Wednesday, June 28, 2023

दाङको साहित्यिक पत्रकारिता - डा.अमर गिरी

 


विषयको उठान

दाङको साहित्यिक पत्रकारितको इतिहास छ दशकभन्दा लामो रहेको छ । यस जिल्लामा सूचना पत्रकारिताको आरम्भ साहित्यिक पत्रकारिताभन्दा पछि भएको पाइन्छ । साहित्यिक पत्रकारिताले सूचना पत्रकारिताको आधार निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्बाह गरेको थियो । दाङमा मात्र होइन, नेपालमै साहित्यक पत्रकारिता जेठो पत्रकारिताका रूपमा रहेको छ । दाङको साहित्यिक पत्रकारिताको साठी वर्षभन्दा लामो इतिहास सहज रहेको छैन । अनेकौं अप्ठ्याराहरूको सामना गर्दै यो यहाँसम्म आइपुगेको छ । यसले आज पनि विभिन्न समस्याहरूको सामना गर्दैछ र यसका अगाडि गम्भीर चुनौतीहरू छन् । सिङ्गो नेपाली साहित्यिक पत्रकारिता नै गम्भीर समस्याहरूका बीचबाट गुज्रदै गरेको बेला दाङको साहित्यिक पत्रकारिता यसबाट मुक्त हुने कुरा पनि भएन । कठिनाइ र समस्याहरूका बीचबाट दाङमा साहित्यको उन्नयन र प्रतिभाहरूको विकासमा यसले जे जस्तो योगदान दिएको छ, त्यो भने अत्यन्त महत्वपूर्ण रहेको छ । साहित्यको विकासका दृष्टिले आज दाङ जहाँ छ, यसमा साहित्यिक पत्रकारिताको ऐतिहासिक योगदान छ ।

साहित्यिको विकासमा महत्वपूर्ण योगदान दिदै आएको दाङको साहित्यिक पत्रकारिता स्वयंको विकास भने अपेक्षा गरेर अनुसार हुन सकेको छैन । यो आज पनि कमजोर छ । यसका अगाडि आज पनि हिजोका जस्तै कठिनाइ र समस्याहरू छन् । हिजोका जस्तै कठिनाइहरूको सामना गर्दै यो साहित्यको उन्नयनमा जुटेको छ र आफ्ना दुःखहरूलाई बिर्सने गरेको छ । दाङमा साहित्यिक पत्रकारिताको विकासका निम्ति यसले भोग्नुपरेका समस्या र चुनौतीहरूका बारेमा गम्भीर हुन आवश्यक छ । यसको अभावमा साहित्यिक पत्रकारिताको अपेक्षा अनुरूप विकास हुन सम्भव छैन । यस कार्यपत्रमा दाङबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाको सामान्य सर्वेक्षण प्रस्तुत गर्दै साहित्यिक पत्रकारिताले साहित्यको उन्नयन, प्रतिभाहरूको विकास, साहित्यप्रति अभिरूचि निर्माणमा निर्वाह गरेको भूमिका, यसले सामना गर्नुपरेका समस्या एवं चुनौतीहरूको बारेमा सङ्क्षेपमा चर्चा गरिएको छ । दाङमा साहित्यको उन्नयन, प्रतिभाहरूको विकास र साहित्यिक समाचार संप्रेषणमा समाचारपत्रहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । साहित्यिक पत्रकारिताको समुचित विकास हुन नसकेको अवस्थामा समाचार पत्रहरूले यस सन्दर्भमा दिएको योगदानको अझ विशेष महत्व रहेको छ । साहित्यको उन्नयनमा यी सबैको भूमिका रहे पनि यी सबै साहित्यिक पत्रकारिताभित्र नपर्ने भएकाले यहाँ यिनको उल्लेख र चर्चा गरिएको छैन । जानकारी प्राप्त भएसम्मका साहित्यिक पत्रपत्रिकाको नाम यसमा उल्लेख गरिएको छ । जानकारीको अभावमा कतिपय नामहरू छुटेका हुन सक्छन् । त्यस्ता छुटेका नामहरूलाई पछि समावेश गर्ने गरी यो कार्यपत्र तयार गरिएको छ । कार्यपत्र मूलतः साहित्यिक पत्रकारिताका विषयमा केन्द्रित रहेकोले पत्रिकाहरूको बारेमा विशेष चर्चा गरिएको छैन ।

दाङमा साहित्यिक पत्रकारिता : पृष्ठभूमि, आरम्भ र विकास

वि.सं. १९४३ मा मोतीराम भट्टद्वारा वनारसबाट प्रकाशित गोर्खा–भारत जीवन नेपालको जेठो पत्रिका हो । वि.सं. १९५५ मा प्रकाशित ‘सुधासागर’ पहिलो नेपाली साहित्यिक पत्रिकाको हो । यसका सम्पादक नरदेव मोतीकृष्ण शर्मा थिए । यो काठमाडौंबाट प्रकाशित भएको थियो । वि.सं. १९५८ देखि समाचारमूलक पत्रिका ‘गोर्खापत्र’ को प्रकाशन आरम्भ भयो । यसपछि भारतका वनारस, दार्जीलिङ आदि क्षेत्रबाट साहित्यिक पत्रिकाहरूको प्रकाशन सुरु भएको पाइन्छ । पत्रिकाको सम्पादन, प्रकाशन एकातिर भारतमा अध्ययन वा अन्य कुनै काम विशेषले बसेका नेपालीहरूबाट भएको पाइन्छ भने अर्कातिर भारतीय नेपालीहरूले यसमा भूमिका सम्पादन गरेको देखिन्छ । वनारसबाट उपन्यास तरङ्गिणी (वि.सं. १९५९), सुन्दरी (वि.सं. १९६२), माधवी (वि.सं. १९६५), चन्द्र (वि.सं. १९७१), गोर्खाली (वि.सं. १९७२), उदय (वि.सं. १९९३) युगवाणी (वि.सं. २००४) आदि प्रकाशित भएका पाइन्छन् । यसैगरी दार्जीलिङबाट गोर्खे खबर कागत (वि.सं. १९५८), चन्द्रिका (वि.संं १९७४), नेपाली साहित्य सम्मेलन पत्रिका (वि.सं. १९८८), नेबुला (१९९३) आदि प्रकाशित भएका देखिन्छन् । यसैगरी देहरादूनबाट पनि विभिन्न पत्रिकाहरू प्रकाशित भएका पाइन्छन् । वि.सं. १९९१ देखि ऋद्धिबहादुर मल्लको सम्पादन तथा प्रकाशनमा काठमाडौंबाट शारदा निस्कन थालेपछि नेपालको साहित्यिक पत्रकारितामा महत्वपूर्ण मोड देखापर्दछ । नेपाली साहित्यमा आधुनिकताको आरम्भ र साहित्यको उन्नयनका दृष्टिले शारदा को महत्वपूर्ण भूमिका रहेको छ । यसपछि उद्योग (वि.सं. १९९२), साहित्य स्रोत (वि.सं. २००४), आँखा (वि.सं. २००५) पुरुषार्थ (वि.सं. २००६) आदि जस्ता पत्रिकाहरू काठमाडौंबाट प्रकाशित हुन थाल्छन् । २००७ सालको परिवर्तनले प्रकाशनमा थप अनुकूलता सिर्जना गर्दछ । यसपछि सेवा (वि.संं. २००८), प्रतिभा (वि.सं. २००९) जनसाहित्य (वि.सं. २०११), नौलो पाइलो (वि.सं. २०१३), इन्द्रेणी (वि.सं. २०१३), धरती (वि.सं. २०१३), साहित्य (वि.सं. २०१६), रूपरेखा (वि.सं. २०१७), इन्दु (वि.सं. २०१७), रचना (वि.सं. २०१८), हिमानी (वि.सं. २०१९), मुकुट (वि.सं. २०१९), पूर्णिमा (वि.संं २०१९), भानु (वि.सं. २०२०), कविता (वि.सं. २०२१), मधुपर्क (वि.सं. २०२५), सुस्केरा (वि.सं. २०२६), अभिव्यक्ति (वि.सं. २०२७), प्रज्ञा (वि.संं २०२७) आदि पत्रिकाहरूको प्रकाशन आरम्भ भयो । यी पत्रिकाहरूले नेपाली साहित्यिक पत्रकारिताको बाटो र स्वरूप निर्माणका साथसाथै यसको विकासमा महत्वपूर्ण योगदान दिए । राजधानी बाहिरका कतिपय जिल्लाहरूमा २००७ सालको परिवर्तनपछि साहित्यिक पत्रिकाहरूको प्रकाशन आरम्भ एवं साहित्यिक पत्रकारिताको थालनी भएको पाइन्छ ।

दाङको साहित्यिक पत्रकारिता र पत्रिका प्रकाशनको पृष्ठभूमिलाई अध्ययन गर्दा खासगरी वनारसमा नेपाली युवाहरूले गर्ने साहित्यिक गतिविधि एवं त्यहाँबाट प्रकाशित हुने नेपाली साहित्यिक पत्रपत्रिकाहरूको प्रभाव महत्वपूर्ण रहेको छ । २००७ सालअघि र त्यसपछि पनि लामै समयसम्म वनारस दङाली युवाहरूको अध्ययनको केन्द्र रह्यो । दाङको मात्र होइन, वनारस समग्र नेपालकै युवाहरूको उच्च शिक्षा हासिल गर्ने तथा राजनीतिक एवं साहित्यिक गतिविधि गर्ने महत्वपूर्ण स्थल थियो । दाङबाट साहित्यिक पत्रिका प्रकाशन हुनु अगावै वनारसमा अध्ययन गर्ने यस जिल्लाका युवाहरूका रचना त्यहाँबाट प्रकाशित हुने साहित्यिक पत्रिकामा छापिन सुरु गरेको पाइन्छ । सन् १९५० देखि नेपाली छात्र सङ्घको वार्षिक मुखपत्रको रूपमा काशी हिन्दू विश्वविद्यालय, वनारसबाट प्रकाशित हुन थालेको ‘छात्र’ पत्रिकाको सम्पादक दाङका भरतमणी शर्मा थिए (श्रेष्ठ र शर्मा, २०६९ ः २०९) । पत्रिकामा साहित्यिक रचनाहरूको प्रकाशन, साहित्यिक गतिविधिमा सक्रियता, पत्रिकाको सम्पादन, प्रकाशनमा रहेको सहभागिताले दङाली युवाहरूलाई साहित्यिक पत्रिकाको सम्पादन, प्रकाशन र साहित्यिक पत्रकारिताको थालनी गर्न प्रोत्साहित र प्रेरित गरेको थियो । वि.सं. २०१४ सालदेखि वनारसबाट सन्देश पत्रिकाको प्रकाशन आरम्भ भयो । यसको प्रकाशन दाङ–प्यूठान छात्रमण्डलद्वारा गरिएको थियो । यसका प्रधान सम्पादक दाङका एकराज शर्मा थिए । साहित्यिक जागरण ल्याउने उद्धेश्यसहित प्रकाशित भएकोले यसलाई ‘साहित्यिक जागरणको उत्कृष्ट नमूना’का रूपमा उल्लेख गरिएको थियो । सुरुमा दाङ–प्यूठान छात्रमण्डल भनिए पनि पछि गएर दाङ छात्रमण्डल मात्र भनिएको पाइन्छ (गौतम, २०६९ ः ७) । वि.सं. २०१५ सालमा चिन्तामणि शर्माको सम्पादनमा पद्मोदय पब्लिक हाइस्कुलको वार्षिक मुखपत्रका रूपमा प.प. हाइस्कुल प्रकाशित भयो । पछि यसको नाम परिवर्तन गरी ज्योत्स्ना राखियो (सुवेदी, २०७० ः १४) । यसमा मूलतः विद्यालयमा अध्ययन–अध्यापन गर्ने छात्रछात्रा एवं अध्यापकका रचनाहरू रहेका थिए । यसैक्रममा दाङबाट अध्ययनका निम्ति भारतको गोरखपुर पुगेका विद्यार्थीहरूको सक्रियतामा वि.सं. २०१६ मा विप्लव पत्रिका प्रकाशित भएको भयो । यसका प्रधान सम्पादक रुद्रमणि शर्मा थिए । पहिलो अङ्कको प्रकाशनपछि यसले निरन्तरता पाउन सकेन । यसरी दाङमा पत्रपत्रिकाको प्रकाशन तथा साहित्यिक पत्रकारिताको पृष्ठभूमिको निर्माण र सुरुवात भएको पाइन्छ ।

दाङबाट प्रकाशित साहित्यिक पत्रिकाहरू

दाङबाट प्रकाशित साहित्यिक पत्रिकाहरूको अध्ययन तीन चरणमा बाँडेर गर्ने गरिएको छ । चरण विभाजनको प्रमुख आधार पत्रिकाको प्रकाशन समय, संस्था र त्यसको प्रकृतिलाई बनाएको पाइन्छ । विप्लवको प्रकाशनदेखि २०२३ सालसम्मको अवधिलाई प्रथम चरण, २०२४ देखि २०३४ सालसम्मको अवधिलाई दोस्रो चरण र २०३५ सालदेखि हालसम्मको अवधिलाई तेस्रो चरणका रूपमा उल्लेख गर्ने गरिएको छ (गौतम, २०६९ः७.१०) । पहिलो चरणका पत्रिकाहरू शैक्षिक संस्था एवं विद्यार्थी सङ्गठनका मुखपत्रका रूपमा प्रकाशित भएका छन् । २०२४ सालमा दाङबाट साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको सम्पादन तथा प्रकाशनमा अन्तध्र्वनि पत्रिकाको प्रकाशन आरम्भ भयो । व्यक्तिगत स्तरबाट प्रकाशित यो पहिलो विशुद्ध साहित्यिक पत्रिका थियो । पहिलो अङ्क प्रकाशित भएपछि यसले निरन्तरता पाउन सकेन । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर प्रकाशित भएकोले यस पत्रिकाको प्रकाशनलाई दोस्रो चरणको आरम्भको रूपमा लिएको पाइन्छ । २०३४ सालमा राप्ती साहित्य परिषद्को स्थापना भयो । २०३५ सालमा यसको मुखपत्रका रूपमा राप्ती दूत प्रकाशित भयो । साहित्यिक संस्थाको मुखपत्रका रूपमा राप्ती दूतको प्रकाशनपछिको अवधिलाई तेस्रो चरणको रूपमा उल्लेख गरिएको छ । दाङका साहित्यिक पत्रिकाहरू बारे अध्ययन गर्नेहरूले गरेको चरण विभाजन सामान्यतया उपयुक्त नै रहेको छ । दाङबाट प्रकाशित अधिकांश पत्रिकाहरू विद्यालय एवं साहित्यिक संस्थाका मुखपत्रका रूपमा रहेका छन् । अन्य संस्था र व्यक्तिगत स्तरमा पनि पत्रिकाहरू प्रकाशित भएका पाइन्छन् । यस्ता अधिकांश पत्रिकाहरू एक, दुई वा केही अङ्क प्रकाशित भएर बन्द भएका देखिन्छन् । थोरै पत्रिकाहरू मात्र नियमित देखिन्छन् तर यी पनि समयमै प्रकाशित हुन सकेको पाइन्न । दाङमा नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्र भाषामा पनि पत्रिका प्रकाशित भएका छन् । संस्थाका मुखपत्रका रूपमा प्रकाशित हुने पत्रिकाका सम्पादक पनि एउटै व्यक्ति रहने गरेका छैनन् । गौतम (२०६९ ः १०) का अनुसार दाङबाट प्रकाशित साहित्यिक पत्रिकाहरू ः विप्लव, सन्देश, प.प.हाइस्कुल (ज्योत्स्ना), मानस–प्रभा, पराग, अन्तध्र्वनि, गोचाली, गङ्गा, हाम्रो चिनो, छहरा, ऐसेलु, राप्तीदूत, राप्ती, हैमप्रभा, आमोद, राप्ती सन्देश, हिमज्योति, खलिहान, इन्द्रेनी, प्रवाह, पशुपति साहित्य सन्देश, सुसेली, आदिवासी मञ्च, प्रतिभा, पहल, दङाली आवाज, बहिङ्गा, कोसेली, सप्तरङ्गी, विम्ब प्रतिविम्ब, प्रतिविम्ब, साकार, आँकुरा, पुष्पाञ्जली, नवदीप, साहित्य सुधा, केरनी, साहित्य स्वरसङ्गम, आँखीझ्याल, राप्ती बबई सन्देश, सयपत्री, सौगात, पानस, दङाली दर्पण, इन्दे्रणी, साहित्य सौजन्यमाला स्मारिका, सल्यानी सुसेली, उत्साह, नवपालुवा, नवचेतना, उमङ्ग, स्वर्णिम कीर्ति, नवयुग, राप्ती अनलाइन, नयाँ उत्साह, कोयल, बालमञ्जरी, साहित्याकाश, शब्द लहर, रुकुमेली नव प्रतिभा, मधुमास, विद्या सागर, शिसा, लावा लौझी, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको स्मारिका, पुष्पाञ्जली बाल आवाज, जनसंस्कृति, लावा डग्गर, साझा धरातल, पारिजात, अटुट, देउखुरी बाल दर्पण, अतिरिक्त, राप्ती सङ्गम, स्तम्भ, आयाम, बाल बगैंचा, जनज्वार, युवा गर्जन, अलङ्कार, टीकाचुली, दीपशिखा रहेका छन् । यी मध्ये आज थोरै पत्रिका मात्र प्रकाशित हुँदैछन् । यस्ता पत्रिकामा अन्तध्र्वनि, राप्तीदूत, ज्योत्स्ना, हैमप्रभा, प्रवाह, बहिङ्गा पर्दछन् । प्रकाशन बन्द भएका कतिपय पत्रिका एक अङ्क मात्र प्रकाशित भएका छन् भने कतिपय पत्रिकाहरू १५, २० अङ्कसम्म पनि प्रकाशित भएर बन्द भएका छन् ।

दाङको साहित्यिक पत्रिकारिताका समस्या र चुनौती

साहित्यिक पत्रकारिता साहित्यिक पत्रिकाको प्रकाशनका निम्ति साहित्यिक रचना लगायत साहित्यसम्बन्धी अन्य आवश्यक सामग्री एवं साहित्यिक समाचारहरूको सङ्कलन, चयन र सम्पादन, प्रकाशन एवं विरतरणसँग सम्बन्धित रहेको छ । साहित्यिक पत्रकारिता भन्नाले साहित्यिक समाचारहरूको सङ्कलन, चयन, सम्पादन, शीर्षक छनौट, आवरणपृष्ठको साजसज्जा, अन्य साहित्यिक सामग्रीहरूको संयोजन र साहित्यिक गतिविधिमा केन्द्रित समग्र सामग्रीको प्रकाशन र प्रसारण भन्ने बुझिन्छ (भट्टराई, २०६७ः २०) । साहित्यका विभिन्न विधाहरूमा केन्द्रित भएर गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो । यसमा साहित्यको विकास, चिन्तन, गतिविधि, समीक्षा, साहित्यिक बहस, अनुसन्धान, भाषाशैली आदिको निरूपण, समीक्षा, समालोचना, आलोचना आदि सम्पे्रेषण गरिन्छ । अर्काे ढङ्गले भन्दा साहित्यिक गतिविधिका बारेमा समाचार, प्रतिवेदन, अनुसन्धान, रिपोर्ट आदिका माध्यमबाट गरिने पत्रकारिता साहित्यिक पत्रकारिता हो (वशिष्ठ, २०७३ः ३३) । साहित्यसँग सम्बन्धित भएकैले यसलाई साहित्यिक पत्रकारिता भनिएको हो । यही नै यसको विशिष्टता पनि हो । सूचना पत्रकारिताबाट यसलाई छुट्याउने आधार पनि यही हो । साहित्यिक पत्रकारिताको आफ्नो विशिष्ट चरित्र रहे पनि कतिपय सन्दर्भमा यो सूचना पत्रकारितासँग पनि जोडिएको छ । यी दुवैले सामना गर्ने कतिपय समस्याहरू समान पनि रहेका छन् ।

दाङको साहित्यिक पत्रकारिता छ दशकभन्दा अघिदेखि सुरू भए पनि अझै पनि यसको राम्रोसँग विकास हुन सकेको छैन । साहित्यिक पत्रकारहरू आफूमा रहेको साहित्यिक प्रतिभाको विकास, साहित्यको उन्नयनका निम्ति भूमिका सम्पादन एवं यसका माध्यमबाट सामाजिक परिवर्तन तथा मुलुकका निम्ति केही गर्ने उद्देश्यले नै यस क्षेत्रमा सक्रिय रहेका पाइन्छन् । साहित्यिक पत्रकारिता अझै पनि जीविकाको आधार बन्न सकेको छैन र चाँडै बन्ने सम्भावना पनि छैन । पत्रिकाको बिक्री र विज्ञापनको पैसाले भन्दा पनि संस्थाको लगानीबाट पत्रिकाहरू प्रकाशित हुँदैछन् । अधिकांशमा साहित्यिक पत्रकारिताको आवश्यक ज्ञान तथा सीपको पनि अभाव छ । पत्रिकाहरू अनियमित भएकाले यसमा धेरैको निरन्तरता पनि पाइन्न । बेलाबखत निस्कने पत्रिकाले साहित्यिक पत्रकारितालाई ठूलो टेवा पु¥याउने कुरा पनि भएन । प्रकाशनको निरन्तरता र व्यावसायिकताको विकास साहित्यिक पत्रकारिताको निरन्तरता र विकासका निम्ति सबैभन्दा महत्वपूर्ण कुराहरू हुन् । यसको अभाव दाङको साहित्यिक पत्रकारितामा रहेको छ ।

दाङको साहित्यिक पत्रकारिताले साहित्यिको उन्नयनका क्षेत्रमा दिएको महत्वपूर्ण योगदान यसको उद्देश्यमूलक सक्रियताको परिणाम हो । यहाँका स्रष्टाहरूले व्यक्तिगत स्तरमा दुखकष्ट खपेर पनि पत्रिकाको प्रकाशन गरेका छन् । पत्रिका प्रकाशन गर्दा कतिलाई त ऋणसमेत लागेको पाइन्छ । यो त्याग र समर्पण नै दाङको साहित्यिक पत्रकारिताको उर्जाको रूपमा रहेको छ । आरम्भदेखि अहिलेसम्म दाङको साहित्यिक पत्रकारिता साहित्यको विकास र यसका माध्यमबाट सामाजिक जागरण एवं परिवर्तनको ध्येयबाट डोरिएको छ । व्यक्तिगत स्तर एवं शैक्षिक तथा साहित्यिक, सांस्कृतिक संस्थाहरूबाट प्रकाशित पत्रपत्रिकाहरूमा समावेश गरिएका सामग्री, तिनको सम्पादन, पत्रिकाको स्तरीयता आदिबाट यहाँको साहित्यिक पत्रकारिताको स्तरका बारेमा थाहा हुन्छ । दाङको साहित्यिक पत्रकारिताको विकासप्रक्रिया र यसको स्तरीयतालाई यहाँकै परिस्थितिमा आधारित भएर विश्लेषण एवं मूल्याङ्कन गर्नुपर्छ । यस आधारमा हेर्दा दाङमा साहित्यिक पत्रकारिताको क्रमिक रूपमा विकास भएको पाइन्छ । यसको विकास प्रक्रिया र यसले दिएको योगदानलाई लिएर धेरै असन्तोष गर्नुपर्ने ठाउँ देखिन्न । मोफसलका कतिपय जिल्लाहरूको तुलनामा दाङको साहित्यिक पत्रकारिता र साहित्यिक पत्रपत्रिकाहरूको प्रकाशनको स्थिति राम्रो रहेको छ । पञ्चायतका बेलामा दाङको साहित्यिक पत्रकारिताले दमनको सामना पनि गर्नु परेको थियो । सन्देश पत्रिका बन्द हुनुको एक महत्वपूर्ण कारण तात्कालीन पञ्चायती सरकारको दमन पनि थियो । तात्कालीन प्रशासनले यसको प्रकाशन, सम्पादन र वितरणसँग सम्बन्धित व्यक्तिहरूलाई पक्रने, थुन्ने, यातना दिने र मुद्दा लगाउने काम पनि गरेको पाइन्छ (गिरी, २०५० ः १४) । सन्देश पत्रिका मात्र होइन यस्तो दमनको सामना अन्य कतिपय पत्रिकाले पनि गरेका थिए । राप्ती साहित्य परिषद् स्वयं पञ्चायती दमनको सामना र प्रतिवाद गर्दै अघि बढेको संस्थाका रूपमा आज पनि जीवित छ । तर दमनले साहित्यिक पत्रकारिता र पत्रपत्रिका प्रकाशनको घाँटी निमोठ्न भने सकेन । यस समयमा साहित्यिक पत्रिकाहरू भूमिगत रूपमा पनि प्रकाशित भएका पाइन्छन् । समग्रमा भन्दा आफ्नो लामो इतिहासमा विभिन्न कठिनाइ, समस्या र चुनौतीको सामना गर्दै दाङको साहित्यिक पत्रकारिताले आफ्नो क्षेत्रमा मनग्गे योगदान दिएको छ । दाङको साहित्यलाई राष्ट्रिय स्तरमा चिनाउन, साहित्यिक प्रतिभाहरूलाई राष्ट्रिय स्तरमै स्थापित गर्न, नयाँ प्रतिभाहरूलाई प्रेरित र प्रोत्साहित गर्न एवं साहित्यिक गतिविधिलाई स्रष्टा तथा पाठकबीच पु¥याउन, यहाँको साहित्यक परम्परालाई अझ समृद्ध गर्न दाङको साहित्यिक पत्रकारिताले महत्वपूर्ण भूमिका सम्पादन गरेको छ ।

राष्ट्रिय स्तरमै साहित्यिक पत्रकारिताले विभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै आएको छ । सुधासागरबाट सुरु भएको साहित्यिक पत्रकारिताको स्थिति विगतको तुलनामा राम्रो रहे पनि यसले आज पनि विभिन्न समस्याहरूको सामना गर्दैछ । आजको साहित्यिक पत्रकारिताबारे टिप्पणी गर्दै शर्मा (२०७०ः६) साहित्यिक पत्रकारिताको स्थिति दयनीय रहेको उल्लेख गर्छन् । अहिले पनि साहित्यिक पत्रकारिता संस्थागत हुन नसकेको, बिक्रीवितरणको वैज्ञानिक एवं विश्वसनीय सञ्जाल बन्न नसकेको भन्दै उनी नेपाली साहित्यिक पत्रकारिताको स्थिति सय वर्ष अघि जस्तो थियो आज पनि उस्तै रहेको तिखो टिप्पणी गर्छन् । दुवाल (२०७०ः८) आजको साहित्यिक पत्रकारिताको स्थिति सुगर र ब्लडप्रेसरले च्यापेको बिरामीको जस्तो छ, बाँच्न त पाएको छ तर धेरै गाह्रो भोगेर बाँच्नु पर्ने स्थिति छ भन्छन् । धमला (२०७३ः५०) कतिपय अवस्था र अर्थमा साहित्यिक पत्रकारिताले मोतीराम भट्ट कालीन उपेक्षा र उत्पीडन खप्नुपरेको उल्लेख गर्छन् । उनका दृष्टिमा सिङ्गो पत्रकारिताको मेरुदण्ड मानिएको साहित्यिक पत्रकारिताले आज पनि आशा गरे जस्तो फड्को मार्न सकेको छैन । साहित्यिक पत्रकारिताले जे जस्ता समस्या र कठिनाइहरू भोग्दै छ, तिनलाई दृष्टिगत गर्दा यसबारेका तीता टिप्पणीहरू अनुपयुक्त लाग्दैनन् । साहित्यिक पत्रकारिताका सम्बन्धमा राज्यको दृष्टिकोण, नीति र भूमिका, यसले खप्नु परेको आर्थिक कठिनाइ, विज्ञापन र वितरणको समस्या, पत्रिकाहरूको बिक्रीको स्थिति आदिले यसको आजको यथार्थ स्थितिलाई प्रस्तुत गर्छन् ।

प्रभात (२०६७ः ५३) साहित्यिक पत्रकारिताका अगाडि अनेकौँ समस्याहरू छन् भन्दै आर्थिक समस्यालाई महत्वपूर्ण समस्याका रूपमा उल्लेख गर्छन् । उनका दृष्टिमा सम्पादनको समस्या, निरन्तरताको समस्या, दृष्टिकोणको समस्या, नीतिगत समस्या, बिक्रीवितरणको समस्या आदि यस क्षेत्रका अन्य महत्वपूर्ण समस्याहरू हुन् । घिमिरे (२०७० ः ७) साहित्यिक पत्रकारिताको मुख्य समस्याका रूपमा विज्ञापन र वितरणलाई उल्लेख गर्छन् । उनी समाचार पत्रले पाउने विज्ञापन पाउनबाट साहित्यिक पत्रिकाहरू वञ्चित रहेका छन् भन्छन् । अधिकारी (२०७० ः १०) न्यून सकरकारी संरक्षण र चासो, सम्पादकलाई वृत्ति विकास तथा प्रोत्साहनको अभाव, यथोचित प्रतिबद्धताको अभाव, लेखक तथा पाठक बीचको सम्बन्धलाई सौहार्द बनाउन कम प्रयत्न गरिनु, स्रष्टालाई निजी क्षेत्रले यथोचित पारिश्रमिक प्रदान गर्न नसक्नु, लगानी अनुसार आर्थिक लाभ नहुनु, आर्थिक अभावका कारण प्रविधिको समुचित प्रयोग गर्न नसक्नु, बजारमा पठाएको पत्रिकाको रकम उठाउन नसक्नु, यसबाट जीवन निर्वाह गर्न नसक्नु आदिलाई यस क्षेत्रका समस्याका रूपमा उल्लेख गर्छन् । आर्थिक अभाव, विज्ञापन तथा बिक्री वितरणमा रहेका कठिनाइ, राज्यको न्यून सहयोग र उपयुक्त नीतिको अभाव, स्तरीय सम्पादन तथा प्रकाशनमा रहने कमजोरी, साहित्यिक पत्रकारितासम्बन्धी योग्यता, सीप र दक्षतामा कमी, नियमित प्रकाशनमा रहेका अप्ठ्यारा, आजीविकाको माध्यम बन्न नसकेको स्थिति आदि यस क्षेत्रमा रहेका समस्याहरू हुन् । साहित्यक पत्रकारिताको क्षेत्रमा देखिएका यी समस्याहरूले यसको विकासमा व्यवधान खडा गर्दै आएका छन् । यसबाट यस क्षेत्रले मात्र होइन मुलुकले नै क्षति व्यहोर्नु परेको छ । यी समस्याहरूको समाधान गर्दै अघि बढ्नुपर्ने चुनौती आजको साहित्यिक पत्रकारिताका अगाडि छ ।

मुलुकको साहित्यिक पत्रकारिताका जे जस्ता समस्याहरू छन्, सामान्यतया दाङको साहित्यिक पत्रकारिताले भोग्नुपरेका समस्याहरू पनि तिनै रहेका छन् । कतिपय समस्या मोफसलमै हुनुसँग पनि सम्बन्धित छन् । केन्द्र र मोफसलका बीच रहँदै आएको भिन्नता अझैं समाप्त भएको छैन । दाङको साहित्यिक पत्रकारिता र साहित्यिक पत्रिकाका सम्बन्धमा बेलाबखत गम्भीर छलफलहरू पनि हुँदै आएका छन् । यसका समस्या र चुनौतीहरूलाई चिन्हित गर्ने र तिनलाई समाधान गर्दै अघि बढ्ने प्रयत्नहरू पनि भएका छन् । साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको २०३४ सालमा प्रकाशित ‘राप्ती अञ्चलको सङ्क्षिप्त साहित्य परिचय’ मा दाङको साहित्य र साहित्यिक पत्रपत्रिकाका बारेमा सङ्क्षेपमा उल्लेख गर्दै समस्यातर्फ पनि सङ्केत गरिएको छ । साहित्यिकार टीकाराम उदासीद्वारा ‘राप्तीको साहित्यिक पत्रकारिता स्थिति र चुनौती’ (२०६६) विषयक कार्यपत्रमा पहिलो पटक राप्तीको साहित्यिक पत्रकारितामा केन्द्रित रहेर यसका समस्या एवं चुनौतीहरूलाई गम्भीर रूपमा प्रस्तुत गरिएको पाइन्छ । पत्रकार उदय जी.एम.ले ‘दाङ जिल्लामा पत्रकारिताको इतिहास’ (२०६१) मा पनि दाङको पत्रकारिताको स्थितिका बारेमा चर्चा गरेका छन् र समस्याहरूतर्फ पनि सङ्केत गरेका छन् । जी.एम. मूलतः सूचना पत्रकारिताका बारेमा केन्द्रित रहे पनि साहित्यिक पत्रकारिता र सूचना पत्रकारिताले सामना गर्नुपरेका कयौँ समस्याहरू समान छन् । नेपाली साहित्यको विकासमा दाङका साहित्यिक पत्रिकाको योगदान (२०६९) विषयक स्नातकोत्तर तहको शोधपत्रमा किरण गौतमले पनि दाङका साहित्यिक पत्रिकाहरूको योगदानको चर्चा गर्ने क्रममा यसका समस्याहरूका बारेमा पनि सामान्य रूपमा उल्लेख गरेका छन् । यस सामान्य चर्चापछि दाङको साहित्यिक पत्रकारिताले खप्नुपरेका समस्याहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः

आर्थिक अभाव

आर्थिक अभाव दाङको साहित्यिक पत्रकारिताले भोग्नु परेको सबैभन्दा गम्भीर समस्या हो । अर्थाभावकै कारण पत्रिका नियमित हुन सकेका छैनन् । अधिकांश पत्रिकाहरू केही अङ्क निस्किएर बन्द भएका छन् । कतिपय विद्यालय, क्याम्पस तथा सङ्घसंस्थाबाट प्रकाशित हुने पत्रिकाहरू मात्र जसोतसो जीवित छन् । संस्थागत रूपमा प्रकाशन गर्दा पनि आर्थिक कठिनाइको सामना गर्नु परेको छ । पत्रिका प्रकाशनको कुनै निश्चित आर्थिक स्रोत नभएका कारण पत्रिकाले आर्थिक कठिनाइको सामना गर्नुपरेको हो । आर्थिक अभावकै कारण अधिकांश पत्रिकाहरू बन्द भएका हुन् ।

विज्ञापन र बिक्रीविरतरणको समस्या

विज्ञापन र बिक्रीविरतरणको समस्या यहाँको पत्रकारिताले सामना गर्नु परेको अर्काे गम्भीर समस्या हो । आर्थिक समस्या मूलतः यही पक्षसँग जोडिएको छ । विज्ञापन आर्थिक स्रोतको एक महत्वपूर्ण आधार हो । साहित्यिक पत्रपत्रिकालाई विज्ञापन पाउन पनि समस्या छ । समाचारपत्र वा विद्युतीय समाचार माध्यमहरूले जुन स्तरमा विज्ञापन पाउँछन्, त्यसको सानो अंश पनि साहित्यिक पत्रिकाहरूले प्राप्त गर्दैनन् राज्यको विज्ञापन नीति पनि समान छैन । प्रेस काउन्सिल र नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत उपलब्ध सहयोग पर्याप्त छैन । निजी क्षेत्रबाट पनि साहित्यिक पत्रिकाहरूलाई विज्ञापन दिन त्यति रूचि देखाइन्न । निकै कम विज्ञापन मात्र बेलाबखत यस क्षेत्रबाट उपलब्ध गराइन्छ । स्थानीय तह एवं कतिपय सरकारी निकायहरूबाट पनि विज्ञापन उपलब्ध गराउन चाहेको देखिन्न । बिक्रीवितरणको अवस्था त निकै कमजोर छ । बिक्रीबाट प्रकाशनमा लागेको रकमको सानो अंश पनि उठ्दैन । आज पनि पत्रिका निःशुल्क बाँड्नुपर्ने स्थिति छ । एक ठाउँबाट अर्काे ठाउँमा पत्रिका पठाउन पनि समस्या छ । हुलाकको व्यस्था पनि राम्रो छैन । अहिले पनि साहित्यिक पत्रिकाहरूले हुलाक दर्तासम्म पाउन सकेका छैनन् । बिक्रीवितरणको गम्भीर समस्याले आर्थिक स्थिति र पाठकसम्म यसको पहुँचलाई प्रभावित गरेको छ ।

निरन्तरताको अभाव

दाङको साहित्यिक पत्रकारिताले भोग्नुपरेको अर्काे समस्या निरन्तरताको समस्या हो । आजसम्म दाङबाट झण्डै ७ दर्जन साहित्यिक पत्रिकाहरू प्रकाशित भएका पाइन्छन् तर ती मध्ये थोरै मात्र जीवित छन् । निरन्तरता प्राप्त गर्नु नसक्नुको पहिलो कारण आर्थिक समस्या नै रहेको छ । पत्रिका नियमित हुन बलियो आर्थिक आधार चाहिन्छ । यसका निम्ति पत्रिकाले पर्याप्त विज्ञापन त पाउनुपर्छ नै, यसको बिक्री पनि राम्रो हुनुपर्छ । यी दुवै कुरामा समस्या भएपछि पत्रिका नियमित हुन गाह्रो हुन्छ । अर्काेतिर पत्रिका प्रकाशनले निरन्तरता प्राप्त गर्न नसक्नुमा यसमा संलग्न व्यक्तिहरू स्वयं पनि एक महत्वपूर्ण कारकका रूपमा रहेका पाइन्छन् । कयौंले साहित्यिक पत्रकारिता बीचमै छोड्छन् र प्रकाशन नियमित हुन सक्तैन । साहित्यिक पत्रकारिता छोड्नुका विविध कारणहरू रहे पनि एउटा महत्वपूर्ण कारण आर्थिक समस्या पनि हो । आर्थिक रूपमा समस्या रहेपछि पत्रकारिताबाट पलायन हुने समस्या देखा पर्ने नै भयो ।

स्तरीयताको समस्या

साहित्यिक पत्रकारितामा स्तरीय सम्पादनको समस्या आरम्भदेखि नै रहँदै आएको छ । स्तरीय सम्पादन हुन नसक्दा पत्रिकाप्रति पाठकीय अभिरूचि घट्न जान्छ । यसबाट पत्रिकाले आर्थिक क्षति त उठाउनैपर्छ, ऊ आफ्नो उद्धेश्यमा पनि असफल हुन्छ । पत्रिका स्तरीय हुन सम्पादन स्तरीय हुनुपर्छ । स्तरीय सामग्री, सामग्रीमा रहने विविधता, राम्रो सम्पादन, पृष्ठ एवं आवरण साजसज्जा आदिले नै पत्रिकालाई स्तरीय बनाउँछन् । यी सबैमा स्तरीय सामग्रीहरूको चयन र सम्पादन सबैभन्दा महत्वपूर्ण हुन्छ । खास गरी पत्रिकाको सम्पादनमा स्पष्ट दृष्टिकोण, फराकिलो र गहिरो अध्ययन, सामग्रीहरूको चयन र राम्रोसँग सम्पादन गर्न सक्ने क्षमता हुनुपर्छ । गतिलो प्रुफ रिडिङ हुन नसक्दा पनि पत्रिकाको स्तरीयता प्रभावित हुन्छ । दाङको साहित्यिक पत्रकारितामा यो समस्या पनि विद्यमान रहेको छ । फलतः स्तरीय पत्रिका प्रकाशनमा कठिनाइ रहँदै आएका छन् ।

नीतिगत समस्या

राज्यमा रहेको यससम्बन्धी नीतिगत समस्याका कारण दाङको साहित्यिक पत्रकारिताले पनि समस्याहरूको सामना गर्नुपरेको छ । नीतिगत समस्याका कारण सिङ्गो मुलुककै साहित्यिक पत्रकारिता प्रभावित रहेको छ । साहित्यिक पत्रकारितालाई संरक्षण गर्ने र अघि बढाउने सन्दर्भमा राज्यसँग अहिले पनि स्पष्ट दृष्टिकोण र नीति छैन । अहिले पनि साहित्यिक पत्रकारितालाई पत्रकारिता नै नठान्ने दृष्टिकोण विद्यमान छ । सूचना पत्रकारितालाई जुन महत्व राज्यद्वारा प्रदान गरिएको छ, त्यो महत्व साहित्यिक पत्रकारितालाई प्रदान गरिएको छैन । यसैकारण राज्यले प्रदान गर्ने सुविधामा पनि विभेद रहेको छ । कागज, टेलिफोन, हुलाक दर्तादेखि विभिन्न कुरामा यो विभेद विद्यमान पाइन्छ । द्वैमासिक, त्रैमासिक साहित्यिक पत्रिकालाई मात्र होइन, साहित्यिक भन्यो भने मासिक पत्रिकाको पनि हुलाक दर्ता हुँदैन । विज्ञापन उपलब्ध गराउने कुरा पनि यस दृष्टिकोण र नीतिबाट प्रभावित रहेको पाइन्छ । साहित्यिक पत्रकारिता र पत्रिकाको मुलकको परिवर्तन र विकासका निम्ति आफ्नै प्रकारको विशिष्ट भूमिका रहेको छ तर राज्य यसप्रति उदासीन रहने गरेको छ ।

समस्याहरू अरू पनि छन् तर माथि उल्लिखित समस्याहरू यहाँको साहित्यिक पत्रकारिताका अगाडि उपस्थित प्रमुख समस्याहरू हुन् । यी समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने चुनौती आजको दाङको साहित्यिक पत्रकारिताका अगाडि छ । विद्युतीय सञ्चार माध्यमको विकासले यसका अगाडि अझ चुनौती थपेको छ । मुद्रित साहित्यिक पत्रिकाहरूलाई विद्युतीय माध्यमबाट पनि बाहिर लैजाँदा धेरै पाठकहरूका बीचमा पुग्न सक्छ । विद्युतीय सञ्चारमाध्यमका कारण मुद्रित सामग्रीहरू किन्ने र पढ्ने बानीमा पनि ह्रास आएको छ । उपभोक्तावादको चरम विकास र ज्ञान एवं सिर्जनात्मक सामग्रीको डर लाग्दो बजारीकरण हुँदै गरेको आजको अवस्थामा साहत्यिक पत्रिकाहरूको पठनमा ह्रास आउनु कुनै नौलो कुरा पनि होइन । समस्याहरूको समाधानका निम्ति केही सोच्न नसकिने भने होइन । आर्थिक समस्यालाई समाधान गर्न सामूहिक ढङ्गले पत्रिका प्रकाशनलाई अघि बढाउन सकिन्छ । यसका निम्ति सहकारी प्रणालीमा जानु सबैभन्दा उपयुक्त हुन सक्छ । धेरै पत्रिकाको प्रकाशन भन्दा पनि स्तरीय पत्रिकाको प्रकाशन मुख्य ध्येय बन्नुपर्छ । सहकारीमा नगए साहित्यिक संस्थाहरूले संस्थागत प्रकाशनलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ । व्यक्तिगत रूपमा प्रकाशित पत्रिकालाई व्यावसायिक रूपमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा योजनासहित अघि बढ्नुपर्छ । साहित्यिक पत्रकारितामा संलग्न व्यक्तिहरू आफ्नो योग्यता, क्षमतालाई बढाउन अझ गम्भीर हुनुपर्छ । पत्रिकाको स्तरीयता र पाठकहरूको संख्या वृद्धिमा अपेक्षित ध्यान जानुपर्छ । निरन्तरतालाई कायम राख्न आर्थिक अवस्था अनुसार पत्रिका कति कति समयमा प्रकाशित गर्ने हो भनेर उपयुक्त अवधि निर्धारण गरिनुपर्छ । राज्यलाई साहित्यक पत्रकारिताका सन्दर्भमा उपयुक्त दृष्टिकोण र नीति निर्धारणका निम्ति दबाब दिनुपर्छ । मुलुक सङ्घीय संरचनामा गएकोले यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारसँग पनि संवाद गर्न जरुरी छ । समस्याहरूलाई न्यूनीकरण गर्दै साहित्यिक पत्रकारितालाई अघि बढाउने सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरूले पनि महत्वपूर्ण भूमिका सम्पादन गर्न सक्छन् ।

निष्कर्ष

दाङ साहित्यिक दृष्टिले अगाडि रहेकोले यहाँ साहित्यिक पत्रकारिताको अझ राम्रो विकासका निम्ति अनुकूल आधार रहेको छ । समस्याहरू समाधान गरेर अघि बढ्नै नसकिने खालका छैनन् । सामूहिक र योजनाबद्ध रूपमा अघि बढ्न सक्दा समस्याहरू समाधान गर्दै अघि बढ्न सकिन्छ । कठिन सङ्घर्षबाटै साहित्यिक पत्रकारिताका दृष्टिले दाङ यहाँसम्म आइपुगेको छ । यसले आउँदा दिनहरूमा अझ सङ्घर्ष गर्नुपर्नेछ । नेपालको सिङ्गो साहित्यिक पत्रकारितासँग एकताबद्ध रूपमा अघि बढ्ने प्रयत्न पनि दाङले गर्नुपर्छ । यसका सम्मुख उपस्थित चुनौतीहरूलाई चिर्न सामूहिक र एकताबद्ध प्रयासको खाँचो छ । साहित्यिक पत्रकारिताका क्षेत्रमा आजसम्म यसले जे जति योगदान दिएको छ, त्यो अत्यन्त महत्वपूर्ण रहेको छ ।

सन्दर्भसामग्री सूची

अधिकारी, वासुदेव (२०७०). ‘आत्मसङ्घर्ष गरिरहेको अवस्था छ’. मधुपर्क (४६ ः ९). पृ. १० ।
उदासी, टीकाराम (२०६६). ‘राप्तीको साहित्यिक पत्रकारिता ः स्थिति र चुनौति’. राप्तीदूत. दाङ ः राप्ती साहित्य परिषद् ।
गिरी, अमर (२०५०). ‘दाङको सङ्क्षिप्त साहित्यिक इतिहास’ अन्तध्र्वनि (२६ः२).पृ.१३–१५ ।
गौतम, किरण (२०६९). नेपाली साहित्यको विकासमा दाङका साहित्यिक पत्रिकाको योगदान. काठमाडौ ः अप्रकाशित स्नातकोत्तर शोधपत्र.
नेपाली केन्द्रीय विभाग. कीर्तिपुर ।
गौतम, राजेन्द्र (२०६९). नेपाली साहित्यमा छहरा पत्रिकाको योगदान. काठमाडौंं ः अप्रकाशित स्नातकोत्तर शोधपत्र. नेपाली केन्द्रीय विभाग,
कीर्तिपुर ।
घिमिरे, रोचक (२०७०). ‘भ्याट लयाउने अनीति सच्याउनुपर्छ’. मधुपर्क (४६ः ९). पृ.७ ।
जी.एम.उदय (२०६१). ‘दाङ जिल्लामा पत्रकारिताको इतिहास’ चौथो अङ्ग (४.४.) ।
दुवाल, मोहन (२०७०). ‘सुगर र ब्ल्डप्रेसरले च्यापेको विरामी जस्तो छ’, मधुपर्क (४६ः ९). पृ.८ ।
धमला, चेतनाथ (२०७३). ‘साहित्यिक पत्रकारिता एक दृष्टिकोण’. आलेखन (६ ः २). पृ.४२ ।
प्रभात, विष्णु (२०६७). ‘साहित्यिक पत्रकारिताः समस्या र समाधान’. आलेखन (१ः१). पृ. ५३ ।
भट्टराई, तुलसी (२०६७). ‘साहित्यिक पत्रकारिता ः अतीत र वर्तमान’. आलेखन (१ः१). पृ.२० ।
शर्मा, नगेन्द्रराज (२०७०). ‘साहित्यिक पत्रकारिता सय वर्ष अघिको जस्तै छ’. मधुपर्क (४६ः९). पृ. ६ ।
शर्मा, नारायणप्रसाद (२०३४). ‘राप्ती अञ्चलको सङ्क्षिप्त साहित्यिक परिचय’. युगबोध (१.६). पृ.३.५ ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०६९). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास. ललितपुर ः साझा प्रकाशन ।
वशिष्ठ, चूडामणि (२०७३). ‘साहित्यिक पत्रकारिताको विकासक्रममा झापा’. आलेखन (६ः२). पृ.३३ ।
सुवेदी, केशव र न्यौपान, गिरिराज (२०७०). ‘दाङको साहित्यिक रूपरेखा’. जनमत (३०ः५). पृ. १४ ।

No comments:

Post a Comment