पिता इन्द्रप्रसाद घिमिरे र आमा पद्मा घिमिरेका तेह्र सन्तानमध्ये उनी माइला पुत्र हुन् भने साहित्यकार जगदीश घिमिरे साइँला । 

विसं २००० मा राजधानी काठमाडौंका मैतीदेवी घर बनाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाका असल छिमेकी बन्न पुगेका थिए उनका बुबा । त्यसो त नगेन्द्रराजले बाल्यावस्थामै कवि काकाद्वय हृदयराज शर्मा र भरतराज मन्थलीयको साथ पाएका थिए । काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु विश्वविद्यालय/बीएचयू) बाट संस्कृत शिक्षा अध्ययन गरेका उनले प्रसिद्ध साहित्यकार सूर्यविक्रम ज्ञवालीपुत्री कमला शर्मासित विवाह गरेका छन् । दम्पतीका दुई छोरा, एक बुहारी, एक नाति र एक नातिनी छन् । 

आफूले लेखेका केही कथा–कविताहरू प्रकाशित भएपछि साहित्यिक पत्रकारितामा रहर जागेको उनी सुनाउँछन् । रोचक घिमिरे, भैरव अर्याल र जगदीश घिमिरेलगायत निकटस्थहरूले ‘अभिव्यक्ति’ पत्रिका प्रकाशनमा सहयोग गरेको सुनाउँछन् । ‘यिनै साथी भाइको प्रेरणा र सहयोग पाएर मैले अभिव्यक्तिको प्रकाशन सुरु गरेको हुँ,’ ०२७ साल फागुन ७ गते अभिव्यक्तिको पहिलो अंक छापिएको सुनाउँदै उनी भन्छन्, ‘एउटा रहर, लहड, भाषा साहित्यप्रतिको अगाध अनुराग, आशक्ति र सेवाभावबाट प्रेरित भएर सुरु गरेको हो जुन अहिलेसम्म निरन्तर प्रकाशित छ ।’ यही पत्रिकाले उनको व्यक्तिगत पहिचान बनेप्रति शर्मा गर्वित छन् । भन्छन्, ‘म साहित्यको एउटा सामान्य विद्यार्थी मात्र हूँ । त्यस्तै, पत्रकारिताको हकमा पनि म एउटा सामान्य साहित्यिक पत्रकार हुँ । अभिव्यक्ति पनि एउटा सामान्य साहित्यिक पत्रिका हो ।’

शर्माका दुई उपन्यास ‘महापुरुष’ (२०२८) र ‘दिवास्वप्न’ (२०२९) तथा दुई कथासंग्रह ‘पीपलको बोटमुनि’ (२०३९) र ‘एकान्तका आफन्तहरू’ (२०५५) प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा अनेकौं कथा, कविता, लेख, निबन्ध तथा अन्तर्वार्ताहरू प्रकाशित छन् उनका । विभिन्न संघसंस्थामा संलग्न रहेर विभिन्न राष्ट्रिय साहित्यिक गोष्ठीहरूमा सहभागी भए । नेपाल साहित्यिक पत्रकार संघका वर्तमान अध्यक्ष उनले दर्जनौं पुरस्कार र सम्मान पाएका छन् । शर्माले त्रिभुवन विश्वविद्यालयको करिब दुई दशक जागिर खाए । 

उनको बुझाइमा साहित्यिक पत्रिका चलाउनु निकै कष्टकर काम हो । साहित्यिक पत्रकारिताको इतिहास जति तन्किए पनि यसले व्यावसायिक रूप लिन नसकेको शर्माको ठम्याइ छ । उनका अनुसार यसको बिक्री र वितरणको व्यवस्था छैन । सरकारले साहित्यिक पत्रिकालाई प्राथमिकतामा नदिएको पनि उनको गुनासो छ । हुलाक दर्तासमेत नदिएको उनी सुनाउँछन् । ‘अभिव्यक्ति’ का प्रधान सम्पादक नगेन्द्रराज शर्मा र सम्पादकद्वय प्रणयराज र ओपलराज घिमिरे छन्, जो शर्माका छोरा हुन् । पत्रिकालाई निरन्तर बनाउने ध्येयले निर्मित ‘अभिव्यक्ति अक्षय कोष’ मा अहिले १३ लाख रुपैयाँ संकलन भइसकेको छ । प्रेस काउन्सिलको वर्गीकरणमा परेकाले केही सहज भएको छ । 

अहिले उनी धार्मिकस्थल पशुपतिनाथ र गुहेश्वरी मन्दिर उत्तर गौरीघाटतर्फ अभिव्यक्ति मार्गमा स्थायी बसोबास गर्छन् । तर, मन्दिर धाउँदैनन् । ‘आज, मेरोजस्तो उमेर समूहका, अवकाशप्राप्त जीवन बिताइरहेका कतिपय साथीभाइ आफन्तहरू भजन–कीर्तन गाइरहेका छन् । कोही ठाडा–तेर्सा टीका लगाएर मठ–मठ धाइरहेका छन् । कोही धर्मका व्यापारीका चङ्गुलमा फसेर रमाइरहेका छन् । कोही जुवातासमा व्यस्त छन् त कोही मापसेमा मस्त छन्,’ उनी भन्छन्, ‘तर त्यस्ता कुनै पनि विषय, व्यसन वा व्याधिमा मेरो चित्त रमाएन । लागेन । मैले अक्षरसँगै खेल्न र अक्षरसँगै अल्मलिन रुचाएँ । अलिअलि लेखपढ गर्छु । बाँकी समय अभिव्यक्तिकै स्याहार सुसारमा अर्थात् सम्पादन, प्रकाशन र व्यवस्थापनमै बिताउँछु । मेरो सम्पूर्ण कर्म, धर्म, मनोरञ्जन, पूजा आराधना वा अम्मल— जे भने पनि अभिव्यक्ति नै हो । यसैमा रमाइरहेको छु ।’ 

ganeshrai@kmg.com.np

http://kantipur.ekantipur.com बाट साभार 
प्रकाशित: पुस १, २०७४




Sunday, October 29, 2017

बाँचेकै छन् साहित्यिक पत्रिका - राजेश खनाल


एकदिन अचानक चाबहिल चोकमा भेटिए नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा । उनलाई नेपालको साहित्यिक पत्रकारिताका पर्याय नै भन्दा हुन्छ । नमस्कार गरेँ । नमस्कार फर्काउँदै उनले आफूसँग रहेको ब्याग खोले । ‘अभिव्यक्ति’ द्वैमासिकको ताजा अंक दिए । ‘दाइ टाढै ?’ मैले सोधें । ‘एउटा कार्यक्रममा हिँडेको,’ उनले बताए । उप्रान्त नगेन्द्र दाइ आफ्नो बाटो लागे । म आफ्नो बाटो लागेँ ।
धुलिखेलमा रोशी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मोहन दुवाल दाइसित भेट भयो । भेटमा सामान्य औपचारिकता पछि मोहन दाइले जनमत मासिकको नयाँ अंक दिए । कार्यक्रम सकिएपछि मोहन दाइ बनेपा झरे । हामी काठमाडौं फर्कियौंँ । 
रामप्रसाद पन्त भेटिँदा हातमा ‘दायित्व’ पर्छ भने वियोगी बुढाथोकीसँग भेट हुँदा ‘शिवपुरी सन्देश’ र होमशंकरजी भेट हुँदा ‘अन्तर्वोध’ ।
यस्तै हुन्छ, साहित्यिक पत्रकारहरुसितको भेटमा । प्रकाशित पत्रिकाको ताजा अंक हात पर्छ । मासिक, द्वैमासिक वा त्रैमासिक, जे भएपनि पत्रिका पाइन्छ, पढिन्छ र केही सामग्री त्यसका लागि लेखेर पनि पठाइन्छ ।
यदाकदा ती पत्रिकाहरुमा छापिएको कुनै रचनाको चर्चा जमघटहरुमा हुन्छ । त्यो रचना पढ्ने लालसा जाग्छ । पत्रिका खोजिन्छ । तर पत्रिका पसलमा त्यो पत्रिका पाइँदैन । पत्रिका पसलेले पनि साहित्यिक पत्रिका कि त राख्दै राख्दैनन्, राखे पनि दुई चार प्रतिमात्रै राख्छन्, जुन चाँडै सिद्धिन्छ । नसिद्धिए कतै डम्प गरिदिन्छन् गोदामतिर । किनभने साहित्यिक पत्रिका बिक्री हुँदैन भन्ने मानसिकता छ, बिक्रेतामा पनि ।
हरेक साहित्यिक पत्रकारहरुको पीडा नै यही हो । आज नेपालभरिबाट सयौं साहित्यिक पत्रिकाहरु प्रकाशित हुन्छन् । साहित्यिक पत्रकार होमशंकरजीका अनुसार साहित्यिक पत्रकार संघमा ७० वटा पत्रिका रजिष्टरमा दर्ता छन् । तर बजारमा कमैमात्र भेटिन्छ । सबै सम्पादक वा सम्बन्धित व्यक्तिहरुले वितरण गरेको मात्रै देखिन्छ । यसको अर्थ ती पत्रिका स्तरीय नभएर होइन यसरी वितरण गर्नु परेको । वास्तवमा हामीमा साहित्यिक पत्रिका किनेर पढ्ने प्रवृत्ति नै भएन । 
नेपालको साहित्यिक पत्रकारिताको इतिहास पुरानो छ । ११९ वर्षअघि साहित्यिक पत्रिकाको प्रकाशन सुरु भएको थियो, ‘सुधासागर’ नामबाट । वि.सं. १९५५ मा सुधासागरको प्रकाशन भए पनि सोको प्रति आजसम्म फेला नपरेको बताइन्छ । तथापि, अनुसन्धाताहरुले सुधासागरलाई नै  पहिलो साहित्यिक पत्रिका मान्दै आएका छन् । त्यस उप्रान्त वि.सं. १९९१ मा शारदा पत्रिकाले पत्रिकाको माध्यमबाट साहित्यिक स्वाद पाठकमाझ पस्कँदै आएको हो । तर केही कालपछि शारदा पनि प्रकाशनलाई निरन्तरता दिन नसकी थलियो । 
आज साहित्यिक पत्रकारिता समयका हिसाबले बूढो भइसकेको छ । परिपक्व पनि भएको छ तर यति लामो अवधिमा जुन रूपमा साहित्यिक पत्रपत्रिकाको विकास हुनुपर्ने हो, त्यो हुन सकेको पाइँदैन । 
विगत छ दशकदेखि साहित्यिक पत्रकारिता व्यक्तिगत रुपमा साहित्य प्रति रुची भएकाहरुले प्रकाशन गर्दै आएकोले पनि साहित्यिक पत्रकारिता संस्थागत हुन नसकेको यस क्षेत्रमा सक्रिय रहेकाहरुको भनाइ छ । त्यसैले अहिले पनि साहित्यिक पत्रकारिताको अवस्था जस्ताको त्यस्तै रहेको हो । 
विगत दुई दशक भन्दा बढी समयदेखि साहित्यिक पत्रिकाको सम्पादनमा सक्रिय रहँदै आएका साहित्यकार तथा मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन अहिले पनि साहित्यिक पत्रकारिताको अवस्था शारदाकालिन युगमै रहेको बताउँछन् । 
श्रीओम भन्छन्, “त्यसो त साहित्यिक पत्रकारिताको ११९ वर्षको इतिहास छ, तर पीडा अहिले पनि उस्तै छ ।”
बितेको तीन दशकयता संख्यात्मक हिसाबबाट साहित्यिक पत्रिकाको विस्तार भएको छ । त्यसमा नयाँ प्रयोग पनि भएका छन् । स्वरुपमा परिवर्तन पनि भएको छ । र पनि साहित्यिक पत्रिकाको अवस्था नाजुक नै रहेको छ । 
यसको कारण खोतल्न खोज्दा पत्रकार श्रीओम भन्छन, “पहिलो कुरा त साहित्यिक पत्रकारिता गर्नेहरुको सोच सुरुदेखि नै व्यावसायिक नहुनु हो । प्रारम्भदेखि नै साहित्यिक पत्रकारिता संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा संचालन हुँदै आउनु नै यो पीडा थपिनुको कारण हो । सायद सुरुदेखि नै व्यावसायिक धार समातेको भए आज साहित्यिक पत्रकारिताको अवस्था यति दयनीय हुन्थेन ।” 
यद्यपि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा भने साहित्यिक पत्रकारिता व्यापार व्यवसाय नभएकोले नफस्टाएको बताउँछन् । शर्मा भन्छन्, “नेपालमा जति पनि साहित्यिक पत्रिका प्रकाशन भइरहेका छन्, ती सबै व्यक्तिगत रहरमा भइरहेका छन् । यति हुँदाहुँदै पनि राज्यले साहित्यिक पत्रकारितातर्फ खासै वास्ता गरेको छैन । तर पनि साहित्यिक पत्रिका बाँचिरहेको छ । यो नै ठूलो कुरो हो ।” 
जीवन नै साहित्यिक पत्रकारितामा अर्पण गर्ने नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, स्व. भवानी घिमिरेलगायतको सक्रियताले नै आज साहित्यिक पत्रकारितालाई नगेन्द्र दाइले भनेजस्तै जिवित राखेको छ । यिनको साहित्यिक पत्रकारितामा निरन्तरको सक्रियताले संस्थागत स्वरुप नै लिएको छ । अभिव्यक्ति, रचना, जनमतलगायतका केही पत्रिकाहरु संस्थाकै रुपमा खडा रहेका छन् । र, यी साहित्यिक पत्रिकाहरु पचास वर्षको हाराहारीमा पुग्दा पनि प्रकाशनमा आइरहनुको कारण शर्मा, घिमिरे र दुवालहरुकै व्यक्तिगत प्रयासबाट भएको हो । व्यक्तिको निरन्तरताले नै यो साहित्यिक पत्रिकालाई उचाइ दिएको निर्विवाद छ ।
त्यसो त सुरुदेखि नै साहित्यिक पत्रकारिताको स्थापना संस्थागत रुपमा भइदिएको भए आज साहित्यिक पत्रिका र पत्रकारहरुले यो पीडा भोग्नुपर्ने थिएन होला । एउटा व्यक्ति भन्दा संस्था निश्चित रुपमा बलियो हुन्छ । त्यसले चाहेका कुराहरु गर्न सक्छ । तर साहित्यिक पत्रिका र पत्रकारहरुका लागि त्यो वातावरण राज्यले कहिले तयार गरिदिएन । दैनिक र साप्ताहिक पत्रिकाको लागि जे पनि गर्ने सरकारले साहित्यिक पत्रकारिता र पत्रिकातर्फ सकारात्मक दृष्टिकोणसमेत राखिदिएन ।
नगेन्द्रराज शर्मा भन्छन्, “साहित्यिक पत्रिकालाई राज्यले हुलाक दर्ता सुविधासम्म पनि दिएको छैन । मैले २०२९ सालदेखि पत्रिकाको लागि हुलाक दर्ताको माग गर्दै आएको छु । तर राज्यले आजसम्म पनि केही गरेको छैन । निरिह छ राज्य । सबै सरोकारवालाहरु मुखले मिठो र चिप्लो बोल्छन् । गर्ने बेलामा केही गर्दैनन् ।” 
यसरी हेर्दा साहित्यिक पत्रिका निकालेर साहित्यको सेवामा निरन्तर लागिरहेकाहरुलाई पनि राज्यले सौताको व्यवहार गरिरहेको देखिन्छ । यसको कारण साहित्यिक पत्रिकाहरुबाट राजनीतिमा लागेकाहरुलाई केही फाइदा नपुग्ने भएरै त होला । हैन भने साहित्यिक पत्रिकाहरु पनि आज माथि पुग्थे । प्रशस्त विज्ञापन पाउँथे । तर विडम्बना, त्यो अवस्था छैन ।
साहित्यिक पत्रकार संघका महासचिव तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल भन्छन्, “साहित्यिक पत्रिकाप्रति राज्यले जहिले पनि झारा टार्ने किसिमबाट काम गर्दै आएको छ । यतातिर राज्यको कहिले पनि सकारात्मक दृष्टिकोण रहेन ।” 
यसै भनाइलाई श्रीओमको भनाइले पुष्टि गर्छ, “११९ वर्षको इतिहास बोकेका साहित्यिक पत्रकारितालाई सरकारले कहिले पनि आधिकारिक मानेन भन्न सकिन्छ ।” 
२५ वर्षअघि २०४६ सालपछिको अवस्थामा पटक पटक साहित्यिक पत्रकारहरु जुर्मुराए । अभियान थाले प्रेस काउन्सिलमा साहित्यिक पत्रकारको उपस्थिति गराउन । पछि प्रेस काउन्सिलको समूहमा एक जना साहित्यिक पत्रकार राख्न पनि थालियो । तर पछि त्यो क्रम भङ्ग भयो ।
यसरी हेर्दा साहित्यिक पत्रकारलाई काउन्सिलमा राख्दा राजनीतिक दल र नेतालाई कुनै फाइदा नभएकाले पनि हुनसक्छ प्रेस काउन्सिलमा साहित्यिक पत्रकार पठाउने चलन हटाइएको साहित्यिक पत्रकारहरुको तर्क छ । वास्तवमा राज्यले साहित्यिक पत्रिका र पत्रकारलाई हेय दृष्टिले हेर्दै आएको छ भनिरहँदा गलत नठहरिएला ।
साहित्यिक पत्रकार मोहन दुवाल खरो पारामा भन्दै थिए, “साहित्यिक पत्रिका प्रायः बौद्धिक वर्गले मात्रै पढ्ने गर्छन् । त्यसैले पनि साहित्यिक पत्रिका र पत्रकारितातर्फ राज्यको दृष्टि जान नसकेको होला । अर्को कुरो, साहित्यिक पत्रिकाहरुले खासै नकमाउने भएकोले यतातिर लगानी गर्न पनि डराउँछन् लगानीकर्ता ।”
साहित्यिक पत्रिकाहरुमा विज्ञापनको अभाव पनि उस्तै छ । पञ्चायतकालमा केही सरकारी संघसंस्थाहरुले वर्षमा चार पाँच पटक विज्ञापन दिने चलन थियो । अहिले त त्यो पनि हराएर गएको छ । कहिलेकाहीँ अलिकति विज्ञापन सम्पर्कका आधारमा नआउने होइन । विज्ञापनको अभावले पनि साहित्यिक पत्रिकाको विकास हुन नसकेको र यतातिर सबैको उपेक्षाभाव रहँदै आएको हो भन्न सकिन्छ । 
श्रीओम भन्छन्, “साहित्यिक पत्रिकाहरुले लेखक कविलाई अगाडि बढाउनमा अतुलनीय योगदान दिएको छ । यो सबैलाई थाहा छ । तर तिनै लेखक कवि नीति निर्माणको ठाउँमा पुग्दा साहित्यिक पत्रिकाको विकासका लागि केही गर्दैनन् । यो भन्दा विडम्बना अरु के हुन सक्छ !”
त्यसो त साहित्यिक पत्रकार र पत्रकारिताको श्रीवृद्धिका लागि भनेर नेपाल साहित्यिक पत्रकार संघ पनि स्थापित छ । केही अघि रोचक घिमिरे त्यसका अध्यक्ष थिए भने अहिले अध्यक्षको जिम्मेवारी नगेन्द्रराज शर्माको काँधमा छ । साहित्यिक पत्रिकाको क्षेत्रमा केही हितकारी काम गर्न राज्यलाई संघले घच्घचाउँदै आएको पनि हो । तर राज्यले ‘लोलोपोतो’ बाहेक अरु केही गरेको देखिँदैन । संघले बेला बेला राज्यसित लड्दै आएको शर्मा र दुवाल दुबै बताउँछन् । तर राज्य मौन छ । 
यो स्थितिमा अब साहित्यिक पत्रकार संघले केही ठोस काम गर्नुपर्ने देखिएको छ । हैन राज्यको यही रवैया हुने हो भने साहित्यिक पत्रिकाको अवस्था के होला ? यो चिन्ता हरेक साहित्यकारहरुमा रहेको पाइन्छ । 
समय तिव्र गतिमा अघि बढिरहेको छ । लेखकहरु तात्तातो साहित्यिक सामग्री लेख्छन् । दैनिक पत्रिका र अनलाइन पत्रिकाहरुमा पठाउँछन् । दैनिक पत्रिका र अनलाइन पत्रिकाहरुले पनि हरेक साता शनिवारको परिशिष्टमा साहित्यिक परिकारहरुलाई पस्कँदै पत्रिका सजाउँछन् । निश्चय पनि साहित्य लेखनमा रुची राख्नेहरुले यतिबेला थुप्रै मञ्च पाएका छन् आफ्ना रचना प्रस्तुत गर्न । र, पाठकहरुको रुची पनि बढदै गएको छ । रचना छिटो छापिने र मासमा पुग्ने भएकोले पनि लेखकहरु यता आकर्षित भएका हुन् ।
तर साहित्यिक पत्रिकाहरु मासिक द्वैमासिक रुपमा प्रकाशित हुँदै आएका छन् । बदलिँदो समयसंगै साहित्यिक पत्रिकाहरुले आफ्नो प्रकाशनलाई पनि परिमार्जन गर्नुपर्ने देखिएको छ ।
पत्रकार श्रीओम भन्छन्, “परिवर्तित समयअनुसार साहित्यिक पत्रकारहरुले पत्रिकालाई परिमार्जन गर्दै जानुपर्ने समय आएको छ । डिजिटलको युग भएकोले साहित्यिक पत्रिकाहरुले पनि यसको प्रयोग गरेको खण्डमा साहित्यिक पत्रिकाले अर्को फड्को मार्ने थियो ।”
तथापि साहित्यिक पत्रिकाहरुको प्रकाशनले नेपाली साहित्य र साहित्यकारलाई टेवा दिइरहेको विषयलाई अस्वीकार गर्न सकिन्न । तसर्थ साहित्यिक पत्रिकाको विकासका लागि के गर्न सकिन्छ, राज्य र सरोकारवाला कार्यालयले यतातिर पनि ध्यान पुर्याउनु आवश्यक छ । 
http://www.baahrakhari.com बाट साभार 

Tuesday, September 12, 2017

नेपालको सुन्दर नगरी पोखरामा अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न ।

पर्यटकीय नगरी पोखरामा यही २०७४ साल भाद्र २४ गते अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न भएको छ । विभिन्न देशका स्रष्टाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संगीत नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ सरूभक्त हुनुहुन्थ्यो । देवकाेटा लुसुन प्रज्ञा-प्रतिष्ठानको आयोजना र गण्डकी साहित्य संगमको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता  देवकाेटा लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गर्नुभएको थियो । देशभित्र र बाहिरका करिव तीन दर्जन कविहरूले कविता वाचन गर्नुभएको थियो । कविता बाचन गर्ने कविहरुमा भिम रावत, भुपेन्द्र अधिकारी, डा. विन्दु शर्मा, हरिमाया भेटवाल, बलराम तिमिल्सिना , शेषमणि आचार्य, अभय श्रेष्ठ, सरस्वति प्रतीक्षा, अनिल श्रेष्ठ , केवल विनाबी, रामबाबु सुवेदी , सुमनराज श्रेष्ठ आदि हुनुहुन्थ्यो । 

उक्त अन्तर्राष्ट्रिय काव्य संगम संगममा प्रसिद्ध जनगायक जीवन शर्मा, कवि एवं गायक संगीतस्रोता र बिकाश लुंगेलीले गीत प्रस्तुत गर्नु भएको थियो । 

उक्त काव्य महोत्सवमा कवि कृष्ण प्रसाईंको  'घामको विरासत' को विमोचन भएको थियो । उक्त कवितासंङ्ग्रह नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा वरिष्ठ कवि सरूभक्त, देवकोटा लूसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ समालोचक निनु चापागाई,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य  मातृका पोखरेल, प्राज्ञ तथा वरिष्ठ कवि तिर्थ श्रेष्ट, दिल्ली एकेडेमीका सदस्य देहरादुन निवासी वरिष्ठ कवि भुपेन्द्र अधिकारी, प्रेस क्लब अफ सिक्किमका अध्यक्ष  भिम रावत , भुटानका कवि तुम्वेहाङ लिम्बु लगायतका बाहुलीबाट बिमोचन भएको थियो  । कवितासंग्रह माथि कवि  तिर्थ श्रेष्ठले   टिप्पणी गर्नुभएको थियो । 

गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो।